नयाँ पार्टीको रुपमा नयाँ शक्ति नेपालले आफूलाई साँच्चिकै नयाँ स्वरुपमा प्रस्तुत गरी असल सुरुवात गरेको छ । यो सुरुवात साधारण भए पनि यसले नेपालको इतिहासमा पहिलोपटक राजनीतिक र्याली र बृहत जनसभाहरु बढो सभ्य, सालिन ढंगले सञ्चालन गर्न सकिँदो रहेछ र नेताहरु जनताका मालिक हुन सक्दैनन् भनी प्रष्ट पारेको छ ।
जेष्ठ ३० गते, नयाँ शक्ति नेपालको पार्टी घोषणा गर्ने दिन । दशरथ रंगशाला हजारौं मानिसहरुले भरिभराउ थियो । बस्नलाई ठाउँ नपाएर रंगशालाको बाहिर पनि मानिसहरु टनाटन थिए । रंगशालामा नागरिकसँग नयाँ शक्ति नेपालका नेताहरु पनि कुममा कुम मिलाएर भुईंमा पलेटी कसेर बसेका देखिन्थे । को नेता, को जनता, को कार्यकर्ता सबै बराबर एकै देखिएका थिए ।
रंगशाला भर्नु भन्दा अगाडि काठमाडौं भ्यालीको चार दिशाबाट सर्वसाधारण जनता, कार्यकर्ता, नेताहरु शान्तपूर्वक सडकका पेटीहरुमा दशरथ रंगशालातर्फ हिंडिरहेका थिए । कुनै ठूलो स्वरमा नाराबाजी गरिरहेका थिएनन् । सडकमा गाडीहरु आनन्दसँग गुडिरहेका थिए । कँहीकतै ट्राफिक जाम थिएन । कँहीकतै भित्तामा पम्प्लेटहरु थिएनन् र अन्य सामग्रीहरु छरिएका थिएनन् । कुनै भित्ता नाराले पोतिएको थिएनन । कहिँकतै एक टुक्रा कागज भेटाउन सकिएको थिएन । कार्यक्रम सम्पन्न भएपछि रंगशालामा आयोजकले नै फोहोर संकलन गरेर रंगशालालाई सफा गरेका थिए ।

यस्तो सभ्य र शालिन जुलुस नेपालीहरुले आफ्नो जीवनमा पहिलो पटक देख्ने मौका पाए । यसले पहिलोपटक जनस्तरमा के विश्वास जाग्यो भने, ‘दूरदृष्टि र असल नेताहरु भए, नेपालीहरुले के हाँसिल गर्न सकिन्न र !’ आफ्ना जीवनभर विभिन्न राजनीतिक पार्टीहरुले सडकै कब्जा गरी ठूलो ठूलो स्वरमा नाराबाजी गरेर ट्राफिक जाम पारी भित्ताहरु नाराहरुले फोहोर पारेका हुन्थे । सडक, बजार जहाँसुकै कागजका पर्चाहरु छरी फोहोर पारिएका हुन्थे । ठूला–ठूला जुलुस र सभाहरु देखेका नेपालीले पहिलो पटक यस्तो सभ्य, शालिन, शान्तिमय जुलुस र सभा देख्न पाए । यसले नागरिकमा नयाँ शक्तिप्रति ठूलो आस्था जाग्नु स्वभाविक नै हो ।
नेपाली राजनीतिक इतिहासमा नयाँ शक्तिले पहिलोपटक आधुनिक युगको आइसिटी सञ्चार माध्यम प्रयोग गरी जनसमक्ष प्रस्तुत भयो । केही पत्रकार तथा नेता मित्रहरुले विज्ञापन एकदमै खर्चिलो भएको र यत्रो पैसा कहाँबाट आयो भनी सामाजिक सञ्जालहरुमा निकै चर्चा गरिएको पाएँ । तर वहाँहरुले बुझ्नु नभएको कुरो के हो भने नयाँ शक्तिले ती विज्ञापनहरुलाई कमर्सियल दर तिरेको थिएन । तिनीहरु अति नै सहुलियत दरमा प्रकाशित भएका थिए । कतिपय विज्ञापनहरु कम्प्लिमेन्टरी स्वरुप सित्तैमा प्रकाशित र प्रसारित गरिएका थिए ।
अर्को महत्वपूर्ण कुरो, नयाँ शक्तिले नेपालको राजनीतिक इतिहासमा पहिलोपटक आफ्नो खर्च र आय स्रोत जनसमक्ष सार्वजनिक गरी हामी कहिँकतैबाट लुटीचोरी गरी पैसा कमाउँदैनौं र गुपचुपमा त्यसको दुरुपयोग गर्दैनौं भनी नयाँ शक्तिले आफ्नो प्रतिबद्धता पनि जनायो । आजसम्म कुनै पनि ठूला साना राजनीतिक दलहरुले आफ्नो खर्च आम्दानीको हिसाबकिताब सार्वज्निक गरेको छैन ।
केही पत्रपत्रिकाहरुले पार्टी भित्रको पदको झगडाको कारणले गर्दा नयाँ शक्तिले केन्द्रीय समिति बनाउन सकेन भनी झुट्टा प्रचारबाजी गरे । वास्तवमा यो हाम्रो पार्टीको एजेन्डा नै थिएन । जेष्ठ ३० गते पार्टी घोषणा पछिको दुई दिनहरु पार्टीको राजनीतिक, आर्थिक र संगठनात्मक अवधारणाहरु प्रस्तुत गर्ने र तिनीहरुमाथि छलफल गर्ने एजेन्डा मात्र थियो ।
केही आफूलाई बुज्रुक ठान्ने नेता तथा बुद्धिजिवीहरु जो डेट एक्स्पायर भएको कम्युनिज्म वा दायाँ–बाँया विचारधाराप्रति आस्था राख्नेहरुले नयाँ शक्तिको कुनै विचारधारा वा आइडोलोजी छैन, तसर्थ यो काम लाग्दैन भनिरहेका छन् । एकजना प्रतिष्ठित नेताले त आफ्नो फेसबुक स्टाटसमा यतिसम्म लेख्न भ्याए ‘विचारधारारहित नयाँ शक्ति जुन दिन जन्म्यो, उही दिन मर्यो ।’ तर वहाँहरुले बुझ्नुपर्ने कुरा के हो भने नयाँ शक्तिले आउट डेटेड विचारधारालाई बोकेर हिंड्दैन । यसको मूल विचारधारा राष्ट्रलाई आर्थिक रुपले समृद्ध बनाउने र प्रत्येक नेपालीको जीवनस्तर उठाउने हो । विदेशिएका लाखौं युवा वर्गलाई स्वदेशमै रोजगार दिलाई राष्ट्र निर्माणमा सहभागी गराउनु हो ।
पार्टी कार्यकर्ताहरुको प्रशिक्षण मुलतः उत्पादकत्व र उत्पादन वृद्धि बढाई राष्ट्रको दूरगतिमा आर्थिक विकासमा टेवा पुर्याउने खालको हुनेछ । यसका लागि तीन कार्यक्रमहरु सञ्चालनमा ल्याउनेछ । तिनीहरु ‘म सक्छु म गर्छु युवा व्यवस्थापन गोष्ठी’, ‘उत्पादनसँग जोडी युवा स्वरोजगार व्यावसाय’ र ‘स्मार्ट बिजिनेस सहकारी विकास’ । नयाँ शक्तिको मुख्य उद्देश्य चाहिँ युवा उद्यमीहरुलाई उत्पादन व्यावसायमा लगाउने हो ।
नयाँ शक्तिको मुलमन्त्र समावेशी र समानुपातिक हो । पार्टी र सरकारको कुनै संयन्त्रहरुमा सबै जातजाति आर्यखस, आदिवासी जनजाति र मधेसी थारुको बराबर पहुँच पुर्याउने हो । यसले गर्दा राजकीय व्यवस्था, सामाजिक र आर्थिक विकासमा बराबर सहभागी भई काँधमा काँध मिलाई राष्ट्रको विकास निर्माणमा लाग्ने अवसर र अधिकारको सिर्जना हुन्छ ।
मुलतः नयाँ शक्तिको प्रतिबद्धता ५ ‘स’ मा आधारित छ । तिनीहरु यसप्रकारका हुन्– समतामुलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामुलक लोकतन्त्र, सुशासन/सदाचार, स्वाधीनता/सार्वभौमिकता र समुन्नत समाजवाद । राष्ट्रमा भएको अकूत स्रोत र सम्पदालाई छिटो छरितो सदुपयोग गरी नेपाललाई समृद्धि बनाउने नै नयाँ शक्तिको मुख्य ध्येय हो । यसबाट प्राप्त विकासको फललाई सबै जातजाति र वर्गले बराबर पहुँच पाउने र उनीहरुको जीवनस्तर आर्थिक र सामाजिक हिसाबले माथि उठ्नु नै नयाँ शक्तिको सफलता हो भन्ने मान्यता राख्दछ ।
नयाँ शक्तिले यो राष्ट्रलाई कसरी समृद्ध बनाउने भन्ने भिजन, मार्गचित्र, रणनीति र नीतिहरु तयार पारेको भए पनि जबसम्म यसले विधिवत चुनावमा जिती सरकार बनाउन मौका पाउँदैन तबसम्म यसले आफ्नो आर्थिक समृद्धिको मार्गचित्र लागू गर्न सक्दैन । तसर्थ, आज राष्ट्रमा विकराल युवा बेरोजगारीको समस्या हल गर्न यो पार्टीले अहिलेदेखि नै उत्पादनसँग जोडेर युवा स्वरोजगार कार्यक्रम ल्याउने छ र यसले आफ्नो पार्टीको मुख्य नारा ‘अबको निकास, आर्थिक विकास’लाई सघाउ पुर्याउने छ ।
पार्टी कार्यकर्ताहरुको प्रशिक्षण मुलतः उत्पादकत्व र उत्पादन वृद्धि बढाई राष्ट्रको दूरगतिमा आर्थिक विकासमा टेवा पुर्याउने खालको हुनेछ । यसका लागि तीन कार्यक्रमहरु सञ्चालनमा ल्याउनेछ । तिनीहरु ‘म सक्छु म गर्छु युवा व्यवस्थापन गोष्ठी’, ‘उत्पादनसँग जोडी युवा स्वरोजगार व्यावसाय’ र ‘स्मार्ट बिजिनेस सहकारी विकास’ । नयाँ शक्तिको मुख्य उद्देश्य चाहिँ युवा उद्यमीहरुलाई उत्पादन व्यावसायमा लगाउने हो ।
नयाँ शक्तिको ठूलो सम्पत्ति भनेकै यस पार्टीसँग आवद्ध विज्ञहरु हुन् । जोसँग अपार ज्ञान, सीप र व्यवसाय सञ्चालन गरेको अनुभवको भण्डार छ । वहाँहरु युवा वर्गलाई आफैं गरी खान र देशलाई विकास निर्माणको बाटोमा लम्काउन आफ्नो ज्ञान, सीप र विद्धता दिन तयार हुनुहुन्छ । वहाँहरु बाहेक पार्टी बाहिर रहेका प्रशस्त विज्ञहरु पनि युवा वर्गहरुसँग आफ्ना ज्ञान र सीप बाँड्न तयार हुनुहुन्छ ।
अन्त्यमा, नयाँ शक्ति नेपाल जनताको दुःख र मर्मलाई हटाउन र सरकारको अहिलेको अधिकार दुरुपयोग, कुशासन, भ्रष्टाचार, आर्थिक र सामाजिक अन्याय जस्ता निरंकुशताविरुद्ध लड्न र भिड्न एउटा वैकल्पिक शक्तिको रुपमा उदय भएको छ । यो पार्टी शक्तिमा आयो भने विकास निर्माणको काम छिटो–छरितो बृहतरुपमा अगाडि बढाएर ७ वर्षभित्र युवा बेरोजगार समस्या पूर्णरुपमा निमूल पार्ने छ भने १५ वर्षमा नेपाललाई मध्यमम वर्गीय विकसित राष्ट्रमा पु¥याउने छ र २५–३० वर्षमा नेपाललाई विश्वकै एक धनी राष्ट्र बनाउने छ ।
बिहानीले कस्तो दिन हुन्छ भनी देखाउँछ भनेझैं ३० जेठको पार्टी घोषणाको दिनमा नेपालको इतिहासमा पहिलोपटक अनुशासितरुपमा हजारौं संख्यामा दशरथ रंगशालामा आएका मानव सागरले के देखाउँछ भने नयाँ शक्ति साँच्चिकै ‘नयाँ’ हो र यसले हाम्रै जीवनकालमा आर्थिक समृद्धि ल्याउने छ ।
(लेखक नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालय सदस्य र सहकारी र स्वरोजगार विभागको संयोजक हुन्)
The post नयाँ शक्ति नेपालको नयाँ सुरुवात appeared first on Sajha Post.