बंगालादेशका चर्चित गायक तथा गीतकार फारुख महफूज अनम यानी जेम्सकी पहिली पत्नी रथीलाई म कहिल्यै बिर्सन सक्दिनँ । उनी अत्यन्त सुन्दर महिला थिइन् । उनले विज्ञापन, नाटक, टेलिफिल्म र फिल्महरुमा पनि काम गरेकी थिइन् । उनले बिहेपछि पतिको आदेशमा अभिनय छोड्नु परेको थियो ।
बिहेपछि जेम्सले रथीलाई बढो प्रष्टसँग भनेका थिए कि अब नाटक र सिनेमा काम गर्ने हैन । दुई सन्तान भएपछि जेम्सले रथीलाई डिभोर्स दिए । सन् २००३ मा आफ्ना दुई सन्तानसहित रथीले जेम्सको घर छोड्नु पर्यो । उनले आफ्ना बच्चालाई आफैं पालिन् ।
हाम्रा प्रिय स्टार कलाकार जेम्सले ती दुई बच्चाको पालनपालनमा कुनै मद्दत गरेनन् । न त आफ्नो धन र आम्दानीबाट नै कुनै योगदान गरे । बिहेपछि रथी अभिनय छोड्न बाध्य भइन् तर जेम्सले गायन छोडेनन् ।
बरु बंगलादेश छोडेर भारत आए । बलिउडका चर्चित संगीतकार प्रितम चक्रवर्तीसंग जोडी बनाए । ‘गैंगस्टार’, ‘वो लम्हे’, ‘लाइफ इन मेट्रो’ जस्ता चर्चित हिन्दी सिनेमामा समेत गीत गाए ।
जेम्सले रथीसँग जुन व्यवहार गरे, त्यो कुनै अनौठो कुरा हैन ।
आज पनि समाजमा यस्ता घटनाहरु भइरहेका छन् । केटीहरुको स्वतन्त्रता र आत्मनिर्भरताको यात्रामा जुन शिक्षित र सचेत पुरुषहरु सहयोगी हुन सक्ने ठानिन्छ, तिनै उनीको बाटोमा बाधक बनेर सामुन्ने आउने गरेका छन् ।
भारतीय उपमहादीपमा विवाहलाई स्त्री–पुरुषको जीवनको एक पवित्र गठबन्धन मानिन्छ । तर, कटु सत्य भिन्नै छ । २१ औं शताब्दिमा आईपुग्दा पनि विवाह प्रथा त्रासद बिषमताको प्रतीक बनिरहेको छ ।
पृथ्वीका प्रत्येक प्राणीको जीवनमा पलपल परिवर्तन आइरहेका छन् । हाम्रा नियम, कानूनहरु बारम्बार परिवर्तन गरिन्छन् । तर, विवाहको नियम, कानून आज पनि कुनै परिवर्तन विना कायम छ । चाहे हिन्दू समाजमा होस् वा मुस्लिम, विवाहपछि स्त्रीमाथि कुनै न कुनै प्रकारले शोषण हुने गरेको छ ।
आज पनि विवाहपछि केटीले केटाकै घर जानु पर्दछ भन्ने सोच गएको छैन । हिन्दू महिलाले सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र लगाउनु पर्दछ । मुस्लिम धर्ममा निकाहको समय महिलालाई मेहर दिइन्छ । निकाहको समय केटीको सहमति अनिवार्य मानिन्छ । सिद्धान्ततः यी स्वतन्त्रता छन् । तर व्यवहारमा भने मुस्लिम महिलाले पनि बिहेपछि उस्तै शोषणको सामना गर्नु पर्दछ ।
भर्खरै एक भारतीय अदालतले एक अनौठो फैसला गरेको छ । सम्बन्ध विच्छेदको एक मुद्दामा बहस हुँदा वकिलले ती महिलाले सिउँदोमा सिन्दुर र गलामा मंगलसुत्र नलगाउने गरेको हुँदा उनी पतिव्रता धर्ममा छन् भन्न नसकिने जिकिर गरेका थिए । र, अदालतले यो तर्कलाई स्वीकार गरेको थियो ।
भलै कि यो मुद्दाको धेरै चर्चा भएन । तर जब अदालतले नै सिन्दुर र मंगलसुत्र लगाएर नहिड्नुलाई पतिव्रता धर्ममा नबसेको प्रमाण मान्दछ भने अरुको के कुरा गर्नु ?
जबसम्म पितृसत्तात्मक सोचमा परिवर्तन आउँदैन, महिलाले यस्ता पीडा भोग्नुको विकल्प रहँदैन । युरोप अमेरिकाको इसाई र यहुदी समाजमा पतिपत्नी दुवैले साइली औंलामा बिहेको औठी लगाई दिन्छन् । यसैलाई उनीहरुको बिहेको पहिचान मानिन्छ ।
तर, उनीहरुमा यति स्वतन्त्रता त छ कि इच्छा नलागेको समयमा औंठी निकालेर राख्न सक्दछन् । सबै धर्ममा यति स्वतन्त्रता त हुनु पर्ने हो । यो भिन्नै कुरा हो कि मुस्लिम महिलालाई बिहेपछि बिहेको कुनै चिन्ह बोकेर हिड्न आवश्यक हुँदैन । तर यतिले मात्र उनीहरु बढी स्वतन्त्र र कम शोषित छन् भन्न मिल्दैन ।
वैवाहिक जीवनको सबैभन्दा ठूलो समस्या वा शोषणको कारण पुरुषले महिलालाई आफ्नो बुबाआमासँग लिएर जानु हो । यहाँनेर नयाँ दुलहीले आफ्नो महत्वपूर्ण समय सासुससुरा र नन्ददेबरसँग बिताउनु पर्दछ । उनीहरुले अनेक आदेश नयाँ दुलहीमाथि लाद्न थाल्दछन् । दुलहीले उनीहरुको मानसम्मान र खातिरदारी गर्नु पर्दछ । उनीहरुको आज्ञा नमान्ने हो भने उनीहरु रिसाउँछन् र बदनाम गर्न थाल्दछन् ।
यस लेखमा मैले माथि जुन अदालती मुद्दाको कुरा गरेकी छु– त्यो वास्तवमा सम्बन्धविच्छेदको मुद्दा थियो । उसले उसकी श्रीमती आफ्नो घरमा बस्न नचाहेको बताएको थियो । केटी केटाको घरमा बस्न नचाहेको कुरा सही थियो । तर त्यसको ठोस कारण थियो । सासुससुरा र नन्ददेवरको शोषणले ऊ आजित भएकी थिइ ।
ऊ आफ्नो लोग्नेलाई छुट्टिएर भिन्न बस्न कर गरिरहेकी थिइ । तर उसको लोग्ने तयार थिएन । ऊ बुबाआमा र परिवारसँगै बस्न चाहन्थ्यो । उसका बुबाआमाले आफ्नो छोरालाई जाति र बुहारीलाई दुष्ट देखेका थिए । यस्तो समस्या ठूलो समस्या हो । अर्कोको घर, अर्कोको परिवार, अर्कोको परम्परामा आएकी केटीलाई उसका इच्छाबारे कमैले मतलव राख्दछन् । दुलहीलाई बुझ्न र स्वीकार्न परिवारलाई गाह्रो पर्दछ ।
सबै मिलेर त्यही एउटी बुहारीलाई दोषी देखाउन र प्रमाणित गर्न तिर लाग्दछन् । एक सुन्दर, सुशिल, सचेत र संवेदनशील युवतीलाई केही महिना त्यस्तो परिवारमा पर्ने वित्तिकै कुरुप, मर्यादाहीन र मुर्ख महिलामा परिणत गरिन्छ ।
यहाँनेर प्रश्न उठ्छ कि विवाहित जीवन अधिकांश महिलाका लागि बन्धन र उकुसमुकुसको साटो सम्मान र स्वतन्त्रताको पर्याय किन बन्न नसकेको होला ?
माथिको मुद्दामा पतिले पारपाचुके मागेको थियो । पायो । तर यहाँ सम्बन्ध विच्छेदलाई पनि बदनामीको अर्को कारण बनाइन्छ । सम्बन्ध बिच्छेदमा के त्यस्तो नराम्रो छ ? मिल्न नसकेर जीवनभरि पड्पिएर बाँच्नु भन्दा आआफ्नो बाटो लाग्नु राम्रो हो । यसले दुवैलाई आआफ्नो स्वतन्त्रतामा बाँच्ने अवसर दिन्छ । फेरि अझ राम्रो वा मन मिल्ने साथीसँग बिहे हुने सम्भावना पनि बाँकी नै रहन्छ ।
भारतीय उपमहादीपमा विवाहित महिलाको दुर्दशा देख्दा कहिलेकाही लाग्छ– सम्भवत यो विवाह प्रथाको शुरुवात नै दासतालाई वैधानिकता दिने कानूनको रुपमा भएको हो । यो भन्दिन कि सबै नराम्रो भएको छ । सुखद दाम्पत्य जीवनका उदाहरणको कुनै कमी छैन । शिक्षित र कामकाजी महिलाहरुको स्थिति भिन्नै छ । तर पिछडिएका महिलाहरुको जीवन त नर्क बराबर नै छ ।
विवाह एक प्राचीन प्रथा हो । अब यसमा बदलाव जरुरी छ । यसलाई नारीप्रतिको बिद्धैषको साटो महिला पुरुष समान अधिकारको नयाँ आधारमा खडा गर्नु पर्दछ । विवाह नोकर र मालिकको सम्बन्ध जस्तो बन्नु हुँदैन । दुवैले मानव अधिकार, प्रेम र विश्वासको आधारमा जीवन बाँच्न सक्ने बनाउन के गर्नु पर्दछ, त्यसतर्फ सोच्नु पर्दछ ।
एउटा यस्तो दिन आउन जरुरी छ कि केटीहरु बिहेको दिन रुदै न अन्मिउन् । त्यस्तो दिन त्यतिखेर आउनेछ जब विवाहले बन्धन, शोषण र अत्याचार हैन, स्वतन्त्रता र समान अधिकार दिलाउँछ भन्ने विश्वास जाग्दछ ।
अमरउजालाबाट ।
The post विवाह प्रथामा आधारभूत परिवर्तन जरुरी छ appeared first on Sajha Post.