Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कृषिप्रधान देशमा रासायनिक मलको सधैं हाहाकारः यसरी खोजौं स्थायी समाधान

$
0
0

कृषिप्रधान देशमा रासायनिक मलको हाहाकार हुनु अब नौलो कुरो रहेन । नेपालमा उत्पादन नहुने, गुणस्तरीय र आवश्यक परिमाण तथा समयमा उपलब्ध नहुने पनि नेपालको हकमा नयाँ समस्या हैन । बिरुवाको खासखास वृद्धिविकासको चरणमा खाद्यतत्व अत्यन्त महत्वपूर्ण हुन्छ ।

उन्नत कृषि प्रविधिको व्यापक प्रचारप्रसारका कारण रासायनिक मलको यति प्रचारप्रसार भयो कि खेती गर्नका लागि बालीबिरुवाका लागि खाद्यतत्व हैन, रासायनिक मल नै चाहिन्छ भन्ने कुरा गहिरोसँग किसानको मानसपटलमा बसिसकेको छ । बालीविरुवाका लागि सामान्यतया ६ थरीका खाद्यतत्वहरु नभई हुँदैन भने जम्माजम्मी १६ थरिका खाद्यतत्वहरु बालीबिरुवाको स्वच्छ वृद्धिविकासका लागि आवश्यक पर्दछ ।

६ थरीका महत्वपूर्ण खाद्यतत्वहरुमा नाइट्रोजन, फस्फोरस, पोटास अत्यावश्यक मानिन्छ भने क्याल्सियम, म्याग्नेसियम, सल्फर, जिंक र बोरोन पनि आवश्यक खाद्यतत्वहरु हुन् । कार्बन, हाइडोजन र अक्सिजन बिरुवाले हावा तथा पानीबाट लिन्छ । यसका अलावा बालीविशेषका लागि अन्य सुक्ष्म खाद्यतत्वहरु पनि आवश्यक पर्छ । नेपालको परिवेशमा हालका वर्षहरुमा पशुपालन कम हुँदै गएको र गोबरमलको उत्पादन कम हुने भएकोले रासायनिक मलमाथिको परनिर्भरता बढेको छ । तर रासायनिक मलमा बिरुवालाई आवश्यक पर्ने खाद्यतत्वहरु मध्ये केहि मात्रै उपलब्ध हुन्छ ।

उदाहरणका लागि किसानले धेरै प्रयोग गर्ने युरिया मलमा नाइटोजन तत्व मात्रै पाइन्छ भने यसमा ४६ प्रतिशत नाइटोजन हुने भएपनि बिरुवाले लिने भनेको यसभन्दा निकै कम हुन्छ किनकी हालेको युरियाको ठूलो परिमाणमा बगेर वा उडेर जाने हुँदा ठूलो परिमाणमा नोक्सानी भइरहेको पनि छ । यस अवस्थामा रासायनिक मलको लागि धेरै समय, पैसा खर्च गर्नुभन्दा यसका स्थानीय तथा भरपर्दो विकल्प कम्पोष्ट मलको उत्पादनमा जोड दिनु आवश्यक छ ।

नेपालमा गोठेमलको उत्पादन तथा यसको गुणस्तर तथा परिमाणमा पनि कमी भएको हुँदा कम्पोष्ट मलको उत्पादन गाउँगाउँमा भरपर्दो स्थानीय विकल्प हुन सक्छ । आजको यस लेखमा कसरी स्थानीय रुपमा गुणस्तरीय कम्पोष्ट बनाउन सकिन्छ भनेर छलफल गर्नेछौं ।

घरायशी फोहोर तथा घुर्‍यानको कम्पोष्ट
नेपालको परिप्रेक्ष्यमा शहरी क्षेत्रमा घरायशी भान्छाको फोहोर, फलफूल तथा तरकारीबालीका अवशेषहरु तथा बाँकी रहेका फोहोरहरुलाई एउटा कम्पोष्ट बिनमा क्रमशः राख्दै थप्दै जाने र क्रमशः तलतिर रहेको सानो ढोकाबाट हल्का फरफराउँदो कम्पोष्ट उत्पादन गर्न सकिन्छ ।

यसरी उत्पादन गरिने कम्पोष्टको परिमाण थोरै हुने भएकाले कौसी तरकारी खेती तथा गमलाको फलफूल आदिमा प्रयोग गर्न सकिन्छ । यसरी उत्पादन गरिने कम्पोष्टमा विरुवालाई आवश्यक पर्ने सबै प्रकारका खाद्यतत्वहरु उपलब्ध हुन्छन तर धेरै परिमाणमा आवश्यक पर्दछ ।

झारपात तथा जंगली सोतरबाट कम्पोष्ट
नेपालका धेरैजसो मध्य पहाडी क्षेत्रमा खेतीयोग्य जमिनहरु खेती गर्न छोडेको भएर क्रमशः बनमारा लगायतका झारपातले ढाक्दै गइरहेको अवस्था छ । गाउँघरमा उपलब्ध भएका यस्ता महत्वपूर्ण स्रोतहरुमा कम्पोष्ट मल बनाउन सकेमा खेर गैरहेको स्रोतको सदुपयोग हुने मात्र हैन, सित्तैमा बालीनालीलाई आवश्यक पर्ने सबै प्रकारका खाद्यतत्व पाउन सकिन्छ ।

उदाहरणका लागि असुरोमा ४.३ प्रतिशत नाइट्रोजन, ०.८८ प्रतिशत फस्फोरस र ४.४९ प्रतिशत पोटास पाइन्छ भने बनमारा मा २.३६ प्रतिशत नाइट्रोजन, ०.६७ प्रतिशत फस्फोरस र ३.९ प्रतिशत पोटास पाइन्छ ।

त्यस्तै गरी तितेपातीमा २.४ प्रतिशत नाइट्रोजन, ०.४ प्रतिशत फस्फोरस र ४.९ प्रतिशत पोटास पाइन्छ । अन्य विभिन्न प्रकारका जंगली वनस्पतीहरुको पनि यस्तै मात्रामा खाद्यतत्वहरु पाइन्छ । माथि उल्लेख गरिए बाहेक पनि अन्य सुक्ष्म खाद्यतत्वहरु यस्ता कम्पोष्ट बाट पाउन सकिन्छ ।

निःसन्देह बिरुवालाई ४६ प्रतिशत नाइटोजन पाइने युरियाको सट्टा ४ प्रतिशतको हाराहारीमा पाइने असुरोबाट बनाइएको कम्पोष्ट प्रयोग गर्दा यसको परिमाण पनि १० गुणा नै बढी प्रयोग गर्नुपर्छ । तर कम्पोष्टको प्रयोगले माटोमा हुने अनगिन्ती फाइदाको कारणले गर्दा श्रम र शक्तिको प्रयोग गरी कम्पोष्ट बनाउनु कयौं गुणा बढी फाइदाजनक हुन्छ ।

सामान्यतया कम्पोष्ट मल बनाउनका लागि ३ महिना वा ६ महिनासम्म समय लाग्छ तर १ मिटर × १ मिटर लम्बाइ र चौडाइसहित १.५ मिटर उचाइको कम्पोष्टको रास बनाएर पहिलो पटक ४ दिनमा र त्यसपछि हरेक दोस्रो दिनमा तलको माथि र माथिको तल बनाउँदै फर्काउने हो भने बुर्बुराउँदो र मलिलो कम्पोष्ट मल करिब एक महिनामा नै तयार गर्न सकिन्छ ।

यसरी बनाएको कम्पोष्टको थुप्रोलाई कालो प्लाष्टिकले बाहिरबाट छोपेर पनि चाँडो तयार गर्न सकिन्छ ।

यसका अलावा कुनै पनि प्राङ्गारिक पदार्थ भएको पदार्थहरु जस्तै बनजंगलबाट ल्याएको सुकेका पत्कर हरुलाई गाइभैंसीको ओछ्यानमा राखीदिएर बिस्तारै मलमुत्र मिसिएर ओसिलो बनेपछि मलखाडलमा राखी कुहाउने पनि गरिन्छ । वनजंगलबाट हरिया हाँगाबिङ्गा तथा सुकेका पातहरुलाई पनि ल्याएर सँगै मिसाई तहतह मिलाएर राख्ने र सकिन्छ भने गाईभैंसीको मलमुत्रहरु बीच बिचमा राखीदिने अनि बेलाबेलामा फर्काउने गरेर पनि गुणस्तरीय कम्पोष्ट बनाउन सकिन्छ ।

किसानहरुको बिचमा पनि गुणस्तरीय कम्पोष्ट बनाउन सकिने स्थानीय श्रोतको पहिचान, उपयोग तथा विभिन्न विधिहरुबाट गुणस्तरीय कम्पोष्ट बनाउनका लागि ध्यान दिने भन्दा पनि रासायनिक मलको लाइनमा बरु घण्टौ बस्न सक्ने र किन्न पनि टाढा टाढा पनि जान सक्ने प्रवृति व्याप्त देखिन्छ ।

कृषि प्राविधिकहरु पनि कम्पोष्ट मलको उत्पादन कसरी बढाउन सकिन्छ भन्दा पनि परिमाण धेरै आवश्यक पर्छ, सम्भव नै छैन भन्ने परिपाटी व्याप्त रहेको देखिन्छ । रासायनिक मलले निसन्देह विरुवालाइ आवश्यक पर्ने केहि खाद्यतत्वहरु दिन्छ नै तर यसका लागि भने पैसाको खर्च हुनाका साथै माटोका लागि पनि हानिकारक हुन जान्छ ।

सुधारीएको गोठेमल
परम्परागत गोठेमलबाट धेरै मात्रामा खाद्यतत्वहरु नोक्सान भएर गइरहेको हुन्छ । प्रायःजसो नेपाली गोठेमलको खाडलको तल सिमेन्ट तथा इटा प्रयोग गर्ने चलन नभएको हुँदा साथै बर्खाको भेल तथा चर्को घाम पनि गोठेमल खाडलमा नै पर्ने हुँदा न्यून गुणस्तरको गोठेमल अहिलेको यथार्थ हो ।

यसैले बर्खाको भेल रोक्ने, चर्को घाम नपर्ने तथा टिनको छानो हालेको र समय समयमा उल्टाउन पल्टाउन मिल्ने खालको मल खाडल बनाउनु आवश्यक हुन्छ । यसरी बनाइएको सुधारिएको गोठेमलमा बिरुवालाई आवश्यक खाद्यतत्व बढी हुनुका साथै अनावश्यक रुपमा नाश भएर पनि जाँदैन ।

यसैले रासायनिक मलको विकल्पहरुको प्रर्वद्धनका रुपमा कम्पोष्टमल तथा सुधारिएको गोठेमलको उत्पादन तथा उपयोगका लागि स्थानीय सरकार, तथा विभिन्न कृषि समूह वा सहकारीबीचमा सहकार्य हुनु आवश्यक छ ।

हरेक किसानहरुमा कम्पोष्ट मल तथा गोठेमलको बढीभन्दा बढी उत्पादन तथा प्रवर्द्धनका लागि आवश्यक भौतिक तथा आर्थिक सहयोग आवश्यक देखिन्छ ।

कृषिप्रधान देशको नारा लगाइरहने, मलमा विदेशी उत्पादनमा परनिर्भरता बढाइरहने र राष्ट्रवादको नारा पनि लगाइरहने अन्तरविरोधलाई हामीले हल गर्नैपर्छ । अर्कोतिर, रासायनिक मलको प्रयोगले दीर्घकालमा माटोको उर्बरता घटाउँदै उत्पादनमा कमी ल्याउँछ ।

यसले जैविक विविधतालाई नष्ट गर्दै वातावरणीय विनाशमा पनि योगदान दिइरहेको हुन्छ । यसर्थ, कम्पोष्ट मलको विकल्पलाई बलियो बनाएर उत्पादन बढाउनु बहुआयामिक हिसाबले लाभदायक छ । यसका लागि तीनै तहका सरकार र सरोकारवाला निकायहरुले रणनीतिकरुपमै काम थाल्न ढिला भइसकेको छ ।

‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः

नेपाली कृषिको अबको बाटो: रणनीतिक लगानी र सुनिश्चित बजार

साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज

नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व

जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता

जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

एकीकृत कृषि फार्म: एक युवा अनुभव

‘अर्थतन्त्र थप धरासायी हुनबाट रोकौं, खाद्य प्रणालीको स्थानीयकरण गरौं’

कृषिमा मौरीको महिमा

व्यवसायिक कृषिका अनिवार्य शर्तः बजार, प्रविधि र रणनीतिक लगानी

किसानका लागि उन्नत कृषि प्रविधिमा पहुँचः कहिले र कसरी ?

नेपाली कृषि क्षेत्रमा लगानीको अवसर विश्लेषण

The post कृषिप्रधान देशमा रासायनिक मलको सधैं हाहाकारः यसरी खोजौं स्थायी समाधान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles