Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

मैले मेरो देशको समृद्धिको लागि जोखिम मोल्न नपाउने ?

$
0
0

नेपालको अहिलेको राजनीतिप्रति छोराछोरी पुस्ता नाक खुम्च्याउँछ । उनीहरु राजनीतिप्रति आकर्षित छैनन् मात्रै होइन, देशभित्र बस्न समेत रुचाउँदैनन् । किनकी नेपालको राजनीति भ्रष्टाचारमा डुङडुङती गन्हाएको छ, कमिशनखोरी, परिवारतन्त्र मौलाएको छ । नयाँ पुस्ता राजनीतिमा नलागेसम्म हामी कसरी विकास र समृद्धि गर्न सक्छौ ? त्यसैले नयाँ शक्तिको अर्को प्रतिवद्धता भनेको राजनीतिक फोहोरलाई सफा गरेर राजनीतिलाई जनताको सेवा गर्ने पवित्र साधन बनाउँछौं । नयाँ शक्ति राजनीतिलाई पेशा, कमाइखाने भाँडो होइन, जनता, देशको सेवा गर्ने साधन बनाउन चाहन्छ । चुनावमा हुने अति फजुल खर्च भ्रष्टाचारको स्रोत बन्ने गरेको छ, त्यसलाई हामी रोक्न चाहन्छौं । त्यसका निम्ति हामी खुल्ला र पारदर्शी हुनेछौं । राजनीतिलाई सफा गर्न सकियो भने तल–तलसम्म मौलाएको भ्रष्टाचार रोक्न सकिन्छ । यो नयाँ शक्तिको प्रतिबद्धता हो ।

फाइल फोटो
फाइल फोटो

हामीले त्यसभन्दा बाहेक अर्को कुरा पनि भनेका छौं । तपाई हामी पनि यही समाजबाट आएका हौं । हाम्रो नियत राम्रो हुँदाहुँदै पनि परिस्थितिवश हामीमाथि भ्रष्टाचार या अन्य केही आरोप लाग्यो भने हामीले स्वतन्त्र छानबिनको व्यवस्था गर्नेछौं । यदि नयाँ शक्तिका कोही पनि व्यक्तिहरुमाथि भ्रष्टाचारको आरोप अदालतमा पेश हुन्छ भने हामी त्यसलाई निलम्बन गर्छौं । अदालतबाट नयाँ शक्तिमा आवद्ध कोही व्यक्तिहरु दोषी ठहर भएभने पार्टीबाट निष्काशन गर्ने प्रतिवद्धता समेत गर्दछौं । राजनीतिलाई सुशासन र सदाचारयुक्त बनाउनेछौं । यो अहिलेसम्म कसैले गर्न नसकेको कुरा हुनेछ ।

अहिले तपाईहरु कुन विचारको आधारमा नेपालमा समृद्धि ल्याउनुहुन्छ भन्ने प्रश्न पनि आइरहेका छन् । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनका अनसार कुनै पनि समस्या जुन चेतनाको जगमा पैदा भयो, त्यही चेतनाको जगमा उभिएर त्यो समस्यालाई समाधान गर्न सकिँदैन । नेपालमा गरिबी र बेरोजगारी पछौटेपनको जुन समस्या खडा भएको छ, हिजैका वैचारिक राजनीतिक धरातलमा उभिएर ती समस्या समाधान गर्न सकिँदैन । त्यसलाई हल गर्ने हो भने हामो विचार र राजनीतिलाई पनि हिजोभन्दा धेरै माथि उठाउनु पर्छ ।

त्यसैले २० औं शताब्दीमा प्रतिस्पर्धामा आएका दुईवटा राजनीतिक विचार एउटा नवउदारवाद अर्थात् व्यक्तिको स्वतन्त्रतालाई प्रधानता दिने बजारलाई सबैथोक छोडिदिने विचार थियो भने अर्को व्यक्ति केही पनि होइन समाज नै सबैथोक हो सबै कराको नियन्त्रण राज्यले गर्नुपर्छ भन्ने समाजवादी विचार । संसार यी दुईवटा विचारमा विभाजित भयो । त्यो बिसौं शताब्दीको विशिष्ट अवस्थामा खडा भएको कित्ताबन्दी हो ।

मानव जातिले विचार र दर्शनको आविश्कार गरेको हो । विचार र दर्शनले मान्छेको आविस्कार गरेको होइन । अब हामीले बीसौं शताब्दीमा खडा भएको विचारभन्दा माथि उठेर आजको युगको नयाँ विचार र दर्शन विकास गर्नु जरुरी छ । ज्ञान र विज्ञानको पछिल्लो आविष्कारको जगमा टेकेर नेपालमा केले छिटो समृद्धि ल्याउँछ, केले लगानी बढाउँछ त्यो बाटो हामीले रोजौं । त्यसका निम्ति राज्यले समन्वयकारी भूमिका खेल्ने बाटो नै हुनसक्छ । न त हामीले बजारलाई सबैथोक छोड्न सक्छौं । न त राज्यले पनि सबैथोक नियन्त्रण गर्न सक्छ यी दुईवटै बाटोको असफलता हामीले देखिसक्यौं । नेपालको अहिलेको ठोस सन्दर्भमा व्यक्तिको निजी स्वतन्त्रतालाई प्रस्फुटित गर्ने बजारको पनि उचित भूमिका रहने निजी लगानीलाई पनि प्रवद्र्धन गर्ने कुरालाई ध्यान दिनुपर्छ । जस्तो कि जो समाजमा गरिब, बृद्ध, असहाय, अशक्त, अपाङ्ग छन् उनीहरुलाई पनि राज्यले सामाजिक सुरक्षाको व्यवस्था, शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्छ । त्यसो गरिएन भने असमानता पैदा हुन्छ । त्यसका लागि राज्यको सहयोगी भूमिका रहनु पर्दछ ।

मुलतः निजी क्षेत्र, व्यक्तिगत स्वतन्तन्त्रता र व्यक्तिगत पहललाई प्रधानता दिने बाटो नै नेपालको लागि तत्काल विकासको बाटो हो भन्ने हाम्रो ठम्याई छ । हो, यही दर्शनलाई हामी अगाडि बढाउँछौं ।

म मेरो बाँकी जीवन तपाई युवाहरुका निम्ति, यो देशलाई समृद्ध बनाउनका लागि समर्पण गर्न चाहन्छु । के मैले त्यसो गर्न नपाउने ? मैले मेरो बाँकी जीवन युवा पुस्ताको निम्ति, मेरो छोरीको पुस्ताको निम्ति समर्पण गर्छु भन्दा अपराध हुन्छ ? गौतम बुद्धले दरबार छाडेर नहिँडेको भए के तपाई हामीले बुद्धदर्शन पाउन सक्थ्यौं ?

यस कुरामा हामी खुल्ला छलफल चलाएर निष्कर्षमा पुग्नेछौं । विचार र दर्शन भनेको कुनै धर्मशास्त्र होइन । विचार र दर्शन भनेको जडतामा टाँसिएर बस्ने कुरा पनि होइन । ज्ञान र विज्ञानको निरन्तर विकास हुन्छ । समाजको आवश्यकता अनुसार र मान्छेको चेतना अनुसार त्यसलाई विकास गर्दै जानुपर्छ ।
आजको नेपालको सन्दर्भमा विकास र समृद्धिलाई अगाडि कुन विचारबाट बढाउन सकिन्छ, त्यही नै सही विचार हुन्छ, वैज्ञानिक विचार हुन्छ । त्यसलाई अपनाउने साहस हामीमा हुनुपर्छ । त्यो विषयलाई सबैले गम्भीरतापूर्वक लिनुपर्छ ।

म दसवर्षे जनयुद्धबाट आएको व्यक्ति बाबुराम नयाँ कसरी बन्नसक्छ भन्ने सबैलाई जिज्ञासा हुनसक्छ । म गोर्खाको एउटा सामान्य किसान परिवारमा जन्मेको व्यक्ति तपाईहरुको मायाममतालेयो देशको प्रधानमन्त्री समेत भइसकेँ । त्योभन्दा ठूलो कार्यकारी पद केही छैन । मैले त्यो प्राप्त गरिसकेँ । म मेरो बाँकी जीवन तपाई युवाहरुका निम्ति, यो देशलाई समृद्ध बनाउनका लागि समर्पण गर्न चाहन्छु । के मैले त्यसो गर्न नपाउने ? मैले मेरो बाँकी जीवन युवा पुस्ताको निम्ति, मेरो छोरीको पुस्ताको निम्ति समर्पण गर्छु भन्दा अपराध हुन्छ ? गौतम बुद्धले दरबार छाडेर नहिँडेको भए के तपाई हामीले बुद्धदर्शन पाउन सक्थ्यौं ? उनलाई दरबारमा के नपुग्दो थियो ? दरबार छाडेर हिँड्दा उनलाई पक्कै पनि पागल भने होलान । तर बुद्ध आफ्नो ध्यान र ज्ञानको बाटोमा दृढ रहेकै कारण २५ सय वर्षपछि पनि संसारभरका २ अर्बभन्दा बढी मानिसहरुलाई ध्यान र ज्ञानको प्रभाव छाडेर गए ।

नयाँ कुरा गर्दा केही जोखिम लिनै पर्छ । सामान्य मान्छे, बनिबनाउ बाटोमा जो पनि हिड्ने गर्छ । तर नयाँ बाटोमा युगको आवाज सुनेर हिँड्न सक्नु ठूलो कुरा हो । त्यसैले मैले यो जोखिम उठाएकै हो । त्यो जोखिम तपाईहरुको निम्ति हो, तपाईहरुको पुस्ताको निम्ति हो । यो देशको निम्ति हो । त्यसमा म निरन्तर लाग्ने विश्वास दिलाउन चाहन्छु ।

विगतमा हामी युद्धमा गयौं । कतिपय साथीहरुलाई चोट लागेको हुनसक्छ । थुप्रै मानिसहरुको ज्यान गयो, कयौं घाइते अपाङ्ग भएका छन् । त्यसले अहिले पनि तपाईंहरुको मनमा चोट परिरहेको होला ।तर क्रान्तिको नियम अत्यन्त निर्मम हुँदोरहेछ । नेपालमा २००७ सालमा बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले हतियार उठाएकै हो, मान्छेहरु मरेकै हुन् । फेरि पछिल्लो कालखण्डमा नेपाली कांग्रेसले विमान अपहरण पनि गरेकै हो । २०२८/०३० सालतिर झापा आन्दोलन भयो । त्यो आन्दोलनमा पनि निकै ठूलो बलिदानी भयो । पछिल्लो समय उहाँहरुले पनि आफूलाई रुपान्तरण गर्नुभयो ।

हामी माओवादीहरुले राजतन्त्रको अन्त्यका निम्ति हतियार उठायौं । त्यो विद्रोहका क्रममा थूपैको ज्यान गयो । ज्यान जानु प्रिय कुरा त होइन । तर पनि इतिहासको एउटा कालखण्डमा परिवर्तनका लागि यस्ता घटनाहरु हुने गर्दछन् । जनयुद्धकालमा भएका घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निष्पक्ष छानबिन गर्नुपर्छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले गरेको निर्णय हामीले मान्नुपर्छ ।

नयाँ शक्ति नेपाल कुनै पार्टीको विरुद्धमा गठन भएको होइन । हामी नयाँ एजेन्डा अनुसार गठन भएका हौं । हामी यो मुलुकलाई आर्थिक विकास र समृद्धिको मार्गमा लैजानुपर्छ भन्ने उद्देश्यसहित आएका छौं । नयाँ शक्ति नेपाल आफू माथि उठ्छौं र तपाईहरुलाई पनि माथि उठाउँछौं । हामी कुखुराझैं तल खोस्रने होइन, चीलझैं माथिमाथि उड्ने हो । हामी जनताको मन जितेर आगामी दुई वर्षभित्र स्थानीय, प्रादेशिक र राष्ट्रिय निर्वाचनमा एक नम्बर शक्ति बनेर यो देशको नेतृत्व गर्ने सोँच छ । त्यसैले हामी कुनै पनि षड्यन्त्र, जालझेल नगरी र कसैसँग पनि दुश्मनी नगरी स्वच्छप्रतिस्पर्धा गरेर यो देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा डोहोर्‍याउने प्रतिबद्धता गर्दछौं ।

हामी यतिबेला इतिहासको ढोकामा उभिराखेका छौं । त्यो ढोकामा भावी पुस्ताले ढकढक गरिरहेको छ । हामीले त्यो युगको आवाज सुन्नुछ र त्यही अनुसार आफूलाई बदल्नु छ । यतिबेला नयाँ विचारको आवश्यकता छ । अब संसारको कुनै पनि तागतले नयाँ शक्तिलाई रोक्न सक्दैन । नयाँ शक्ति युगको आवश्यकताले जन्माएको वैकल्पिक शक्ति र संस्कार हो । हामी समृद्धिलाई केन्द्रमा राखेर समृद्धिका निम्ति सुशासन र सदाचार, समृद्धिका निम्ति समावेशी, समानुपातिक सहभागितामूलक लोकतन्त्र, र समृद्धिका निम्ति स्वाधिनता र सार्वभौम सत्ता र स्वाधिनताका निम्ति समुन्नत समाजवादको नीति लिएर अगाडि बढेका छौं । हामी चाहन्छौं तपाई हाम्रो जीवनकालमा योदेश समृद्ध बनोस् । यो सम्भव पनि छ ।

तपाई हामी एकजुट भएर उठौं । हामी हाम्रै पालामा समृद्ध नेपाल हामी बनाउन सक्छौं । त्यसैले समृद्धि, समृद्धि, समृद्धि, यसलाई मूलमन्त्र बनाऔं । समृद्धि सम्भव छ हाम्रै पालामा । अबको निकास, आर्थिक विकास ।

(डा.भट्टराईद्वारा एक कार्यक्रममा गरिएको सम्बोधनको सम्पादित अंश)

The post मैले मेरो देशको समृद्धिको लागि जोखिम मोल्न नपाउने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles