विश्वव्यापी कोरोना महामारीको चर्चा भएपनि हाम्रो देशमा कोरोनाको नियन्त्रण वा मलजल गर्ने भन्ने जिम्मा पशुपतिनाथलाई दिईएको छ । कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र नागरिकलाई परेको पीडाको विषयमा भन्दा नेकपाभित्र दुई अध्यक्षको पीडा र भ्रष्ट र माफियाको संरक्षण अनि कार्यकर्तालाई सरकारी नियुक्तिदेखि कमाई हुने ठाउँको सेटिङको बाँडफाँडमै सरकार र नेकपा नेतृत्व चिन्तित देखिन्छ ।
प्रमुख प्रतिपक्षी दलको भूमिका पनि बाँडेर खान पाईन भन्ने बाहेक अरु देखिँदैन । जनताको लागि त न सरकार छ, न प्रतिपक्षी दल । जनताको लागि सरकार भनेको ‘आफ्नै कारण बाँचे ठिकै छ, मरे फालौंला’ भन्ने मात्रै हो ।
कोरोनाको कुरा छाड्ने हो भने यतिबेला नेपाली राजनीतिमा दुई भिन्न विषय चर्चामा छ । एउटा सत्ताधारी दल नेकपाभित्रको पदीय कचकच् र अर्को राजतन्त्र फर्काउँछौं भन्नेको सडक प्रदर्शन । नेकपाभित्रको झगडामा अध्यक्ष एवं प्रधानमन्त्री खड्ग प्रसाद ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की छ । ‘तैंले मात्रै खाने, म हेरिरहने’ यो हुनै सक्तैन भन्ने बाहेक यो झगडामा विचार र राजनीतिको कुनै छेउ टुप्पो छैन ।
आफुले खान नपाएको र आफ्नालाई खुवाउन नपाएको रिसमा एकले अर्कोलाई भ्रष्टाचारीको संरक्षकदेखि भारतीय एजेन्ट समेत करार गरिसकेका छन् । भोलि पदीय बार्गेनिङ सकिनेबित्तिकै यिनीहरु एकअर्कामा अंगालो मारेर जनतालाई नै ‘देख्यौ हाम्रो एकता ?’ भन्नेछन् । त्यतिबेला यिनलाई होइन यिनको कुरामा फेरि पनि बेवकुफ भएकोमा जनतालाई नै लाज लाग्ने छ ।
यता, राजतन्त्र फर्काउनेहरुमा पनि त्यस्तै लफडा छ । असली राजावादी र नक्कली राजावादीको बहस त्यहाँ पनि शुरु भएको छ । राजा आऊ देश बचाऊ भन्नेहरुको १९ वटा समूह वा गुट सक्रिय छन् । त्यसमा ज्ञानेन्द्र ल्याउने, हृदयन्द्र ल्याउने, श्रीपेच मात्रै ल्याउनेदेखि विरेन्द्रको हड्डी ल्याएर खराउ बनाएर पूजा गर्नेहरुको छुट्टाछुट्टै समूह छ । अर्को समूह चाहिँ सबै दाउमा च्याखें थाप्ने र जुनमा पर्छ त्यसैलाई मेरो दाऊ भन्ने ओली प्रवृत्तिकाहरु पनि देखिन्छन् ।
कमरेड केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको सत्ताधारी नेकपाभित्र अनेकथरी गुट–उपगुट भएजस्तै राजावादीमा पनि अनेक गुट र उपगुट सक्रिय छन् । जसरी कम्युनिष्ट शब्दलाई ‘ट्रेडमार्क’ बनाएर नेकपाले देश र जनतालाई सर्वनाश बनाउँदै छ त्यसरी नै मरिसकेका विरेन्द्रको वंशलाई राजावादीले ‘ट्रेडमार्क’को रुपमा बेच्न खोजिरहेका छन् । मार्क्सवाद, लेनिनवाद र माओवादको नक्कली उत्तराधिकारी बनेर जसरी कमरेड ओली र प्रचण्डले देशलाई बर्बादीतर्फ लगिरहेका छन् ठीक त्यसैगरी भूत, प्रेत र पिचाशले पृथ्वीनारायण शाह र विरेन्द्रको नाममा सडकमा ‘मुर्कटा’को जुलुस निकालिरहेका छन् ।
जब देशको शासन सत्तामा बस्नेले जनभावनालाई बुझ्दैन र आफु नै ‘राज्य र कानुन हुँ’ भन्ने घमण्ड देखाईरहन्छ अनि लोकतन्त्रका खम्बाहरु हल्लिन शुरु हुन्छन् । परिवर्तनको आन्दोलनमा योगदान नगरी काकताली परेर ‘औताली’ खान आईपुगेका भष्मासुरलाई के थाहा की यहाँसम्म आउँदा कतिका सिउँदोका सिन्दुर पुछिए र काख रित्तो भए । गणतन्त्रको आन्दोलनलाई ‘बयलगाढा चढेर अमेरिका जानु’ जस्तै भनेर खिस्सी गर्ने कमरेड खड्गप्रसाद ओली अनि जनताको त्याग र शहीदको बलिदानलाई सत्तासँग साँटेर आलिशानन महलमा सयौं सुरक्षा घेरामा बस्ने कमरेड प्रचण्डलाई संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता जस्ता कुरा पनि एकादेशको कथा बन्न बेर लाग्दैन ।
जनताले २७० बर्ष लगाएर फालेको राजतन्त्रलाई फर्काउँछौं भनेर सडकमा आउने मुर्कटाहरुले कुन अदृश्य शक्तिको आडमा आर्यघाटमा खरानी बनाइसकेको राजतन्त्रलाई विष्णु भगवानको अवतारको रुपमा ब्युताउँछौं भनिरहेका छन् ? कतै त्यो तन्त्रमन्त्र जानेको मशान जगाउन सक्ने ‘झाँक्री’ कमरेड मार्क्स वा कमरेड माओका चेला त होइनन् ? भ्रष्टाचार बढ्यो भनेर सडकमा निस्केका युवालाई पानीको फोहोरा र लाठी बर्साउने अनि आफ्नै क्षेत्रमा पुल उद्घाटन गर्न गएका प्रमुख प्रतिपक्षी दलका नेतालाई राज्यशक्तिको दुरुपयोग गर्दै प्रहरी घेरामा ३ घण्टा राख्ने कमरेडको सरकारले मसानघाटमा सेलाएको राजतन्त्र ल्याउँछौं भन्दै सडकमा प्रदर्शन गर्नेलाई किन खुलेआम छाडिरहेको छ ?
आफु राष्ट्रवादी देखिन अरुलाई विदेशी दलाल भन्ने तर, बेला–बेला तिनै दलालका दूतलाई कार्यकक्षमा नै बोलाएर गोप्य भेट गर्ने कमरेडको चरित्रमा फेरी शंका गर्ने कि नगर्ने ? जनतालाई सडकमा आउन पाइँदैन, मेरो सरकारविरुद्ध बोल्न पाइँदैन भन्ने उर्दी जारी गर्ने कमरेड केपी ओलीले अहिलेको राजतन्त्र फर्काउछौं भनेर खुलेआम चुनौती दिनेलाई संरक्षण दिईरहेका त छैनन् ? पार्टीभित्रको लफडाबाट मुक्ति पाउन कतै राजावादीलाई सडकमा आऊ भनेर विषान्तर गर्न खोजेको त होईन ? कमरेडको दरबारबाट यो कुरा स्पष्ट हुन जरुरी छ ।
राजतन्त्र फाल्ने आन्दोलन चलिरहँदा त्यही आन्दोलनलाई अनेकथरी व्यंग्य गर्ने अनि जनताले राजतन्त्रको अन्त्य गरेर ल्याएको गणतन्त्रमा आफैं रजाईं गर्ने र ‘राज्य नै मैं हुँ’ भन्ने प्रवृत्ति भएका खड्गप्रसाद ओलीले गणतन्त्र, जबज वा राजतन्त्र के रोज्ने हो यसमा कित्ता क्लियर गर्न आवश्यक भएन र ? अनि जनयुद्ध चलिरहेको बेला आफ्नै सहयोद्धालाई हिरासतमा राख्ने र हजारौं जनता सहीद हुन तयार भैरहँदा राजाको प्रतिनिधि खौज्दै दरबारसँग साइनो लगाउन तयार कमरेड प्रचण्डले पनि अब जनतालाई जवाफ दिनुपर्छ । के हिजो ज्ञानेन्द्र शाहको प्रतिनिधिसँग तपाईंको केही गुपचुप त थिएन ? वा अहिले बहुदलीय जनवाद मान्न तयार भइसक्नुभएका तपाईं कमरेड पनि अब परिआएमा संवैधानिक राजतन्त्रमा सहमत हुन सक्ने सम्भावना त छैन ?
खबरदार, कमरेडहरु नक्कली कम्युनिष्ट बनेर देशलाई अराजकता र अन्यौलतामा लैजान त सफल हुनुभयो तर, हजारौं जनताको रगतसँग साटेर ल्याएको यो गणतन्त्र र संघीयतामाथि कुनै आँच आउने काम भयो भने नेपाली जनताले अब धैर्य गर्ने छैनन् । यसर्थ, पार्टीभित्रको विवाद वा पदीय झगडाको व्यवस्थापन पार्टीभित्रैबाट गर्ने वा छिमेकी देशको दूतावास र शितलनिवासबाट खोज्ने त्यो नेकपाको आफ्नो कुरा हो ।
तर,नेपाली जनताको बलिदानबाट आएको गणतन्त्रविरुद्ध भएका प्रदर्शन तुरुन्त रोक्ने हिम्मत गर । यदि यो उच्छृङ्खल गतिविधी रोक्न नसक्ने वा नखोज्ने हो भने जनताले लडेर ल्याएको गणतन्त्रमा ओली प्रवृत्ति हावी हुन दिईने छैन । ओली प्रवृत्तिको अन्त्य वा राजतन्त्रको स्वागत के रोज्ने हो त्यो नेकपा नेता र कार्यकर्ता को मर्जी । नेकपा बनेर कम्युनिष्ट चरित्र देखाउने की राजतन्त्रको वकालत गर्ने वा हड्डी समेत कुहिइसकेको राजतन्त्र फर्काउँछौं भन्नेहरुसँग सती जाने आगे कमरेडहरुकै इच्छा !
The post कमरेड ओलीको बर्हिगमन कि राजाको आगमन ! appeared first on Sajha Post.