गत असोज ९ गते डा. बाबुराम भट्टराईले ४० वर्ष राजनीति गरेको पार्टी परित्याग गर्दा बाबुरामले बाटो बिरायो, बाबुरामले गल्ती गर्यो, बाबुराम ओरालो लाग्यो, बाबुरामको पतनको दिन शुरु भयो लगायतका टिकाटिप्पणीले नेपाली राजनीतिक बजार खर्लप्पै खाएको थियो । म संघीय समाजवादी फोरमबाट डा. बाबुराम भट्टराईलाई नियाल्दै थिएँ । नेपाली राजनीतिका एक विद्वान र चतुर नेता डा. भट्टराईको पाइला गन्दै थिएँ । कुन दिन कहाँ गए, कसलाई भेटे, के लेखे, के बोले लगायतका गतिविधिहरुको ख्याल गरिरहेको थिएँ । नेपाली राजनीतिक वृत्तमा उनलाई पतनको यात्री भनिँदै थियो । उनी भने कहिले खरायोका चालमा, कहिले स्यालको चातुर्यतामा, कहिले सिंहको गर्जनमा र कहिले हात्तीको लम्काइमा फड्को हान्दै थिए ।

डा. भट्टराईकोे फड्को लक्ष्य प्राप्तिमा असाधारण कदम हो भन्ने मलाई लागिरहेको थियो । मेरो तार्किक आँखाले त्यसलाई छ्याङ्छ्याङ्ती देखिरहेको थियो । बजारको नकारात्मक टिकाटिप्पणी र हल्ला क्रमशः फगत गफमा परिणत हुँदै थिए । बडेबडे विद्वान, राजनीतिज्ञ र सचेत मान्छेहरुको विश्लेषण र मेरो बुझाइमा पुरै अन्तर देखियो । मेरो चिन्तन प्रणाली र बुझाइको सीमाप्रति मलाई शंका पनि लाग्यो । कतै सपनामा त छैनस् भन्दै धेरै पटक टाउको फड्कारेँ । आफूलाई शितलीकरण गरेँ । अझैपनि निष्कर्ष त उही नै निस्कन्छ । महिनौसम्म म भित्रको अन्तरविरोध घनिभूत बन्यो । अन्ततः म निष्कर्षमा पुग्ने निर्णय गरेँ । ठोकुवा गरेँ की बजार झुट छ र म ठिक छु ।
बजारलाई गलत भन्नुमा मेरो कतै कमजोरी त छैन र यो धृष्टता त हुँदैन भन्ने प्रश्नको सामनाको तापले भने मज्जाले नै पोल्यो । मेरो तार्किक बुझाईलाई अझै निखार्ने र तिखार्ने बहुकोणीय सवाल जवाफ गरेँ । मेरो निष्कर्षको सोपानक्रमीय शृंखला खोजेँ । बुझाइको चुम्बकीय धुर्वीकरण बन्यो, हर्षले विभोर बनेँ । मेरो निष्कर्षको जीत भएकोमा उल्लासमय भएँ । माफ गर्नुहोला मेरो बुझाईमा नेपाली समाज अन्धविश्वास, होहल्ला र नकारात्मक सोचीय ढाँचाको बन्दनमा फसेको छ । अन्धविश्वास आधारित प्रथा परम्परालाई विज्ञानले प्रश्न नगर्ने, बजारीय होहल्लामा आफैँ एक ईँट्टा बनिदिने र विश्लेषणको आधार नकरात्मकतालाई रोज्ने प्रवृत्ति नै बनेको छ । डा. भट्टराईको पार्टी परित्याग र नयाँ शक्ति निर्माणको बुझाइमा त्यही प्रवृत्ति प्रतिबिम्बित भएको ठानेँ ।
डा. भट्टराईको पार्टी परित्यागको पत्रकार सम्मेलनबाट सार्वजनिक भएको पाँच ‘स’ को निहितार्थलाई बौद्धिक बजारले सहजै सामान्यिकरण गरिदियो । त्यसलाई त विशिष्टिकरण गरिनु पर्छ भन्ने मेरो मत बनेको थियो र छ । मैले पाँच ‘स’ लाई विश्व राजनीतिको आलोकमा नेपाली राजनीतिको क्रक्सको संज्ञा दिएको थिएँ । तर नेपाली राजनीतिको न्यूक्लियस बन्ने आधारहरु भन्ने सम्बन्धमा कमैको मात्रै ध्यान गएको जस्तो लाग्यो र आजपर्यन्त त्यसको निरन्तरता जारी छ । स्वाधिनता र सार्वभौमिकता अकाट्य सत्य होइन ? त्यसो भए नयाँ शक्ति निर्माणको सन्दर्भमा यसको विशिष्टिकरण हुनु पर्छ । सदाचार, सुशासन र सुसंस्कृतिको विशिष्टीय क्षमता छैन र ? त्यसो भए नयाँ शक्ति निर्माणको ल्याकतमा यसको जगीयकरण गरिनु पर्छ ।
समावेशी, समानुपातिक र सहभागितमूलक लोकतन्त्रको उठानमा गुणवत्ता छैन र ? त्यसो भए नयाँ शक्ति निर्माणको पृष्ठभूमिमा यसको सम्मानिकरण हुनु पर्छ । समतामूलक समृद्धिमा सबैको समृद्धि अंकुरित हुँदैन र ? त्यसो भए नयाँ शक्ति निर्माणको आधारिकरण हुनु पर्छ । समुन्नत समाजवाद समृद्धिको लक्ष्य होइन र ? त्यसो भए नयाँ शक्ति निर्माणको सन्दर्भमा त्यसको पुँजीकरण गरिनु पर्छ । उपर्युक्त विषयमा भन्नु नै केही नभएपछि भन्न खोज्नु चाहीँ पूर्वाग्रही टिप्पणी मात्रै हुन्छ । त्यो त टिप्पणीकर्ताको स्खलन मात्रै हो । विनासकाले विपरीत बुद्धिको यात्रा किन गर्ने ? हामीमा वस्तुनिष्ठ विश्लेषण र टिप्पणी रक्षात्मक भएकाले निर्क्योल क्षितिज धुमिल भएको हो । बुझाइको गुणात्मक क्षमता बढाउनु आवश्यक छ ।
डा. भट्टराईको नयाँ शक्ति निर्माणमा नेतृत्वकारी भूमिकाको यथार्थ चित्रण हुनु पर्छ । त्यसको लाभ देश र जनताले लिन्छन् । राजनीतिमा राम्रो संस्कारको विकास हुन्छ । लाखौँ संस्थापक सदस्य र पचहत्तरै जिल्लामा पार्टी कमिटी पछिको पार्टी स्थापना घोषणा आफैँमा नौलो शैली हो । पार्टीको दार्शनिक, वैचारिक, सांगठनिक, रणनीतिक, कार्यनीतिक लगायतका विषयमा लगामरहित छलफल चलेपछि मात्रै अन्तिम टुंगो लाग्ने छ । आजका दिनसम्म नयाँ शक्ति नेपालको प्रमुख अभियन्ताका कटु आलोचकहरु निश्तेज बन्दै गएकोमा खुसी लागेको छ । वी.पी. कोइराला, पुष्पलाल श्रेष्ठ र मदन भण्डारी पछिको दृष्टिकोण भएको नेता पतनको पथमा होइन समृद्धिको राजमार्गमा छन् । भ्रमको महाजाल बनाउने होइन यथार्थको सञ्चार गर्ने तर्फ लागौँ ।
The post डा. भट्टराई, भ्रम र यथार्थ appeared first on Sajha Post.