Quantcast
Viewing all articles
Browse latest Browse all 942

किन जन्मेन खोजेजस्तो नेता ? किन उदाएन चाहे जस्तो शासक ?

सर्वत्र गुनासो सुनिन्छ– ‘यो देशमा राम्रो नेतै जन्मेन, देशले राम्रो शासक नै पाएन । देश त कति राम्रो राम्रो, धर्तीमा स्वर्गको एक टुक्रा हो, तर के गर्नु स्वर्ग स्याहार गर्ने माली नै भएन ।’ यस्ता गुनासा अकारण उत्पन्न भएका छैनन् ।

देशको क्रोनिक गरिबी, बेरोजगारी, कुशासन, बेथिति र गैरजिम्मेवार शासन शैलीले जब आम मानिसलाई जीवन धान्न गाह्रो पर्छ, आशा कमजोर हुन्छन्, सपना तुहिन थाल्छन्, भविष्यको चिन्ता अनिश्चयको डरलाग्दो राक्षस बनेर सामुन्ने खडा हुन्छ– मानिस आत्तिनु, निसासिनु स्वभाविक हुन्छ । गुनासाहरु स्वभाविक हुन्छन् ।

नेपाल सर्वाधिक दरिद्र मुलुकमध्ये एक छँदै थियो । भर्खरै सर्वाधिक भ्रष्ट मुलुकमध्ये एक पनि बन्यो । विश्वको औसत प्रतिव्यक्ति आय १० हजार डलर कटिसक्दा नेपालको मुस्किलले १०९६ पुग्यो, भनिँदैछ । नेपाल सरकारको यो दावी अन्तर्राष्ट्रिय संघसंस्थाहरुले स्वीकार गरेका छैनन् । १०२६ भन्दा बढी प्रतिव्यक्ति आए भएको देशलाई अल्पविकसित देशहरुको सूचिबाट न्यून-मध्य आय देशको सूचिमा राखिन्छ ।

नेपाल अझै अल्प विकसित देशहरुको सूचिमै छ । औसत अन्तर्राष्ट्रिय तथ्याङ्कले नेपालको प्रतिव्यक्ति आय १ हज्जार डलरको हाराहारी देखाइरहेका छन् । नेपाल एशियामा अफगानिस्तानपछिको दोस्रो गरिब मुलुक मानिदै आएको सबैलाई थाहै छ । भर्खरै ट्रान्स्परेन्सीले भन्यो- नेपाल एशियाकै सर्वाधिक भ्रष्टाचार हुने मुलुक हो ।

एक्काइशौं शताब्दिको दोस्रो दशकपछि पनि यो स्तरको आर्थिक पिछडापन, गरिबी, बेरोजगारी र कुशासन भोग्नु पर्दा आमनिरासा जाग्नु स्वभाविक हो । प्राकृतिक स्रोतसाधनले देश भरिपूर्ण देखिन्छ । मानवीय विविधता, श्रम, सीप र जाँगरले देश सम्पन्न देखिन्छ । तर, गलत व्यवस्थापन र उपयोग कौशलको अभावमा जनजीवन झनझन कठिन हुँदैछ । कोरोनापछि सृजित आर्थिक संकटले त झनै हालत भएको छ ।

जनता भन्दैछन्- ‘सुनको कटौरा बोकेर भीख माग्न बाध्य भयौं । जो आउँछन्, लुट्छन् मात्र । जो आउँछन्, बिगार्छन् मात्र । कसलाई विश्वास गर्ने, कसलाई पत्याउने ? यसले त गर्ला भन्यो हुँदैन, उसले पो गर्ला भन्यो गर्दैन, यो देशलाई साँच्चै सतिको श्राप नै परेको रहेछ ।’

यस्तो तर्क, गुनासा र आमनिरास सुन्दासुन्दै यदाकदा आफैं निरास हुन् मन लाग्दछ । भित्र कतै टिठ लाग्दो भावना उम्रिन्छ । साँच्चै हामी अभिशप्त देशमै जन्मेका तुहेग्राहरु हौ ? किन नफिरेको होला हाम्रो मति ? किन सच्चिएको होला हाम्रो शासकीय शैली ? किन नसुध्रेको होला हाम्रो प्रशासनयन्त्र ? किन नबद्लेको होला हाम्रो धारणा ? किन नबढेको होला हाम्रो प्रतिव्यक्ति आए ? किन सुदृढ नभएको होला हाम्रो अर्थतन्त्र ? किन लिप्त भएको हौला हामी भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातमा ?

यसका केही कारण छन् कि यी सबै अकारण, संयोगिक भएका हुन् ? कारण छन् भने ती के हुन् ? तिनलाई किन नहटाउने ? यस्तो हालतमा देशको शासक र नागरिक हुँदा कस्लाई मज्जा भएको होला ? कारण छैनन् भने के भगवानले नै सृष्टिका सबै नालायक आत्महरु जन्मिनका लागि छुट्याएको भूखण्ड हो यो ?

अन्यथा एउटा राम्रो नेता, एउटा राम्रो शासकको प्राप्तिका लागि किन शताब्दिऔं तड्किन पर्ने ? के भुल भयो यो देशको अस्तित्वमा ? के चुक भयो यो देशको इतिहास र वर्तमानमा के खोट रह्यो हाम्रो सोच, संस्कार, संस्कृति र चिन्तन पद्धतिमा ? कहाँनेरबाट यो खोट वा त्रुटीको उपचार हुन् सक्ला ? कहाँनेरबाट सच्चिन थाल्ला ?

Image may be NSFW.
Clik here to view.
Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

आधुनिक नेपालको करिब २५० वर्षलाई हेर्दा छोटो समयका एकाध अपवाद छोडेर कुनै पनि कालखण्डमा गतिलो, जनमैत्रीपूर्ण र दूरदृष्टि भएको शासकको उदय भएको देखिन्न । हाम्रो राज्यनिर्माणको जग, हाम्रो इतिहासको विरासत यदि राम्रो हुन्थ्यो, राम्रो राज्यसंचरना, राम्रो प्रणाली, राम्रो प्रशासन, राम्रो नेतृत्व, उचित र यथोचित शासकीय ढाँचा, संरचना र शैली पाएको भए हामी सधै यति कमजोर र निम्छारो अवश्य हुने थिएनौं ।

अमेरिका आज विश्वको सर्वाधिक शक्तिशाली र धनी राष्ट्र मानिन्छ । हुन त त्यहाँ पनि ट्रम्पजस्ता डेमागग उदाए र ४ वर्ष जनतालाई सताएर विदा हुँदैछन् । यस्ता केही अपवादलाई छोडेर एकक्षणलाई यहीनेर तुलना प्रारम्भ गरौं ।

अमेरिकाका संस्थापक पिता जर्ज वासिङटनको जन्म सन् १७३२ मा भएको थियो । हाम्रा पृथ्वीनारायण शाहको जन्म सन् १७२३ मा भएको थियो । उमेरले वासिङटनभन्दा शाह ९ वर्ष मात्र जेठा थिए । दुवैको राजनीतिक सक्रियताको युग एउटै थियो । सन् २०५१ देखि वासिङटन राष्ट्रिय जीवनमा देखिए । सन् १७८९ देखि १७९७ राष्ट्रपति रहे । शाह सन् १७७५ सम्म नेपालको राजा रहे ।

दुवै लडाकु थिए । दुवै एकीकृत नयाँ राष्ट्र निर्माण गर्न चाहन्थे । दुवैको बाह्य चुनौति बेलायती साम्राज्य थियो । वासिङटन बेलायती सेनाको भर्जिनिया रेजिमेन्टको सिपाही हुँदै अमेरिकी स्वतन्त्रता सेनाको कमाण्डर भए । शाह गोर्खाको राजा हुँदै नेपालको राजा भए ।

समय एउटै थियो, उद्देश्य एउटै थियो, चुनौति एउटै थियो तर ‘एप्रोच’ बिल्कुल भिन्न थियो । चाहेको भए जर्ज बासिङटन पनि राजा हुन् सक्थे । बेलायती साम्राज्यद्वारा शासित उपनिवेश भएको हुँदा संवैधानिक राजतन्त्रको प्रचलन र संस्कृति त्यहाँ थियो । तर उनी राजा हुन् चाहेनन् । हाम्रा शाहलाई शक्तिशाली राजा हुनु थियो ।

अमेरिकामा पनि त्यो समय पर्याप्त भौतिक पूर्वाधार थिएन । सूचना र सञ्चार थिएन । बाटोघाटो थिएन । तर त्यसलाई निहुँ बनाएर उनीहरुले लोकतन्त्रलाई कम आँकेनन् । अमेरिकामा शुरुशुरुमा एक चुनाव सम्पन्न गर्न ६ महिनाभन्दा धेरै समय लाग्थ्यो । तर उनीहरु निर्वाचित राष्ट्रपतिको प्रचलनमा गए । उनीहरुको स्वतन्त्रताको घोषणापत्र आज पनि विश्व लोकतन्त्रको आधारशीला मानिन्छ । हामी कहाँ भने त्यसको करिब १ सय वर्षपछि जातीय विभेद र असमानताको दस्तावेज जंगबहादुरको मुलुकी ऐन आउँदै थियो ।

अमेरिकाका संस्थापक पिताहरुले त्यो समयमा सङ्घीयताको अर्थ र मर्म बुझे । अमेरिकालाई ‘युएसए’ भनियो । तर नेपाल लामो समयसम्म ‘गोर्खा’ रह्यो । गोर्खा भाषा प्रकासिनी समिति, गोर्खापत्र, गोर्खा गणजस्ता शब्दाबली धेरैपछि सम्म थिए । यदि हाम्रा शासकसँग दुरदृष्टि हुन्थ्यो भने त्यतिखेरै नेपाललाई ‘संयुक्त गणतन्त्र नेपाल’ बनाउन सकिन्थ्यो । एकीकरणको ढाँचा युद्धको साटो ‘सम्मेलन र साझा घोषणापत्र’ बनाउन सकिन्थ्यो ।

अमेरिकीहरुको ‘फिलाडेलफिया सम्मेलन’ जस्तै हाम्रो पनि ‘विजयपुर, सिञ्जा वा सिम्रौनगढ सम्मेलन’ हुन् सक्थ्यो । हामी त्यतिखेरैदेखि एकात्मकको साटो स्वायक्तता र स्वशासनको अवधारणामा जान सक्थ्यौं ।

मलाई थाहा छ कि यस्तो तुलना धेरैलाई मन पर्ने छैन । कहाँको कुरा ल्याएर जोड्यो भन्ने लाग्न सक्दछ । त्यसको अर्थ हो– आज पनि हामीलाई त्यो चेतना ग्रहण गर्न सहज छैन । तर कसैलाई मन पर्छ कि पर्दैन भन्ने आधारमा सत्य फरक हुँदैन, तथ्य फरक हुँदैन । आज अमेरिका अमेरिका हो, नेपाल नेपाल हो । अमेरिकीहरु नेपाल आउन डिभी भर्दैनन्, नेपालीहरु डिभी पर्नु अहोभाग्य ठान्दछन् । कसलाई मन परे पनि, नपरे पनि आजको यथार्थ यही हो ।

समय एउटै थियो, विश्व चेतना एउटै थियो तर अमेरिकी राज्यको जगमा स्वतन्त्रता थियो, हाम्रो राज्यको जगमा निरंकुशता (दासता) थियो । अमेरिकी राज्यको जगमा लोकतन्त्र थियो, हाम्रो राज्यको जगमा राजतन्त्र थियो । अमेरिकी राज्यको जगमा संघीयता थियो, हाम्रो राज्यको जगमा एकात्मकता थियो ।

अमेरिकी राज्यको जगमा ‘साझा आर्थिक हित’ थियो, हाम्रो राज्यको जगमा ‘बिर्ता प्रथा’ थियो । अमेरिकी राज्यको जगमा ‘धार्मिक स्वतन्त्रता’ थियो, हाम्रो राज्यको जगमा ‘असली हिन्दुस्ताना’ थियो । अमेरिकी राज्यको जगमा ‘निर्वाचित राष्ट्रतीय प्रणाली र शान्तिपूर्ण सत्ताहस्तान्तरण’ थियो, हाम्रो राज्यको जगमा ‘दरबारिया काटमार, भण्डारखाल र कोतजस्ता अनेक पर्व’ थिए ।

त्यही प्रचलनको कारण आज ट्रम्पजस्तो दुष्ट शासक ४ वर्षमै हट्न बाध्य भएका छन् । लोकतन्त्रमा यदाकदा डेमागगहरु जन्मिन सक्दछन्, तर तिनीहरुको आयु लामो हुँदैन । हामी कहाँ त्यस्ता धेरै सामन्ती शासकहरु आए, जसले दशकौंसम्म राज्यमा एकछत्त प्रभुत्व जमाए । समाजको चेतना र गतिलाई नियन्त्रण गरे ।

Image may be NSFW.
Clik here to view.
अन्यथा नलिइयोस्, आज हामी सपनामा अमेरिका सजाउँछौं, डिभी खुल्दा फारम भर्न लाम लाग्छौं । कसैलाई अमेरिका जाने भिसा लागे खुशीले उचालिन्छौं र प्रचार गर्दछौं । छोराछोरीले अमेरिकाको छात्रवृत्ति पाउँदा भुइमा न भाँडोमा हुन्छौं । अनि यहाँ तिनै प्रचलनको गुणगान गर्दछौं, जो ठीक विपरित थिए । विपरित छन् ।

हामी शाहवंशजस्तो सोचले मष्तिष्क भर्दछौ र जर्ज बासिङटनको जस्तो देश चाहन्छौं, त्यो कसरी सम्भव छ ? हामी अब्राहम लिंकनको जस्तो देश चाहन्छौं र जंगबहादुरको गौरवीकरण गर्दछौं, त्यो कसरी सम्भव छ ? हामी रुजबेल्टको न्युडिलले निर्माण गरेजस्तो अर्थतन्त्र चाहन्छौं र महेन्द्रको गुणगानका समय बर्बाद गर्दैछौं, त्यो कसरी सम्भव छ ? हामी ओबामाजस्तो शासक चाहन्छौं र ओलीलाई भोट दिन्छौं, त्यो कसरी सम्भव हुन्छ ?

नेपालमा कुन त्यस्ता शक्तिशाली, अहोदावाल, पहुँचवाल ‘राष्ट्रवादी’ हरु बाँकी होलान जसको परिवारका कुनै न कुनै सदस्य अमेरिकामा नहोलान् ? यदि सबैलाई डिभी पर्ने र भिसा लाग्ने हो भने कति त्यस्ता ‘राष्ट्रवादीहरु’ नेपालमै बस्लान् ?

यसरी नसोचियोस् कि मैले आफ्नै देशको गौरब, इतिहास र विरासतलाई धिक्कार्दै छु, हीन भावनालाई प्रवर्द्धन गर्दैछु, मलाई त्यसो गर्ने न कुनै इच्छा छ न कुनै प्रायोजित भावना छ, न यस्तो लेख्नु पर्दा मेरो आफ्नै मनलाई कुनै सन्तोष मिलेको छ । बलियो र सम्पन्न राज्यको नागरिक हुन कसलाई मन लाग्दैन ? तर, रहर लागेर मात्र नपाइने रहेछ !

म केवल ठन्डा दिमागले एक तुलना मात्र गर्दैछु कि राज्यनिर्माताहरुको दूरदृष्टि भनेको के हो ? शासकीय सोच र शैलीको दीर्घकालीन असर कस्तो रहन्छ ? विरासतहरु कसरी बन्दै जान्छन्, गलत बिरासतले कसरी राष्ट्रको जीवनलाई ऐंठन गर्दै जान्छन् । मलाई यसो भन्न कति डर, चिन्ता वा हिनता हुँदैन कि हाम्रो राज्य प्रारम्भदेखि नै सही थिएन । राज्य निर्माणको हाम्रो एप्रोच नै गलत थियो ।

तर, जतिसुकै गलत किन नहोस्, इतिहास सच्याउन सकिँदैन । सच्याउने इतिहास हैन, इतिहासको गति हो । दुर्भाग्यको कुरा के हो भने आज पनि हाम्रो सोच, शैली र इतिहासको गति सच्याउन सकिएको छैन । करिब २५० वर्षपछि पनि हाम्रो दूरदृष्टिको स्तर र शासकीय क्षमता जहिको त्यही छ । कांग्रेस हुन् वा कम्युनिष्ट शाह, राणा र पञ्चहरुकै विरासत बोकेर हिंडिरहेका छन् । नियालेर हेर्दा कति परिवर्तन देखिन्न ।

शाहहरुबाट सत्ता खोस्न राणाहरुले त्यत्रो जोखिम मोले, कोत पर्व गरे, सयौं भारदारको हत्या गरे, एकै चिहान बनाए, तर जब सत्ता उनीहरुको हातमा आयो, सत्तासञ्चालनको नीति शाहहरुको भन्दा कहाँनेर के फरक थियो ? केही फरक थिएन । सत्ता खोस्न संघर्ष गर्नु एउटा कुरा हो । राजनीतिमा त्यो पनि गर्नु पर्दछ । तर, सत्ता खोसेर मात्र राजनीतिको धर्म र कर्तव्य पुरा हुँदैन ।

कांग्रेस र कम्युनिष्टले पनि शाह, राणा र पञ्चहरुबाट सत्ता खोस्न संघर्ष गरेकै हुन् । सत्ता खोसे पनि तर सोच फेर्न सकेनन् । शासकीय शैली फेर्न सकेनन् । राज्यनिर्माणको अवधारणा, अर्थतन्त्रको ढाँचा फेर्न सकेनन् । जसरी शाह र राणाहरुको सोचमा कुनै भिन्नता थिएन, त्यसैगरी पञ्च विशेषतः महेन्द्रको राज्य निर्माण सम्बन्धी सोच र कांग्रेस-कम्युनिष्टको सोचमा कुनै भिन्नता देखा परेन ।

नियालेर हेर्ने हो भने शाह, राणा, पञ्च र अहिलेका केपी ओलीको सोच र शैलीमा व्यापक समानताहरु छन् । रुपको भिन्नता होला त्यो भिन्नै कुरा हो तर सारमा समानता नै हावी छ । ओलीको सोच पनि शाह र राणाकोझैं एकात्मकतावादी छ । संघीयता, स्वायतक्ता, स्वशासन र भाषिक सांस्कृतिक अधिकार विरोधी छ । बहुसांस्कृतिकतावाद विरोधी र बर्चश्ववादी छ ।

राजनीतिक कार्यशैली षडयन्त्र सिद्धान्तमा आधारित छ । प्रशासन पजनी प्रणालीमा आधारित छ । आर्थिक पद्धति हिजोको कुत, तिरो बिर्ताको नयाँ रुप ‘रेन्ट सिकिङ’ मा आधारित छ । चाकरी प्रथाको प्रतिस्थापनमा गुटतन्त्र छ । भनिएको छ कम्युनिष्ट पार्टीको सरकार, सबै नीति शाह, राणा र पञ्चहरुकै छन् ।

शाहवंशीय सोच, संस्कार र संस्कृति यदि सही हुन्थ्यो भने दरबारमा अनेक काण्ड हत्याकाण्ड हुँदैनथे । भण्डारखालदेखि नारायणहिटी हत्याकाण्डसम्म जुन काण्डहरु भए, त्यो कुनै सभ्य र सुसंस्कृत राजनीतिको दृष्टान्त थिएन । त्यसैको जगमा राणाहरु आए । कोत पर्व गरेर जंगबहादुर आए । तरबारले मान्छे काट्नु सत्तामा पुग्ने क्षमता बन्यो । उनले बसाएको थितिले नै उनका शाखासन्तान सबैलाई मरायो । राणाहरु बीच अनेक काटमार भए ।

श्री ५’ नामको शाहवंश र ‘श्री ३’ नामको राणावंश- एक साथ दुईदुई वटा राजतन्त्र १०४ वर्षसम्म झेल्नु, पाल्नु परेको दुर्भाग्य नेपाल बाहेक संसारमा अरु कुनै देशको इतिहास छैन ।

मैले यो भन्न खोजेको हैन कि पश्चिमा चिन्तनकै अनुकरण गरिनु पर्दथ्यो । पृथ्वी नारायण शाहभन्दा २५ सय वर्ष अघि बुद्धले यही धर्तीमा गणतन्त्र, लोकतन्त्र र संघवादको कुरा गरिसकेका थिए । धार्मिक रुढीवाद र जातिवादको विरोध गरिसकेका थिए ।

यी अवधारणाहरु बुझ्न, सुन्न, जान्न युरोप अमेरिकाको शिक्षा र पुस्तकालयमा पहुँच हुन जरुरी थिएन । के शाह राजाहरुले बुद्धबारे सुनेका थिएनन् ? के उनका कुनै पनि उत्तराधिकारीलाई बुद्धिज्मको कुनै ज्ञान थिएन ? थिएन भने ती के राजा थिए ? कस्तो चेतनाका राजा थिए, त्यस्तो चेतनास्तरले कस्तो राज्य बन्थ्यो ?

२००७ सालपछिको राजनीतिक खिचातानी र झगडा त्यही संस्कृतिको नयाँ रुप थियो । पञ्चायतकालीन षड्यन्त्र, सरकार फेलबदल, त्यही संस्कृतिको पुनरावृति थियो । २०४६ पछिको स्थितिमा तिनै संस्कृति पुनरावत्ति भए । हतियारले स्थापना गरेको राजतन्त्र अन्त्य गर्न माओवादीले हतियार नै उठाए । त्यो इतिहासको एक अपरिहार्य आवश्यकता बन्यो । शान्तिपूर्ण सत्ता हस्तान्तरणको पद्धति नभएको देशमा राजतन्त्र फाल्न हतियार उठाउनु बाहेक के विकल्प थियो ?

बल्लबल्ल हामी गणतन्त्रमा आयौं, बल्लबल्ल संघीयतामा आयौं । बल्लबल्ल धार्मिक स्वतन्त्रताको युगमा आयौं, विश्वको तुलनमा २५० वर्षपछि आयौं । २५० वर्ष ढिलो भइसक्यौं हामी । तर, अझै त्यही पुरानो षडयन्त्र सिद्धान्तको संस्कृति गएको छैन । त्यही संस्कृति आज नेकपामा पुनरावृत भएको छ । कम्युनिष्टहरु लोकलाज सधैं त्यागेर गुट अस्तिवको अन्तिम संघर्षमा छन् ।

म स्वीकार गर्दछु, यहाँनेर गर्न सकिने प्रतितर्क छ । भन्न सकिन्छ– अझै कति शाह, राणा र पञ्चलाई दोष्छौं, अब गणतन्त्र आयो, संघीयता आयो, लोकतन्त्र आयो, समावेशिता आयो, धर्मनिरपेक्षता आयो, खै त भयो ? यो सबै भएको पनि १० वर्ष बढी भयो, के नापियो ?

यो तर्क सही हो । यहाँनेर अर्को अन्तर्विरोध बन्यो । यी कुनै पनि अवधारणा यहाँ कांग्रेस र एमालेको इच्छाले, अग्रसरताले, पहलकदमीले आएको थिएनन् । उनीहरुलाई त २०४७ सालको संविधान भए पुगेको थियो । ‘अपरिवर्तनीय संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय लोकतन्त्र’ भए पुगेको थियो ।

दुर्भाग्य जनताले तिनै मानिसलाई सत्ताको चाबी दिए । चलाउनु थियो, संघीय लोकतान्त्रिक गणतन्त्र, चलाक भए, ‘अपरिवर्तनीय संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय लोकतन्त्र’ का पक्षधरहरु । चलाउनु थियो- अत्याधुनिक बुलेट रेल, चालक भए बलयगाढाका बहलमानहरु । फेरि पनि परिणाम आएन । राजनीतिक परिवर्तनसँग नेतृत्वको तादम्यता मिलेन । राज्य निर्माणको नयाँ चरणको योजना र नेतृत्वबीच संगति भएन ।

नेपालमा राम्रो नेता, राम्रो शासक नजन्मिुन, देश सधै गरिब र भ्रष्ट रहनुमा मुख्य तीनवटा पक्ष जिम्मेवार छ ।

एक– इतिहासको गलत विरासत र त्यसमा प्रष्ट क्रमभंगताको अभाव । यद्यपि केही क्रमभंग भए, हलालजस्तो तर छिनल भएनन् । जस्तो २००७ साल, २०४६ साल, माओवादी जनयुद्ध, जनान्दोलन २०६२/२०६३ र मधेश जनविद्रोह महत्वपूर्ण क्रमभंगताको प्रयास थिए । तर यो अझै पर्याप्त भएन । विशेषतः २०७२ को संविधानपछि थोरै मात्रात्मक परिवर्तन मात्र आत्मसात गरी देश पुरानै विरासतमा फर्कियो ।

अझ प्रष्ट भन्ने हो भने गणतन्त्र र अर्ध-समानुपातिक निर्वाचन थपेर २०४७ सालकै संविधान दोहोरियो । देशले एक प्रष्ट क्रान्तकारी मार्गदर्शन पाएन । राज्य निर्माणको नयाँ चरणलाई आत्मसात गर्ने दुरदृष्टि भएको नेतृत्व पाएन ।

दुई– जनताको चेतनस्तर र मतदान प्रवृति एजेण्डा आधारित बन्न सकेन, पार्टी आधारित बन्यो । हामीले मतदातालाई यो बुझाउन सकेनौं कि लोकतन्त्रमा भोट आफूलाई मन परेको विचार, आन्दोलन र एजेण्डालाई दिनु पर्दछ, केवल आफू लागेको पार्टीलाई हैन । आफू लागेको पार्टीले आफ्नो विचार र एजेण्डालाई बोक्छ भने ठीक छ, हैन भने भोट फेर्न पर्दछ । मनमा एउटा विचार राख्ने, विचार र एजेण्डा एक खालको मन पराउने, भोट अर्को खालको पार्टी र नेतालाई दिने, यस्तो मतदान प्रवृतिको कारणले पनि देशले स्पष्ट मार्गचित्र कोर्न सकेन । जनताको मन एकातिर थियो, मत अर्कोतिर गयो । जे भए पनि आफ्नो मातृपार्टीलाई नै भोट दिनु पर्छ भन्ने मनोवैज्ञानिक व्यवधानले यस्तो निर्वाचन परिणाम ल्यायो ।

तीन–नेपालमा राजनीतिक चेतना र राजनीतिको आर्थिक लागत बीच ठूलो ग्याप रह्यो । यहाँ विचार, एजेण्डा र आन्दोलनको पैरवीले मात्र नेता हुन् वा चुनाव जित्न सकिँदैन । सँगसँगै आर्थिक व्यवस्थापन गर्ने, गुट व्यवस्थापन गर्ने, ‘रेन्ट सिकिङ’ क्षमता अनिवार्य बन्यो ।

यहाँका उद्योगी, व्यापारीहरु, चन्दादाताहरु विचारधारा र एजेण्डको आधारमा राजनीतिक दल र नेतालाई सहयोग गर्दैनन्, सत्तामा जाने संभावना र भोलि उसबाट लिन पाइने फाइदाका आधारमा लगानी गर्दछन् । एकाध अपवाद छोडेर त्यस्ता मान्छेको मात्र शक्तिमा उदय हुन्छ, जो शक्तिमा पुग्नु अघि नै भ्रष्ट भइसकेका, चुकिसकेका, विकिसकेका वा कुनै दृष्यअदृष्य शक्तिकेन्द्रको गोटी बनिसकेका हुन्छन् । वा कसैले न कसैले अपारदर्शी आर्थिक लगानी गरेर प्रेरित गरेको हुन्छ ।

यी मुख्य तीन समस्याको हल शासकीय स्वरुपसँग छ । हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको प्रणालीमा जानै पर्छ । अन्यथा नेपालमा राम्रो नेताको उदय हुने, राम्रो शासकको जन्म हुने कुनै सम्भावना छैन । बरु सम्भावना यो छ कि यो देश अरु १ सय वर्ष यस्तै गरिब र कुशासित रहेनछ । यस्तै भ्रष्ट, माफिया, गिरोह, तस्कर र बर्चश्ववादीहरुको क्रिडास्थल हुनेछ ।

The post किन जन्मेन खोजेजस्तो नेता ? किन उदाएन चाहे जस्तो शासक ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles