अंग्रेजी वर्ष २०२० को अन्तिम महिनामा प्र.म. ओलीले दुईवटा महत्वपूर्ण कदमहरू चाले जसलाई ओली इतर पक्षले नयाँ वर्ष २०२१ का अनपेक्षित उपहारहरूका रुपमा ग्रहण गर्नुको तत्काल कुनै विकल्प छैन । पहिलो, संवैधानिक परिषदसम्बन्धिको अध्यादेश जारी र दोस्रो प्रतिनिधिसभाको विघटन । यी कदमहरूसँगै आधुनिकतावादी नेपाली राजनीतिमा रहेको जटिल परिस्थिति, जसलाई हामी ब्ल्याकहोल परिस्थिति भन्न सक्छौं- अरु थप जटिल र चुनौतिपूर्ण बन्ने सम्भावना छ । किनभने, यस्तै अवस्थासँग कतिपय राष्ट्रहरूको उत्थान र पतनको प्रश्न पनि जोडिएको हुन्छ । र, हाल यो परिस्थितिलाई हामी कसरी पार गर्छौ भन्ने कुरासँग नेपाली राजनीतिको समग्र भविष्य पनि सम्बन्धित छ ।
अर्को महत्वपूर्ण कुरा के हो भने आउँदा दिनहरूमा यो परिस्थितिबाट नेपाली राजनीतिलाई बाहिर निकाल्न र राज्यको शक्ति सम्बन्धलाई नयाँ तवरले हासिल गर्न त्यति सहज छैन जसको अभावमा हामी राज्यलाई एक विधिसम्मत तवरबाट चल्ने ‘राजनीतिक स्थिरता’ सहितको पम्परागत राजनीतिक ट्र्याकमा हिँडाउन सम्भव पनि हुँदैन । अब यहाँ प्रश्नहरू उठ्छन् यो ब्ल्याक होल परिस्थितिको खास विशेषता के हो ? हामी यो परिस्थितिमा कसरी प्रवेश गर्यौं ? र, अब यो परिस्थितिबाट बाहिर कसरी निस्कने ? समकालीन नेपाली राजनीतिमा यी प्रश्नहरूका उत्तर सर्वाधिक महत्वका पनि छन् ।
ब्ल्याक होल परिस्थिति
समान्य अर्थमा भन्दा ब्ल्याक होल परिस्थिति राज्यका साझेदारहरूबीच स्थापित शक्ति सम्बन्धको विघटनको अवस्था हो । यसलाई बुझ्न राज्यको अवधारणाका सम्बन्धमा स्पष्ट हुन आवश्यक हुन्छ । यस सन्दर्भमा राज्यलाई खास तवरको शक्तिको मान्यताका आधारमा निर्माण भएका विभिन्न संरचनाहरू र ती संरचनाहरूबीचको सम्बन्धको समग्रताको रुपमा हेर्नुपर्ने हुन्छ । जब त्यसरी स्थापित भएको सम्बन्धको समग्रता भत्कन्छ तब त्यहाँ कुनै न कुनै प्रकारको ब्ल्याक होल परिस्थिति निर्माण हुने सम्भावना रहन्छ । यो परिस्थितिका विभिन्न आयामहरू देखिन सक्छन् । समाज र इतिहासको क्रमअनुसार यसले विभिन्न खाले विशेषताहरू पनि धारणा गरेको हुनसक्छ । साथै खास समाजको वा राज्यको ब्ल्याक होल परिस्थितिलाई तत्कालीन समाज (क्षेत्रीय र विश्व समाज) मा उपलब्ध समग्र रणनीतिक परिस्थितिबाट पनि अलग्याएर हेर्न सम्भव हुँदैन ।
आधुनिक नेपाली राजनीति र ब्ल्याक होल परिस्थिति
आधुनिक नेपाली राज्य अभ्यासको उत्थान अठारौं शताब्दीको मध्यसम्मा आइपुग्दा हिन्दुस्तानमा भइरहेको बेलायती उपनिवेशको विस्तारसँगै उत्पन्न खास तवरको रणनीतिक परिस्थितिको बीचमा भएको हो । र, त्यही परिस्थितिसँगै खास तवरको शक्तिको मान्यता (वा मान्यताहरू) र त्यसको माध्यमबाट खास तवरको शक्ति सम्बन्धलाई नेपाली समाज मा वा नेपाली राज्य अभ्यासमा संस्थागत गरिएको हामी पाउँछौं । यसरी स्थापित गरिएको शक्ति सम्बन्धमा हामी निरन्तर परिवर्तन भइरहेको हामी पाउँछौं । अर्थात् राज्यका साझेदारहरूका बीचमा खास तवरको शक्ति सन्तुलनको अवस्था रहेको हामी पाउँछौं ।
यसप्रकारको सम्बन्धमा सबै भन्दा व्यापक परिवर्तन जङ्ग बहादुरको कोत पर्वसँगै भयो, सन् १८४६ मा । यसले राजपरिवार र राणा (वा राजा र प्रधानमन्त्री) को बीचमा स्थापित राजनीतिक सम्बन्धमा व्यापक परिवर्तन पनि गर्यो । यसबीचमा कयैन सम्बन्ध र संरचनाहरू ध्वस्त भए वा विघटन भए र त्यहाँ एक प्रकारको ब्ल्याकहोल को परिस्थिति पनि निर्माण भएको थियो । तर, त्यसले समग्र शक्तिको मान्यतामा नै भने फेरबदल ल्याएको थिएन । त्यसैले त्यो परिस्थिति अहिलेको जस्तो जटिल थिएन, शक्ति सम्बन्धको दृष्टिबाट ।
त्यस्तै सन् १९५० को नोभेम्वरमा जब राजा त्रिभुवनले जव गद्दि छोडेर भारतको शरणलिन पुगे त्यतिवेला पनि नेपाली राजनीतिले एक कठिन ब्ल्याकहोलको परिस्थितिलाई सामना गरेको थियो । राणाहरू संग शक्तिको नयाँ मान्यतालाई स्थापित गर्ने हैसियत थिएन । उनीहरू केवल परम्परागत सम्बन्धलाई यथावत राख्न मात्र चाहन्थे तर समग्र रणनीतिक परिस्थिति उनीहरूको पक्षमा भएन । राजनीतिमा नयाँ मान्यताहरूले बैधता हासिल गरिरहेको पृष्ठभूमिमा र रणनीतिक परिस्थिति कांग्रेस र राजा त्रिभुवनको विपक्षमा नभएको अवस्थाले गर्दा त्यो ब्ल्याक होल परिस्थितिबाट गुज्रन र राजनीतिले नयाँ दिशा पक्डन सम्भव भयो । तर, समग्र राजनीतिक मान्यताहरूमा नै व्यापक परिवर्तन गर्न र त्यस अनुरुप नयाँ सम्बन्धहरूको निर्माण वा गठन गर्न जतिजति कठिनाइ हुँदै गयो त्यतित्यति सामन्तवादी मान्यताहरूले पुनः पुरानै संरचनाको निरन्तरतालाई कायम राख्दै जाने अवस्था बन्न गयो ।
बिसौं शताब्दीको मध्य अर्को अर्थमा पनि एउटा विशिष्ट कालखण्ड हो । दोस्रो विश्व युद्धको समाप्ति र औपनिवेशिकताको अन्त्यसँगै नेपाल र समग्र एसियाको रणनीतिक परिस्थितिमा व्यापक परिवर्तन भइरहेको थियो र यस्को स्पष्ट प्रभाव नेपाली राजनीतिमा पनि पर्दै थियो । यसको खास विशेषता के थियो भने परम्परागत सामन्तवादी शक्तिको मान्यताको बदलामा नयाँ नयाँ शक्तिका मान्यताहरू को विकास र विस्तार भैरहेको थियो र तिनीहरूले नयाँ नयाँ खाले संरचनाहरू (राजनीतिक साझेदारहरू)लाई निर्माण गरिरहेका थिए ।
परिणामः स्थापित शक्ति सम्बन्धहरूमा हलचल मच्चियो र नयाँ तवरका शक्ति सम्बन्धहरू पनि स्थापित भए । तर पनि यो खण्डका साझेदारहरूबीचको सम्बन्धलाई सन्तुलन गर्ने शक्ति सम्बन्धका मान्यताहरूमा भने अझै पनि व्यापक परिवर्तनहरू भइरहेको थिएन जुन कुरा सन् १९९० को परिवर्तन पछि पनि सम्भव हुन सकिरहेको थिएन । यो कोणबाट हेर्दा के पनि देखिन्छ भने दुवै खाले आधुनिकतावादी शक्तिका मान्यताहरू (वैयक्तिक स्वतन्त्रता र सामाजिक न्याय) को प्रयोगबाट समान्तवादी शक्तिको मान्यता भन्दा विल्कुलै नयाँ तवरका सम्बन्ध र संरचनाहरूको विकास भइरहेको थिएनन् बरु ति सामन्तवादी मान्यताले निर्माण गरेका सम्बन्ध र संरचनाका सापेक्ष नै थिए । यस अर्थमा नेपाली राजनीतिमा आधुनिकतावादी राजनीतिक मान्यता वा विचारहरूको क्रान्तिकारी प्रयोग कहिल्यै भएन र राजनीतिक साझेदारहरूबीचको सम्बन्धलाई खास तवरको सामन्तवादी मान्यता र त्यसले निर्माण गरेको खास तवरको शक्ति सम्बन्धका आधारमा मात्रै सन्तुलित भइरहने परिस्थिति २०औं शताब्दिभरी नै कायम रह्यो ।
२१औं शताब्दीको आरम्भसँगै र खास गरी माओवादी जनविद्रोह र दरबार हत्याकाण्डपछिका वर्षहरू भने नेपाली राज्य अभ्यासका लागि निकै चुनौतिपूर्ण रहँदै गए । यो अवधिमा समग्र शक्ति सम्बन्धहरूमा मात्रै होइन की आधुनिकतावादी राज्य अभ्यासलाई स्थापित गरेका समग्र शक्तिका मान्यताहरूमा समेत व्यापक उथलपुथल, विघटन र विर्सजनको नयाँ क्रम चरमोत्कर्षतर्फ पुग्दै थियो । यही क्रममा आधुनिकतावादी नेपाली राज्य–अभ्यासको आरम्भदेखि नै रहेका विभिन्न तवरका मान्यताहरू जस्तै राज्य सञ्चालनमा शाह वंशीय निरन्तरता, उच्च जातीय संलग्नता, र धार्मिक मान्यताको अग्रता आदिको विघटन भइहेको थियो र जसको परिणाम राजसंस्था जस्तो एक प्रमुख संरचनाको विघटन भएको थियो र राजनीतिक साझेदारहरूका बीचमा नयाँ तवरको शक्ति सम्बन्धको स्थापना पनि भएको थियो । तर, यो सम्बन्ध आधुनिकतावादी राजनीतिमा जस्तो एक स्थायी सम्बन्धमा रुपान्तरण हुन सकेन । यसको परिणाम पछिल्लो नेपाली राजनीति ज्यादै अस्थिर बन्दै गयो र संक्रमणको क्रम पनि लम्बिँदै गयो र संविधान बनाउनमा नै मुख्य राजनीतिक साझेदारहरू लामो समयसम्म असक्षम रहे ।
यही अवधिमा सन् २०१५ मा नयाँ संविधान जारी गरियो । देशमा नयाँ सरकारहरू पनि बने र राजनीतिले एक स्पष्ट दिशा लिएको र अब नेपाली राजनीति नयाँ चरण प्रवेश गरेको भन्ने चर्चाहरूलाई महत्वका साथ प्रचार गरियो । बरु यहाँ भइरहेको के थियो भने, नयाँ संविधानले आधुनिकतावादी राज्यका समग्र शक्तिका मान्यताहरूलाई विघटन त गरेको थियो तर शक्तिका नयाँ मान्यताहरूलाई हासिल गर्न सकेको थिएन । अर्कोतर्फ नयाँ तवरको शक्ति सम्बन्ध स्थापित भइरहेको थिएन । यसको एउटा परिणाम के भयो भने नयाँ संविधानपछि पनि आन्तरिकरुपमा समग्र राजनीतिक सम्बन्ध र संरचनाहरू पुरानो कै निरन्तरता रह्यो भने बाह्यरुपमा देशको समग्र राज्य सञ्चालनको शक्तिको आधार/मान्यता समग्र रणनीतिक परिस्थितितर्फ विचलित हुन पुग्यो र नेपाली राजनीतिमा एउटा खास तवरको रिक्तता, शक्तिहिनताको अवस्था उत्पन्न भयो अर्थात् यसले पूर्णतः ब्ल्याक होलको यात्रा तय गर्न बाध्य हुनु पर्यो । यो परिस्थितिको अर्को असर के भयो भने हाम्रा राजनीतिक साझेदारहरूबीचको शक्ति सम्बन्धको औचित्य समाप्त मात्र भएन- यही कारणले गर्दा नै सबै दलहरू फरक झण्डा र चिन्ह भएका तर व्यवहारमा उस्तै देखिन पुगेका हुन्) यसबाट उत्पन्न ब्ल्याक होल परिस्थितिले हाम्रो राज्य सञ्चालनमा आधारभूतरुपमा हाम्रो रणनीतिक (बाह्य) परिस्थिति र साझेदारहरूको प्रभाव अनिवार्य जस्तै बन्न गइरहेको छ । जुन अवस्थाको साक्षी आज हामी सबै छौं ।
पछिल्लो चरणको नेपाली राजनीतिको समस्या नै के हो भने आधुनिकतावादी मान्यता र संरचनाहरूको विघटनसँगै खास तवरको रणनीतिक परिस्थितिबीचमा उपलब्ध शक्तिका मान्यताहरू र त्यसबाट उपलब्ध हुनसक्ने खास तवरको शक्ति सम्बन्धलाई एकिन गर्न राजनीतिक साझेदारहरू पटकपटक विफल भइरहनु हो । यस कोणबाट हेर्दा बलियो प्रधानमन्त्रीका रुपमा चित्रण गरिएका ओलीको पछिल्लो कदम र यससँग जोडिएर भएका छिमेकी राजनीतिक व्यक्तिहरूका नियमित जसो भ्रमण र भेटघाटहरूलाई पनि यही शक्ति सम्बन्धको अभावसँग जोडेर हेर्न सक्छौं ।
अब कसरी र कता निस्कने ब्ल्याक होल परिस्थितिबाट बाहिर ?
ब्ल्याक होल परिस्थिति वास्तवमा इतिहासकै अभ्यासमा निर्माण भएको हुन्छ । तर, ब्ल्याक होल परिस्थितितर्फ राज्यलाई जान दिने वा वा यसलाई कुनै अर्को विकल्पको माध्ययमबाट बाइपास गर्ने भन्ने कुरा मूलतः नेतृत्वको छनौट र उसको दूरदर्शितासँग जोडिएको प्रश्न पनि हो । साथै समाज र समय अनुसार यो परिस्थिति भिन्न खालको हुन्छ भन्ने कुरा पनि हामीले हेक्का राख्नै पर्दछ ।
समग्र परिस्थितिलाई हेर्दा आज नेपाली राजनीति जुन तवरको परिस्थितिबाट गुज्रिइरहेको छ त्यस अर्थमा यो अन्तिम ब्ल्याक होल हो जस्तो देखिन्छ । यससँगै नेपाली आधुनितावादमा आधारित राजनीतिका समग्र मान्यता, सम्बन्ध र संरचनाहरूको पूर्णतः विघटन र विर्सजन हुनेछ । अर्थात् नेपाली इतिहासका आधुनिकतावादी राज्य अभ्यासका समग्र शक्तिका मान्यताहरू र त्यसबाट श्रृजित समग्र सम्बन्ध र संरचनाहरू एक तवरले धरासायी हुनेतर्फ हामी अगाडि बढिरहेका छौं । तर, यससँगै राष्ट्रको पतन नै भइहाल्छ की भनेर आतिइहाल्नुपर्ने अवस्था भने होइन । सजग चाहीँ हुनैपर्छ । तर, यो समग्र विसर्जन पछि हुन्छ के ? यो प्रश्न ज्यादै संवेदनशील छ, यस अर्थमा कि यसका सम्बन्धमा अहिल्यै भविष्यवाणी गर्नु सायद त्यति उचित होइन ।
किनभने उपलब्ध समग्र रणनीतिक परिस्थिति को विश्लेषण र त्यस बीचमा आवश्यक नयाँ तवरको शक्ति सम्बन्धको नयाँ मान्यतालाई हासिल गर्ने र त्यसको जगमा नयाँ राज्य अभ्यासलाई संस्थागत गर्ने कुरा एक सचेत प्रक्रियाबाट मात्रै हासिल हुने विषय हो । तर, यहाँ स्पष्ट हुनु पर्ने कुरा के हो भने यदि हामी पर्याप्त सजग र श्रृजनात्मक हुन सकेनौं, राजनीति लाई समस्त आधुनिकतावादी प्रपञ्चहरूबाट बाहिर निकाल्ने र एउटा नयाँ भविष्यको रेखा कोर्ने दृढ शासह हामीले देखाउन सकेनौं भने अनपेक्षित ढंगले हाम्रो यात्रा एक तवरको ‘पश्चगमन’ तिर नै हुनसक्छ र आधुनिकतावादी मान्यताहरू (सामन्तवादी, उदारवादी र समाजवादी) कै गठजोडमा पुरानै राज्य–अभ्यासको नयाँ संस्करणलाई संस्थागत गर्न हामी अभिशप्त हुने छौं ।
यस सन्दर्भमा ओली सत्ताका पछिल्ला कदमलाई नेपाली राज्य अभ्यासमा रहेका समग्र आधुनिकतावादी प्रपञ्चहरूको विघटन कै क्रमका रुपमा बुझ्नुपर्ने हुन्छ । राजा बेठिक भयो भनेर गणतन्त्र स्थापना गर्ने तर त्यही राजासँग घाँटी जोडिएको कांग्रेस (अझ विकृत बन्दै गइरहेको) ठीक हुने भन्ने हुनै सक्दैनथ्यो । दरबारिया एकाधिकारवाद बेठिक हुने खुमलटार र बालुवाटारको साँठगाँठमा सारा राज्य उल्झनु पर्ने र त्यसको नेतृत्वलाई सारा कम्युनिष्ट कार्यकर्ताले जस्तोसुकै अवस्थामा पनि जय जयकार गरिरहनुपर्ने अवस्था सही हुनै सक्दैनथ्यो ।बजव यस्तो अवस्था कायम रह्यो तब न संसद, न अदालत न अरु राज्यका महत्वपूर्ण अंगहरूले नै सही र प्रभावकारी तवरले काम गर्न सक्ने अवस्था बन्थ्यो । त्यसैले यस प्रकारका संरचनाहरूमाथिको व्यापक प्रहार र तिनीहरूको व्यापक हलचल, विचलन र विघटन समकालीन नेपाली राजनीतिको ब्ल्याक होल परिस्थितिकै कारण उत्पन्न नियतिको रुपमा हामीले बुझ्न आवश्यक छ ।
यतिबेला सत्ताले राजनीतिलाई अगाडि बढाउने सम्बन्धमा दुईवटा विकल्पहरूका बारेमा छलफल गरिरहेको छ । एक, संसदको पुर्नस्थापना र अर्को नयाँ निर्वाचन । आधुनिकतावादी राज्य अभ्यासका शेष प्रपञ्चहरूलाई विघटन र विर्सजन गर्दै नयाँ अवस्थातर्फ राजनीतिलाई केन्द्रित गर्ने हो भने यी कुनै पनि विकल्पले हाम्रो राजनीतिलाई यहि अवस्थामा सही दिशा दिन सक्दैनन् । संसदको पुर्नस्थापना भए पनि वा नयाँ निर्वाचन भए पनि हुने भनेको तिनै आधुनिकतावादी विचार र संरचना वा साझेदारहरूबीचको शक्ति सम्बन्धमा हेरफेर हुने मात्रै हो । नयाँ शक्तिको मान्यताको जगमा नयाँ राज्य अभ्यासतर्फ अग्रसर हुने होइन ।
त्यसैले हाल विघटन भएको संसदको पुर्नस्थापना त कुनै पनि तवरले समाधान हुन सक्दैन (भइहालेमा पनि हामीले सोच्ने भनेको नै नयाँ शक्ति सम्बन्धलाई कसरी हासिल गर्ने भन्ने नै हो) । अब यहाँ किन चुनावले समाधान किन दिनसक्दैन भन्ने सम्बन्धमा बहस लम्बिन सक्छ । जनताको बीचमै पनि चुनाव मै जाने कुरा निकै सजिलो गरी बिक्ने कुरा हो परम्परागत आधुनिकतावादी राजनीतिमा । आम मानिसहरूमा पनि यसले नयाँ विकल्प देला भन्ने झिनो अपेक्षा रहनु अस्वाभाविक होइन । तर, नयाँ विकल्प र सम्भावनाको नाममा नेपाली राजनीतिले यसअघि यसप्रकारका धेरै चुनावहरूलाई सामना गरिसकेको छ तर हामी ब्ल्याकहोल परिस्थितिबाट कहिल्यै पनि बाहिर निस्कन सकेनौं । बरु राज्य अभ्यास झन् झन् कठोर चुनौतिको मोडमा खडा भएको महसुस भइरहेको छ ।
इतिहासको यो चरणमा हामी जसरी चुनावले समाधान दिन्छ भनिरहेका छौं । यो अवस्था त्यस्तो होइन । नयाँ चुनावले भएका शक्ति सम्बन्धलाई पुर्नगठन गर्ने मात्रै हो जनतालाई शक्तिको नयाँ स्थानमा स्थापित गर्ने होइन । जसको अभावमा हामीले जति चुनाव गरे पनि पाउने परिणाम एउटै हो । जनतालाई शक्तिको नयाँ स्थानमा स्थापित गर्ने कुरा भनेको राजनीतिक साझेदारहरूका बीचमा नयाँ तवरको शक्ति सम्बन्धलाई स्थापित गर्ने तथा शक्तिका नयाँ मान्यतालाई हासिल गर्ने अवस्थासँग जोडिएको छ जुन कुरा इतिहासको आवश्यकता र वर्तमान रणनीतिक परिस्थितिसँग जोडिएको नेतृत्वको संकल्प, सोच वा दृढ इच्छाशक्तिबाट मात्रै हासिल हुनसक्दछ ।
अन्त्यमा,
०७२ को संविधानलाई जसरी ‘सर्वोत्कृष्ट’, ‘कल्पवृक्ष’ र ‘राष्ट्रिय एकाताको दस्तावेज’ आदि विशेषणहरूसहित जुन रुपमा प्रस्तुत् गरिएको थियो वस्तुतः यो त्यस्तो थिएन । यो दस्तावेज ज्यादै धेरै अस्पष्टता, त्रुटि र गञ्जागोलहरूले भरिएको थियो र त्यसले देशको राजनीतिलाई थप गन्तव्यहिन बनाउन गइरहेको थियो । यो अचम्मको विषय हो कि राजनीतिक वृतबाट यसलाई यस रुपमा नै कसरी स्वीकार गरियो र लागू गरियो ? निश्चय पनि राजनीतिको तत्कालिक रणनीतिक परिस्थितिका बीचमा शक्ति सम्बन्धलाई सन्तुलन कसरी गर्ने भन्ने सम्बन्धमा साझेदारहरूका बीचमा तीव्र शक्ति संघर्ष चलिरहेको नै थियो । जसको परिणाम संविधानको दस्तावेज एक रणनीतिक औजार भन्दा बढी हुन सकेन ।
तर, अब हामीसँग न ०७२ को संविधानका कमजोरीहरूमाथि चर्चा गर्ने समय रह्यो न आवश्यकता नै । किनभने ०७७ पौषको पहिलो हप्तामा प्रधानमन्त्री ओलीले लिएका विभिन्न राजनीतिक कदमहरूसँगै संविधानसँग जोडिएर भएका गम्भीर त्रुटि र लापर्वाहीको एउटा फराकिलो चित्र सबैको अगाडि प्रस्तुत् भइसकेको छ र देशको राजनीति संविधानमा देखाइएको बाटोबाट बाहिर गइसकेको छ । र, हामी आधुनिकतावादी राजनीतिको अन्तिम अवस्थामा देखा परेको ब्ल्याकहोल परिस्थितिबाट ०७२ संविधान जारी हुनु अगाडि र अहिले पनि बाहिर छैनौं । हामी त्यही भित्रै रुमल्लिएका छौ, हराइरहेका छौं । सबैभन्दा पहिला परिस्थितिको यो जटिलतालाई आत्मसात गर्नु आवश्यक छ । होइन, लोकतन्त्र भनेको ‘लामो प्रक्रिया हो’, ‘यिनै दलहरूलाई क्रमिकरुपमा सुधार हुँदै जान दिनुपर्दछ’ भन्ने खालका परम्परावादी भाष्यमा नै हामी रमाइरहने हो र चुनावबाट मात्रै विकल्पको खोजी गरिरहने हो भने अन्ततः आधुनिकतावादी राज्य अभ्याससँगै समग्र नेपाली राजनीतिको पतन नै हाम्रो एक मात्र गन्तव्य हुनेछ ।
फेरिपनि, पछिलो पटकका ओली कदमहरूसँगै राजनीतिमा नयाँ सम्भावनाहरूमाथि छलफल गर्ने र इतिहासलाई, हाम्रो रणनीतिक परिस्थितिलाई सही ढंगबाट पुनःअवलोकन गर्ने एउटा नयाँ परिस्थिति देखा परेको छ । सरकार, मुख्य दलहरू, अरु राजनीतिक र आर्थिक–सामाजिक साझेदारहरू हामी सबैले आ–आफ्नो ठाउँबाट यसको भरपुर उपयोग गरौं र आउने नयाँ पुस्तालाई एक उन्नत राजनीति भविष्यतर्फ लग्ने अत्याधुनिक, बहुआयामिक र एक समग्रतामुखि नयाँ प्रयत्नमा जुटौं । आधुनिकतावादी राजनीतिको अन्तिम अवस्थामा हामीले सामना गरिरहेको ब्ल्याकहोल चुनौतिलाई जनता र देशको पक्षमा सामना गरौं । यसो गर्न सम्भव छ ।
(लेखक मानवशास्त्र विषयको अध्यापनमा संलग्न छन्)
The post राजनीतिको ब्ल्याक होल परिस्थिति र नयाँ वर्षमा ओली कदमहरू appeared first on Sajha Post.