कोरोना भाइरसको कहरमै दैनिकी बितेको पनि पूराकापूरा आठ महिना बितिसकेछ । यो अवधिमा न त समयको गति नै रोकियो, न त आम मान्छेको कष्टपूर्ण जीवनमा पलाएको जिजिविषा । आखिर त्यही जिविबिषा नै त हो, हाम्रा सपना एवं मनोकांक्षाहरुका प्रतिमान । जीवनको त्यही एकथान प्रतिमानले मान्छेलाई संघर्षशील बनाउँछ अनि बाँच्ने अभिलाषा पलाउँछ सायद । साँच्चि यो धर्ती, आकाश अनि संसारलाई सुन्दर बनाउने संकल्पको स्रोत पनि त्यही अभिलाषा नै हो । हामी त्यही अभिलाषाका साथ कष्टकर जीवन व्यतीत गरिरहेका छौं । अभावमै रमाउने बानी जो परिसकेको छ ।
दैनन्दिनी सामना गर्नुपरेको महंगी, भ्रष्टाचार, आर्थिक अनियमितता र अभावपूर्ण जीवनको गोरेटोलाई फराकिलो चौडा सडक बनाइदिने कोही भएन । आखिर त्यही गोरेटोको कष्टपूर्ण र अभावपूर्ण जीवन बाँच्न विवश हामी आम नेपाली नागरिकको दैनिकीलाई कोरोना नामको भाइरसले निकै थिलोथिलो बनाइदियो । भाइरसको प्रभाव र संक्रमणसँग सामना त गरिरहेकै छौं, त्यो भन्दा जब्बर चैं भ्रष्टाचारको भाइरस रहेछ, जसले हामीलाई पलपलमा संक्रमण गर्दैछ । अनि त्यही जगमा निर्माण भएको सत्ताको शासकीय विरासतको संक्रमणले पनि हामीलाई नै पिर्दैछ ।
गर्नुपर्ने र भन्नुपर्ने कुराहरु धेरै छन् । तर, जसरी जुन माध्यमबाट अभिव्यक्त गरिए पनि ती आक्रोश अनि असन्तुष्टिका स्वरहरु फगत पानीका फोका बनिरहेका छन् । जसका कारण सत्तासिनहरुलाई सत्ताको संक्रमण फैलाउन थप बल मिलेको छ । गैंडाको छालाजस्तै बनेको तिनको मस्तिष्कको कमलो भागमा संवेदनाहरुका तारहरु फ्यूज भएका छन् । त्यसैले त ती सबकासब जो सत्तामा पुग्छन् संवेदनाहिन हाँसो ओकल्छन् । बेढंगको अनि बेस्वादिलो अभिव्यक्ति दिन्छन् । आफैं बोल्छन्, आफैं गिजिन्छन् अनि आफैं हाँस्छन् । तिनलाई हाँस्न मुहारमा हाँसो चाहिंदैन अनि रुनलाई आँखामा आँशु चाहिँदैन । ती सबैका सबै स्वतः सिर्जना हुन्छन् लभस्तरो बनेको मस्तिष्कको कुनै असंवेदनशील भागबाट । परिणाम स्वरुपः असन्तुष्टिको स्वर विस्फोटको तहसम्म नपुग्दासम्म शासकको कानको जाली टालिनैरहने विडम्बना कायमै रहन्छ ।
भाइरसको त्राहिमाम् र सरकारले सिर्जना गरेको मनोवैज्ञानिक आतंकको चपेटोका विगत आठ महिनामा देखिएका दृष्यहरुको सिंहावलोकन गर्दा मिडिया तथा सामाजिक सञ्जालहरुमा कोरोना कहरकै उपजका अभावजन्य परिस्थितिका दारुण तस्बिर तथा भिडियो सामग्रीहरु भाइरल भए । खासगरी भाइरसको सन्त्रासकाबीच लामो समयदेखिको लकडाउनले रोजगारी र आम्दानी गुमाउँदा घरको चुलो निभ्न गएपछि एकछाक खान भात खुवाउने ठाउँ खोज्दै हिंड्ने नागरिकका तस्बिर एवं भिडियोहरु निकै भाइरल बने ।

कसैले तर्क गर्न त सक्छ- पूँजीवादमा दुःख पनि माल बनेर बिक्री हुन्छ । अभाव पनि राम्रो बिकाउको माल हुन्छ । तर, अभाव छ, अभावग्रस्त जिन्दगी छ त्यसैले त्यो बाहिर आउँछ । समस्या छन् र नै त्यसको चिरफार हुने हो । चिरफार भएपछि नै त्यसको समाधानको बाटो पहिल्याउन सकिन्छ । नत्र मेयर विद्यासुन्दर शाक्यले ‘टुंडिखेलमा भात खुवाउँदा काठमाण्डूको सौन्दर्य बिग्रियो’ भनेर उपेक्षापूर्ण तर्क गरेझैं मात्र हो । थाहा छ, दैनिक भात खुवाउनु समस्याको दीगो समाधान हैन, तर, भोकोलाई एकछाकै सही भातै चाहिन्छ भन्ने तीतो यथार्थ ती विद्यासुन्दरको ‘अविवेकी’ मस्तिष्कमा कहिले घुस्छ ? अनि यसको दीगो समाधान निकाल्छन् ।
गत असोज ३ गते संविधान दिवसका दिन काठमाण्डूको टुंडिखेलमा भात खान लाइन बसेका नागरिक, पृष्ठभूमिमा ‘संविधानउत्सव’ मनाउन पुष्पवर्षा गर्दै उडेको हेलिकोप्टरलाई नियालिरहेका दृष्य निकै संवेदित अनि प्रतिकात्मक लाग्दथे । सुनिएझैं त्यस दिन टुँडिखेलस्थित सैनिकमञ्चमा भिआइपी सवारीलाई सकस भएको भन्दै निःशूल्क भात खान आएका मानिसहरुमाथि सुरक्षाफौजलाई लाठी वर्षाएर भीड नियन्त्रण गर्नुपरेको थियो ।
राणा शासनमा ‘श्री ३ महाराज’ का पगरी धारण गरेका ‘प्रधानमन्त्री’हरुले कुनै विदेशी तक्मा पाउँदा, छोरानाती जन्मिँदा वा अन्य कुनै शासकीय खुसीयाली बाँड्न काठमाण्डूबासी ‘चुने रैती’ हरुलाई टुँडिखेलमा लाइन लगाएर एकछाक भोज खुवाउने गर्दथे । उबेला त्यसरी भोज खुवाउने चलनलाई सहजै लिइन्थ्यो । किनकि राज्य नै जहाँनियाँ एकतन्त्रीय पारिवारिक प्रकृतिको थियो ।
तर, आज गणतन्त्रात्मक युगमा नागरिकको मतबाट चुनिएर ‘जनताको सेवक’ हुन सत्तासिन भएका ‘नयाँ महाराज’हरुलाई शायद त्यो टुँडिखेलको दृष्य भातखुवाईको पुनरावृत्त संस्कृति लाग्दैछ । त्यसैले ती सत्तासिनहरु ऐतिहासिक दृष्यको पुनरावृत्ति भएकोमा मखलेल छन् । वा उनीहरुको उच्च सुरक्षाजडित वातानुकूलित बहानबाट त्यस्ता भुईंदृष्यहरु देखिँदैनन् । तिनलाई यस्तो सामान्य नागरिकका हातमुख जोर्ने जस्तो अति सामान्य दृष्यहरु महत्वको विषय पनि लाग्दैनन् । जे भए पनि खाएकै त छन् भनेर वेवास्ता गरिदिन्छन् । अनि त्यो आफ्नै नाभीको दृष्य पनि सत्ताको हृदयले कहिल्यै महशुस गर्दैन ।
तै टुँडिखेलसहित देशका विभिन्न सहरहरुमा भोका मानिसलाई कम्तीमा पेटभरी खाना खुवाउन मनकारी तनहरु सक्रिय छन् र नै तिनको पेटमा खाना पुगेको छ । यदि यसरी स्वस्फूर्त खाना वितरण नगरिँदो हो त धेरैले भोकोपेट अनिदो बस्नुपर्ने थियो । यद्यपि यी पहलहरु आफैं मा पर्याप्त छैनन् र यी समाधानमुखी कुरा हैनन् । तर, कम्तीमा केही मानिसको भोक मेटाउने काम गरेका छन् । ती सबैलाई सलाम छ, जसले भोको ज्यानमा भोजनको ताकत भरिदिएका छन् ।
तर, ती मनकारी तनहरुको पुण्यप्रति राज्यको दृष्टि भने उतिसारो चित्तकारी देखिएको छैन । सडकमै सहि भोकाहरुलाई भोजनको प्रबन्ध गरिदिने सामाजिक संस्थाहरु, क्लब तथा समाजसेवी तनहरुलाई जेजसरी सहयोग गर्नुपर्दथ्यो त्यो हुन सकेको छैन । बरु राज्य संयन्त्र विभिन्न बहाना गरेर तिनको उपेक्षामै समय कटाइरहेको छ । यत्ति त बुझ्नु पर्ने हो कसैलाई सडकमा तमासा देखाएर भात खाने र खुवाउने रहर हुँदैन । भात खुवाइएका र खाएका यस्तै दृष्यहरु अहिलेको नेपाली समाजको यथार्थ दृष्यहरु हुन् ।
कोरोना सन्त्रासकाबिच अभावग्रस्त जीवन जिउन बाध्य लाखौं मानिसहरुको समस्या, सास्ती, हैरानी र अभावको सिंगो प्रतिबिम्ब बनेका यस्ता तस्बिर र भिडियोले धेरैको मन उद्देलित बनाइदिएको छ । तर, यी दृष्यहरु काठमाण्डूको नाभीमै रहेको शासनसत्ताको केन्द्र सिंहदरबारसम्म पुगेको छैन । सिंहदरबारको गद्दीमा आसिन शासकहरु सडकका यी र यस्ता दृष्यसँग साक्षात्कार त छैनन् नै संक्रमणले निम्त्याएको संकटबाट नागरिकले पाएको सास्ती पनि पटक्कै नियाल्न सकेका छैनन् ।
बरु शासकहरु त संकटको अवस्थालाई शासनसत्ता लम्ब्याउने अस्त्रको रुपमा परिचालन गर्दैछन् भने सत्ताको वरिपरी रहेका आसोपासेलाई भने यो आयआर्जनको दुर्लभ माध्यम भइरहेको छ । अनि जनप्रतिनिधिको हैसियतमा शासनसत्तामा पुगेका लोभीपापीहरुको झुन्ड भने कोरोनाको कभरमा भइरहेका आर्थिक अनियमितता र भ्रष्टाचारलाई वैधानिकताको खोल ओडाउने काममै तल्लीन छन् ।
उता आफ्नै बल र बुतामा केही गरिखान खोज्ने मानिसहरुले भने अनेकन झैझमेला बेहोर्नुपर्छ । प्रशासन अनि अड्डा अदालतको अनेकन सास्ती र गोता खानुपर्छ । पदमा पुगेका राजनीतिकर्मीहरु निर्धक्क र अभिमानी शैलीमा भन्छन्– ‘म आजीवन व्यापार व्यवसायमा नलागेको मान्छे । म कुनै आयआर्जन नगरी राजनीतिमा होमिएको मान्छे ! म सडकमा ढुँगामुढा गरेर राजनीति गर्दै मन्त्री भएको मान्छे ! म व्यापारी हैन, पेशाकर्मी हैन ।’ तिनीहरुको प्रस्तुति हेर्दा यस्तो लाग्छ, इलम उद्यम गर्नु चैं गलत हो । त्यो दलाली अनि निच काम हो । कामै नगरी तिनै नेताहरुको शैलीमा रवाफिलो जीवन जिउनु चैं शायद सम्मानित कुरा हो !
सबैजसो देशहरुले आआफ्नो हैसियत र गच्छे अनुसार संकटमा परेको बेला नागरिकलाई बचाउने र चल्नै नसक्ने अवस्थामा पुगेको अर्थतन्त्रलाई चलायमान बनाउन अनवरत प्रयत्न गरेको देखिन्छ । तर, नेपाल सरकारले घोषणा गरेको अमूर्त राहतको प्याकेज कसको पोल्टामा पुग्ने हो, कुनै पत्तो छैन । खासमा गरिखाने भुईंमान्छे सधैं शासनसत्ताको पैतालामुनि थिचिएरै बस्नुपर्ने विवशता छ ।
मुलुकको आर्थिक परिदृष्यको यो अवस्था छ भने अन्य राजनीतिक र मनोसामाजिक अवस्था पनि दयनीय बनिरहेको छ । अहिलेको झण्डै दुईतिहाई नजिक बहुमत भएको सरकारको कामकारबाही हेर्दा त्यो दुईतिहाई उन्नति र प्रगतिमुखी हैन, दुईतिहाई अभिमान र दुगर्तितिर उन्मुख देखिन्छ ।
अभाव र आक्रोशबाट संवेदित मनोभावनामिश्रित दृष्यहरुले पक्कै पनि राजनीतिक तरंग सिर्जना गर्नुपर्ने हो । तर, नेपाली समाज रहस्यमय तरिकाले मौन छ । सन् २०११ को मध्यतिर उत्तरी अफ्रिकामा उदाएको अरबी क्रान्तिको सुरुवात पनि यस्तै दृष्यबाट भएको थियो ।
सडकमा खानेकुरा बेचेर आफ्नो गुजारा चलाउ“दैआएका एकजना ट्युनिसियाली सडक व्यापारी मोहमद बाउजिजीको खानेकुरासहितको ठेलागाडा बिनाकारण त्यहा“का सुरक्षाकर्मीले खोसिदिए । आफू स्नातक भैकन पनि लामो समयदेखि बेरोजगार बस्नु परेको पीडा त छ“दैथियो त्यसमाथि पनि स्थानीय पुलिस प्रशासनले आफ्नो गरिखाने साधन नै खोसिदिएपछि त्यो पीडा सहन नसकी बाउजिजीले आफ्नै शरीरमा आफैंले आगो झोसेर आत्मदाह गरे । आत्मदाह गर्नुअघि तिनले सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलयुक्त कविता नै प्रतिकात्मक रुपमा अरब विद्रोहको बिज बन्यो ।
हो, आजको मितिमा विश्वव्यापी संकटको रुपमा अथ्याईएको कोरोना भाइरसको चपेटोलाई हटाएर हेर्ने हो भने नेपालको अवस्था पनि त्यस्तै छ । यहाँ चुनावी प्रक्रियाबाट स्थापित लोकतान्त्रिक भनिने सरकार छ तर, अरु सबै चिजहरु चैं एकतन्त्रीय शासनमा जस्तै छ । मौलाउँदै गएको भ्रष्टाचार, बेरोजगारी, महंगी त आम भइसक्यो भने राज्य झन् भन्दा झन् नियन्त्रणमुखी र निरंकुश हुँदैछ । स्वेच्छाचारिता र अभिमानको उचाई दैनदन्दिनी बढिरहेको बजारबाउजस्तै आकाशिँदो छ ।
सर्वसुलभ स्वास्थ्य सेवा त अब सपना जस्तै भइसक्यो । एक त्यागी चिकित्सक आफ्नो उमेरको उत्तरार्धमा गरिबदुःखीहरुले पनि सर्वसुलभ स्वास्थ्य सेवा पाउनुपर्यो भन्दै वर्षौंदेखि पटकौंपटक अनसन गर्छन् तर, अहँ तिनको कतै सुनुवाई हुँदैन । तिनै डाक्टर गोविन्द केसी अहिलेपनि अनसनरत छन् तर, राज्यले उनलाई उपेक्षा मात्रै गरिरहेको छ । नैतिकता गुमाएका शासकहरुका अगाडि ती सत्याग्रहीको त्याग र समर्पण निकै महंगो पर्नेवाला छ । तर, सत्ताको चास्नीमा चुर्लुम्मै डुबेका शासकहरुले त्यो देखिरहेका छैनन् ।
सामान्य उपचार नपाएर मान्छे मर्नु कुनै नौलो विषय भएन, यो मुलुकमा । आम मान्छेले भोग्नुपरेका यी सारा समस्याहरुको एउटै पोको बनाउँदा यो मुलुकको अर्थराजनीतिक अवस्था मात्र हैन, मान्छेको सांस्कृतिक, मनोसामाजिक अनि पारिवारिक अवस्था पनि जटिल बन्दै गएको भान हुन्छ । यहाँ भाइरसको विपद् भन्दा व्यक्तिको तुजुक र तजबिजी निर्णयमा चल्ने सत्ता र भ्रष्टिकृत व्यवस्थाको विपद्को प्रकोप चैं अझ बढी भयावह हुँदैछ । के यो प्रकोपको उपचार छैन ? अनि यसको विकल्प खोज्नुपर्दैन ?
संभावना र आशा साँघुरिँदै जाँदा सम्पन्न र वैभवशालीहरु झन् स्वार्थी बन्दै गएका छन् । तिनै दिनहिन अनि अभावमा पिल्सिएकाहरुले ‘तोरी पेल या धतुरो पेल, ले मेरो तेल’ को शैलीमा जेजसरी हुन्छ बक्यौता बुझाउनु परेको छ– साहु अनि सरकारका नाउँमा ।
आफैं र आफ्नै बुतामा केही गर्न तम्सिएका तनहरु क्रक्रक्कै परेका छन्, तिनलाई समस्याको दलदलबाट निकाल्ने कोही छैन । त्यसैले अब बोल्नै पर्छ, खानाको लागि । बासको लागि । आमा, छोरी, दिदीबहिनीको सुरक्षाका लागि । बालबच्चाको भविष्यका लागि । रोग, भोक र शोकको अन्त्यका लागि । बस् एउटा आशाको लागि । अनि एउटा भविष्यका लागि । लौन अब त केही बोलौं !
Twitter @nibartaman
The post लौन अब त केही बोलौं ! appeared first on Sajha Post.