Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

वैकल्पिक राजनीतिको भारतीय अनुभवः अन्नाको सपना केजरीवालको कुर्सीमा रोकियो

$
0
0

सन् २०११ को अगष्ट १७ दिउँसोको समय थियो । मौसममा एक प्रकारको गुनगुनाहट थियो । वर्षात्को पानीका स-साना थोपाहरु खसिरहेका थिए । मानिसहरु अन्ना हजारेको प्रतिक्षा गर्दै थिए । हजारे तिहाड जेलबाट निस्कँदै थिए । जेल बाहिर ठूलो भीड थियो । उनी बाहिर आए । ‘भारत माता कि जय’ को नारा लगाए । नाराले माहौल गुन्जियो ।

उनको कारको लस्कर निस्कियो । बाटोभरी लहराईरहेका राष्ट्रिय झण्डा, सडकको दुवै किनारमा जबरजस्त भीड । मानिस हात हल्लाएर हजारेलाई अभिवादन गर्दै थिए । यस्तो दृश्य मैले जीवनमा देखेको थिइनँ । लोकतन्त्रमा विश्वास गर्नेहरुका लागि यो भन्दा राम्रो तस्बिर अरु के हुन सक्थ्यो ? लाग्यो– देशमा केही परिवर्तन पक्कै हुनेछ ।

लस्कर रामलीला मैदान पुग्यो । अन्ना हजारेले औपचारिक आमरण अनसन शुरुवात गरे । त्यसको १० दिन पूरै देशको नजर रामलीला मैदानमा सीमित भयो । टिभीमा कभरेजहरु आइरहे । आज जब म त्यो दृष्यको बारेमा सोच्छु– आफूले आफैंलाई सोध्न बाध्य हुन्छु ती अन्ना हजारे आज कहाँ छन् ? ती केजरीवाल अब किन भेटिँदैनन् ?

क्रान्तिको त्यो ज्वालामुखी किन गायब भयो ? अहिले किन चार दिशा अँध्यारो केवल अँध्यारो मात्र देखिन्छ ? ती को हुन्, जसले लोकतन्त्रको त्यो अभिलाशालाई अपहरण गर्‍यो ? कोको भएर मानिसका आकांक्षाहरुको हत्या गरे ? एउटा यस्तो घाउ बनाइदिए कि त्यसलाई भर्न सायद सदियौं लाग्न सक्दछ ।

म केही समय आम आदमी पार्टीमा रहेँ । त्यसपछि राजनीति नै छोडेँ । राजनीति छोडेपछि पनि कयौं मानिससँग भेटे । भारतीय समाजको यो असली चेहरा हो कि जब तपाईँ सत्तामा वा सत्ताको नजिक हुनुहुन्छ, हरेक मान्छे तपाईँको प्रसंशाको पुल बनाउन थाल्दछन् । जब सत्तासँग टाढा हुन थाल्नु हुन्छ– भेटघाट नगर्न पचासौं निहुँ बनाउँछन् ।

केही मान्छे अहिले भन्छन्, ‘अन्ना हजारेको आन्दोलन एक झुठ, एक जालसज थियो भनेर मैले पहिल्यै भन्या हो । त्यो आरएसएसद्वारा प्रायोजित आन्दोलन थियो । कांग्रेसलाई बदनाम गर्ने षडयन्त्र थियो । भाजपालाई सत्तामा पुर्‍याउन माहौल बनाउने उपक्रम थियो ।

यी तिनै मान्छे हुन्, जो त्यतिखेर म जस्ताको हात समातेर ‘तिमेरु नै यो देशका आशा हौै, तिमेरुले नै यो देशलाई बदल्न सक्छौं’ भन्थे । मान्छेका यस्ता कुरा सुनेर हामी भावविभोर हुन्थ्यौं । घरिघरि आफैलाई आफूप्रति विश्वास हुँदैनथ्यो । घरिघरि आफुप्रति आफै हाँसो उठ्थ्यो । घरिघरि डर पनि लाथ्ग्यो– कतै यी सपनाहरु त्यतिकै खेर जाने त हैनन ?

आँशुतोष

आम आदमी पार्टीमा हुँदा म देशका कुना–कुनामा पुगेँ । लगभग देशभरिकै माहौल यस्तै थियो । यस्तै वातारवण देशको सबैतिर देखिन्थ्यो । मोदी पहिलो पटक प्रधानमन्त्री बन्दा पनि यो माहौल मरिसकेको थिएन । मान्छेमा आशा थियो, अपेक्षा थियो । मानिस राजनीतिको फोहोरी चरित्रबाट वाक्कदिक्क थिए । उनीहरुलाई विकल्प चाहिएको थियो । मेरो निजी अनुभवले हृदयदेखि दाबीको साथ भन्थ्यो, त्यो विकल्प न मोदी हुन न भाजपा हो ।

मान्छेलाई बिल्कुलै नयाँ किसिमका नेताहरुको खोजी थियो । राजनीतिक विकल्प हैन, वैकल्पिक राजनीति खोजिरहेका थिए मानिस । मानिस अरविन्द केजरिवालमा देशको नयाँ भविष्य देखिरहेका थिए । जनता आम आदमी पार्टीलाई एकपटक देशभरि अजमाउन चाहन्थे । उनीहरु आप र अरविन्दलाई देशको बागडोर सुम्पिन चाहन्थे ।

त्यही बीच पञ्जावको चुनाव आयो । ठूलाठूला राजनीतिक विश्लेषक भन्न थाले कि आमले पञ्जावमा बहुमत ल्याउँछ र प्रदेश सरकार बनाउँछ । यदि यसो हुन सकेको भए सायद राजनीतिको बाटो अलग हुन्थ्यो । तर त्यस्तो भएन । पञ्जावमा आप नराम्ररी हार्‍यो र सपनाहरु टुट्न थाले । पानीका फोकाहरु फुट्न थाले । सबैथोक बिग्रन थाल्यो । सपनाको राजकुमार खलनायक बन्न पुग्यो । यस्तो किन भयो ? कसरी भयो ?

म यो भन्न सक्दिनँ कि उनी पुरै गलत थिए । केजरीवालको समाजलाई नाप्ने आफ्नै नजरिया थियो । इतिहासलाई परख गर्ने आफ्नै तरिका थियो । पूर्ण सत्य त कस्लाई थाहा हुन्छ र ? सत्य सधै विराट हुन्छ र मान्छेको मन साँघुरो । सत्य अनन्त छ । मानव समझ क्षणिक । यसो भनौं जो अन्ना हजारे आन्दोलनलाई अस्वीकार गर्थे, उनीहरु पनि भारतीय समाजको मनोदशा ठीक तरिकाले बुझिरहेका थिएनन् । जो यो आन्दोलनलाई हुबहु स्वीकार गर्थे, उनीहरु पनि परिवर्तनका नियमहरुको गहिराईसम्म जान सकेका थिएनन् ।

मोदी यही समयका उपज थिए । धेरैलाई परिवर्तन चाहिएको थियो । उनीसँग संगठन थियो । पुँजीको साथ थियो । मान्छेलाई लाग्यो– परिवर्तनको नयाँ पात्र पूर्ण तयारीमा छैन, तसर्थ उनीहरुले आप र अरविन्दलाई छोडे, भाजपा र मोदीलाई रोजे । मोदीको पक्षमा जनताले फैसला दिए ।

आप अभिमन्युझैं चक्रब्यूहमा फस्यो । अभिमन्यु चक्रब्यूहमा किन फस्छ ? उत्तर स्वभाविक छ कि उसलाई व्यूहको सातौं द्वार तोड्ने ज्ञान थिएन । त्यही ज्ञानको अभावले गर्दा कौरवका सबै महारथीहरु मिलेर अभिमन्यूको हत्या गरेका थिए । जो सत्ताका लोभी हुन्छन्, उनीहरु कहिल्यै चाहँदैनन् कि सत्ताको आधारभूत चरित्र बद्लियोस् । अन्ना हजारे आन्दोलनले शुरुवातमा उनीहरुलाई चुनौति दिएको थियो । संसद समेत हल्लिएको थियो ।

अब आम आद्मी पार्टी त्यो आन्दोलनको हिस्सा बन्यो, त्यही आन्दोलनको विरासतमा बन्यो । यदि आपले राजनीतिको पुरानो चरित्रलाई चुनौति दिँदै हिडेको भए आन्दोलनको आत्म बाँचिरहन्थ्यो । दुर्भाग्य आन्दोलन मुख्यमन्त्रीको कुर्सीमा सीमित हुन पुग्यो । मुख्यमन्त्री सचिवालयको चारदिवारभित्र आन्दोलनको आगो निभ्न पुग्यो । एक क्रान्तिकारी नेता रातारात राजनेता बन्न पुगे । सत्तामा टिक्नु अब उनको प्राथमिकता बन्यो ।

सत्ताको लोभबाट मुक्ति पाउन सितिमिति सजिलो हुँदैन । सत्ताका लागि त्यत्रो ठूलो महाभारत भयो तर समाज त बद्लेन । गान्धीमा भिन्नै प्रकारको समझ थियो । उनी आजिवन सत्तासँग जुझिरहे, दक्षिण अफ्रिकामा होस् वा भारतमा । उनी चाहन्थे भने प्रधानमन्त्री बन्न सक्थे । तर उनलाई सत्ताको स्वभाव थाहा थियो । उनी सत्ताका लागि पतन हुन चाहँदैनथे । हजारे आन्दोलनमा कोही गान्धी थिएनन् । इतिहास बदल्ने जिम्मेदारी जसको काँधमा थियो, उसको काँध नै निक्कै सानो थियो । उनको आँखामा परसम्मको दृष्य देख्ने क्षमता थिएन ।

मलाई अहिले पनि सम्झना छ, अरविन्दसँगको सन् २०११ को त्यो भेट । कौशावी गिरनार अपर्टमेन्टको उनको फ्ल्याट । दिउँसोको समय । रामलीला मैदानको आन्दोलन समाप्त भइसकेको थियो । हामी भविष्यको कुरा गर्दै थियौं । मैले भनेको थिएँ– आन्दोलनबाट निस्केको ऊर्जालाई सार्थक रुप दिन तुरुन्तै संगठनको काममा लागौं ।

पार्टी बलियो बन्ला नबन्ला, त्यो आफ्नो ठाउँमा छ । आन्दोलनको भावना रक्षा गर्न संगठन जरुरी छ । देश बदल्नु दुई दिनको काम हैन । आज उभार छ, भोलि सेलाउन सक्छ । आज लहर किनारलाई छुन अधैर्य छन्, भोलि किनारले खोज्दा पनि लहर नपाउन सक्छ । मेरो चिन्ता थियो, त्यसो भयो भने के गर्ने ?

मैले उनलाई आरएसएसको उदाहरण दिएँ । उनीहरु यावत संकटका बीच पनि मजबुत किन छन् ? किनकी उनीहरुसंग संगठनको शक्ति छ । तर अरविन्दको सोच अलग थियो । साँचो भन्दा हाम्रो कुरा मिल्न छोडिसकेको थियो । अरविन्द अर्को एउटा ‘वेब’ सृजना गर्ने पक्षमा थिए ।

गान्धीले कांग्रेसको संगठनलाई जनताको स्वतन्त्रताको आन्दोलनसँग जोडेका थिए । गान्धी अघिको आन्दोलन संगठनसँग हैन केही ठूला नेताहरुको वरिपरि थियो । केही क्रान्तिकारी थिए, ती क्रान्तिकारी हिंसामा विश्वास गर्थे । सबैलाई लाग्थ्यो कि अंग्रेजसँग याचना गरेरै स्वतन्त्रता मिल्ने छ । वाल गंगाधर तिलक भने संस्कृति र आन्दोलनलाई जोेडेर नयाँ प्रयोग गर्थे । तर जनताको समग्र भारतीय स्वरुपसँग उनी पनि घुलमिल हुन सकेनन् । उनको पहुँच महाराष्ट्रमा मात्र थियो ।

गान्धीले देशको पुरै भ्रमण गरेर पहिले देशको मनस्थितिलाई बुझे । तसर्थ सम्पूर्ण भारतलाई आम आन्दोलनमा जोड्न आफै आम बने । देशको कुना काप्चामा चलिरहेको आन्दोलनलाई एक ठाउँमा ल्याए । उनी आफैं पनि आन्दोलनमा जोडिए अरु नेताहरुलाई पनि आन्दोलनमा जोडिन प्रेरित गरे । मान्छेले उनलाई माहत्मा भन्न थाले । देश उनले सोचेको बाटोमा हिड्न थाल्यो ।

हजारे आन्दोलनबाट जसको काँधमा टेकेर देश बदल्ने सपना देख्यौं उनले नारा र एजेण्डाको महत्व बुझे र आन्दोलनको गहिराईलाई अनुभूत गर्न सके । गान्धीलाई देश आजाद गर्न ३२ वर्ष लागेको थियो । यस बीच भन्न सकिन्न उनी कतिपटक जेल परे । हज्जारौं, लाखौं कुर्बानी दिनु पर्‍यो । कतिका परिवार उजाडिए । अन्ना हजारे आन्दोलनमा फरक के थियो भने त्यहाँ केही पनि नगुमाइकन केही मान्छेहरु सबैथोक पाइरहेका थिए । वर्षौ घिस्रन परेन । मेहनत धेरै गर्नु परेन । पार्टी बनेको केही महिनामै सरकार बन्यो । सोच्ने तरिका नै उलटपुलट भयो ।

आन्दोलनलाई जीवित राख्न र संघर्षलाई जारी राख्न तीन चिजको जरुरत थियो, त्यसतर्फ काम हुन सकेन ।

पहिलो कुरा– संगठन जरुरी थियो । कुनै पनि आन्दोलनलाई उसको अभिष्टसम्म पुग्न संगठनको असाध्यै महत्व हुन्छ । अन्नाको आन्दोलन शुरुमा अन्ना हजारेको वरिपरि थियो, पछि आप र अरविन्दको वरिपरि भयो । संगठन जेजति बने, ती चुनाव केन्द्रित थिए । देश बदल्न जुन प्रकारको संगठन र कार्यक्रम चहिन्थ्यो, त्यो बनेन । त्यो संभव थियो तर त्यतातिर ध्यान नै गएन ।

दोस्रो– संसारका सबै ठूल्ठूला आन्दोलनको समाज बदल्ने आफ्नो कार्यक्रम र दिशा थियो । संसारमा सबैभन्दा सशक्त क्रान्ति साम्यवादीहरुले गरे । रुसका लेनिन र चीनका माओसँग भूत, वर्तमान र भविष्यको एजेण्डा थियो । हिटलरले रुडोल्फ हेसको सहयोगमा जेल बस्दा ‘माइ क्याम्फ’ नामक किताबमा जे लेखेका थिए, सत्तामा आउँदा पनि त्यही बाटोमा हिडेँ । अन्ना आन्दोलन र आम आदमी पार्टीसँग कहिल्यै यस्तो कार्यक्रम बनेनन् । कयौं अर्थमा यो एन्टी–इन्टेलेक्चुअल आन्दोलन थियो ।

तेस्रो– इतिहास दृष्टिको स्पष्ट अभाव थियो । हरेक आन्दोलनको एक दार्शनिक आधार हुन्छ । जसले आफ्नै तरिकाले मानव इतिहासको ब्याख्या गर्दछ । त्यसका आधारमा वर्तमानको विश्लेषण गर्दछ र भविष्यको आंकलन गर्दछ । कम्युनिष्टहरुसँग मार्क्सवाद थियो । गान्धीसँग स्वराज थियो । आरएसएस र भाजपाको आफ्नै इतिहास दृष्टि छ । सावरकार र गोल्वालकरले इतिहासलाई धर्म संघर्षका रुपमा हेरेका थिए ।

अन्नासँग के थियो ? उनी बारम्बार भन्थे कि भ्रष्टाचार हटाउनु छ । आज पनि आम आदमी पार्टीको त्यही समस्या हो, त्यससँग कुनै इतिहास दृष्टि छैन ।

(अन्ना हजारे आन्दोलनको वर्षगाँठको अवसरमा सत्यहिन्दी डटकमबाट अनुदित)

The post वैकल्पिक राजनीतिको भारतीय अनुभवः अन्नाको सपना केजरीवालको कुर्सीमा रोकियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles