Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

केपी ओलीको ठाउँमा म भएको भए …

$
0
0

मानव जातिको इतिहास कहिल्यै सरल र सहज बाटोमा हिंडेको पाइँदैन । इतिहास भनेकै निर्मम सामाजिक संघर्षको महागाथा हो । मानव समुदायका सामाजिक–संस्कृतिक–आर्थिक स्वार्थहरु जब राजनीतिक सवालमा बद्लिन्छन्, त्यसपछिको संघर्ष निसन्देह जटिल, कठिन र पेचिलो हुन्छ । यही कठिन संघर्षले समाजको गति निर्धारण गर्दछ । समाजको गति सही मार्गमा छैन भने इतिहासले ‘करेक्सन’ खोज्छ ।

‘ओलीज्म’को उदय इतिहासको त्यस्तै एउटा गलत मार्ग थियो । समाजको क्रान्तिकारी प्रक्रियालाई रोक्ने एक अवरोध थियो । समाजको विकास, उन्नति र प्रगतिको मार्ग एकातिर थियो, ओलीज्मले त्यसलाई जबरजस्त अर्कोतिर मोडी दियो । त्यस्तो बाटोतिर मोडिदियो जो भयानक भीरमा पुगेर अन्त्य हुन्थ्यो । तर, त्यसको मोड भने फराकिलो थियो । फराकिलो मोडमा मानिस मोडिए । फराकिलो मोडले बाटो सहज होला भन्ने भ्रम सृजना गर्‍यो । आज बाटो भयानक भीरमा पुगेको छ ।

गलत बाटो समाएपछि अप्ठ्यारोमा पुग्ने नै भयो । अब थोरै पछाडि नफर्की कसैलाई धरै छैन । आज इतिहासले ‘कोर्स करेक्सन’ खोजिरहेको छ । त्यसका लागि ओलीज्मको अन्त्य हुनै पर्दछ । यो कुनै पूर्वाग्रह हैन, कटु सत्य हो । अरु कुनै बाटो छैन, अरु कुनै गुन्जाइस छैन । कि त देशलाई भीरबाट लड्न दिनु पर्‍यो । सबैले एक सामूहिक आत्महत्याजस्तो स्थितिको सामना गर्न राजी हुनु पर्‍यो । अन्यथा के बाटो छ ? के यसरी चल्न सक्छ, देश सधै ? पक्का सक्दैन ।

विश्वदीप पाण्डे

यहाँनेर यो भ्रम नपरोस् कि ओलीज्म भन्नु र व्यक्ति ओली भन्नु एउटै कुरा हो । यी दुई बिल्कुल फरक कुरा हुन् । प्रम ओली एक व्यक्ति हुन् । उनको व्यक्तिगत जीवनमा अनेक उतारचढाव छन् । व्यक्तिका रुपमा उनले थुप्रै दुःख, कष्टको सामना र संघर्ष गरेका छन् ।

झापा विद्रोहबाट उनको राजनीतिक जीवन शुरुवात भयो । त्यो नक्सलवादी विद्रोहबाट प्रभावित थियो । चिनियाँ सांस्कृतिक क्रान्तिबाट प्रभावित थियो । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र जनताको संयुक्त जनवादी अधिनायकत्व स्थापना गर्ने सोचबाट प्रेरित थियो । ‘वर्गशत्रु सफाया’ त्यो आन्दोलनको रुप थियो । एक कट्टर नक्सलिष्टका रुपमा ओली जेल परे, त्यो व्यक्ति ओलीको जीवनको एउटा चरण थियो ।

अर्को चरणमा उनको पार्टीले ती सबै नीतिहरु छोड्यो । इतिहासको समीक्षा गर्‍यो, झापा विद्रोह र वर्गशत्रु सफायाको नीतिलाई गलत भन्यो । २०३६ सालपछि त्यसले निरन्तर जनसंघर्ष उठानमा जोड दियो । यो क्रममा जेलमै भएका ओलीको नयाँ व्यक्तित्व बन्यो । उनी एक ‘आदरणनीय राजबन्दी’ को नयाँ इमेजमा स्थापित हुँदै गए । २०४५ सालतिर उनी जेलबाट छुटे । पञ्चायतविरोधी आन्दोलनमा लागे । उनको जीवनको यो चरण साँच्चै जनपक्षीय र सम्मान गर्न योग्य रह्यो ।

विशेषतः २०५१ सालमा गृहमन्त्री भएपछि उनको राजनीतिक जीवनमा तेस्रो चरण आयो । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुसँग नयाँस्तरको सम्बन्ध निर्माण गरे । विशेषतः महाकाली सन्धि समयको भूमिकाले ओलीको एक विवादस्पद व्यक्तित्व बन्यो । यो बिन्दूमा आएर उनले दक्षिणपन्थी मोड लिए । माओवादी जनयुद्धको विरोध गर्नु, संविधानसभा र गणतन्त्रलाई टार्न खोज्नु, राजा ज्ञानेन्द्रको ‘कू’ पछि पनि माओवादी र संसदीय दलको एकताबाट गणतन्त्रको माहौल बन्न दिनुको साटो संसदवादी दल र राजा ज्ञानेन्द्रलाई मिलाएर माओवादीलाई पेल्ने रणनीतिमा उनी लागे । ओलीको तेस्रो चरणको व्यक्तित्व सर्वाधिक विवादस्पद र निन्दनीय रह्यो ।

तर उनको इच्छाले सबै कुरा निर्धारण गर्न सम्भव थिएन । राजा ज्ञानेन्द्रले ओलीको सोचलाई दुई कौडीको महत्व दिएनन् । कांग्रेसमा गिरिजाप्रसाद र एमालेमा माधव–झलनाथको हाइट उनको भन्दामाथि थियो । ओलीको इच्छा, सोच वा रणनीतिविपरित माओवादी र संसदीय दलहरुको १२ बुँदे सम्झौता भयो । देशमा नयाँ जनान्दोलन, संविधानसभा र गणतन्त्रको माहौल बनेपछि अनिच्छावश उनी लतारिएर आए । तर, त्यो चरणमा उनको कामै माओवादी आन्दोलनलाई बदनाम गर्नु भयो ।

यो चौथो चरणमा उनले माओवादी, मधेश जनविद्रोह, संघीयता, समावेशिता र आरक्षणसँग सम्बन्धित मधेशी, थारु आदिवासी/जनजाति, दलित, महिला, मुस्लिम लगायतका सिमान्तकृत समुदायका आन्दोलनलाई गाली गर्नेभन्दा अरु कुनै काम गरेनन् । यही अवधिमा उनले प्रतिक्रान्तिकारी शक्ति सञ्चय गरे ।

व्यक्ति ओलीको राजनीतिक जीवन अहिले पाँचौं चरणमा छ । पहिलो ओली सरकारको अवधिमा उनले बुझे कि एमाले एक्लैलाई बहुमतको सरकारमा पुर्‍याउन सम्भव छैन । त्यसपछि उनले माओवादी पार्टीलाई कुटिलतापूर्वक निल्ने योजना बनाए । माओवादी पार्टीलाई कथित ‘एकताको पासो’ मा यसरी फसाए कि माओवादी आन्दोलनबाट निर्माण भएका व्यक्तित्व, गौरव र उपलब्धि पनि समाप्त भयो, त्यो आन्दोलनले आर्जन गरेको शक्ति पनि कब्जा भयो । ओली राजनीतिको यो कुटिलतालाई कमरेड प्रचण्डले बुझेनन् । ओली सफल भए ।

आज व्यक्ति ओलीको पाँचौ चरणको राजनीतिक जीवनको अन्तिम बिन्दू आउँदैछ । उनको कार्यशैलीले नेकपा पार्टी र देश अकल्पनीय अप्ठ्यारोमा पुगेको छ । देश आर्थिक रुपले टाट पल्टिँदैछ । भूराजनीतिक जटिलता उस्तै बढेको छ । भ्रष्टाचार चरम छ । घरघरमा ग्याँस पाइप, चुच्चे रेल, हनुमाननगर हिन्द महासागरको पानी जहाज सबै गफ गफमै सीमित छन् । नेकपा कार्यकर्ताले जनताले सबैले बुझे- प्रम ओली ‘गफ बहादुर’ भन्दा बढी केही हैनन् ।

व्यक्ति ओलीको कुरा गर्दा यी सबै चरणको कुरा गर्नुपर्ने हुन्छ । उनको जीवनका कतिपय पक्षलाई सकारात्मक लिनुपर्ने र सम्मान गर्नुपर्ने हुन्छ । विशेषतः उनको जीवनको दोस्रो चरण सम्मानयोग्य छ । तेस्रो, चौथो र पाँचौं चरण नकारात्मक छ ।

यदाकदा ‘इज्म’ हरु बौद्धिक रचनाकर्म र दस्तावेजबाट हैन, शासकीय शैलीबाट निर्मित हुन्छन् । जस्तो– रेगनिज्म, थ्याचरिज्म, ट्रम्पिज्म आदि । ओलीज्म एक त्यस्तै सोच र शैली हो । त्यसको कुनै दस्तावेज छैन । कुनै घोषणापत्र छैन । कुनै औपाचारिक र संगतिबद्ध राजनीतिक साहित्य छैन । तर सोच र शैलीबाट त्यो चिनिन्छ । त्यसका त्रुटीहरु कहाँकहाँनेर छन् प्रष्ट हुन्छ ।

आजको हाम्रो समस्या ओलीज्म हो, ओली हैन । ओलीले ओलीज्म छोड्ने हो भने व्यक्ति ओली फेरि सम्मानित हुन सक्दछन् । जस्तो कि गिरिजाप्रसाद कोइरालाको जीवनमा भएको थियो । २०५०–२०५६ को बीचमा कोइराला लगभग बदनाम भइसकेका थिए । तर, शान्तिप्रक्रिया र गणतन्त्रको नेतृत्व गर्दा उनको जीवनमा नयाँ चरण आयो ।

ठीक त्यसैगरी प्रम ओलीले ओलीज्म छोड्ने हो भने उनको राजनीतिक जीवनमा नयाँ चरण, छैठौं चरण आउन सक्दछ । त्यो चरण फेरि सकारात्मक र सम्मानयोग्य हुन पनि सक्दछ । तर अहिलेकै जस्तो सोच र शैलीमा हिंड्ने हो भने ओली र ओलीज्मको पतनसँगसँगै हुनेछ । त्यो निश्चित छ, इतिहासको निर्ममताले कसैलाइ छोडेको छैन, प्रम ओलीलाई मात्र इतिहासको कठोरताले किन माया गर्ला र ?

अब प्रश्न उठ्छ कि ओलीज्म के हो त ? व्यक्ति ओलीले कुन सोच र शैली छोड्नु पर्ने हो ? त्यसलाई मुख्य ३ वटा बुँदामा भन्न सकिन्छ ।

एक– पछिल्लो चरणका क्रान्तिकारी आन्दोलनहरुलाई सम्मान गर्नु । माओवादी, मधेसी, आदिवासी, जनजाति, दलित आदि आन्दोलन, संघीयता, आरक्षण र सकारात्मक विभेद र सामाजिक न्यायसम्बन्धि जति पनि आन्दोलन भए, त्यसको बलिदान, इतिहास, पात्र र गौरवहरुलाई सम्मान गर्नु । यसको शुरुवात उनले रेशम चौधरीलाई जेलबाट रिहा गरेर गर्न सक्दछ । सरकारले तुरुन्तै चौधरीको मुद्दा फिर्ता लिई प्रम ओलीले सीमान्तकृत आन्दोलनहरुप्रति भएका ज्यादतीहरुका लागि सार्वजनिक रुपमा क्षमायाचना गर्ने अवसर उनीसँग छ ।

दोस्रो– संविधान जारी गर्दा बखतमा असन्तुष्टिहरु सम्बोधन गर्न उनले सर्वपक्षीय संवाद प्रारम्भ गर्न सक्दछन् । सहमत विषयमा संविधान संशोधन गर्ने र तत्काल सम्भव नभएका बिषयमा दीर्घकालीन राजनीतिक समझदारीमा प्रक्रिया अगाडि बढाउँदै लैजाने गर्न सक्दछन् ।

तेस्रो– जनजीवका, कुशासन र आर्थिक संकटबाट उत्पन्न समस्या हल गर्न एक बृहत्त सहकार्य गर्ने । सबै भ्रष्टाचारका केसलाई निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन गर्न दिने । आफ्नै पार्टीभित्रको अन्तर्विरोध अन्तर्पार्टी लोकतन्त्रको अवधारणा अनुरुप हल गर्ने र विद्यमान विषम राष्ट्रिय स्थितिलाई दृष्टिगत गरी एक बृहत्त राजनीतिक सहकार्य गर्ने, आर्थिक संकटले मरणासन्न भएको अर्थतन्त्र र जनतालाई राहत प्याकेज दिने ।

तत्काल यी ३ काम गर्ने हो भने ओलीज्मबाट देशले ‘कोर्स करेक्सन’ गर्नेछ । बाँकी सवाल आगामी निर्वाचनबाट हल हुनेछन् । यी काम गर्दा ओलीको के बिग्रन्छ ? केही बिग्रन्न, बरु उनको व्यक्तित्व र भूमिकामा नयाँ चरणको निखार आउन सक्दछ ।

तर प्रश्न फेरि पनि जहिँको त्यही छ– प्रम ओली यी काम गर्न राजी होलान् त ? भइदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह हो । कुनै समय इतिहासमा थोरबहुत योगदान गरेका एक पात्रको जीवनको उत्तरार्ध र अवसान लज्जास्पद नभइदिए हुन्थ्यो भन्ने कामना हो । यदि म ओलीको स्थानमा भइदिएको भए यही काम गर्थेँ ।

हैन, ओलीज्म कायमै राख्ने हो भने भन्नु केही छैन । इतिहासले ‘कोर्स करेक्सन’ गर्छ गर्छ, ओलीज्मसँगै ओलीको राजनीतिक जीवनको पनि अवसान हुन् सक्दछ ।

The post केपी ओलीको ठाउँमा म भएको भए … appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles