नेता भनेका त्यागी हुन्छन् । यिनको निजी सम्पति र निजी कुरा केही हुन्न । पूरै देशलाई आफ्नो घर र सबै जनता आफ्नो परिवार ठान्छन् । राजनीतिक कालखण्डमा यिनले धेरै जेल, नेल खाएका र दुःख पाएका हुन्छन् । त्यसैले पनि नेतालाई अपमान र घृणा कहिल्यै गर्नुहुन्न । नेता भनेका ज्ञानको किताब हुन् जसले वर्तमानमा कुशल नेतृत्व प्रदान गर्छ र भविष्यको लागि मार्गदर्शन गर्दै नयाँ पुस्तालाई धेरै शिक्षा दिन्छ ।
जनताको मन मस्तिष्कमा नेताबारे यो भन्दा फरक कुरा केही हुने छैन । यदि माथि भनिएको मध्य कुनैपनि लक्षण देखिएन भने जनताले कसैलाई नेता मानिराख्नु आवश्यक पनि छैन । नेता भनेको नीति हो, नेतृत्व हो । नीति र नेतृत्वले सही ढंगको राजनीति गर्न सक्छ र सही राजनीतिले देशलाई सही मार्गमा हिँडाउन मद्दत गर्दछ भन्ने नै जनताको बुझाई हो । यदि नेता सही छैन भने उसको नीति पनि सही हुन सक्दैन । जब नीति सही छैन भने उसले गर्ने राजनीति त झन् सही र सत्य हुने कुरै भएन । नेता सही र नीति सत्य भएन भने त्यसबाट चल्ने राजनीति फोहोरी हुने नै भैहाल्यो ।
अहिले देशमा शासन गर्ने र शासन गर्न नपाएर पाखामा बस्नेहरु जनताले नेता मानेका मध्यमै पर्दछन् । २००७ सालदेखि २०७७ सालसम्म आइपुग्दा पुष्पलाल, बीपी कोईराला, मदन भण्डारी, मनमोहन अधिकारी र गणेशमान सिंहलाई धेरैले नेता मानेका थिए । हुन त मातृका कोईराला, शुवर्ण शम्सेर, केशरजंग रायमाझी, तुलसी गिरी, सुर्यबहादुर थापालाई नेता मान्ने जमात पनि थियो र छ । सत्य के हो भने कुनै न कुनै कालखण्डमा यी कसैका नेता थिए र मर्ने दिनसम्म पनि नेता नै भएर मरे । फरक यत्ति हो यीमध्ये कोही देशको नेता थिए, कोही पार्टीको नेता थिए, कोही पञ्चको र कोही गुटको मात्रै नेता भएर आफ्नो कार्यभार पुरा गरेर गए ।
जब २०४६ सालको जनआन्दोलन भयो, पञ्चायती व्यवस्थाको विरुद्ध आन्दोलन उठान गरेर त्यसलाई टुङ्गोमा पुर्याउने तात्कालीन अवस्थामा गणेशमानसिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई नै नेता थिए । बहुदल आएपछि कमाउने ठाउँ अर्थात् राज्यको सर्वोच्च निकायमा पुगेर पनि (गणेशमान बाहेक, उनी त प्रधानमन्त्री पनि भएनन्) न घर,न सम्पति, न परिवारको कुनै सदस्यलाई जागिर, न कुनै सन्तान र आफन्तलाई राजनीतिमा ल्याएर पद दिए । त्यसैले त यिनको मृत्युको दिन लाखौं मानिस रोएर बिदाई गरे ।
२०५२ सालपछि पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईले अर्को खण्डको राजनीतिक नेतृत्व गरे । जनयुद्ध नाम दिईएको त्यो युद्धमा १७ हजार मानिस मारिए । त्यसमा नीति उनीहरुकै थियो र नेतृत्व पनि उनीहरुले नै गरेका थिए । त्यसैले उनीहरुलाई कसैले नेता माने कसैले मानेनन् । कसैलाई मन परेपनि र नपरेपनि तात्कालीन अवस्थामा जनयुद्धको नेता तिनै थिए । ती दुबै नेता जीवित र राजनीतिमा सक्रिय रहेकाले यिनको मुल्याङ्कन बाँकी नै छ ।
यी सबै आन्दोलनमा कुनै भूमिका नभएका र हालको गणतन्त्र ल्याउन भएको आन्दोलनलाई ‘बयलगाडा चढेर अमेरिकाको यात्रा’ भन्ने हालका प्रधानमन्त्री खड्गप्रसाद ओली पनि अहिले सत्ताधारी दल नेकपाको अध्यक्ष नै छन् । उनलाई नेता होईन भन्न पनि सकिदैन । त्यसमाथि उनी आज पनि यति शक्तिशाली छन् की आफुले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्ने दिनसम्म पार्टी विधान परिवर्तन गराएरै भए पनि सर्वोच्च नेता भन्ने पद हत्याउने तयारीमा छन् ।
हिजो कुनैबेला जेल, नेल खाएका र दुःख पाएका भनेर उनकै सहयात्रीले भनिरहँदा उनी भने त्यो दुःखका दिन सम्झने मुडमा देखिँदैनन् । बरु जनतालाई जतिसक्दो दुःख दिने, भए नभएको उखान टुक्का हालेर जनताको दुःख पीडालाई उडाउन र होच्याउन व्यस्त छन् । कहिले बालुवाटारमा सारङ्गी बजाउने, कहिले जन्मघर पुगेर नेपालकै नक्साको केक काटेर जन्मदिन मनाउने उनको सौख हो ।
राज्यका सबै अंगलाई खल्बल्याइदिने, पीडितलाई न्याय होईन पीडकलाई काखी च्यापेर हिँड्ने, राजनीतिक नियुक्ति देखि देशका ठेक्का र व्यापारमा सबै माफियालाई जिम्मा दिने उनको मुख्य काम बनेको छ । कोरोना पीडितलाई राहतको सट्टा पीडाको आँशु पिउन बाध्य बनाउने, सुकुम्बासी,भूमिहिन, किसानलाई कुनै राहत नदिने,चेपाङ्गका घर जलाउनेलाई कार्बाही नगर्ने,निर्मला पन्तका हत्यारालाई अहिलेसम्म पक्रन नसक्ने तर आफ्नो सरकारले राम्रो मात्रै गरेको छ भन्ने प्रचारका लागि कार्यकर्ता खटाउने, कुर्सी जोगाउन समर्थकलाई सडकमा उतार्ने, सरकारको बचाउ गर्न र अरुलाई खेदो खन्न भन्दै भजनमण्डली तयार गर्ने उनको दैनिकी हो ।
बालुवाटार ललिता निवास जग्गा प्रकरण, ७० करोड प्रकरण, औषधि ठेक्कामा भएको भनिएको अनियमितता, यति र ओम्नी ग्रुपसँगको विवादास्पद ठेक्काजस्ता जनतालाई जवाफ दिनुपर्ने कुरामा चुपचाप बस्ने व्यक्ति कसरी नेता गनिन्छन् ? अस्पताल बनाउन छाडेर राम मन्दिर, प्रेस काउन्सिल, अदालत, रेलवे विभाग, लगानी बोर्ड, अख्तियार जस्ता ठाउँमा हुने नियुक्तिमा सिधै प्रधानमन्त्रीको हस्तक्षेप भयो भनेर नाम जोडिनु सुखद कुरा होईन ।
पार्टीभित्रको विवादमा कहिले गौतमलाई उचाल्ने, कहिले खनाललाई थेचार्ने अनि कहिले प्रचण्डलाई फकाउने र माधवलाई छकाउने बाहेक तार्किक निष्कर्ष दिन नसक्ने व्यक्तिलाई कार्यकर्ताले कसरी नेता भनेर सम्बोधन गर्छन् त ?
शैलीमा तानाशाह जस्तो क्रुर अनि व्यवहारमा जनविरोधी र घमण्डी व्यक्ति नेता बनेर कुनै पनि पदमा रहनु भनेको स्वयं व्यक्ति मात्रै होइन जनताको समेत दुःखका दिन झन् बढ्दै जानु हो । जनतासामू आफुलाई क्रान्तिकारी, प्रगतिशील र जनवादी हुँ भन्दै व्यवहारमा भष्मासुर पथमा लम्किने खड्गप्रसाद ओलीलाई नेता बन्ने रहर अझै छ भने तत्काल प्रधानमन्त्रीबाट हटेर अहिलेको अवस्थामा देशलाई निकास दिनु उत्तम विकल्प हुन सक्छ ।
यसो गर्दा राजनीतिक नेतामा हुनुपर्ने कम्तीमा थोरै मात्र भएपनि ज्ञान खड्गप्रसाद ओलीमा बाँकी रहन सक्छ । अन्यथा बीपी, पुष्पलाल, मदन भण्डारी र मनमोहन जस्तो होइन हिट्लर, गद्दाफी र सद्दामको जस्तो नियति हुनसक्छ । यसर्थ, अति भएपछि खति हुन्छ भनेझैं जनताले आफ्नै नेतालाई भन्न थाल्नेछन्- ‘आज या भोलि, राजीनामा देऊ ओली !’
The post कहिले छाड्छौ ओली ? आज कि भोलि ! appeared first on Sajha Post.