Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

समृद्ध नेपालको सपना र अन्तरसम्बन्धित केही प्रश्नहरु

$
0
0

नेपाली जनताले कानको जाली टट्याउनेगरी लामो समयदेखि सुनिआएको पट्यारलाग्दो शब्दावली हो नयाँ संविधान, संक्रमणकालको अन्त्य र नयाँ नेपाल । विशेषता जे जस्ता भएपनि नयाँ संविधान हाम्रो सामु पदार्पण भएको छ । संक्रमणकाल अन्त्य अधकल्चो अवस्थामा पुगेको छ । नयाँ नेपालको फुलबुट्टे सपना समृद्धि र विकासको नाममा फेरि सतहमा आएको छ । समृद्ध नेपालको खातिर नेतृत्वगणबाट दिव्यवानीको प्रवाह शुरु भएको छ । तर अझै पनि समृद्ध नेपालको लागि स्पष्ट खाकाको अभाव देखिइरहेको छ । यहाँ समृद्ध नेपालको स्वर्णिम सपनासँग अन्तर सम्बन्धित केही प्रश्न र सवालहरुको बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

राजनीतिक नेतृत्व र समृद्ध नेपाल :- राजनीतिक नेतृत्वले २ वटा चुनौतिपूर्ण र परस्पर विपरित काम गर्ने हैसियत राख्दछन् । एउटा कानुनको पालना र अर्को कानुनको उल्लङ्घन । अचम्म लाग्नसक्छ कानुनको पालना र उल्लङ्घन एकसाथ कसरी ? तर राजनीति भनेकै यसकै सेरोफेरोमा केन्द्रित रहन्छ ।

बिनाराम खड्का
बिनाराम खड्का

सामाजिक जनमतको लागि राजनीतिक नेतृत्वले सामाजिक मुल्य मान्यताको संरक्षण गर्दै त्यसकै आडमा विद्यमान कानुनको ध्वंश र नयाँ कानुन निर्माणको बाटो तय गर्छ । कानुनको उल्लङ्घन गर्नु अपराध भएता पनि राजनीतिक नेतृत्वले नयाँ कानुन निर्माणको खातिर पुरानो कानुनमाथि प्रहार गर्दछ । आफ्नो प्रहारलाई नयाँ कानुनमा स्थापित गर्दछ, बैधता प्रदान गर्दछ । अपराधीले कानुन उल्लङ्घन गरेमा झेलखानामा जाकिनु र राजनीतिकर्मीले कानुन उल्लङ्घन गरेर नयाँ कानुनको विजारोपन गर्नुको पृथकता यहीनेर पुष्टिन्छ । पुरानो कानुनको उल्लङ्घनमा होस वा नयाँ कानुन निर्माणमा होस राजनीतिक नेतृत्वको स्पष्ट दुरदृष्टिको जरुरत पर्दछ । सादगी र जनप्रभावित कार्यशैलीको जरुरत पर्दछ । दृढनिश्चयी र निडरताको आवश्यकता पर्दछ । युगिन आवश्यकता बुझ्ने र परिवर्तनलाई आत्मसात गर्नसक्ने खुबी चाहिन्छ । कमिशन, अपारदर्शिता, दिग्भ्रम, गोलमाल, अस्तव्यस्तताबाट टाढा र सरदर जनसमुदायभन्दा विचार, खुबी, क्षमता, कार्यशैली, ब्यक्तित्व, दुरदर्शितापूर्ण र चुनौतीहरुको सामना गर्नसक्ने नेतृत्वको जरुरत पर्दछ । के समृद्ध नेपाल निर्माणको लागि भुमन्डलीकरणको दुनियामा नेपाली समाजको विविधता र नेपाली जनताको आकाँक्षा अनुरुप उचित समाधान गर्ने दूरदृष्टीपूर्ण राजनैतिक नेतृत्व सम्भव छ ?

प्रशासन संयन्त्र र समृद्ध नेपाल :- छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावताका सार्वजनिक गरेका १० वटा प्राथमिकताहरुमा क्रमश: १ देखि ४ नम्बरसम्म शासन व्यवस्था र प्रशासन सुधारसँग सम्बन्धित थिए । राजनीति मूल नीति हुँदाहुँदै पनि राज्यव्यवस्थाको आन्तरिक आत्मा र धमनी प्रशासन यन्त्रमा हुन्छ । जनतासँग प्रत्यक्ष देखिने भनेको देशको प्रशासन यन्त्र नै हो । शासन संचालनको रञ्गमञ्चमा राजनीतिक नेतृत्व उभिए पनि वस्तु र सेवा वितरण/पुन: वितरणको लागि जनताको नजिकमा स्थापित प्रशासनिक एकाइको ऐनामा प्रशासन संयन्त्रकै अनुहार देखिने हो । उभिने एउटा र देखिने अर्कोको बीचमा अनुहारमा एकाकार नहुँदा, तालमेल नहुँदा विद्रोह जन्मन्छ । राजनीतिका योजना, नीति, कार्यक्रमलाई प्रभावकारी कार्यान्वनको लागि प्रशासन यन्त्रको पुनर्सँरचना जरुरी र अत्यावश्यक छ । जनताको नजरमा गिरेको, परम्परागत कार्यशैलीमा रुमल्लिएको, चरम निराशा, कुन्ठा, भ्रष्टाचार, कुविचारले भरिपूर्ण कर्मचारी तन्त्रको पापकुन्डको पोखरीमा तैरिएर जनताको समृद्ध नेपालको सपना साकार गर्न सकिएला ? नयाँ नेपालको बहसले दशक पार गरी समृद्ध नेपालमा फड्को मारिसक्दा अहिलेसम्म राज्य सँचालनको आन्तरिक अङ्ग, प्रत्यङ्ग रुपान्तरणप्रति गरिएको वेवास्ताको वीचबाट दृष्टि क्षितिजमा समृद्ध नेपालको नक्शा नियाल्दा डोरी चुडेको चङ्गाझैँ देखिएको सपना कसरी साकार होला ? के यतापट्टी बहस गर्ने समय भएको छैन ? हेर्दाहेर्दै भित्रभित्रै ध्वस्त र विघटनको दिशामा अभिमुख नेपालको प्रशासन सँयन्त्रको असफलताले देशकै अस्तित्वमा प्रश्नचिन्ह खडा गरिरहेको बेला विद्यमान कर्मचारीतन्त्रकै मार्गचित्रमा समृद्ध नेपालको सपना बाँड्नु गगनचुम्बी महलको भुईपिल्लरको रुपमा केराको थाम र मेवाको रुख राखेझैँ भएन र ?

शिक्षा प्रणाली र समृद्ध नेपाल :- बेलायती प्रधानमन्त्री टोनी ब्लेयर प्रधानमन्त्रीमा निर्वाचित भएपछि आफ्नो सरकारका ३ वटा प्राथमिकता घोषणा गरे पहिलो शिक्षा, दोस्रो शिक्षा र तेस्रो पनि शिक्षा । कतिपय कानुन निर्माण र समावेशीकरणको सवालमा युरोपभन्दा अगाडि भएको र इतिहासका कालखन्डमा स्वर्णीम भूमिको रुपमा परिचित सुन्दर देश नेपालको यो दुर्दशाको मुख्य कारण के राजनीति मात्रै हो त ? अवश्यै होइन । यसको अन्तर्यमा गएर हेर्ने हो भने राज्यको उपप्रणालीको रुपमा नेपालको शिक्षा प्रणाली पनि त्यसको लागि जिम्मेवार छ । नेपालको शिक्षा जति बढी पढ्यो उति काम नलाग्ने ! जति विकास भयो उति गुणस्तरहीन ! जति जान्ने बुझ्ने उती असामाजिक ! जति बढी बिद्वान उति बेक्कुफ ! यो सब कसरी भयो ? यो शिक्षा प्रणालीकै देन र परिणति हो । नेपालका राजनीतिक दलहरुभन्दा झन्डै १०० वर्ष जेठो नेपालको शिक्षा प्रणाली सुधारका सम्भावना के हुन ? शिक्षा प्रणाली सुधार राजनीतिको प्राथमिकतामा छ कि छैन ? शिक्षा प्रणालीको सुधारविनाका समृद्ध नेपालका बहुरङ्गी सपना भ्रमित दिवास्वप्ना हुन भन्ने हेक्का छ कि छैन ? हिजो नेपालजस्तै अवस्थामा रहेका जापान, थाइल्यान्ड, दक्षिण कोरीया, सिङ्गापुर, इन्डोनेशिया जस्ता देशहरुले विश्वमै ए वन ग्रेडको स्तरीय शिक्षा दिलाउन र विश्वव्यापी ज्ञान बटुलेर आफ्नो देश निर्माणमा प्रयोग गर्नको लागि विश्वका प्रख्यात विश्वविद्यालयहरुमा सरकारी खर्चमा जहाजका जहाज विद्यार्थी अध्ययन गर्न पठाएझैँ विश्वव्यापी अनुभवलाई नेपाली परिवेशमा प्रयोग गर्ने वातावरण निर्माण गर्ने कहिले ? हाल देशमा भएका केही प्रतिभावान जनशक्ति दलीय कोपोभाजनमा परी रोजीरोटीको खोजीमा विदेश पलायन हुने, युवा जनशक्ति सिपविहीन रुपमा बिश्ववजारका सस्तो श्रमिकमा बिक्री हुने अनि देशको शिक्षा प्रणाली तहसनहस भइरहने हो भने समृद्ध नेपालको नाम जप्दै बाँडिएको सपना प्वाल परेको वेलुनमा फुकिएको हावाझैँ भएन र ?

दिगो विकास र समृद्ध नेपाल :- प्राकृतिक साधन र स्रोतको प्रचुर सम्भावना बोकेको नेपालमा हालसम्न कर्णाली पुल बाहेक कुनै पनि विकास आयोजनाहरु समयमा सम्पन्न हुन नसकेका तीता यथार्थताहरु हाम्रा सामु छन् । आफ्नो मान्छे नियुक्त गर्नकै लागि यहाँ कैयौँ आयोजनाहरु दशकौसम्म अवरुद्ध हुन्छन् । राष्ट्रिय प्राथमिकता प्राप्त गौरवशाली आयोजनाहरुको भविष्य पेट्टी ठेकेदारहरुको हातमा छ । उपभोक्ता समितिदेखि अन्तराष्ट्रिय टेन्डरसम्म कमिशनकै खेल छ । कमिशन विना मन्त्रीपरिषदमा प्रस्ताव नै पेश नहुने बिकराल स्थिति छ । जलविद्युतको धनी देश नेपालमा जलविधुत उत्पादनमा भुटानभन्दा नेपालको प्रतियुनिट लागत १० गुणा बढी र दक्षिण एसियामै महँगो छ । दशकौँसम्म किन आयोजना सम्पन्न हुन सकेन ? त्यसको जवाफ कसैले दिनुपर्दैन । विकास खर्च २० प्रतिशत भन्दा कम हुँदा पनि सदन, सँसदीय समिति र जनताप्रति अर्थमन्त्री जवाफदेही हुनुपर्दैन । राजनीतिबाट सँरक्षित ठेकेदार र ठेकेदारबाट पालित, पोषित राजनीतिकर्मीको भुडी चन्द्रलोकबाट देखिने गरी बडेमानको भैसक्दा पनि “छामछुम” पार्ने निकाय तैँचुप मैँचुपमा छन । बाटो र राजमार्ग विस्तारको नाममा माटो खोर्सिने बिकासे अवधारणाको ट्वाकट्वाके डोजरले हरिया डाँडाकाँडा भत्काएर बाढी, पहिरोको उच्च जोखिममा बस्तीहरु पुर्‍याइरहेको छ । काठमाडौंको २५ कि मी उत्तर, दक्षिण, पूर्व, पश्चिमको यथार्थता नबुझ्ने योजनाकारको बाङ्गो रेखामा विकासका गतिविधीहरु कहिलेसम्म केन्द्रित हुने हुन ? जनताले खोजेको दिगो र व्यवस्थित विकासको परिकल्पनाको सुनुवाइ कसले र कुन “शक्ति”ले गर्ने हो ?

कानूनी शासन र समृद्ध नेपाल :- नेपालमा कानुन नभएका होइनन् । नेपाल कानुनै कानुन र मन्दिरै मन्दिरको देश हो । वि.स. १९१० मा जङ्गबहादुरले बेलायतबाट नक्कल गरी मुलुकी ऐन जारी गर्दा विश्वका धेरै देशमा संविधान थिएनन् । भारतमा संविधान बन्दैगर्दा पदमसमशेरले जारी गरेको नेपाल सरकारको बैधानिक कानुन २००४ मै मौलिक हक र कर्तब्य, अनिवार्य प्राथमिक शिक्षाजस्ता त्यतिखेरको विश्वमा चर्चामै नभएका प्रगतिशील कुरा लेखिएकै हो । तर कार्यान्वयनको कसीमा दाँजेर हेर्दा आजका दिनसम्म पनि नेपालको कानुन दैवले जानून र ठूलालाई चैन सानालाई ऐनमै अभिसप्त छ । नेपालमा अचम्म र उदेकलाग्दो कानुनी माहोल छ । त्यही कानुनको धरापमा एकजना निर्दोष जेलको चिसो छिडीमा पुग्छ र त्यही कानुनको आडमा एकजना अपराधी समाजमा प्रतिष्ठित हुन्छ । यहाँ सबैभन्दा ठुलो भ्रष्टाचारीले भ्रष्टाचारमा शुन्य सहनशिलताको घोषणा गर्छ र मनुष्यलोक गलगल खित्का छोडेर हाँस्छ । बिरालो दूधको साक्षी बस्छ । चतुर स्यालले लड्डु बाँड्ने जिम्मा पाउँछ । राजनीतिको अपराधिकरण र अपराधीको राजनीतिकरण भएको छ । नेपालको कानुन विश्वमै उदाहरणीय र उत्कृष्ठ यस मानेमा ठहर्छ कि यसलाई माने पनि हुन्छ नमाने पनि हुन्छ । कानुन निर्माताबाटै यसको उल्लङ्घन हुन्छ । यस्तो लाग्छ निर्माताले कानुन पालना गर्नै पर्दैन । कदमकदाचित गर्नैपरे परे तलतिरबाट कार्यान्वयन गरिन्छ । ‘कानुनका नौ सिङ्ग’ त नेपाली उखान नै छ । यही सेरोफेरोमा अबको एक दशकको नेपालको प्रमुख समस्या कानुनी शासनको उल्टो अर्थात कुशासन नै हुने देखिन्छ । “लेस” कुखुराबाट समृद्ध नेपाल निर्माणका सपनाका नयाँ अन्डाहरु कोरल्ने परिचर्चासँगै कानुनी शासनको प्रत्याभुतीको सम्भावना देखिन्छ ?

समृद्ध नेपालका फुलबुट्टे सपनाहरु कार्यान्वयन गर्नुपर्ने सवाल सतहमा आइरहेको बेला यी र यस्तै अनगिन्ती सपनाहरुको यथार्थ कार्यान्वयनको मार्गचित्रको खोजीमा गन्तब्य हराएकाहरु छट्पटाइरहेका छन् । थुप्रै निराशा, अन्यौलता, आक्रोश, अधैर्यता र विवशताका बीचबाट पनि अन्तरमनमा रहेका सुनौला सपनाको साँच्चिकै कार्यान्वयन गर्ने कुनै नयाँ “वैकल्पिक शक्ति” दृष्टि क्षितिजमा उदाउँछ कि कतै ? आशाका नयन र अपेक्षाजन्य जिज्ञासाहरु यत्रतत्र सवत्र फेरि पनि रुमल्लिरहेका छन् । अर्धमुर्छित सपनाहरु जर्याकजुरुक ब्युझिएर विपनाको दुनियामा पर्दापन हुन्छन कि कतै भनी फेरि पनि मन-मष्तिष्कहरु भौँतारिरहेका छन् ।

– मुसिकोट न.पा.-५, सोलाबाङ, रुकुम

The post समृद्ध नेपालको सपना र अन्तरसम्बन्धित केही प्रश्नहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles