Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

वर्ग बिर्सेकै हुन त बाबुरामले ?

$
0
0

वर्गीय मुक्तिको कसम खाएर जनयुद्धमा होमिएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अहिले फरक धारको राजनीतिमा सक्रिय छन् । उनी वैकल्पिक राजनीतिको लागि नयाँ शक्ति नामक नयाँ पार्टी खोलेर जीवनको उत्तरार्धका दिनहरु खर्चिरहेका छन् । नेपालको विशिष्टतामा तीनवटा क्लस्टरहरु (खस-आर्य, मधेसी–थारु र आदिवासी जनजाति) को उचित समायोजनसहित नयाँ राष्ट्रिय एकतामार्फत समृद्धिमा जाने ढाँचाको खोजी र प्रयोगमा उनी छन् । जातीय मुक्तिको उद्घोष गरेका जनयुद्धका सुप्रिमो दोस्रो संविधानसभाको निर्वाचनपछि सचेततापूर्वक पछि हटे पनि नयाँ संविधान बन्नासाथ तमाम प्रतिकूलताका बावजुद बाबुरामले यी मुद्दा छाडेनन् । बरु उनी हजार जोखिम मोलेर मधेस हानिए ।

पछिल्लो समय नयाँ शक्तिमा क्लस्टरको व्यापक बहस छ । केन्द्रीय कार्यकारी समितिमा बहुमतले क्लष्टरको आधारमा तत्काल केन्द्रीय सह-संयोजक नछान्न दबाव दिँदा पनि उनले उक्त निर्णय गरिछाडे र सह-संयोजकमा एक महिला, एक जनजाति र एक मधेसीलाई प्रतिनिधित्व गराएर आफूलाई खसआर्यको प्रतिनिधिको रुपमा उभ्याउँदै नयाँ शक्तिलाई तीनवटै क्लस्टरको सुन्दर संयोजनको रुपमा सांकेतिक सन्देश प्रवाह गरे । यसले पार्टीमा बाबुरामलाई ‘लागेपछि लाग्यो लाग्यो’ भनेजस्तै स्वभाव भएको पात्रको रुपमा चिनिने वातावरण सिर्जना गरिदियो र वैकल्पिक राजनीतिको एउटा प्रमुख मान्यता ‘प्रजातान्त्रिक राजनीतिक संस्कार’ले ‘चित्त दुःखायो’ । यद्यपि बाबुरामले दृढतापूर्वक ‘नयाँ शक्तिले जे बोल्छ त्यो गर्छ’ भन्दै पार्टीको मान्यता लागू गरेको तर्क अगाडि सारे ।

के बाबुरामले क्लस्टरको कुरा गर्दा वर्ग भुलेकै हुन् त ? के क्लासबिनाको क्लस्टरले वर्गको मुद्दालाई प्रतिनिधित्व गर्दछ ? अझ सिधा कुरा गर्दा हाम्रो मौलिकतामा क्लस्टर भनेकै क्लास हो त ?

यी सबै पृष्ठभूमिको अन्तर्यको गुदी कुरो हो– क्लस्टर र क्लास (वर्ग) । अब प्रश्न जन्मन्छ, हाम्रो सन्दर्भमा जातीय मुक्ति नै वर्गीय मुक्ति हो ? जनयुद्धले नेपाली समाजको चरित्र चित्रण गर्दै गरेको आधारभूत संश्लेषण हो– ‘नेपालमा वर्गीय, जातिय, क्षेत्रीय र लिंगीय उत्पीडनको स्वरुप विद्यमान छ । यसले गर्दा निश्चित वर्ग, जाति, क्षेत्र र लिंगलाई सकारात्मक विभेदबिना गरिने प्रतिष्पर्धा भनेको असमानहरुबीचको समान प्रतिष्पर्धा हो, जसको नतिजा स्वभावैले अन्यायपूर्ण हुन्छ ।’

सुदर्शन खतिवडा
सुदर्शन खतिवडा

तर आन्दोलनको राप र चाप सेलाउँदै जाँदा यी मुद्दाहरु किनारामा परे । नयाँ संविधानमा समानुपातिक, समावेशी र धर्मनिरपेक्षताजस्ता मुद्दाहरु संस्थागत भएका छन् तर पनि यी कुराहरु अन्तरिम संविधानभन्दा पछाडि फर्किएका छन् । यो प्रक्रियामा सबैभन्दा पछाडि परेको एजेन्डा कुनै छ भने त्यो वर्गीय एजेन्डा हो जुन सबैभन्दा उच्च प्राथमिकतामा राखेर सम्बोधन गरिनुपर्दथ्यो । तर पुराना राजनीतिक पार्टीहरुले यो मुद्दालाई प्राथमिकता दिँदैनन् भन्ने आरोपलाई इतिहासदेखि हालसम्मका व्यवहारले पुष्टि गर्दै आएका छन् । ‘क्रान्तिकारी’ ढंगले संसदवादमा अभ्यस्त भइरहेको माओवादी केन्द्र पनि अन्य पुरानासँग यी मुद्दाहरु छाड्न प्रतिस्पर्धा नै गरिरहेको छ ।

राणा शासनपछि नेपालमा दोहोरिइरहेको दूर्भाग्यपूर्ण परिदृश्य भनेको पुराना शासकहरु नयाँ व्यवस्थामा पनि नयाँ रंगरुपमा जनताको नयाँ शासक बनेर उदाउने परम्परा हो । ००७ सालपछि कुनै न कुनै रुपमा जनताको नयाँ शासक बनेर राणाहरु उदाए । यसैगरी ०४६ पछि पञ्चहरु र ०६२/६३ पछि गणतन्त्रविरोधीहरु नयाँ शासकको आवरणमा जनतामाथि शासन गरिरहेका छन् । यी सबै चरणमा नेपालमा सबै वर्ग, जाति, क्षेत्र, लिंगका केही पात्रहरु सत्तामा पुगेका/पुर्‍याइका छन् । उत्पीडित समुदायबाट पनि केही टाठाबाठाहरुको प्रतिनिधित्वले सम्बन्धित समुदायको उत्थानका लागि महत्वपूर्ण भूमिका खेल्न सकेनन् । यी उदाहरणहरुले अमूर्त क्लस्टरका कुराले मात्र नेपालमा वर्गीय असमानताको मुद्दालाई सम्बोधन गर्न सक्दैन भन्ने पुष्टि गर्दछ ।

अभिजात वर्गमा उत्थान भएका क्लस्टरका सीमित नेताहरुले जाति र लिंगको नाममा एकछत्र राज गर्ने अवस्थाको अन्त्य गर्दै नयाँ शक्तिले क्लस्टरभित्र पनि क्लासको कुरालाई मूर्त बनाउन आवश्यक छ । यसरी मात्रै एकात्मक सामन्ती सत्ताले पैदा गरेको उत्पीडनको स्वरुपलाई सचेततापूर्वक अन्त्य गर्न सकिन्छ । साथै, विश्वमा कतिपय भूगोलमा देखिएका जातीय अधिकार प्राप्तिका आन्दोलनका ‘ब्याक फायर’बाट समेत सकारात्मक शिक्षा लिँदै बच्न सकिन्छ । सोलोडोलो क्लस्टरका कुराले नाक, वर्ण र यौनांगका भरमा शासन गर्ने र शासित हुनुपर्ने दुर्भाग्यपूर्ण अवस्था निम्त्याउन सक्छ । अन्ततः राजनीति गर्ने राजनीतिक चेतनाले नै हो र नेता समाजका अग्रचेतना नै हुन् । तर यसो भन्दाभन्दै पनि उत्पीडनको स्वरुप अन्त्य नभएसम्म निश्चित समयसम्म सकारात्मक विभेदको व्यवस्था सर्वथा न्यायोचित नै हुन्छ । नयाँ शक्तिले आफ्नो पार्टीको विधान र राजनीतिक कार्यक्रममा यसलाई सम्बोधन गर्न खोजेको पाइन्छ तर यसलाई अझै मूर्तता दिनु आवश्यक छ । जस्तो कि क्लस्टरको कुरा पार्टी सदस्यतामा प्रतिबिम्बित हुनुपर्ने कुरालाई प्राथमिकता दिइयो भने यसको दिगोपनालाई थप बल पुग्न सक्ला ।

यो अवस्थामा कतिपयले नयाँ शक्तिको नेतृत्व गरिरहेका बाबुरामले पनि ‘क्लासबिनाको क्लस्टर’को कुरा गरेर वर्ग भुले भन्ने आरोप लगाइरहेका छन् । के बाबुरामले क्लस्टरको कुरा गर्दा वर्ग भुलेकै हुन् त ? के क्लासबिनाको क्लस्टरले वर्गको मुद्दालाई प्रतिनिधित्व गर्दछ ? अझ सिधा कुरा गर्दा हाम्रो मौलिकतामा क्लस्टर भनेकै क्लास हो त ? नयाँ शक्तिका संयोजक भट्टराईले यसबारे पटक पटक स्पष्ट पारिसकेका छन् । तर पनि विभिन्न पृष्ठभूमिका मानिसहरुको उपस्थिति भएकाले आफ्नो पुरानो विरासत र बुझाईलाई प्रस्तुत गर्ने फरक तरिकाका कारण फरक फरक सन्देश गइरहेका छन् ।

राजनीतिक दस्तावेज सार्वजनिक गरिनसके पनि नयाँ शक्तिले सार्वजनिक गरेको पाँच ‘स’ को अवधारणामा वर्गको कुरालाई कसरी सम्बोधन गरेको छ, चर्चा गर्नु मनासिव होला । नयाँ शक्तिको आधारभूत मान्यता अर्थात् ‘पाँच स’मा समृद्धिदेखि समाजवादसम्मका कुरा छन् । पाँच ‘स’मा समृद्धिलाई उच्च प्राथमिकता दिइएको छ भने बाँकी चार ‘स’लाई त्यसलाई सघाउने क्षेत्रहरुको रुपमा चित्रित गरिएको छ । बाबुरामले समृद्धिमा समतामुलक शब्द जोडेर ‘समतामुलक समृद्धि’ बनाएका छन् । यसले पनि उत्पादनसँगै वितरणको पक्षलाई पनि जोड दिएको बुझ्न सकिन्छ । समृद्धिलाई व्याख्या गर्दै १० वर्षभित्र देशलाई गरिबी र बेरोजगारीबाट मुक्त बनाउने, पन्ध्रदेखि बीस वर्षभित्र मध्यमस्तरको विकासको स्तरमा पुर्‍याउने र तीस वर्षमा देशलाई समृद्धिको शिखरमा पुर्‍याउने प्रतिवद्धता उल्लेख गरिएको छ ।

त्यसो त मजदुर मुक्तिको कुरा गरेर एकाध मजदुर नेता मालिक हुने, सर्वहारावर्गको कुरा गरेर एकाध नेताहरुले रातारात अकूत सम्पत्ति कमाउने अभ्यास भइरहेको देशमा यी मसिना प्रतिवद्धताले भन्दा चर्का र क्रान्तिकारी नाराले मानिसलाई आकर्षित गर्न सक्ला ।

यहाँनेर परम्परागत माक्र्सवादी शिक्षाबाट दीक्षितहरुले झट्ट प्रश्न गर्न सक्छन्- समृद्धि त ‘साम्राज्यवादी’ राष्ट्रहरुमा पनि हुन्छ । अहिलेको चुनौती त धनी र गरिबबीचको दूरी घटाउनु हो । अक्स्फामको पछिल्लो रिपोर्टअनुसार विश्वको आधा सम्पत्ति ६२ जनाको हातमा छ । विश्वका १० मध्ये एकजनासँग खान पुग्ने मात्र सम्पत्ति पनि छैन जबकि मात्र एकजना धनी व्यक्तिसँग कयौं देशको कुल बजेटभन्दा धेरै सम्पत्ति छ । यसरी विश्वका सीमित व्यक्तिको हातमा ९० प्रतिशत मानिसको भन्दा बढी सम्पत्ति केन्द्रित भएको भयानक तथ्यांकलाई बाबुरामको समृद्धिले कहाँनेर सम्बोधन गर्दछ ?

बाबुरामले समृद्धिको व्याख्या गर्दा स्पष्टरुपमा समतामुलक थपेका छन् र अगाडि भनेका छन्– हामी रोजगारी र सामाजिक न्यायसहितको तिव्र आर्थिक वृद्धिको नीति अनुसरण गर्नेछौं ।’ उनले अगाडि उल्लेख गरेका छन्, ‘… विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढंगले पुर्‍याउने छौं ।’ त्यसो त मजदुर मुक्तिको कुरा गरेर एकाध मजदुर नेता मालिक हुने, सर्वहारावर्गको कुरा गरेर एकाध नेताहरुले रातारात अकूत सम्पत्ति कमाउने अभ्यास भइरहेको देशमा यी मसिना प्रतिवद्धताले भन्दा चर्का र क्रान्तिकारी नाराले मानिसलाई आकर्षित गर्न सक्ला । तर सबै प्रतिवद्धता नाप्ने कसी व्यवहार नै भएकाले बाबुराम र उनले नेतृत्व गरेको पार्टी यो परीक्षामा व्यवहारिकरुपले कसरी उत्रन्छ, त्यो भने हेर्न बाँकी छ ।

यसैगरी उनले ५ ‘स’को अर्को मान्यतामा समावेशी/समानुपातिक/सहभागितामुलक लोकतन्त्रलाई उल्लेख गरेका छन् । यसले पनि परम्परागत औपचारिक लोकतन्त्रबाट माथि उठेर संवैधानिक अधिकारलाई वर्ग, जाति, क्षेत्र, लिंगले जीवन्त अभ्यास र अनुसरण गर्न पाउने व्यवस्थालाई सुनिश्चित गर्दछ । तसर्थ, भन्न सकिन्छ– अधिकारसम्म जनताको उपस्थिति भएको ठाउँमा न्यायिक वितरण स्वतः सुनिश्चित हुने आधारहरु बलिया हुन्छन् ।

पाँच ‘स’को अर्को प्रतिवद्धता हो– समुन्नत समाजवाद । यसले अहिलेसम्म अभ्यासमा आएर असफल भएका समाजवादी मोडेलको विकल्प दिने प्रयास गरेको पाइन्छ । समुन्नत समाजवादको शिर्षकमा उल्लेख गरिएको छ, ‘नयाँ शक्ति नेपालले एक्काइसौं शताब्दीको आवश्यकता र नेपालको विशिष्टता अनुरुपको समुन्नत समाजवादको नयाँ मोडेल विकास गर्नेछ । … त्यो कुनै माथिबाट लादिएको, गरिबी बाँड्ने, व्यक्तिको निजत्व कुण्ठित गर्ने नोकरशाही समाजवाद होइन, परन्तु तलैबाट उठेको, समृद्धि बाँड्ने र व्यक्तिको निजत्व प्रस्फुटित गर्ने सहभागितामुलक समाजवाद हुनेछ ।’

त्यसो त, शोभियत रुसको समाजवादी क्रान्ति सामाजिक जनवादी मजदुर पार्टीको नेतृत्वमा भएको पाइन्छ । कतिपय राष्ट्रमा कम्युनिष्ट नामबिना पनि पनि समाजवादी राज्ययन्त्रहरु सञ्चालनका अभ्यास भएका छन् । तर यहाँ पार्टीको नाम कम्युनिष्ट राखेकै आधारमा वर्गको नारा उठाएको बुझ्ने संस्कार छ, जहाँ कार्यक्रमिक अवधारणालाई महत्व दिँइदैन तर आवेगात्मक नारालाई आदर्श मानिन्छ । यसले हामीलाई कहाँ पुर्‍याइरहेको छ, हामीले देखे/भोगेकै कुरा हो ।

वर्गपक्षधरता नारा वा भाषणभन्दा बढी जीवनशैली हो । आफ्ना काला कर्तुतहरुलाई सिद्धान्तको आवरणमा लुकाउने एकसेएक पात्रहरु हाम्रो राजनीतिले जन्माएको छ ।

परम्परागत मार्क्सवादी कोणबाट उत्पादन र वितरण सँगसँगै कि पहिला उत्पादन त्यसपछि वितरणको बहस छ । कम्युनिष्ट वामपन्थको उर्वरभूमि नेपालमा यो प्रश्न नउठ्नुपर्ने कारण छैन । बाबुरामले केही समय समृद्धिमा जोड दिने र निश्चित समयपछि वितरणलाई पनि सँगसँगै जोडेर लैजानु नेपालको सन्दर्भमा उपयुक्त हुने बताउँदै आएका छन् । उनले नेपालको सन्दर्भमा अहिले नै वितरणको कुरा गर्नु गरिबी बाँड्नु मात्रै हो भनेर निर्धक्कसँग भन्दछन् । यहाँनेर वर्ग भुलेको भनेर आरोप लगाउने ठाउँ छैन तर नयाँ शक्तिले उत्पादन र वितरणको पक्षलाई अझै मूर्त गरेर लैजान आवश्यक भने देखिन्छ ।

वर्गपक्षधरता नारा वा भाषणभन्दा बढी जीवनशैली हो । आफ्ना काला कर्तुतहरुलाई सिद्धान्तको आवरणमा लुकाउने एकसेएक पात्रहरु हाम्रो राजनीतिले जन्माएको छ । कम्युनिष्ट पार्टीको सदस्यता नलिएरै पनि जीवनलाई आदर्शको उत्कृष्ट नमूना बनाएर बाँच्ने पात्रहरु पनि यही समाजले जन्माएका छन् ।

बाबुरामले मानव समाज र विज्ञानले आविस्कार गरेका नयाँ सोच, आविस्कार र चिन्तनलाई संश्लेषण गरेर नयाँ शक्ति अगाडि बढ्ने बताएका छन् । जीवनशैलीका दृष्टीले पनि त्याग, तपस्या, मेहनत र अनुशासन हिसाबले बाबुराम आफैंमा आदर्श र उदाहरणीय पात्र हुन् । बुढेसकालमा उनको खटाई र मानव जातिप्रतिको चिन्ता र चिन्तन अद्वितीय छ । पार्टी भनेको व्यक्ति भन्दा पद्धति भएकोले उनले नयाँ शक्तिलाई आगामी दिनमा कसरी अगाडि बढाउन सक्छन्, त्यसैमा उनको वर्गपक्षधरता स्पष्ट हुनेछ । भीडलाई पद्धतिमा फेर्न सकून् र समतामुलक समृद्धिमार्फत समुन्नत समाजवादको बाटो देखाउन सकून् । शुभेच्छा र शुभकामना !

The post वर्ग बिर्सेकै हुन त बाबुरामले ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles