बिहार राजनीतिमा यसपटक दुईवटा कारणले भाकपा (माले) को महत्व बढेको छ । पहिलो कारण त चुनावको अंकगणित हो । बिहार राजनीतिमा हामी लामो समयदेखि क्रियाशील पार्टी हौं । हाम्रो आफ्नै प्रकारको संगठन, प्रभाव र जनमत छ । गत लोकसभा निर्वाचनमा जहाँजहाँ राष्ट्रिय जनता दल र कांग्रेससँग भाकपा (माले)को गठबन्धन थियो, त्यहाँत्यहाँ विपक्षी उम्मेद्वारहरुले एनडिएका उम्मेदवारलाई कडा चुनौति दिएका थिए ।
दोस्रो कारण यसपालीको गठबन्धन राजनीतिक तथा एजेण्डागत प्रकृति हो । अघिल्लो निर्वाचनको गठबन्धन वैचारिक कम तथा अंकगणीय बढी थियो । यसपाली महागठबन्धनमा हाम्रो सहभागिताले आम किसान, मजदुरको विश्वास बढेको छ । जुन सवालहरु यो गठबन्धनले उठाउँदै छ, त्यो पुरा हुने आशा बढेको छ ।
मालेजस्तो आफ्नै इतिहास र क्रान्तिकारी छवी भएको पार्टीले लालु यादवको राष्ट्रिय जनता दलजस्तो पार्टी जसका मुख्य नेता नै भ्रष्टाचारको मुद्दामा जेलमा छन्, कसरी गठबन्धन गर्न सक्यो भन्ने प्रश्न आफ्नो ठाउँमा छ । तर हामीले के बुझ्नु पर्दछ भने अहिले स्थिति बद्लिएको छ । भाजपा नेतृत्वको एनडिए गठबन्धन लोकतन्त्रकै लागि खतराका रुपमा देखिएको छ । भ्रष्टाचारको कुरा गर्दा अहिले त्यो बेलाको भन्दा कम भ्रष्टाचार छैन ।
अर्को कुरा– गठबन्धन त्यही पार्टीसँग हुने हो, जोसँग सम्भावना छ । संगठन छ । राष्ट्रिय जनता दल अहिले पनि बिहारमा एक बलियो पार्टी नै हो । हामीले भएकै पार्टीसँग त गठबन्धन बनाउने हो । हुँदै नभएको पार्टीसँग त गठबन्धन बन्दैन । राष्ट्रिय जनता दलको अहिलेसम्म एउटा फरक ट्रयाक रेकर्ड छ कि यसले आजसम्म कहिले पनि भाजपासँग हात मिलाएको छैन ।
तर, भारतका अरु क्षेत्रीय पार्टी त्यस्ता हुँदैनन् । उनीहरु भाजपाको चर्को विरोध पनि गर्दछन् । फेरि कुनै न कुनै समय उनीहरुले एनडिएको घटक पार्टीको रुपमा सहभागिता पनि गरेका छन् । जस्तो बंगालको तृणमुल कांग्रेस वा उत्तर प्रदेशको बिएसपी आदि ।

भ्रष्टाचार र जातिवाद आजको भारतमा ठुलो समस्या पक्कै हो । तर, त्योभन्दा ठूलो समस्या त संविधानको रक्षा, लोकतन्त्र र आधारभूत स्वतन्त्रता हो । जहाँ आधारभूत स्वतन्त्रता र लोकतन्त्र नै हुँदैन, सायद त्यहाँ भ्रष्टाचार विरुद्ध बोल्ने अधिकार हुँदैन ।
जातिको पक्ष वा विपक्षमा तर्क गर्न पनि स्वतन्त्रता त चाहियो । हामी सुशासन भनौं वा सूचनाको अधिकार, यसको पैरवी गर्न पनि स्वतन्त्रता र लोकतन्त्र त चाहियो । त्यसैले म बोल्ने अधिकार र कानुनको शासन त चहिन्छ नै ।
यो मुद्दा बढी महत्वपूर्ण हो कि त्यो मुद्दा बढी महत्वपूर्ण हो भनेर बहस गर्न पनि त बोल्ने स्वतन्त्रता हुनु पर्यो ।
भाकपा (माले) र्याडिकल कम्युनिष्ट हो भनेर डर देखाउन जरुरी छैन । के व्यापारी, व्यवसायी र लगानीकर्तालाई कानूनको शासन चाहिन्न र ? मलाई लाग्छ, झन धेरै चहिन्छ । लगानीकर्ता कम्युनिष्ट पार्टीसँग किन डराउँछन् र ?
यतिका वर्ष पश्चिम बंगालमा कम्युनिष्ट पार्टीको सरकार थियो । चीनमा अहिले पनि कम्युनिष्ट पार्टीको सरकार छ । यी भजपा वा आरएसएस चीन घुमेर आउँछन् । त्यहाँको आर्थिक विकासको चर्चा गर्दछन् । भलै कि चीनमा जुन प्रकारको समाजवाद छ, त्यससंग हाम्रा थुप्रै विमति छन् ।
बिहार राजनीतिमा भाकपा (माले) कठिनभन्दा कठिन क्षणहरुमा पनि टिकेको छ । जटिल अवस्थामा टिक्नु अस्तित्व कायम राख्नु पनि निक्कै ठूलो कुरा हुन्छ । बिहार राजनीतिमा राजद र लालु यादवको जुन पहिलो १५ वर्ष त्यो समय लालुजीसँग जनताको ठूलो आशा थियो । ती आशा पुरा भएनन्, फेरि नितिशजी आए, आर्थिक विकास र सुशासनको नारा लिए । नितिशबाट पनि जनताका अपेक्षा पुरा भएन । फेरि मोदीप्रति आशा जाग्यो । अहिले भने मानिसले भाकपा (माले) लाई पनि आशाको नजरले हेर्न थालेका छन् ।
हाम्रो पार्टीका मुख्य ३ वटा एजेण्डा छन् । जसलाई थ्रि डी भन्न सकिन्छ । डिग्निटी, डेभलप्मेन्ट र डेमोक्रेसी । हामीलाई पुरानो नक्सलवादी हुन भन्ने दृष्टिकोणबाट अब हेर्न जरुरी छैन । हामी बिहारका अतिरिक्त बंगाल र असाममा पनि फैलिएका छौं ।
बंगालमा पनि अब चुनाव आउँदैछ । असमका विभिन्न इलाकाहरु हाम्रो आन्दोलनको केन्द्र रहँदै आएका छन् । बंगालमा हाम्रो पार्टीको आन्दोलन र बलिदानलाई मानिसले अहिले पनि श्रद्धाले स्मरण गर्दछन् । त्यहाँ हाम्रो आफ्नै प्रकारको छवि छ ।
हाम्रो पार्टी अहिले पनि सानो पार्टी हो । सानो पार्टीहरु सरकारमा सामेल भए पनि उनीहरुको खासै भूमिका हुँदैन । तसर्थ बिहार सरकारमा हाम्रो पार्टीको संलग्नताबारे म केही भन्न सक्दिन । त्यो चुनाबपछि सोच्ने कुरा हो । तथापि हामीले गठबन्धनको जुन साझा घोषणा बनाएका छौं, त्यो साझा संकल्प हो । हामी सरकारमा भए पनि नभए पनि यदि महागठबन्धनको सरकार आयो भने यो साझा संकल्प त लागू हुनु पर्यो ।
भारतमा लेफ्ट पार्टीहरु किन शक्तिशाली हुन सकेनन, कम्युनिष्ट पार्टीहरु किन बिल्कुल किनारमा परे भन्ने प्रश्नको विभिन्न उत्तर हुन सक्दछन् । भजपाको विकासको पनि आफ्नै कथा छ । आरएसएसमाथि कयौंपटक प्रतिबन्ध लागेको छ । भाजपाले २ सिट मात्र ल्याएको इतिहास पनि छ । तर आरएसएस र भाजपाले किन विकास गर्यो होला भने यहाँको जाति प्रथाले उनीहरुलाई अनुकूलता दियो ।
भापजा र लेफ्टहरुको विचार नै फरक हो । उनीहरु समाजको पुरानो, रुढीवादी विचारलाई आधार बनाएर काम गर्दछन् । त्यसका लागि समाजमा जग छ । तर, हामीले जे बनाउँछौं, त्यसको जग समाजमा कमजोर छ । हामीले पुरानो रुढीवादलाई बोक्ने हैन, नयाँ संसार सृजना गर्नुछ । यो उल्टो बाटो हो ।
विद्यमान सामाजिक प्रणाली उनीहरु अनुकूल छ, हाम्रो प्रतिकुल छ । उनीहरु रुढीवादी सामन्ती चिन्तनसंग पुँजीवादको आक्रमकतालाई जोड्दछन् । हामी आर्थिक नीतिमा पनि फरक, समाजवादी अर्थतन्त्रको कुरा गर्दछौं ।
आरएसएसको इतिहास पनि करिब १ सय वर्ष भयो । हाम्रो इतिहास पनि करिब १ सय वर्ष भयो । उनीहरु पनि छिटो बढेका हैनन्, समय लागेकै हो । तर उनीहरुले रुढीवादी फासीवादी चिन्तनको जगमा जहाँजहाँ सत्ता हात पारे, त्यसलाई शक्ति बढाउन व्यापक प्रयोग गरे ।
भारतको लेफ्ट आन्दोलनले त्यसो गर्न सकेन । केही प्रदेशमा लेफ्टले पनि सरकार आएको हो । पश्चिम बंगालमा सिंगुर, नन्दीग्रामजस्ता गम्भीर गल्तीहरु भए । हामीले यी घटनाबाट सबक लिनु पर्दछ ।
हरेक चिजको एउटा समय हुँदो रहेछ । यो फासीवादी विचारधारा जो संसारभरि बलियो हुँदैछ, भनिँदैन, यो पनि लगातार बलियो भएको हैन । हिटलरको पतनपछि विश्वभरि नै फासीवाद बिल्कुल कमजोर थियो । सन् १९९० जब सोभियत रुसको पतन भयो, एक नयाँ चरण आयो । त्यसपछि फासीवाद फेरि बढ्न थाल्यो । त्यसले समाजवादलाई मात्र हैन, पुँजीवादभित्रै प्रगतिशील कुरा जस्तो- प्रबोधन, कल्याणकारी राज्य, समाजिक सुरक्षाजस्ता चिजप्रति पनि संकट शुरुवात गर्यो ।
अहिले जुन राइट विङ्ग पपुलिज्मको कुरा छ, यो फासीवाद कै नयाँ रुप हो । मलाई लाग्दैन कि यो दीगो हुन्छ, यो मर्नेवाला छ । यो कुनै दृष्टिकोणबाट पनि सफल छैन । लेफ्टहरुको उदय नयाँ प्रकारले हुन थालेको छ । अमेरिकाको मूलधार राजनीतिमा बर्नी स्यान्डर्स वा बेलायतको लेबर पार्टीमा जेरेमी कोर्बिनको जुन समय आयो, त्यो नयाँ प्रकारको लेफ्टको संकेत हो ।
भलै कि अमेरिकाको डेमोक्र्याटिक पार्टीले स्यान्डर्सलाई उम्मेद्वार बनाएन । कोर्बिनले लेबर पार्टीलाई सत्तामा पुर्याउन सकेनन् । तर उनीहरुका अधिकांश समर्थक युवा र विद्यार्थी थिए । यसले के सिद्ध गर्दछ भने समाजवादी आन्दोलन नयाँ प्रकारले नयाँ पुस्ताबाट उदित हुँदैछ ।
भारतीय संस्कृतिमा प्रगतिशील विचारधाराको आफ्नै परम्परा छ । जस्तो कि अम्बेडकर । त्यतिखेरका कम्युनिष्टहरु अम्बेडकरलाई एन्टी–लेफ्ट भन्थे । लेफ्टलाई एन्टी–अम्बेडकार भन्थे । त्यो गलत सोच थियो । आज अम्बेडकरलाई रिडिस्कोभर गर्न जरुरी छ । भारतमा स्वतन्त्रता आन्दोलनमा पनि विभिन्न धाराहरु थिए, त्यो हामी बिर्सन सक्दैनौं ।
बिहार चुनावको सबैभन्दा महत्वपूर्ण कुरा जेनेरेशन सिफ्ट हुँदैछ । यहाँका सबै विपक्षी दलमा नयाँ नेता आएका छन् । राजदमा तेजस्वी यादव छन् । एलजिपीमा चिराग पासवान आएका छन् । हाम्रो पार्टीमा संदीप सौरभ, अजित कुशवाहजस्ता नयाँ नेता देखिएका छन् । उनीहरुको अगाडि नितिश कुमार, यहाँसम्म कि नरेन्द्र मोदी निक्कै पुराना देखिँदैछन् ।
भाजपा–जेडियुसँग न नयाँ नारा छ, न नयाँ चेहरा छन् । उनै पुराना घिसेपिटे कुरा, उही पुराना थोत्रा अनुहार । नितिशजीले यसपाली रिटार्यड गरेको भए हुन्थ्यो । उल्टै उनले अनुभवको कुरा गरे । त्यसको उल्टो असर पर्यो । युवाहरुको उत्साहलाई उनले शिथिल पार्न खोजे । तेजस्वी युवा हुनु एक अनुकलता बन्न पुग्यो । यसपालीको बिहार चुनाव युवाहरुको चुनाव बन्न पुगेको छ ।
(सत्यहिन्दीमा आशुतोष र आलोक जोशीसंग भाकपा (माले)का महासचिव भट्टाचार्यसँग गरेको कुराकानीको सम्पादित अंश)
The post यसपाली बिहार चुनावमा ‘जेनेरेशन सिफ्ट’ हुँदैछ appeared first on Sajha Post.