Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

बेलारुस जनविद्रोहको आफ्नै मार्गचित्र हुनेछ

$
0
0

अगष्ट ९ को राष्ट्रपतीय निर्वाचनदेखि यता बेलारुसमा एक अभूतपूर्व जनप्रदर्शनको लहर उठेको छ । सत्तासिन राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले ८०.१ प्रतिशत मतसहित फेरि चुनाव जितेको दाबी गरेका छन् । प्रदर्शनकारी भन्दैछन्– मतगणना पारदर्शी र निष्पक्ष थिएन ।

यसक्रममा हज्जारौंलाई प्रहरीले हिरासतमा लिएको छ । अल्पनीय मनोवैज्ञानिक तथा शारीरिक यातना दिएको छ । सयौंको संख्यामा मान्छेहरु पिटिएका र घाइते बनाइएका छन् । तर जनप्रदर्शन रोकिने कुनै सकेत छैन । बेलारुसी जनता आ-आफ्नो शहरको सडकमा बाढीजस्तो भएर ओर्लिएका छन् । उनीहरु भन्दैछन्– चुनावमा गरिएको धोकाबाजी मान्य छैन । लुकाशेन्कोले सत्ता हस्तान्तरण गर्नैपर्छ ।

बेलारुसको सरकारविरोधी प्रदर्शन । तस्बिरः रोयटर्स

बेलारुसी जनप्रदर्शनमा हुलदङ्गालाई कुनै स्थान छैन । प्रहरीमाथि ढुंगामुढा गरिएको छैन । सरकारी कार्यालयहरुमा आगजनी वा आक्रमण छैन । पसलहरुमा लुटपाट छैन । तर पनि प्रहरीले क्रुरता देखाइरहेको छ । दंगा प्रहरीले अश्रुग्याँस, पानीको फोहरा, रबरको गोली र स्टन्च ग्रिनेट प्रयोग गरिरहेको छ । प्रत्यक्षदर्शीहरु भन्छन्– बेलारुसमा प्रहरीले क्रुरताको नयाँ दस्तावेज निर्माण गरेको छ । तर पनि सरकार अगष्ट १४ को रातबन्दीहरुको ठूलो रिहा गर्न बाध्य भएको छ ।

सरकारी सञ्चार माध्यम भन्दैछन्– जनप्रदर्शन विदेशी शक्तिहरुको काम हो । तर सरकारको यस्तो भाष्य कसैले पत्याई रहेको छैन । यहाँसम्म कि सरकारी कर्मचारीहरुले नै प्रहरी हिंसाको निन्दा गरेका छन् । निष्पक्ष मतगणनाको माग गरेका छन् । डाक्टर, अभिनेता, अभिनेत्री, कलाका, खेलाडीलगायतका राष्ट्रिय व्यक्तित्वहरुले जनप्रदर्शनको समर्थन गरेका छन् ।

पुरुष प्रदर्शनकारीमाथि प्रहरीले क्रुर दमन गर्न थालेपछि महिलाले भिन्नै प्रदर्शन गरिरहेका छन् । महिला प्रर्दशनकारी सेतो पोशाक लगाएर र हातमा फूल बोकेर प्रदर्शन गरेका छन् । यस्तो प्रदर्शनमा ओलम्पिक च्याम्पेन दारिया दोर्माचेभ र टेनिस च्याम्पेन भिक्टोरिया अजारेन्कासमेत छन् । समाजको विभिन्न क्षेत्रका स्थापित महिलाको यस्तो प्रदर्शनले प्रहरीहरुलाई आपराधिक आदेशहरु अस्वीकार गर्न अनुरोध गरिरहेको छ ।

प्रदर्शनकारीका तीनवटा प्रष्ट मागहरु छन् । राष्ट्रपतिका पूर्व उम्मेद्वार भिक्टर बाबारयका र सेर्गेइ तिस्खानोभस्कीलगायत सबै राजनीतिक बन्दीहरु रिहा हुनुपर्दछ ।

मारिया सदोस्काया

जनप्रदर्शनको क्रममा भएको दमन र हिंसाको छानविन दोषीलाइ कार्बाही गरिनु पर्दछ । तेस्रो कि त विपक्षी नेतृ स्वेतलाना तिस्खानोभाकायालाई विजेता स्वीकार गरी लुकाशेन्कोले सत्ता हस्तान्तरण गर्नुपर्छ यात फेरि निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनु पर्दछ ।

पश्चिमा, रुसी र युक्रेनी सञ्चार माध्यममा यो जनप्रदर्शनबारे जेजस्ता समाचार तथा विश्लेषण पाइन्छन् उनीहरुको बुझाई कमजोर देखिन्छ । उनीहरुले यसलाई एक असफल कू वा एक शान्तिपूर्ण क्रान्तिको दुई कित्तामा विभक्त गरेर व्याख्या गर्दैछन् । रुसी वा युक्रेनी डेमोक्र्याटसहरु यस्तो बेला बेलारुस कसरी चल्नुपर्छ भने रणनीति सिकाउन खोज्दैछन् । अमेरिकीहरुको आफ्नै बुझाई छ । उनीहरु बेलारुस विद्रोहलाई लोकतान्त्रिक विश्व परियोजनाको हिस्सा मान्दछन् । रुसी राष्ट्रपति निकटस्थ मिडियाहरु भने आफूले सोचे अनुरुप नभएकोमा चिन्तित देखिन्छन् । द न्यूयोर्क टाइम्स, सिएनएनजस्ता सञ्चार माध्यमहरुको आआफ्नै बुझाई र विश्लेषण छ ।

तर बेलारुसको वास्तविकता आफ्नै प्रकारको छ । यो पूर्व वा पश्चिमका छिमेकीहरुले भनेजस्तो मात्र छैन । बेलारुसमा नागरिक सहकार्य र शान्तिपूर्ण अभिव्यक्तिको लामो इतिहास थियो । दोस्रो विश्वयुद्धमा तीनमा एक बेलारुसी कि त नाजी कि त कम्युनिष्टहरुको हातबाट मारिए । सोभियत नेता जोसेफ स्टालिनले बेलारुसको बौद्धिक सम्पन्नतालाई निर्ममतापूर्वक मारे । बेलारुसका उज्ज्वल मष्तिष्कहरुको हत्या गरे । बीसौं शताब्दीको मानसिक आघात अहिले पनि प्रत्येक बेलारुसी परिवारमा छ । आजको शासनसत्ताले त्यही आघातको स्मरणलाई मेनुपुलेट गरिरहेको छ ।

जब युक्रेनीहरु सामाजिक मिडियामा बेलारुसको जारी विद्रोहलाई सन् २०१४ को युक्रेन विद्रोहजस्ता बनाउन भन्छन्, बेलारुसीहरुमा एक प्रकारको आक्रोश पैदा हुन्छ ।

बेलारुसीहरु आफूलाई युक्रेनसँग तुलना योग्य ठान्दैनन् । त्यसका धेरै कारण छन् । युक्रेन विद्रोहमा हिंसा र आगजनी धेरै भएको थियो । क्रेमलिनका टिभीहरुले त्यस्ता घटनालाई नयाँ नाजीहरुको उपद्रो भनेर चित्रण गर्थे । युक्रेनको आन्दोलनले देशको सबै भागमाथिको नियन्त्रण गुमाएको थियो । बेलारुसमा त्यस्तै हुने हो भने लुकाशेन्कोले त्यसैलाई सत्तामा बसिरहने निहुँ बनाउने छन् ।

रुसी विपक्षको सल्लाह पनि बेलारुसीहरुको लागि वाञ्छनीय हुँदैन । बेलारुस कुनैबेला सोभियत संघको अंग थियो । जब सोभियत संघ टुट्यो, त्यसको सम्पत्ति र विरासतको ठूलो हिस्सा रुससँग रह्यो । रुसले यो क्षेत्रको उर्जाको स्रोत, सम्पति र राजनीतिक शक्ति आफैसँग राख्यो ।

अहिले पनि प्रष्ट छ– रुसी राष्ट्रपति पुटिन बेलारुससँग नजिकको लगनगाँठो कस्न चाहन्छन् तर आर्थिक तथा विकास सहकार्यमा खासै रुचि राख्दैनन् । रुसी विपक्षीहरुलाई बेलारुसीहरुले विश्वास गर्नुपर्ने आधार अहिले पनि छैन । अलेक्सेई नाभाल्नीले क्रिमियाको बिषयमा पुटिनसँग प्रश्न गरेको कसैलाई थाहा छैन । बेलारुसीहरुलाई राम्रो थाहा छ कि रुसी नागरिक अभियन्ताहरु बेलारुसी यथार्थको ज्ञानबाट धेरै टाढा छन् ।

वर्तमान शासकले बेलारुसमा २६ वर्ष शासन गरे । सन् १९९४ मा एकपटक फेर्केर हेर्ने हो भने पहिलोपटक लुकाशेन्कोले ८०.६ प्रतिशत भोट पाएका थिए । त्यो निर्वाचन स्वतन्त्र र निष्पक्ष थियो । दुई वर्षपछि उनले संवैधानिक सुधार प्रस्तावित गरे । त्यसले संसदको शक्ति कटौती गर्थ्यो र राष्ट्रपतिलाई असीमित अधिकार दिन्थ्यो । जब संसदले लुकाशेन्कोको प्रस्ताव अवरोध गर्‍यो, उनले संसद नै भङ्ग गरिदिए ।

त्यसपछि उनको तानशाही उपद्रो शुरु भयो । उनले स्वतन्त्र संचार माध्यममा सेन्सरसीप लागू गरे । हज्जारौं विरोधी राजनीतिक कार्यकर्तालाई जेल पठाए । दुई नाम चलेका राजनीतिज्ञ तथा एक व्यापारी गायव गरिए । बेलारुस झनझन रुसमा आश्रित हुँदै गयो । बेलारुसी भाषाको साटो रुसी भाषालाई प्रचलनमा ल्याइयो । बेलारुसी भाषा विपक्षीहरुको भाषा बन्न पुग्यो । देशका अधिकांश भागमा जनताको जीवनस्तर गिर्न थाल्यो । यी सबै सीमाका बाबजुद बेलारुसीहरु अहिले पनि राम्रो पढेलेखेका, देशदुनियाँ घुमेका, बुझेका जनतामा पर्दछन् । कोरोना महाव्याधिको ठीक अगाडिसम्म पनि बेलारुसले युरोपियन युनियनको सेन्जेन भिषाका लागि प्रतिव्यक्ति आयको मापदण्ड छोएको थियो ।

जब गत मार्चदेखि बेलारुसमा कोभिड–१९ को प्रकोप शुरु भयो, लुकाशेन्कोले यसप्रति सार्वजनिक रुपमै लापरवाही देखाउन थाले । लुकाशेन्कोको व्यवहार धेरै अर्थमा ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारोको जस्तै रह्यो । तर देशसँग अस्पताल र क्लिनिक, पीपीई र अन्य सामग्रीहरु जोहो गर्ने क्षमता आफैसँग थियो । सरकारले मुनाफा घट्ने कारणले सरकारी कम्पनीहरुलाई यस्ता उत्पादनहरु तिर नलाग्न प्रेरित गरेको थियो तर बेलारुसको आन्तरिक क्षमता पश्चिामा देशहरुको भन्दा कमजोर थिएन ।

परस्पर सहयोग र सहकार्यको यो भावना बेलारुसमा अझै छँदैछ । महामारीको बीचमा स्वयंसेवकहरुले प्रदर्शनकारीहरुलाई आवास, खानपिन र कोविड– १९ सुरक्षा सामाग्रीको सहयोग गरिरहेका छन् । कैदीबन्दीहरुलाई रिहापछि घरघर पुग्न सहयोग गरेका छन् । वाइफाई कनेक्सन उपलब्ध गराएका छन् ।

बेलारुसीहरुलाई यो कुरा राम्रो थाहा छ कि हौवामा चल्ने परिवर्तनले उनीहरुको जीवनमा सकारात्मक सुधार ल्याउँछ भन्ने छैन । युक्रेन, मोल्दोभा, जर्जिया र अर्मेनियाको लोकतन्त्रको बाटो अनेक व्यवधानले भरिएको छ । भ्रष्टाचार, आर्थिक कठोरता, सैन्य तनावजस्ता समस्याले ती आक्रान्त छन् । बेलारुसीहरुको माग अझै सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गरोस् र सरकारले संविधानको सम्मान गरोस् भन्ने हो । यस्तो माग राष्ट्रपति निर्वाचनभन्दा अगाडिदेखि नै उठिरहेको थियो । बेलारुसीहरु आफ्नो प्रणाली र शासनलाई नै घृणा गर्दछन् भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।

बेलारुसीहरु लुकाशेन्कोले सत्ता हस्तान्तरण गरून् भन्ने चाहन्छन् न कि पूर्व युक्रेनी राष्ट्रपति भिक्टोर युनोकोबीच वा कजाकिस्तान राष्ट्रपति कुर्माबेक बाकियेभजस्तो देश छोडेर भागून् । यो भिन्नै कुरा हो कि बेलारुस अधिकारीहरुले नागरिकमाथि अमानवीय व्यवहार गर्दैछन् । बेलारुस शासनले करिब चौथाई शताब्दी लामो आफ्नो सामाजिक सम्झौतालाई भंग गरेको छ । अहिले पनि बेलारुसी जनता आफ्नो शासकलाई यो कुरा बुझ्न अन्तिम मौका दिइरहेका छन् ।

बेलारुसमा त्यो प्रचलन छ । सन् १९९० मा राज्यको स्वामित्व भएका धेरै उद्योग तथ कलकारखानामा ठूल्ठूला जनप्रदर्शन भएका थिए । मिन्स्क भूमिगत स्टेशनका कामदारहरु शहरको मुख्य भागमा प्रदर्शन गर्न जम्मा भएका थिए । बेलारुस प्रधानमन्त्री रोमन गोलोभचेन्को विनम्रतापूर्वक प्रदर्शनकारीसँग वार्ता गर्न आएका थिए । राज्यको स्वामित्वको टिभीमा देखिएर गृहमन्त्रीले आम हड्तालको क्रममा भएका दुर्घटना, क्षति र आघातका लागि क्षमाप्रार्थी बनेका थिए ।

राष्ट्रपतिकी विपक्षी उम्मेद्वार स्वतेलाना तिस्खानुभस्काया जो अहिले लिथुवानियामा छन्, भर्खरै उनले आफ्नो मौनता तोडेकी छन् । उनको विश्वास छ कि उनले अगष्ट ९ को चुनाव जितेकी छन् । उनले बेलारुसको स्थानीय प्रशासनलाई अगष्ट १६ सम्म प्रदर्शन गर्न दिन त्यसपछि वार्ताको प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेकी छन् । त्यो दिन मिन्स्कमा २ लाख बढीको प्रदर्शन थियो । अरु शहरमा दशौं हज्जारका प्रदर्शन भइरहेका थिए ।

यसले प्रष्ट गर्दछ कि विपक्षीले पनि यहाँ कुनै हिंसा, क्रुरता, अमानवीयता चहिरहेको छैन । बेलारुस साँच्चै नै अहिंस्रक समाज हो । यहाँसम्म कि लुकाशेन्कोका समर्थकहरुले नै राष्ट्रपतिलाई भेटेर स्थितिको उपयुक्त निकास खोज्न आग्रह गरेका छन् । बेलारुसले विश्वलाई भन्न परेको छ– यो शान्तिपूर्ण समाज हो, जस्तो कि हाम्रो राष्ट्रिय गानको पहिलो शब्द नै यस्तो छ– ‘हामी, बेलारुसी, शान्तिप्रिय जनता हौं ।’

(द फरेन अफेयर्सबाट संक्षेपीकरणसहितको भावानुवाद)

The post बेलारुस जनविद्रोहको आफ्नै मार्गचित्र हुनेछ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles