अहिले नेपालमा कम्युनिष्ट सरकार छ । विश्वका धेरै देश कम्युनिष्टमुक्त भैसकेपनि नेपालमा चाहिँ संघीय सरकारमा झण्डै दुई तिहाई नजिकको कम्युनिष्ट सरकार छ । देशका सात प्रदेशमध्ये छवटा प्रदेशमा पनि स्पष्ट बहुमतको कम्युनिष्ट मुख्यमन्त्री छन् । संघीय सरकार र प्रदेश सरकारमा गरी झण्डै ७० जना मन्त्री पनि कम्युनिष्ट कै छन् । त्यो पनि नेकपा एक्लैको ।
कम्युनिष्ट भन्नेबित्तिकै पार्टीको सिद्धान्त भन्दा पहिले कार्ल मार्क्स, ऐंगेल्स, लेनिन, माओत्सेतुङ, स्टालिन हुँदै चे ग्वेभारा र फिडेल क्यास्ट्रो दिमागमा आउँछ ।
त्यसयता पनि केही देशमा समाजवादी कम्युनिष्ट चरित्रका उदार पात्रहरु देखिए । तर, कम्युनिष्ट भनेकै मार्क्स, लेनिन, माओको फोटो पार्टी कार्यालय र घरको एउटा भित्तामा झुण्ड्याएको हुनुपर्छ भन्ने मान्यता हाम्रोमा छ ।
कम्युनिष्ट भनेको सर्वहारा, गरीब, किसान र निमुखाको साथी र सहयोगी भन्ने बुझ्नु ठिक हुनेछ । यदि यस्तो चरित्र छैन र उसले आफुलाई कम्युनिष्ट बताईरहेको छ भने बुझ्नुपर्दछ की ऊ कम्युनिष्टबाट रुपान्तरीत भएर दलाल र भ्रष्ट भैसक्यो । राज्यकोषको तलब खाएर जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई उसले घरमा काम लगाएको छ वा आफु दर्जनौं सुरक्षाकर्मीलाई अघिपछि लगाएर मात्रै हिँड्छ भने त्यो कम्युनिष्ट नेता कदापि होईन ।
कम्युनिष्ट नेता त जहिले पनि जनताको बीचमा हुन्छ र जनताको सुरक्षामा विश्वास गर्दछ । राज्यकोष दुरुपयोग गरेर अगाडि पछाडि सुरक्षाकर्मी लिएर हिँड्ने, आफ्नै निजी घर भएर पनि जनताको करबाट घरभाडा सुविधा लिने अनि जनतालाई सिटामोल किन्ने पैसा नहुँदा आफु चाहिँ उपचार गर्न विदेश पुग्छ भने त्यो नेता कम्युनिष्ट होईन सामन्त र गद्दार हो ।
आफ्नै निजी गाडी भएर पनि सरकारी गाडी दुरुपयोग गर्ने, जनताले तिरेको करबाट मर्मत खर्च, ईन्धन खर्च लिने र परिवार घुमाउने अनि बेला–बेलामा महङ्गो होटल र रिसोर्ट पुगेर तनावमुक्त हुनेहरु त झन कम्युनिष्ट नेता हुने कुरै भएन ।

तर, नेताको भाग्य अनि जनताको दुर्भाग्य हो वा हाम्रो भागका कम्युनिष्टहरू यस्तै परे । अहिले हाम्रो देशमा पनि कम्युनिष्ट नेता धेरै छन् । आफ्नो गाउँ आफैं बनाउँ भनेर गाउँ गाउँमा डोजर लैजाने कम्युनिष्ट नेताले डोजर मालिक चाहिँ आफ्नै छोरा, भाइ, भतिज र ज्वाईंलाई बनाएका छन् । जसले राज्यको विकास बजेट सक्ने नाममा जथाभावी असारे विकासले विनास निम्त्याईरहेका छन् । डोजरले बजेट सक्ने मात्रै होईन पहिरोको जोखिम, वनजंगल फडानी, पानीको मुहान सुक्नेदेखि गरिबको उठिबास समेत लगाउने गरेको छ । यसमा कम्युनिष्टका कार्यकर्ता नै मुछिनु पनि उनीहरूको भाग्य र जनताको दुर्भाग्य नै हो ।
झापा विद्रोहको नाममा सामन्तको टाउको छिनाएर आएका कम्युनिष्ट र जनयुद्धमा भ्रष्ट, दलाल, तस्कर र जनविरोधीलाई भाटे कारवाही गरेर आएका कम्युनिष्ट अहिले तीनै सामन्त, दलाल, भ्रष्ट, माफिया र कमिशनखोरलाई मात्रै आफ्नो मित्र शक्ति देखिरहेका छन् । अहिले तिनकै पछाडी लागेर आफ्नो सिद्धान्त र विचार खरानी बनाउँदै गरेका कम्युनिष्टलाई जनताको भने अपार माया र समर्थन कायम छ ।
त्यतिबेला जनविरोधी किटान गरिएकाहरु नै अहिले कम्युनिष्ट सरकारको विचौलिया बनेर सरकार र पार्टीमा आफ्नो हैकम चलाईरहेका छन् । अनि जनविरोधी काम गरेका भनिएकालाई चाहिँ हिजो कालोमोसो दलेर कारबाही गरिन्थ्यो भने आज अबिर लगाएर अख्तियार, अदालत, विभिन्न आयोगमा नियुक्ति र राजदूत, विकास आयोजनाका प्रमुख, लगानी बोर्ड, रेल विभागलगायतको जिम्मा लगाउन थालिएको छ ।
तर, अचम्मको कुरा के छ भने कम्युनिष्ट सरकार भएकै बेला मदन–आश्रित, कृष्णसेन, निर्मला पन्तका हत्याराको पहिचान नै हुँदैन किन ? कहिलेसम्म कृष्णसेनका हत्यारालाई उन्मुक्ति दिँदै जाने ? निर्मलाले न्याय कहिले पाउने हो ? नेपालको कम्युनिष्ट सरकार कि मार्क्सवाद, लेनिनवाद वा माओवाद भन्दा फरक विचारधाराले प्रेरित छ ? जनताको सियोसम्म पनि लिनुहुन्न भन्ने माओ र सर्वहारा जनताको न्यायको लागि सधैं कम्युनिष्टहरु लडिरहनुपर्दछ भन्ने लेनिन झुटा थिए त ?
यदि मार्क्स, लेनिन, माओ सही थिए भने हाम्रो भागमा चाहिँ किन यस्तो कम्युनिष्ट आईलाग्यो ? कम्युनिष्ट सरकारकै हालीमुहाली चलिरहेको देशमा ३३ किलो सुन गायब हुन्छ र सुनमात्रै होईन सुन काण्डका मुख्य अभियुक्त नै पत्ता लाग्दैनन् किन ? भ्रष्ट र दलाललाई कार्बाही गर्नुपर्ने कम्युनिष्ट सरकारले को भ्रष्ट र को दलाल पत्ता लगाउनै सक्दैन किन ? वाईडबडी काण्ड, सेक्युरिटी प्रेस खरीदबारेको ७० करोड काण्ड, एनसेल काण्ड, बालुवाटार जग्गा काण्ड, मेलम्ची खानेपानी आयोजना काण्ड, औषधि खरीदमा भ्रष्टाचार जस्ता काण्डै–काण्डमा को दोषी देखिए क–कस्ले उन्मुक्ति पाए ?
गाउँ गाउँमा सिंहदरबार पुग्छ भन्ने कम्युनिष्टले सिंहदरबारमा चाहिँ के थियो र त्यो गाउँ पुग्यो भन्ने कुरा जनतालाई बुझाउन किन सकेनन् । गाउँमा सुन्तलाको रुख उखेल्दै हिँड्ने, पानीको मुहान सुकाउँदै हिँड्ने त्यै डोजर सिंहदरबारमा थियो भने त्यो गाउँ नपठाए हुन्छ । अनि वडादेखि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारलाई पाल्नुपर्ने भन्दै कर उठाउने रसिद सिंहदरबारमा थियो भने त्यो पनि गाउँमा पठाउन जरुरी छैन । अनि मेनपावर दलाल, मेडिकल माफिया, भ्रष्टचारी र कमिशनखोरहरु सिंहदरबारमै राख्दा हुन्छ ।
जनता औषधि नपाएर मरिरहेको बेला मन्दिर बनाउ भन्ने उर्दी दिने बुद्धिजीवी कम्युनिष्ट पनि हामीले नै देख्नुपर्ने, सर्वहारा जनताको नाममा विदेशी ऋणको भारी बोकाएर आफु चाहिँ श्रीमतीसहित दुबई, सिंगापुर, युरोप र अमेरिका पुगेर उपचार गर्ने कम्युनिष्ट नेता पनि हाम्रै भागमा आईलाग्यो । २ कठ्ठा जग्गा हुने कम्युनिष्ट नेताले दैनिक लाखौं रुपैयाँ खर्च गर्न सक्ने तर २ बिगाहा जग्गा भएको किसानले मल र बिऊ किन्न नसक्ने कस्तो बिडम्बना ।
हिजो हात्तीछाप चप्पल चुँडिएपछि परालले बाँधेर हिँड्ने नेताहरु कार्ल मार्क्सको पुँजी भन्ने किताब पढेर रातारात धनाढ्य भए तर सर्वहारा जनता अझैपनि मार्क्सवाद र लेनिनवाद जिन्दावाद भन्दै सडकमा कम्युनिष्ट प्रधानमन्त्रीलाई काम गर्न देऊ भन्दैछन् । जात, धर्म, लिङ्ग, भाषा र भूगोलको आधारमा सबै समान हुनेछ, कसैमाथी भेदभाव गरिनेछैन भनेर कम्युनिष्ट बनेकाहरु अहिले भान्से राख्ने बेला जात सोध्छन्, बिहे गर्नेबेला सम्पत्ति रोज्छन् र संसदमा बोल्नेबेला भाषा खोज्छन् ।
अनि हाम्रै चाहिँ कम्युनिष्ट राज्यमा जातका आधारमा मान्छे मारेर भेरीमा बगाईन्छ । गरीबका झुपडीलाई गोठ भनेर जलाईन्छ र पहिरो पीडितलाई २ माना चामल बाँड्न लाखौंको हेलिकोप्टर भाडामा लिएर वर्षभरी खाने धान सोत्तर बनाएर फर्किइन्छ, किन ? बाढीमा बगेका र पहिरोमा पुरिएकालाई छिटो उद्दार र राहत पुर्याउनु सरकारको कर्तव्य होईन र ? पीडामा परेका जनतालाई भिआईपीको लर्को लगाएर हेलिकोप्टर उडाउने र थप पीडा र ऋण बोकाएर फर्कने होईन ।
यसर्थ, विश्वका कम्युनिष्ट नेताले नसिकाएको र नगरेको काम गरेर जनतालाई नौलो कम्युनिष्ट शासनको स्वाद चखाउने र आफु सर्वहारा नेताबाट रातारात धनाढ्य बन्ने नयाँ सिद्धान्त पत्ता लगाउनुहुने नेपाली कम्युनिष्ट नेताहरुलाई आगामी दिनको लागि अझै महाधनाढ्य बन्दै जानुहोस् । जनताको यही शुभकामना !!!
The post हाम्रो भागमा किन आईलाग्यो यस्तो कम्युनिष्ट ? appeared first on Sajha Post.