नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूले पुरानो जुत्ता फुकाल्ने प्रतिबद्धता जनाउदै नयाँ शक्तिका सबै नेता कार्यकर्तालाई आफ्नो पुरानो जुत्ता फुकाल्न सबैलाई आग्रह गरेका छन् । सही हो, नयाँ शक्ति निर्माणको क्रममा नयाँ शक्तिमा समाहित भएका हजारौं नेता कार्यकर्ताले पुरानै जुत्ता लगाएर वास्तविक नयाँ शक्ति बन्न कठिन हुने प्रायः निश्चित थियो । यहाँ यो भनाईको निहितार्थ केलाउने प्रयत्न गरिएको छ ।
विचाररुपी जुत्ता
बाबुरामले आफ्नो सबभन्दा ऊर्जाशील समय मार्क्सवाद, लेनिनवाद र माओवाद नै अन्तिम सत्य हो भन्ने मान्यता राखे । मार्क्सले कल्पना गरेको, लेनिन र माओले प्रयोग गरेजस्तो सर्वहारा अधिनायकत्व र वर्ग निषेधको सिद्धान्तअनुरुपको व्यवस्था नेपालमा भित्र्याउन माओवादी जनयुद्धको नेतृत्व समेत गरे । तर सर्वहारा अधिनायकत्व नेपालमा संभव हुने कुरा थिएन । डा.भट्टराईको दूरदृष्टि यहाँ प्रकट भयो । र, प्रचण्डको कठोर माओवादी पार्टी शासन भित्रैबाट लोकतान्त्रिक गणतन्त्रको नारा स्थापित गराएरै छोडे । गतवर्ष औपचारिकरुपमै उनले त्यो पुरानो मालेमावादी जुत्ता फुकाले । उनमा आएको बुझाईको गहिराई, संसारमा आएको भिमकाय परिवर्तन र अन्य विभिन्न कारणले यो संभव भयो । एउटा राजनेताले यसरी आफ्नो वैचारिक कोर्स करेक्सन गर्न तयार हुनु आफैमा एक ऐतिहासिक घटना हो ।
व्यवहाररुपी जुत्ता
जसरी डा.भट्टराईले वैचारिक कोर्स करेक्सन गरे,हिजोको राजनीतिक एवम् व्यक्तिगत व्यवहारमा स्वभाविक रुपमा परिवर्तन हुने नै भयो । किनभने विचार व्यवहारमा परिवर्तन नभई आशातित परिणाम आउँदैन भन्ने एक राजनेताले नबुझ्ने कुरा भएन । डा.भट्टराईसंग विगतमा संगत गर्नेहरु भन्छन्– उनी सांगठानिक मामिलामा धेरै कमजोर छन् । तिनीहरुलाई के थाहा, संगठन त विचार, विधि र पद्धतिले आफै बनाउँछ । प्रचण्ड वरिपरिको झुण्ड ( विधि, पद्धतिले नचलेको हुनाले यसलाई संगठन भन्न सकिँदैन) भन्दा नयाँ शक्तिको संगठन दिनदिनै व्यापक र मजबुत बन्दै गएको सबैले अनुभूत गरेका छन् । नेतृत्वले त केवल विचार निर्माण गर्ने, विचारबमोजिमको विधि विधान बनाउने र त्यसलाई पालन गर्न गराउन परिणाममुखी अग्रसरता देखाउने हो । तृणमुल तहमा संगठन त कार्यकर्ताले बनाई हाल्छन् ।
उनका अर्काथरी पूर्व संगातीहरु भन्छन्- बाबुरामको नेतृत्व क्षमता पनि छैन, निर्णय क्षमता छैन । यो त झन फजूल आरोपमात्र हो । पहिलो, भिजनसहितको मिसन बनाउन सक्ने नेता नै नेतृत्य क्षमता भएका नेता हो । दोस्रो, निर्णय त बाबुराम एक्लै गर्ने नै होईन । नयाँ शक्तिजस्तो लोकतान्त्रिक पार्टी ‘सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी’ को सिद्धान्तमा आधारित छ । बाबुराम नेतृत्वको सफलता त्यतिबेला हुनेछ, जतिबेला नयाँ शक्तिका सबै नेताले निर्णयको स्वामित्व समानरुपमा ग्रहण गर्नेछन् । प्रचण्डजस्तो सबै शक्ति आफैमा केन्द्रित गरी अरुलाई चेसको गोटीजस्तो चलाउने सुविधा डा. भटटराईलाई छैन ।
एकमनावादी जुत्ता
बाबुराममाथि अर्को आरोप लाग्ने गरेको छ- उनी एकमनावादी छन्, सानो घेरामा रमाउँछन् । यो त झन हाँस उठ्तो आरोप भयो । हो, हिजो युद्धकालीन माओवादीमा मुख्य नेताको सबभन्दा विश्वासपात्रहरुको भित्री घेरा हुन्थ्यो होला, हेडक्वार्टर हुन्थ्यो होला, घोषित अघोषित कोर टीम बनाईन्थ्यो होला, नेतृत्वका आलोचकहरुको हुर्मत काडिन्थ्यो होला, त्यो विलकुल भिन्न बेला र प्रसङ्ग थियो । अहिले बाबुराममा आरोप लगाईएजस्तो एकमनावादी सोच छैन ।
प्रत्यक्ष लोकतन्त्रमा आधारित पार्टी हुनुको नाताले माओवादीमा जस्तो निषेधको राजनीति नयाँ शक्तिमा संभव छैन भन्ने उनलाई राम्ररी थाहा छ । सत्य स्वीकार्नै पर्दछ, बाबुराम माओवादीमा रहुन्ज्याल बाहिर ठूलो प्रभाव भएर पनि सो पार्टीको संगठनमा उनको प्रभाव जमाउन दिइएन । तर जब उनले वैचारिक र व्यवहारिक रुपमा माओवादी जुत्ता फुकाले, उनको घेरा विशाल बन्दै गएको छ । अब बाबुरामलाई सानो घेरामा रमाउनु पर्ने न चाहना छ, न आवश्यकता नै ।
र, अन्त्यमा
नेपाली राजनीतिक बजारमा बाबुरामप्रति यस्तो आशंका पनि गरिंदो रहेछ– साठी बर्षको उमेरसम्म माओवादी राजनीति गरेका बाबुराम साँच्चिकै लोकतन्त्रवादी नेता बन्लान् र ? डाईनामाइटका आविस्कारक अल्फ्रेड नोबलको दाजुको मृत्यु हुँदा अल्फ्रेड नोबल मर्यो भन्ने गलत सूचनाको आधारमा भोलिपल्ट एउटा समाचार छापियो- ‘जनताको हत्यारा मर्यो’ । वैज्ञानिक नोबललाई हत्याराको संज्ञा साह्रै मन परेन । त्यो संज्ञाबाट मुक्त हुन पछि उनले नोबल पुरस्कार स्थापना गरे । उनको अर्कै परिचय स्थापित भयो । अंगुलीमाला बुद्धभक्त बने । ईतिहासका यस्ता कैयौं महान पात्रहरुमा नाटकीय परिवर्तन आएको छ भने लोकतन्त्रप्रतिको बाबुरामको वर्तमान निष्ठामा किन शंका गर्ने ?
The post बाबुराम, पुरानो जुत्ता र लोकतन्त्र appeared first on Sajha Post.