करीब ६ महिनाको मेहनतको फलस्वरुप जेठ ३० गते नयाँ विचार, नयाँ सोच वा वैकल्पिक विचारले जन्मने मौका पायो । यसको जन्मसँगै नेपाली राजनीतिक वृत्तमा एउटा तरङ्ग पैदा भएको छ- कतै नयाँ विचार नेपाली राजनीतिमा अग्रस्थान लिने त होइन ? कतै अन्य राजनीति दलहरुको भविष्य खतरामा पर्ने संकेत त होइन ? रंगशालाको त्यो मास, त्यो जनलहर, त्यो उत्साह, त्यो उचाई । पार्टी घोषणापछि यस्ता अनुमान, केही आलोचनााका आवाजहरु नेपाली राजनीतिको केन्द्रमा मात्र होइन तल गाउँघरका चियापसल, चौबाटो र सबैतिर सुन्न पाईन्छ ।
अधिकांशको विचारमा नयाँ शक्तिका प्रचुर सम्भावना रहेको तर्क भेटिन्छ भने थोरै आलोचकहरुको विचारमा भारतीय दलाल, विस्तारवादी र साम्राज्यवादी शक्तिको सुसारे । तर हिजोको तुलनामा पार्टी घोषणापछि यसो भन्नेहरुको संख्यामा कमी आएको भने सत्य हो । गाउँका एकान्त कुना, चौबाटो र चियापसलमा अचेल बढी चर्चामा हुने कुरा नयाँ शक्तिको पोजिसनको हो । यसमा एउटा खुसीको कुरा के हुने गरेको देखिन्छ भने केही वर्षमा नयाँ शक्तिको पोजिसन पहिलो हुन पनि के बेर ! अर्कोतिर नयाँ शक्तिमाथि गरिने केही मूलभूत प्रश्नहरु विद्यमान अवश्य छन् । यी प्रश्नहरुको उचित जवाफको खाँचो नयाँ शक्तिको मुख्य चुनौति भने पक्कै हुन् सक्छ ।

नयाँ शक्ति दोस्रो कांग्रेस या वैकल्पिकि शक्ति ? पार्टी घोषणा अघि होस् या पछि नयाँ शक्तिमाथि उब्जिएको पहिलो प्रश्न हो यो । केहीलाई जेठ ३० पूर्वसम्म नयाँ शक्ति कांग्रेसको पहिलो भाइ, केही ददालहरुको झुण्ड जस्तो पनि लाग्यो। सायद धेरैलाई लागेको थिएन कि नयाँ शक्ति एक परम्परावादी राजनीतिक शक्ति होइन । वैकल्पिक शक्ति हो । जससँग लाखौं मान्छेहरुको साथ छ, समर्थन छ । नयाँ विचार छ । नयाँ विज्ञान छ । र, नयाँ अर्थशास्त्र छ । नयाँ प्रविधि र आर्थिक समृद्धि छ ।
जेठ ३० को नयाँ अभ्यासपछि धेरैले उसँग भएको नयाँ सोचको तारिफ गरेको यत्रतत्र पाइन्छ । दलाल भन्नेको संख्या पनि पातलिएको छ । यद्यपि उसलाई दोस्रो कांग्रेसको आँखाले हेर्ने अनुहारको उपस्थिति अझै नदेखिएको भने होइन । के नयाँ शक्ति दोस्रो कांग्रेस नै हो त ? यो पनि जनचासोको विषय बन्न सक्छ । कुरा त्यसो होइन । नयाँ विचारको जन्म कांग्रेसको विचार भन्दा झण्डै ७० वर्ष कान्छो छ । आजको समाज ७० वर्ष पुरानो समाज भन्दा निकै गतिशील छ । नयाँ शक्ति दोस्रो कांग्रेस नभई युग सापेक्ष वैकल्पिक शक्ति हो । जसको विचार, सिद्धान्त युगीन छ । जसका अनुहारहरु युगीन अनुहारहरु हुन । जसले परम्परागत स्थिर राजनीतिमा होइन गतिशील राजनीतिमा विश्वास राख्छ । जसले प्रचारमुखी राजनीतिमा होइन काममुखि राजनीतिमा विश्वास राख्छ ।
यो शक्ति प्रजातान्त्रिक शक्ति होइन । वाम लोकतान्त्रिक शक्ति हो । जसले परम्परागत वाद, सिद्धान्त र प्रक्रियामा नभई गतिशीलता र समृद्धिलाई राजनीतिको मुख्य सर्त बनाउन चाहन्छ । पुरानो व्यवस्था फेर्नु यसको मुख्य अभिष्ट हो । त्यसैले कांग्रेसको भ्रम यथार्थ नभई भ्रम नै हो ।
कम्युनिष्ट छाडनुको कारण के ? नयाँ शक्तिमाथि उठने यो दोस्रो प्रश्न हो । पक्कै पनि नयाँ शक्तिमाथि उठने बढी आलोचनात्मक प्रश्नको यथासक्य जवाफको खाँचो यतिबेला दिनुपर्ने देखिन्छ । कम्युनिष्ट विकास नभई एउटा विचार हो । राजनीतिक विचार । स्थिर विचार । जो प्रजातन्त्रको अभ्युदय अघि नै जन्मिएको विचार हो । यसले आफ्नो जन्मको ७० वर्षे बूढेसकालतिर पुग्दासम्म पनि युगीनता र गतिशीलताको सगरमाथा चढ्न कहिल्यै चाहेन ।
हरेक समाजले परिवर्तन चाहन्छ । रुपान्तरण चाहन्छ । र यो विचार समाजले अपेक्षा गरिए भन्दा पनि प्राचीन इतिहासका मूल्य मान्यता भन्दा फरक रहन कदापी सकेन । साँच्चै यो विचारले विश्व परिस्थितिको मूल्याङ्कन गर्न सकेको भए । वर्तमान समाजका आधारभूत आवश्यकता र मागलाई आत्मसात गर्न सकेको भए नेपाली समाज आज विकसित मुलुकको प्रतिस्पर्धामा उत्रि सकेको हुन्थ्यो । यहाँका उत्पीडित लिङ्ग, वर्ग, क्षेत्रका सपना साकार भइसकेको हुन्थे । यो विचारको मुख्य नारा विस्तारवाद र स्राम्राज्यवाद मूर्दावाद बाहेक अर्को केही बनेन । वर्तमान नेपाली समाजले राजनीतिक नारा होइन समृद्धि चाहेको छ । समतामूलक समाजको परिकल्पना गरेको छ । त्यसैले नेपाली समाजलाई सामाजिक, आर्थिक, शैक्षिक हरेक हिसाबले अन्य मुलुकसरह प्रतिस्पर्धी बनाउन कम्युनिष्टको पुरानो खोल ओढेर सम्भव थिएन । त्यसैले समृद्धिको फराकिलो दायरा सहित नयाँ विचार जन्मिएको सत्य हो ।
मार्क्सवाद छाड्ने के नयाँ शक्ति ? नयाँ शक्तिको वेगवान घोडालाई रोक्न गरिने अर्को प्रश्न हो यो । के नयाँ शक्तिले मार्क्सवाद छाडेकै हो त ? यो प्रश्नमा भने सत्यता छैन । यो बजारमा फरक राजनीति बिकाउन गरिने विज्ञापन बाहेक केही होइन । यसको अन्तर्वस्तु यो होइन । नयाँ शक्तिले मार्क्सवाद छाडेको छैन । उसले विकसित मार्क्सवादको परिकल्पना गरेको मात्र हो । मार्क्सवाद विज्ञान हो । एउटा प्रगतिशील विज्ञान । जुन विज्ञान स्थिर नभई गतिशील हुनुपर्छ । एउटा वाद, सिद्धान्त र विचार केवल त्यो समयका लागि मात्र उपयोगी हुन्छन् । कालान्तरसम्म एउटै विज्ञानका सूत्र, सिद्धान्त रटी रहनुपर्छ भन्ने हुँदैन । त्यो फरमुला, त्यो वाद, त्यो सिद्धान्त, त्यो विचार समय सापेक्ष परिवर्तन भइरहनु पर्दछ । किनकि नयाँ पुस्ता जसले नयाँ खोज, नयाँ आविष्कार चाहिरहेको हुन्छ ।
नयाँ शक्ति जो अहिले तिनै मजदुर, तिनै किसान, तिनै अति सीमान्तकृत तथा लक्षित वर्गको पक्षमा छ । विकसित मार्क्सवादको परिकल्पना सहित यिनै वर्ग क्षेत्र, लिङ्गको उत्थान भएको देख्न चाहन्छ । समावेशी, सहभागितामूलक समाजको कल्पना गर्न चाहन्छ । त्यसैले नयाँ शक्ति मार्क्सवाद त्यागेको नभई युगसापेक्ष र विकसित मार्क्सवादको जग बसाल्दै जसबाट समतामूलक समाजको छाना हाल्न सकियोस् यो चाहन्छ ।
यति धेरै मधेस मोह किन ? यो नयाँ शक्ति माथि उठाइने चौथो प्रश्न हो । प्रश्न को मधेशी को पहाडी भन्ने होइन । वर्ग, क्षेत्र, लिङ्ग तथा जातीय उत्थानको हो । हक, अधिकार र सह–अस्तित्व र सहभागिताको हो । हो मधेशीहरुमा केही बढी महत्वकांक्षाहरु अवश्य छन् । महत्वकांक्षा राख्नु पाप होइन । कति आवश्यकताको आधारमा कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ । नयाँ शक्तिलाई लागेको– मधेस नेपाल हो । त्यहाँको भूगोल नेपाली भूगोल हो । त्यहाँको समस्या समाधा गर्ने जिम्मेवारी हाम्रो हो । हाम्रो राज्यको हो । राज्य रमिते हुनु हुँदैन भन्ने तर्क मात्र हो । उनीहरुलाई सिद्रा व्यापारी, धोती, भैया, विहारी, यूपी आदि आादि जस्ता गलत आँखाले मात्र सधै हेरिरहनु हुँदैन भन्ने हो । राम्रो देखे राम्रो हुन्छ नराम्रो मात्र देख्दै गए सबै नराम्रो मात्र देखिन्छ । राम्रो सोच्नु र देख्नु पनि मानवीय गुणहरु हुन । नेपाली राजनीतिका हरेक परिवर्तनहरुमा साथ उनीहरुले पनि दिएका छन् । जायज अधिकार माग्नु उनीहरुको अधिकार हो । जायज अधिकार दिनु राज्यको दायित्व हो । नयाँ शक्ति आन्दोलन, बन्द, हड्ताल, आतंक केहीको पक्षमा छैन । त्यसैले आपसी समझदारी, सद्भाव, सह-अस्तित्व, स-सम्मानको परिकल्पना गर्न चाहन्छ नयाँ शक्ति । अराजनीतिक राजनीतिक प्रतिस्पर्धा होइन आर्थिक समृद्धिबाट विश्व प्रतिस्पर्धामा पुग्न चाहन्छ । त्यसैले नयाँ विचारमाथि जतिसुकै प्रश्नहरु उब्जिए पनि यो गतिशील विचार हो । यसको मुख्य लक्ष्य आफ्नो गति बढाउनु नै हो ।
दाङ
The post नयाँ शक्तिसँग उब्जिएका केही प्रश्नहरु appeared first on Sajha Post.