नयाँ शक्ति पार्टी, नेपालले आफ्नो राजनीतिक सिद्धान्तको सूत्रीकरण पाँच ‘स’ मध्येको एक लाई ‘समुन्नत समाजवाद’ भनेको छ । यसबारे थुप्रै मानिसहरुले जिज्ञासा, आशंका र प्रतिक्रिया व्यक्त गरेको पाइन्छ । पार्टीभित्र, बाहिर, बौद्धिक तथा राजनीतिक क्षेत्रमा सबैतिर जिज्ञासा र प्रतिक्रिया व्यक्त भएका छन् । ती सबैलाई मुख्य तीन वटा प्रश्नमा समेट्न सकिन्छ ।
एक– फेरि पनि त्यही समाजवाद किन ? समाजवाद त असफल भइसकेको दर्शन हो । समाजवाद कम्युनिष्ट दर्शनको अभिन्न अंग हो । कम्युनिष्ट दर्शन पूर्वी युरोपदेखि, सोभियत संघसम्म, चीनदेखि उत्तर कोरियासम्म सबैतिर असफल भएको छ । समाजवादी दर्शनले के नयाँ कुरा दिन्छन् र ? नयाँ शक्तिले भन्ने गरेको वैकल्पिक राजनीति र समाजवादबीच कुनै सम्बन्ध नै छैन । नयाँ शक्तिले समाजवादको कुरा गर्नु पुरानै कम्युनिष्ट धङधङी मात्र हैन र ?
दुई– समाजवाद भनिसकेपछि फेरि त्यसलाई समुन्नत किन भन्नु पर्यो ? समाजवाद आफैंमा पूर्ण चिन्तन हो । त्यसमा समुन्नत शब्द जोड्दैमा त्यो नयाँ हुन्छ र ? वैकल्पिक हुन्छ र ? यदि त्यो नयाँ अवधारणा हो भने यसअघिका समाजवादी चिन्तनभन्दा यो समाजवादी चिन्तनका फरक विशेषताहरु के के हुन ?
तीन– विकास, सुशासन, समृद्धिको कार्यक्रम र समाजवादबीच के सम्बन्ध छ ? एकातिर नयाँ शक्तिले विकास र समृद्धिलाई मुख्य जोड दिएको छ, जहाँ अधिकतम् पूँजीको विकास आवश्यक छ । पूँजीको विकास, लगानीमैत्री वातावरण र निजी उद्यमशीलतालाई प्रोत्साहनबिना विकास र समृद्धि सम्भव नै छैन । यी कुरा र समाजवादको अवधारणा परस्पर विरोधी छन् । तसर्थ नयाँ शक्ति पार्टीको कार्यक्रम परस्पर अन्तर्विरोधाषपूर्ण त छैन ?
यी प्रश्नहरु निःसन्देह महत्वपूर्ण छन्, जसको उत्तर खुल्ला हृदयले दिने प्रयास नयाँ शक्तिका अभियन्ताहरुले गर्नैपर्छ ।
प्रथमत्ः समाजवादको एउटै र सर्वसम्मत अवधारणा संसारभरि कहीँ पनि छैन । फरकफरक अवस्थामा यसको फरकफरक अर्थमा प्रयोग भएको पाइन्छ । तसर्थ समाजवाद कुनै एक परिभाषामा आधारित पूर्ण अर्थ दिने शब्द हैन । यसका फरकफरक भाष्यहरु छन् ।
समाजवादको इतिहासलाई खोतलेर हेर्दा यसअघिका समाजवादलाई मुख्य तीन प्रकारका मान्न सकिन्छ । युरोपियन समाजवाद, सोभियत समाजवाद र प्रजातान्त्रिक समाजवाद । यी तीन समाजवादको प्रणेता, भाष्य र ऐतिहासिक विकासक्रम सबै फरक छन् ।
नयाँ शक्तिले भनेको समुन्नत समाजवाद यी तीन प्रकारकै समाजवाद हैन । अरु सबै समाजवादी चिन्तनको असल, खराब पक्षको विवेचना वा आलोचना गर्नुभन्दा यहाँ समुन्नत समाजवादको विशेषताहरुको चर्चा गरिन्छ । यी विशेषताहरुको तुलना गरेर हेरे अरु समाजवादी चिन्तन र समुन्नत समाजवादी चिन्तन किन फरक र वैकल्पिक छ भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ ।
१. अग्रपन्थको दर्शन (Frontiest Pholosophy)-
यसअघिका समाजवादी चिन्तनहरु मूलतः वामपन्थी वा दक्षिणपन्थी चिन्तनमा आधारित थिए । ती चिन्तनहरु दायाँ वा बायाँ कुनै एक पक्षमा बढी जोड दिएर हिँड्थे । बायाँ जोड दिनुको अर्थ क्रान्तिकारी एजेण्डालाई जोड दिनु तर लोकतान्त्रिक मूल्य, मान्यता, विधि, पद्धतिलाई कम महत्व दिनु वा महत्व नै नदिनु हुन्थ्यो । दायाँ महत्व दिनुको अर्थ उदार लोकतन्त्रलाई महत्व दिनु, त्यसभन्दा समाजको परिवर्तन र क्रान्तिकारी एजेण्डालाई खासै महत्व नदिनु हुन्थ्यो ।
समुन्नत समाजवादले वामपन्थी वा दक्षिणपन्थी दुवै दर्शनलाई अस्वीकार गर्दछ र अग्रपन्थी दर्शन ग्रहण गर्दछ । जसको अर्थ परिर्वतनकारी एजेण्डा र लोकतन्त्र अविभाज्य हुन्छन् । जो वास्तविक रुपमा क्रान्तिकारी छ, उसैले सबैभन्दा बढी लोकतन्त्र प्रत्याभूत गर्न सक्छ, सक्नुपर्दछ । जो वास्तविक रुपमा लोकतन्त्रवादी छ, उसैले सही क्रान्तिको नेतृत्व गर्न सक्दछ भन्ने चिन्तन नै अग्रपन्थी दर्शन हो । अग्रपन्थको दर्शनमा वामपन्थी र लोकतन्त्रवादी भन्ने राजनीतिक ध्रुवीकरण नै अर्थहीन बन्न पुग्दछ । यस दर्शनमा आएर सच्चा क्रान्तिकारी र सच्चा लोकतन्त्रवादी एकै दर्शनमा एकाकार हुन्छन ।
२.समानुपातिक–समावेशी/सहभागितामुलक लोकतन्त्र (Socialism with Participatory Democracy)-
समाजवाद र लोकतन्त्रबीचको सम्बन्ध के हो ? कस्तो हुन्छ ? भन्ने बहस पुराना समाजवादी चिन्तनमा व्यापक थियो । उदार लोकतन्त्रलाई पूँजीवाद भनिन्थ्यो । त्यसैको विकल्पमा एकातिर सोभियत लोकतन्त्र वा एकदलीय अधिनायकवादी लोकतन्त्रका अभ्यास भएको थियो । प्रजातान्त्रिक समाजवादीहरु वा युरो कम्युनिष्टहरु सोभियत लोकतन्त्रको विरोध गर्थे तर उदार लोकतन्त्रलाईनै लोकतन्त्रको सही ढाँचा मान्दथे ।
यसरी लोकतन्त्र र समाजवादको अन्तर्सम्बन्धबारे यस अघिका सबै समाजवादी विचारहरु अलमलमा थिए । तर समुन्नत समाजवादी चिन्तन यस विषयमा प्रष्ट छ । यसले लोकतन्त्रलाई सकेसम्म बढी विस्तारीकरण, मूर्तीकरण, सघनीकरण, जीवन्तकरण, मानवीयकरण र सवलीकरण गर्न चाहन्छ । त्यसका लागि लोकतन्त्रको नयाँ ढाँचा प्रस्तावित गर्दछ, त्यो हो समानुपातिक, समावेशी, सहभागितामूलक लोकतन्त्र । लोकतन्त्रको यो ढाँचा आजसम्मका लोकतन्त्रका सबै ढाँचाहरुभन्दा बढी आधुनिक र विकसित छ ।
३. समाजवाद आफैंमा गन्तव्य (Socialism as a destination itself)-
अरु समाजवादी चिन्तन विशेषतः सोभियत वा राज्यकेन्द्रित समाजवादी चिन्तनमा समाजवादलाई साम्यवादको पूर्वअवस्था मानिन्छ । यसले मानव समाज कुनै दिन वर्गविहीन, राज्यविहीन, बजारविहीन, निजी बचतविहीन र निजी सम्पत्तिविहीन, मुद्राविहीन, मुनाफा (अतिरिक्त मूल्य) विहीन अवस्थामा पुग्ने छ भन्ने कल्पना गर्दछ ।
वस्तुतः यो कल्पना पश्चिमा एकलरेखीय विकासको चिन्तनमा आधारित छ । पूर्वीय दर्शन र पछिल्लो क्वान्टम विज्ञानका प्रमाणको आधारमा मानव समाज त्यस्तो अवस्थामा कुनै दिन पुग्छ भन्ने ग्यारेन्टी गर्न सकिन्न । किनकी सृष्टिको विकासक्रम एकलरेखीय नभएर गैर एकलरेखीय (ननलिनियर डाइनामिक्स) मा आधारित देखिन्छ । तसर्थ समुन्नत समाजवादी चिन्तनले समाजवादलाई समाजवादी क्रान्ति गरेर साम्यवादतिर जाने बाटोको रुपमा ग्रहण गर्दैन, यसले समाजवादी अभिष्टलाई तुरुन्तै व्यवहारमा कार्यान्वयन गर्न थाल्नु पर्ने ठान्दछ । त्यो भनेको ‘सबैका लागि काम र सम्मानजनक जीवनस्तर’ हो ।
४.सर्वाङ्गिक सोच (Holistic Approach)-
पुराना समाजवादी दर्शनहरुले मान्छेलाई कुनै एक आयामबाट व्याख्या गर्न खोज्थे । कसैले मानव जीवनको प्रमुख प्रेरणा धन हो भन्थे । कसैले यौन हो भन्थे । कसैले अहं हो भन्थे । कसैले पहिचान हो भन्थे । कसैले शक्तिसम्बन्ध हो भन्थे । कसैले आत्मसम्मान हो भन्थे । यी सबै दाबीका बीच पनि मान्छे सिंगो थियो । त्यसको अर्थ हो मान्छे बहुआयामिक प्राणी हो ।
मानव जीवनमा यीसबै तत्वहरुको एकसाथ महत्व हुन्छ । मान्छे सिंगो थियो तर दर्शनहरुले उसलाई टुक्राएर कुनै एउटा अंशमा महत्व दिएर व्याख्या गर्दथ्यो । तर समुन्नत समाजवादी चिन्तन बहुआयामिक चिन्तन हो । यसले मानव जीवनलाई कुनै एक तत्वको एकांकी सोचमा हैन, सर्वाङ्गिकरुपमा बुझ्न, व्याख्या गर्न र सोही अनुरुपको व्यवहार गर्न चाहन्छ ।
५.गतिशील सन्तुलन (Dynamic Balance)-
समुन्नत समाजवादले अस्तित्वमा विद्यमान प्रवर्गहरुले एकले अर्कालाई कहिल्यै निषेध (नेगेसन) गर्दैनन् भन्ने विश्वास गर्दछ । बरु ती गतिशील सन्तुलनमा हुन्छन् । गतिशील सन्तुलनलाई द्वन्द्ववादी विश्लेषण पद्धतिमा एक नयाँ नियमका रुपमा स्वीकार गर्न सकिन्छ । जस्तै रात र दिन । यी दुईको सम्बन्ध कहिल्यै निषेधमा हुँदैन । रातले दिनको अस्तित्वलाई, दिनले रातको अस्तित्वलाई अन्त्य गर्दैन, क्षणिक रुपमा एकअर्काको भूमिका र स्पेसलाई सीमितीकरण मात्र गर्दछन् ।
सबै प्रवर्गहरुहरुको सम्बन्ध ठीक यस्तै हुन्छ । जस्तै श्रम र पूँजी, निजत्व र सामूहिकता, निजी स्वामित्व र सार्वजनिक स्वामित्व । श्रमवादीहरुले सरकार चलाउँदैमा सबै चिज सामूहिक हुन वा सबै अर्थतन्त्र श्रमिकहरुको हुन सक्दैन । पूँजीवादीहरुले सरकार चलाउँदैमा सबै चिज निजी हुन वा सबै चिज पूँजीपतिहरुको हुन सक्दैन । बनाउन खोजे पनि त्यो सफल हुँदैन ।
पूँजीवादी भनिएका अमेरिका लगायतका देशहरु निरपेक्ष बजार अर्थतन्त्रबाट सामाजिक सुरक्षा स्वीकार गर्ने अवस्थामा पुग्नु र कम्युनिष्ट भनिएका चीन लगायतका देशहरु बजार अर्थतन्त्र र निजी स्वामित्वलाई स्वीकार गर्ने अवस्थामा पुग्नुले परम्परागत पूँजीवादी र साम्यवादी दुबै चिन्तन सही थिएनन् भन्ने पुष्टि हुन्छ । अर्थात् श्रम र पूँजी, निजी र सार्वजनिक स्वामित्व जहिल्यै गतिशील सन्तुलनमा हुन्छन्, त्यो गति र सन्तुलनको महत्व बुझ्न सकियो भने एकसाथ पूँजी र श्रम दुबैको विकास गर्न सकिन्छ, त्यो अवस्थामा नै आर्थिक विकास र समृद्धि सम्भव हुनेछ । त्यो भनेको श्रम र पूँजी, निजी र सार्वजनिक दुबै स्वामित्व सम्बन्धको निरन्तर पुनरावलोकन गर्नु हो ।
६. खुशीशास्त्र (Happynomics)
निःसन्देह आर्थिक विकास र समृद्ध जीवनस्तर जरुरी छ तर त्यसले मात्र मानिसलाई खुशी दिन सक्दैन । धनी र विकसित भनिएका देशहरुमा हुने हत्याहिंसा, पारिवारिक विग्रह, डिप्रेसन र आत्महत्याको दरले त्यसलाई पुष्टि गर्दछ । तसर्थ सन्तुलित मानव जीवन र खुशीको प्रवर्द्धन कसरी गर्ने भन्ने चुनौती सबैका सामु छ । नयाँ शक्ति र समुन्नत समाजवाद, मानिसको आत्मिक जीवन पद्धतिलाई जोड दिएर सदाचार, सन्तुलित सोंच र खुशीलाई प्रवर्द्धन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छ ।
यसका लागि पूर्वीय दर्शनमा आधारित योग, ध्यान, मनोसाधना, प्राणायाम र वितराग अभ्यासजस्ता विधिहरु बढी उपयोगी हुन सक्दछन भन्ने निष्कर्षमा पुगेको छ । अरु समाजवादी चिन्तनको भन्दा समुन्नत समाजवादी चिन्तनको यो निक्कै भिन्न र मौलिक पक्ष हो । भोगवादलाई प्रवर्द्धन गर्ने पश्चिमा भौतिकवाद र सन्यासमार्गलाई प्रवर्द्धन गर्ने पूर्वीय अध्यात्मवाद दुवै समृद्ध जीवन र मानवीय खुशीका लागि उपयोगी छैन, त्यसको साटो हामीले सन्तुलित आत्मिकजीवन पद्धतिको विकास गर्न जरुरी छ ।
७.आमूल रुपान्तरण (Radical Transformation)-
समुन्नत समाजवादले समाजवाद निर्माणको बाटो हिंसात्मक क्रान्ति (Violent Revolution) र क्रमिक विकास Gradual Development) दुवै नहुने निष्कर्ष निकालेको छ जस्तो कि यसअघिका समाजवादी चिन्तनमा भन्ने गरिन्थ्यो । त्यसको साटो आमूल रुपान्तरणको बाटो बढी उपयोगी हुनसक्दछ । त्यो भनेको सबै शान्तिपूर्ण विधिहरुको एकीकृत र प्रभावकारी उपयोग गर्नु हो ।
वस्तुतः यी सात विशेषताहरुले समुन्नत समाजवादी चिन्तन यसअघिका युरोपियन समाजवाद, कम्युनिष्ट समाजवाद र प्रजातान्त्रिक समाजवादी चिन्तनभन्दा किन फरक छ भन्ने प्रश्नलाई प्रष्ट पार्नेछ । यो प्रश्न बाँकी रहन्छ, ‘समुन्नत’ भन्ने शब्द किन जोड्नु पर्यो त ?
यसका दुईवटा अर्थ हुन्छन् । पहिलो– यो आजसम्मका सबै पूर्ववर्ती समाजवादी विचारबाट शिक्षा लिएर अगाडि आएको समाजवादी चिन्तन हो । यो कुनै पनि पूर्ववर्ती समाजवादी चिन्तनजस्तो समाजवाद हैन । तसर्थ यो अहिलेसम्मकै समुन्नत (Enhanced/Enriched) समाजवादी चिन्तन हो ।
दोस्रो– यसले हरेक नागरिकलाई स्वतन्त्र, धनी, खुशी, सुखी र सम्पन्न बनाउने उद्देश्य राख्दछ । निरपेक्ष समानता, निरपेक्ष राष्ट्रियकरण र निरपेक्ष सामूहिकीकरणमार्फत् गरीबीको वितरण वा ‘सर्वहाराकरण’मा नभएर ‘समृद्धीकरण’मा जोड दिन्छ । तसर्थ यो ‘समुन्नत समाजवाद’ (Prosperous Socialism) हो ।
वस्तुतः समाजवादको यो चिन्तन नै वैकल्पिक हो । तसर्थ वैकल्पिक राजनीतिसँग समुन्नत समाजवादको धारणा कहीँनेर पनि अन्तर्विरोधी छैन ।
–नयाँ शक्ति नेपाल वैचारिक मासिकबाट
The post ‘समुन्नत समाजवाद’ को अर्थ appeared first on Sajha Post.