Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

को पागल ? लोकमान, तोकमान या गोविन्द केसी ?

$
0
0

डाक्टर गोविन्द केसी देशमा मेडिकल माफिया र भ्रष्टाचारविरुद्ध जतिपटक अनसन बसिरहेका छन्, उनलाई त्यतिपटक नै माग पूरा गर्ने ललिपप देखाएर अनसन तोडाइयो । आम जनताले बुझ्ने भाषामा सात्विकताको माग गरेर देहत्याग गर्न डाक्टर साहेब तयार हुँदा उनले राखेका माग पूरा गर्न त कता हो कता उनलाई पागल साबित गर्न एेरावत हात्तीदेखि छुचुन्द्रासम्म लागिपरेका छन् । मानौँ यहाँ जो चर्को स्वरमा बोल्छ, त्यहि हरिश्चन्द्र बन्छ र बनिरहेको छ ।

गजाननहरु डाक्टर केसीलाई बहुलाहा सावित गर्न ठूलै जालझेल गरिरहेका छन् । यहाँसम्म कि पेशाले डाक्टर भनिनेहरु पनि डाक्टर केसीको आन्दोलनको विपक्षमा आफ्ना जाली स्वरहरु ट्वार्र ट्वार्र गरिरहेका छन् । सात्विकता र न्यायकै लागि अनसन बस्ने डा. केसीकै विरुद्ध अनसन बस्छु भन्ने ऐरावत र गजाननबाट प्रायोजित र निर्देशित मुसाहरु दुलो बाहिर आईसकेका छन् । कतै कोट काट्न त कतै नोट काट्न ब्यस्त यी मुसाहरुको चीँ चीँ बजारमा ठूलै छ ।

Govinda KC
अनशनरत डा. गोविन्द केसी

अचम्म लाग्छ, नाजायज मागहरु टायर बालेर चक्काजाम गर्दै, रगतले रंगाउँदै हिंस्रक बनेर पूरा हुने देशमा डाक्टर गोविन्द केसीको जनताका छोरा छोरीहरुलाई डाक्टर बनाउन गरेको कसैलाई नपिर्ने अनसन कस्ले सुनिदेओस ! ईमानको कुनै दुनियाँमा डाक्टर केसीको आन्दोलनको पवित्रताको हजार मुख भएका शेषनागले पनि गर्न सक्दैनन् । फोहोरको डंगुरबाट जन्मेका लोकमान र तोकमानले आफ्नो लाज ढाक्न डाक्टर केसीलाई पागल आरोप लगाउँदैमा कोही पागल हुँदैन, हिम्मत भए सावित गरे हुन्छ । जनताहरु भ्रष्टलाई भन्दा पागललाई काखी च्याप्न तयार छन् ।

हो, जब-जब जनजिभ्रोहरु न्यायका आवाजहरु बोल्न थाल्छन् तब झूठका सम्राटहरु झूठलाई साँचो बनाउन हरेक हतकण्डा प्रयोग गर्छन् त्यस्तो बेला सत्य चुप लाग्छ अनि त्यसैको बदनाम गरेर आफ्नो अस्तित्व रक्षा गर्नेहरु केही समयसम्म चलमलाएपनि समय आएपछि आफैं हराएर जान्छन । डा. केसीको अहिलेको आन्दोलन पनि त्यस्तै सत्यको आन्दोलन हो जसलाई दुत्कार्नेहरु समय आएपछि बढारिन्छन्, बढारिनै लागेका छन् ।

राज्य सञ्चालकलाई विभिन्न प्रभाव पारेर स्वास्थ्य शिक्षा क्षेत्रलाई कमाई खाने भाँडो बनाएका मेडिकल माफियाहरुले संगठितरुपमा डाक्टर केसीविरुद्ध विरोधका कार्यक्रम गर्नु भनेको डाक्टर केसीको नैतिक विजय हो । समाजसेवाको खोल ओढेर गरीबका छोरा छोरी क्षमतावान हुँदा समेत पनि पढ्न नपाउने, गुणस्तरहीन र राजधानी केन्द्रित तथा लुटको व्यापा गर्नेहरु डा. केसीको आन्दोलनलाई दाग लगाएर एकछत्र स्वास्थ्य क्षेत्र दोहन गर्ने ध्याउन्नमा रहेको बेला आफ्नो प्रतिरक्षा गरिरहेका छन् ।

व्यक्तिगत रुपमा डाक्टर केसीलाई कमाउनु थियो भने उनी औषधीका झोला बोकेर दुर्गममा धाउनुपर्ने थिएन, उनको क्षमताले मात्रै लाखौं रुपैयाँ राजधानीमै बसेर कमाउन सक्थे । भुकम्प प्रभावित क्षेत्रमा भोक भोकै जनताको उपचार गर्न उनी नोट र भोटको लालचले गएका थिएनन् । जनताका छोरा छोरीलाई डाक्टर बनाउन उनले गरेको आन्दोलनलाई विदेशी मेडिकल माफियासँग उनको साँठगाँठ छ भनेर तुच्छ आरोप लगाउनेहरु मेडिकल डनहरु हुन् । हिम्मत भए पुष्टि गरेर देखाए हुन्छ ।

मेडिकल माफियाहरुले एउटा कुरा छातीमा हात राखेर भन्न सक्नुपर्छ, के उनको आफ्नो र केही जनाको आर्थिक स्वार्थ, त्यसमा पनि रातारात अकुत धन आर्जन गर्ने स्वार्थका अगाडि भोलि अहिले बनेका डाक्टरसित स्वास्थ्य सेवा लिन बाध्य हुने आम मानिसको ज्यान तुच्छ हो ? के राजनीतिक नेतृत्व र एलिट नागरिकहरुझैं उपचारका लागि परिवारजनलाई विदेश लैजान नसक्नेहरुको ज्यान ज्यान होईन, जसको स्वास्थ्यप्रति राज्यले आँखा चिम्लिए पनि हुन्छ ? नेपालको मेडिकल शिक्षालाई अब्बल गुणस्तरको हौवा गफ चुटिरहँदा धेरै मेडिकल कलेजमा वर्षभर बेड खाली राखेर अनुगमनका बेला वृद्धाश्रमबाट बिरामी ओसारेको कुरा मिडियामा सप्रमाण आएका हुन् कि होईनन् ?

सरगम भट्टराई
सरगम भट्टराई

मेडिकल कलेजका कमजोर परीक्षा प्रणालीका बारेमा छापाहरु रंगिएका हुन् कि होईनन् ? हामीजस्ता जनताका छोरा छोरी ७५ लाख तिरेर पढ्न सक्दैनन्, त्यसैले यो विसंगतिका विरुद्ध डाक्टर केसीको आन्दोलनका समर्थकहरुको जुन दिन धैर्यताको बाँध टुट्नेछ, त्यसदिन निजी मेडिकल कलेजहरुका मालिकहरु र छद्म डाक्टरहरु सुत्न सक्ने छैनन् । त्यो दिन अब नजिकै छ । सधैंभरी ठूलो स्वर गर्दैमा झूठ सत्य हुँदैन, सर्वसाधारण मानिसको ध्यान आफ्नो लाजमर्दो अवस्थाबाट अन्यत्र तान्न अहिले निजी मेडिकल कलेजहरुका डनहरु डा. केसीविरुद्ध छाती पिटेर उफ्रेपनि अब नांगिने दिन आउन धेरै दिन छैन ।

के लोकमान र तोकमानहरुलाई थाहा छैन र डाक्टर केसीको पृष्ठभूमि के हो ? के डाक्टर गोविन्दको नियत नेपालको स्वास्थ्य क्षेत्र तहस नहस पार्नु हो ? आम जनताका छोरी छोरीहरु योग्यताका आधारमा विशेषज्ञ डाक्टर बन्न पाउनुपर्छ भन्दै पैसाको भरमा मेडिकल कलेज खोल्ने र पढ्नेहरुको नांगेझार गर्नु पागलपन होईन एउटा सच्चा नागरिकले न्यायका लागि गरेको त्याग र जिम्मेवारीपन हो, माफियाहरुले खाईपाई आएको भाग खोसेर जनताका छोरा छोरीलाई बाँड्न गरेको आमरण अनसनलाई भ्रष्टहरुले बाहेक अरुले पागलपन भनेकै छैनन् । अचम्मको कुरा जनताले चुनेर पठाएका सांसदहरुले डाक्टर केसीको मागलाई बेवास्ता गरेर अहिलेसम्म ठोस कदम चाल्न नसक्नु जस्तो लाजमर्दो अरु केहि होईन ।

हो ! डाक्टर केसीले अक्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाउन संसदलाई दिएको दवाव सरसर्ती हेर्दा हठपूर्ण देखिएला तर ईमान र कर्तब्यको लिलामी भईरहेको बेलामा एउटा नागरिकले शुसासनका लागि आठ- आठ पल्ट अनसन बस्दा अन्त्यमा उल्टै पागल साबित गर्न खोजिन्छ भने डा. केसीको हठ पनि हठ होईन, उनी नागरिकका अजेय प्रतिनिधि हुन्, जनताले आफै चुनेका प्रतिनिधिहरु निकम्मा भएपछि ती निकम्माहरुलाई निर्देशन दिन जनताले किन नमिल्ने ? नागरिकतन्त्रमा यो सम्भव छ । हिजो जनताको बलले राजा फाल्न सकियो भने आज जनताले सुझाएको कुरा जनप्रतिनिधिहरुले मान्ने कि नमान्ने ? यस मानेमा डाक्टर केसीको हठ जनअनुमोदित हठ हो ।

अहिले डाक्टर केसीको बिरोधमा गरिएका प्रायोजित र खेताला स्वरहरु जनताका स्वर हैनन्, भ्रष्ट र मेडिकल माफ़िया र काला व्यापारीका स्वरहरु हुन्, अरुको जुठो र मुठो खाएर कुर्लने स्याल हुईयाहरु उज्यालो भएपछि जंगल पस्ने छन् । आउनुस्, हामी पनि डाक्टर केसीको स्वाभिमान र न्यायको आन्दोलनमा विवेकशील भएर लागौँ । जनताका डाक्टर गोविन्द केसीको ज्यानको जिम्मा राज्यले लिएर उनको माग यथाशिघ्र पूरा गरोस् । न्यायको लागि अनसन बसेका डाक्टर केसीलाई पागल सावित गर्न उद्दत मेडिकल माफियाविरुद्ध सबै नेपालीको एउटै आवाज गरौँ- आई एम विद डक्टर केसी ।
– अमेरिका

The post को पागल ? लोकमान, तोकमान या गोविन्द केसी ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles