Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

समकालीन राजनीति र युवा पुस्ता

$
0
0

भनिन्छ, राजनीति समाजका सम्पूर्ण नीतिहरुको मुल नीति हो । आजको भुमण्डलीकृत विश्वमा समाजका आ-आफ्नै भौगोलिक, आर्थिक, सांस्कृतिक, सामाजिक, कुटनैतिक र मनोवैज्ञानिक विशिष्टता विद्यमान हुन्छन् । यिनै विशिष्टताहरूलाई समय सापेक्ष, प्रगतिशीलता, गतिशीलता प्रदान गर्न अहम भूमिका खेल्ने निर्देशक सिद्धान्त नै एक ‘नीति’ मान्न सकिन्छ । यही सिद्धान्तका आधारमा रहेर समाज र देशलाई हाँक्ने नीति नै राजनीति हो । यस अर्थमा राजनीति वैज्ञानिक, प्रगतिशील र गतिशील हुनुपर्छ । फेरि यिनै सिद्धान्तका आधारमा समाजमा हरेक समय चिन्तन र वादहरु निरन्तर विकसित भइरहेका हुन्छन् । जसलाई समयानुकूल परिभाषित र परिस्कृत गर्दै अनुशरण गर्ने गरिन्छ । आजको राजनीति यस्तै वाद उपवाद र दर्शनमा चलेको छ भन्दा उपयुक्त होला ।

पवन फुँयाल
पवन फुँयाल

हाम्रो समाजमा परम्परागत धार्मिक मूल्य र मान्यताहरुमा आधारित पूर्वीय हिन्दु संस्कारका बिदुर नीति, चाणक्य नीति र कौटिल्यको अर्थनीति आदि राजनीतिका मुख्य स्रोत हुने गर्थे तर समाज र चिन्तनको विकास सँगसँगै नयाँ नयाँ दर्शनहरु थपिएका छन् । आजको विश्व राजनीति पनि यहि सेरोफेरोमा खडा छ । नेपालमा पनि विभिन्न विचार समूह र वादका नाममा थुप्रै राजनीतिक दलहरु स्थापित भएका छन् । खासगरी आजको विश्व राजनीति समाजवाद र पुँजीवादको सेरोफेरोमा ध्रुवीकृत छ । यिनै दर्शनका नाममा खुलेका राजनीतिक दलहरु प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा फस्टाउँदा छन् ।

राजनीतिले नै देश हाँक्ने नेतृत्व उत्पादन गर्ने हुँदा राजनीति क्षेत्र खास चासो र महत्त्वपूर्ण मानिन्छ । तरपनि आधुनिक नेपालमा प्रजातान्त्रिक व्यवस्था विकसित भएपछिको अवस्थालाई नियालेर हेर्ने हो भने राजनीतिक क्षेत्र सबैभन्दा बदनाम बन्न पुगेको छ । किनकि राजनीति व्यवस्था पनि एकपछि अर्को पुस्तामा हस्तान्तरण हुने भएका कारण जे हिजोको पुस्ताले देख्यौं जे सिक्यो र जुन व्यवहारको परिपाटी विकास भयो त्यो नै आजको राजनीतिक दर्शनमा प्रतिबिम्बित बनेको हुन्छ । यसमा समग्र समाजका परिवर्तनका संवाहक युवा पिँडीको भुमिका र योगदान अहम हुनेगर्दछ । युवाहरु नै देशको भविष्य हुन देशका समृद्धिका खम्बा हुन् । तसर्थ पनि देशले हरेक क्षेत्रमा युवा उपर ठुलो अपेक्षाका साथ लगानी गरेको हुन्छ ।
यसरी देशका हरेक क्षेत्रमा योगदानको आवस्यकता रहने युवाहरुमा बेलैदेखि शैक्षिक ज्ञानका साथसाथै राजनीतिक ज्ञान पनि प्राप्त हुन जरुरी छ । तर हाम्रो देशमा राजनीतिलाई नितान्त समाजसेवा र राष्ट्रहित भन्दा पनि व्यक्तिगत, संस्थागत निहित सत्ता स्वार्थमा बढी प्रयोग गरिएका कारण राजनीतिक क्षेत्र स्वयंलाई धुमिल बनाइएको छ । जसका कारण जनतामा सदाका लागि निरासा पैदा भएको छ । सामान्य जनमानसमा एकातिर राजनीति नै देशको निर्विकल्प र विशिष्ट संयन्त्र हो भन्ने भान परेको छ त अर्कातिर देश कैयौं बर्षदेखि अस्थिरताको भुमरीमा परेर चाहेको प्रगतिपथमा अगाडि बढ्न नसक्नु, भ्रष्टाचार, सामाजिक अपराध, बेरोजगारी जस्ता दरिद्रतामा फस्नुको कारण पनि यहि अस्वस्थ्य राजनीति नै हो भन्नेमा द्विविधा छैन् । वास्तवमा भन्ने हो भने देशमा आधुनिक प्रजातान्त्रिक अभ्यास सुरु भएको बितेका ५०/६० सालसम्मै देशमा सम्पन्नताको बाटो समाउन आवश्यक पर्ने स्थिरता देखिएको छैन ।

यसो हुँदाहुदै पनि हामीले हाम्रो युवा पिँडीलाई सही मार्गनिर्देशन गर्न अत्यन्तै जरुरी भएको छ । खासगरी आज हामी जुन धरातलमा छौं, यसको गाम्भिर्यताले तलका निम्न बिषयमा युवाहरूलाई सुसूचित र निपुण बनाउनुपर्ने देखिन्छ ।

व्यवहारिक शिक्षा
व्यक्ति र राष्ट्र धनी बनाउने सबैभन्दा मूल्यवान माध्यम शिक्षा नै हो । नेपालले पनि शिक्षामा प्रशस्तै लगानी गरेको छ भन्ने कुरा प्रष्टै छ तरपनि हाम्रो शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउन जरुरी छ । ठोस रुपमा भन्नुपर्दा नेपाली धरातल सुहाउँदो र विश्व परिधिभित्र अटाउँदो शिक्षाको खाँचो छ । अझ बुझ्नेगरी भन्नुपर्दा व्यवहारिक शिक्षामा हामी धेरै तल छौँ । फलस्वरुप बर्सेनि लाखौँलाख अनुत्पादक र बेरोजगार युवाहरु थपिँदो छन् । जसको प्रत्यक्ष असर देशको अर्थतन्त्रमा त परेकै छ त्यो भन्दा पनि बढी यहि वर्गको युवा नै राजनितीमा आकर्षित भएको पाईएको छ ।

यस्तै वर्गको प्रतिनिधित्व हामी आजको राजनीतिक पुस्तामा सजिलै देख्न सक्छौँ । बाँकी रहेको ठुलो दक्ष जनशक्ति पनि विदेश पलायन हुनपुग्छ । यसर्थ ज्ञान मात्रै हैन सिपमुलक शिक्षामा जोड दिई निश्चित अवधिको शिक्षा प्राप्त गरेपछि उ कागजी ज्ञान मात्रै हैन । स्वरोजगार पनि बन्न सकोस् । यस्तो जनशक्तिले नै राजनीतिलाई पनि समाजसेवाको रुपमा लिनसक्छ । कम्तिमा आधुनिक कृषि प्रणाली र पर्यटन व्यवसाय सम्बन्धी बिषयलाई पाठ्यक्रममै समावेश गरी विद्यालय स्तरमै अनिवार्य गर्दा प्रभावकारी हुने देखिन्छ । यसका साथसाथै हालको शिक्षा क्षेत्रमा ब्याप्त विकृत राजनीतिक हस्तक्षेप र संलग्नतालाई पनि ब्यबस्थापन गर्न जरुरी छ ।

स्वअध्ययन
अर्कोतिर युवा वर्गमा स्वअध्ययनको पनि कमि रहेको पाइन्छ । विद्यालय शिक्षामा संलग्न पाठ्यपुस्तक मात्रै नभएर विभिन्न ज्ञानगुण, जीवनदर्शन, आध्यात्मकलगायत कला, साहित्य, मनोरञ्जन, इतिहास, अर्थव्यवस्था र राजनीतिक दर्शन आदि बिबिध बिषयवस्तुका पुस्तकहरुको निरन्तर अध्ययन गर्न आवस्यक छ । हामीकहाँ राजनीतिक स्तरमा आफुले अनुसरण गरेको राजनीतिक विचारधाराका केही खास चिन्तनहरु माथि मात्रै ध्यान दिईन्छ । यसले गर्दा व्यक्तिमा राजनीतिक अपरिपक्वता हावी हुन पुग्दछ । बिना अध्ययन अरुको पछि लाग्ने, अरुको कुरा सुन्ने या भनौं आफुभन्दा अग्रज नेताहरुको चाकरी चाप्लुसी गर्दै झोला बोकेर पछि लाग्ने संस्कारलाई राजनीतिको प्रवेशद्वार बनाउनेहरुको भीड छ नेपाली राजनीतिमा । यस्तै वातावरणको छत्रछाँयामा जुनसुकै आपराधिक क्रियाकलापको आरोपमा कैयौँ बर्ष जेल बस्नेहरु सर्वोत्कृष्ट त्यागी नेताको रुपमा नयाँ अवतारमा देशकै अभिभावक नेतृत्वको रुपमा देखा पर्छन् । अनि यहि जमातलाई आजको युवापुस्ता रोलमोडल र राजनीतिक दर्शन मानेर पछि लागेको छ । हुन पनि आजको देश समाल्ने पदहरुमा पुग्ने योग्यताको आधार नै यस्तै कथित जेलनेल र चाप्लुसीवाला त्याग बनेको छ ।

नेपालको सन्दर्भलाई हेर्ने हो भने राजनीतिको मुलधारमा दुई प्रकारका सदावहार शक्तिहरु स्थापित छन: एउटा कम्युनिस्ट र अर्को काङ्ग्रेस । मार्क्सवादी लेनिनवादी सिद्धान्तका अनुयायी कम्युनिस्टहरू मार्क्सवाद र लेनिनवादले के भन्छ भन्दापनि मार्क्सले के भन्नुहुन्थ्यो, लेनिन र माओले के भन्नुभएको थियो । एकदुईवटा कथन र तुक्का सम्झनुलाई आदर्श मान्छन् । उता नेपाली काङ्ग्रेसका अधिकांश कार्यकर्तालाई दाबीका साथ भन्न सकिन्छ पार्टीको ठोस सिद्धान्तको बारेमा ज्ञान नै छैन तर गान्धी र बिपीले यसो भन्नुभएको थियो उसो गर्नुभएको थियो मात्रै जानेहुन्छ भन्ने कुरामा विस्वास राख्छन् ।

यसबाट पाठ सिकेर आजको बदलिँदो परिस्थितिमा युवाहरुले अध्ययन र स्वअध्ययनका माध्यमबाट आफ्नै भिजनसहितको स्वच्छ राजनीतिक परिपाटीको सुरुवात गर्दै हिजोको पुस्ताको पछि लाग्ने भन्दा उनिहरूबाट सकारात्मक पाठ सिक्दै र आफुले अँगालेको बिचारधाराको मुलभुत आदर्शलाई पनि आत्मसात गर्दै उनिहरुलाई नै आजको परिस्थिति अनुकुल हिडाउन सक्नुपर्छ ।
नैतिक शिक्षा
राजनीतिको अर्को अति महत्त्वपूर्ण पाटो हो नैतिकता ! वास्तवमा आजको सिङ्गो राजनीतिक क्षेत्रले जनविश्वास गुमाउनुको मुख्य कारण नै नैतिकता हो । सामाजिक नैतिक हैसियत सून्य भएका, भ्रष्ट आचरणका कारण सामाजिक रूपमै बहिष्कृतहरु दलबल र पैसाको आडमा सत्ता र शक्तिका सदावहार खेलाडी बनेका छन् । हुनपनि राज्यले भ्रष्टचारी भनेर कैयौंपटक जेल परेकाहरू जेलबाट छुट्दा सयौँ किलोको माला लगाएर स्वागत गर्ने संस्कार छ हामीसँग । जबसम्म व्यक्ति स्वयम भित्र नैतिकता रहन्न तबसम्म समाज र राजनीति स्वच्छ हुनै सक्दैन । राज्यबाट पनि नैतिक शिक्षालाई विद्यालयदेखि नै अनिवार्य गर्नसकेमा युवा पिँडी नैतिकवान र इमान्दार बन्न सक्नेछन् । नैतिकताले मानिसलाई अनुशासित, इमानदार र कर्तव्यबोध पनि गराउँदछ । हाम्रो देशको राजनीतिक क्षेत्रमा नैतिकताको खडेरी पर्नका कारण नै भ्रष्टाचार, कमिसनतन्त्र र सामाजिक अपराधहरू छरपस्ट भएका हुन् ।
नेतृत्व कौशल
सबै कुराको ज्ञान र सीप मात्रै भएर पनि एउटा दक्ष नेतृत्वमा हुने गुण पूर्ण नहुन सक्छन् । एउटा असल राजनीतिज्ञ हुनको लागि व्यक्तिमा कुशल समन्वयकर्ता, अग्रसर, निडर व्यक्तित्व, मृदुभाषि, चतुर, दुरदर्शिता, मुल्यांकन र निर्णय क्षमता, शालिनता, पारदर्शिता, धैर्यता, इमानदारीता, नैतिकता, सकारात्मक चिन्तन, सहअस्तित्वको भावना, प्रकृति प्रेम आदिजस्ता गुणहरु हुन अत्यावस्यक छ । चातुर्यता देखाउने नेताहरुको कमि त नहोला तर साथसाथै धुर्त प्रवृत्तिले नेतृत्वलाई खुइल्याउे काम गर्छ ।

एउटा कुशल नेताले देशलाई आवस्यक परेको बेला सबैलाई मिलाएर सम्पुर्ण देशको प्रतिनिधित्व गर्दै सक्षम नेतृत्व दिनसक्नु पर्दछ । एउटा कुशल नेतृत्व आफ्नो राजनीतिक पार्टीको मात्रै या सत्ताको हितको लागि मात्रै बफादार हुँदैन उसले सम्पूर्ण विचार र जनताको हितकोलाई सर्वोपरि ठान्नुपर्दछ । यी सोचहरुको विकास गराउनको लागि युवाहरूले बेलैमा ध्यान दिन जरुरी छ । यसका साथसाथै आजको पुस्ताले व्यवस्थापकिय ज्ञान र सिप विकास गर्न अध्ययन र विभिन्न तालिम गोष्ठी, सेमेनार आदिमा सामेल हुने गर्नुपर्छ । विद्यालय र कलेज स्तरका विविध अतिरिक्त क्रियाकलापमा सहभागी बन्दै बेलैदेखि सफल नेतृत्वमा हुनुपर्ने गुणहरुको विकास गर्न सकिन्छ । नेतृत्वमा हुने कुशलता नै एउटा सफल राजनीतिज्ञमा आवस्यक पर्ने महत्त्वपूर्ण प्राविधिक पक्ष हो ।

तसर्थ आजको आधुनिक राजनीतिमा युवाहरुको खाँचो छ । युवाहरु अझ खासगरी शिक्षित, सचेत, नैतिक र कुशल वर्गको भूमिकाले मात्रै आजको राजनीति सबल र स्थिर बन्नेछ । अनि मात्रै देशले नालायक नेता मात्रै हैन कुशल नेतृत्व पाउनेछ जसले नेपाली जनताको दशकौंदेखिको निरासा दुर गराउँदै लैजाने छ । यसरी जन्मने पुस्ताले मात्रै देशलाई समृद्धितर्फ लैजाने आशा गर्न सकिन्छ ।
– लेखक आईटी इन्जिनियरको रुपमा कतारमा कार्यरत छन् ।

(साउन ४, २०७३)

The post समकालीन राजनीति र युवा पुस्ता appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles