भारतका पूर्व राष्ट्रपति एवं महान् वैज्ञानिक अब्दुल कलाम भन्नुहुन्छ, ‘सपना त्यो होइन जो निदाउँदा देखिन्छ, सपना त्यो हो जसले निदाउन दिँदैन ।’ उहाँ यो संसारबाट बिदा भई सक्नुभयो । तर प्रत्येक मानिसका लक्ष्य भेदनका लागि उहाँका यी भनाइहरू मार्गदर्शक बनिरहेका छन् ।
मैले अलि पहिले एउटा लेखमा भनेको थिएँ । अब नयाँ शक्तिले उठाएका नारा सबै पार्टीले उठाउने छन्, तर ती नारा पूरा गर्नका लागि नभएर नयाँ शक्तिलाई माइनस गर्ने उद्देश्यका लागि मात्र उठाइने छ । आज भोलि ठीक त्यस्तै हुन थालेको छ ।
प्रचण्डले एकपटक भाषणमा हिमाल, पहाड र तराईबाट ३ वटा पूर्व पश्चिम राजमार्ग र पुनः बीच-बीचबाट उत्तर, दक्षिण मार्गहरु बनाएर सबैतिर विकासको अनुभूत हुने नयाँ नेपालको सपना सुनाएपछि प्रत्येक पार्टीका नेतादेखि पत्रपत्रिका समेतले ‘नयाँ नेपाल’ भन्न थाले र केहि समयपछि त्यो शब्द हराउँदै गयो पनि । अहिले बाबुराम भट्टराईले अबको मुख्य मुद्दा विकास र समृद्धि हो भनेर नयाँ शक्तिको नारा र योजना ल्याएपछि सबै पार्टी र नेताले त्यही शब्द दोहोर्याउन सुरु गरेका छन् । नयाँ शक्तिको नारा अरुले पनि बोलेकोमा बेखुसी हुनुपर्ने कारण छैन । तर विकास र समृद्धिको कुराले मात्र न त नयाँ शक्तिको सार्थकता सिद्ध हुन्छ न त नेपाल नै बन्छ । यो त कर्ममा अभिव्यक्त नभएसम्म सार्थकता सिद्ध हुँदैन । यसलाई सार्थक तुल्याउने कस्ले ? कहिले र कसरी ? यहि नै सबैको सरोकार र चिन्ताको विषय बन्नुपर्छ र बनिरहेको छ ।

रुसमा लेनिनले समाजवादी सत्ता स्थापना गरेपछि लामो समयसम्म विश्व दुई ध्रुवमा विभाजित भयो । एउटा अमेरिकाले प्रयोगमा ल्याएको प्रजातान्त्रिक समाजवादका पक्षधर र अर्को लेनिनले प्रयोगमा ल्याउनुभएको राज्य नियन्त्रित समाजवादको पक्षधर । यिनै दुई ठूला शक्ति राष्ट्रको विश्वमा आफनो प्रभाव बढाउने होडबाजीमा कयौँ राष्ट्रहरुमा जनता पनि विभाजित भए । कयौँ राष्ट्रमा मार्क्सवादी समाजवाद स्थापित पनि गरिए । प्रत्यक्ष लडाई नभए पनि लामो समयसम्म रुस र अमेरिकाको केन्द्रमा रहेर संसारभर शीत युद्ध चलिरह्यो ।
नेपालमा पनि यहि दुई ध्रुवमा विभाजित भई पार्टीहरु खुले । काँग्रेस र कम्युनिष्ट धारका पार्टीहरु भए । काँगेसले अमेरिकी धार र कम्युनिष्टले रुसी, चिनियाँ धार समाते । नेपालमा राजतन्त्रको मत पनि भएकोले यी दुवैलाई नकार्ने राजतन्त्र पक्षधर पार्टीहरु पनि रहेका छन् । अहिले निर्वाचन आयोगमा दर्ता भएका १८० जति पार्टीलाई यही तीन धारमा वर्गीकरण गर्न सकिन्छ ।
नयाँ शक्ति दर्ता भएपछि यो तीन धार भन्दा भिन्न चौथो धार बन्ने निश्चित छ र उद्देश्य नै त्यहि छ । सोचे जस्तो बन्छ बन्दैन त्यो समयले बताउने छ । यो मुख्यतः बाबुरामजी को सपना हो, जसले उहाँलाई निदाउन दिएको छैन ।
यहाँ म पुष्पलालको सम्झना गरिरहेको छु । पुष्पलालले ‘कुनै समय राजतन्त्र हटाउन काँग्रेस र कम्युनिष्ट नमिली सम्भव छैन’ भनेका रहेछन् । त्यही शब्द बोलेबापत कम्युनिष्टका वरिष्ठ नेता मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ नामक पुस्तकै लेखेर आम कम्युनिष्ट कार्यकर्तामा पुष्पलालप्रति वितृष्णा फैलाउन सफल भए । पूर्वीय दर्शनका कुटनीतिक व्यक्तित्व चाणक्यले प्रतिपादन गरेको शस्त्रविहिन युद्धको शाब्दिक हतियार मोहनविक्रमले पुष्पलालमाथि प्रहार गरे । अर्धज्ञानी कम्युनिष्ट कार्यकर्ताले पत्याए र पुष्पलालमाथि अन्याय गरे । हामीले अहिले प्राप्त गरेको, लोकतन्त्र, गणतन्त्र, अथवा उपरिसंरचनाको अवस्थालाई हेर्ने हो भने दाहिने देव्रे (काँग्रेस कम्युनिस्ट) दुवै हातहरुको संयुक्त योगदानले मात्र यो सम्भव भएको स्पष्ट हुन्छ ।
नेपाली काँग्रेस र कम्युनिष्टहरुको संयुक्त तागतले मात्र २०४६/४७ र २०६२/६३ को आन्दोलन सफल भएको छ । २०७२ को संविधान निर्माणमा पनि दाहिने देव्रे दुवै हात खुट्टाहरुमा टिकेको छ । यसरी हेर्दा पुष्पलालको विचारमा दुरदृष्टि रहेको पुष्टि हुन्छ ।
अहिले शीत युद्ध पनि समाप्त भइसक्यो । चीन र रुसका जनवादी सत्ताहरु आफै विघटन भएका छन् । कसैको बाहिरी दवावले होइन । ती सत्ताहरु ढल्नुमा त्यहिंको जनताको आवश्यकता र चाहना हो भन्नेमा दुई मत छैन । आज भन्दा १६०–७० बर्ष पहिले जर्मनको समाजलाई हेरेर मार्क्सले परिकल्पना गर्नुभएको समाजवाद जहाँ सामूहिकताको अवधारणा छ । त्यति बेला एउटै फ्याक्ट्रीमा २–४ लाख मजदुर काम गर्थे र तिनीहरुको निजी सम्पत्ति थिएन त्यसैले ‘सर्वहारा’ भनिएको थियो । नेपालमा सर्वहारा ५% पनि छैनन् । योे नेपाली समाजको यथार्थता हो ।
रुसमा अल्पकालिन विद्रोह, मजदुर आन्दोलन सफल भयो तर चीनमा किन मजदुर क्रान्ति सफल नभई दीर्घकालीन कृषि क्रान्ति नै गर्नु पर्यो ? नेपालमा किन दीर्घकालीन जनयुद्ध पूर्ण सफल नभई वाम र दक्षिण (काँग्रेस र कम्युनिष्ट) नमिली सफल हुने गरेको देखिएन ? यहि विषयको तथ्यगत अध्ययन नगरी अब अगाडि गरिने भनिएको विकास र समृद्धिको योजना पुरा गर्न सकिने छैन ।
नेपालको अबको मुख्य कार्यभार, विकास र समृद्धिलाई अघि बढाउने हो भने २००४ र २००६ सालमा काँग्रेस र कम्युनिष्टको स्थापना भएदेखि आजसम्मका दुवै धारका अवस्था हेर्ने हो भने दाहिने र देव्रे जहाँ जहाँ मिले त्यो त्यो विन्दूमा सफलता हात लागेको छ । जहाँ जहाँ मिलेनन् त्यहाँ त्यहाँ दुवैलाई असफलता हात लागेको छ । विकास र समृद्धिको एजेण्डामा पनि यो नियम पूर्णतः लागू हुन्छ । तर दाहिने र देव्रे एकमतले मिल्ने मिलनविन्दू विचार, दर्शन, पद्धति कहाँ हो र के हो त र ?
हो, त्यहि मिलनविन्दू नयाँ शक्ति बनाउन खोजिएको हो । यदि नयाँ शक्ति मिलन विन्दू बनाउन सकिएमा त्यो नयाँ हुन्छ नभए नयाँ नाम गरेको पुरानै दाहिने वा देव्रे हुन्छ । त्यसैले विचार र दर्शनमा मानव समाजको भौतिक विकासमा योगदान दिने सबै विचारहरुलाई मान्ने । त्यसमा अध्यात्मवादको योग,ध्यान, विपस्यना, दान आदि कुराहरुलाई मान्ने,अनुशरण गर्ने । अनि वैज्ञानिक अविष्कारहरु, द्वन्द्ववाद, भौतिकवाद, आइन्टाइनको सिद्धान्त, न्यूटनको सिद्धान्तदेखि स्टेफेन हकिङ्ग र मार्क्स प्लाङ्कसम्मका अविष्कारहरुको अनुशरण गर्ने अनि विधि र पद्धतिमा चुन्ने चुनिने प्रक्रिया, व्यक्तिगत स्वतन्त्रता, वाक स्वतन्त्रता, मानव अधिकार आदि चाहिं प्रजातान्त्रिक समाजवादको मान्ने ।
अब दाहिने र देव्रे मिलाउने नाममा ‘ब्रम्हाले बाहुन मुखबाट जन्माउनु भो सुद्र पैतलाबाट त्यसैले दलितलाई छोइछिटो गर्नुपर्छ’ भन्ने कुरा कदापी मान्न सकिन्न । पादरीहरुले भने जस्तो ‘सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ’ भन्ने कुरा स्वीकार गरेर दाहिने देव्रे मिलाउन सकिन्नँ । यसरी विज्ञान र दर्शनको जगमा उभिएर दायाँ र बायाँको संयुक्त तागतबाट विकास र समृद्धि सम्भव छ भन्ने मान्यता र सपना नयाँ शक्तिको हो ।
विज्ञान कस्को हो ? काँग्रेस हो कि कम्युनिष्टको हो ? यो सबैको साझा हो । जसले प्रयोग गर्न सक्यो त्यसैको हो । त्यसैले हामी कम्युनिष्ट नाम नराखी नयाँ शक्ति नेपाल भन्नुपर्छ भन्नेमा सहमत भयौं । ‘जय नेपाल’ भन्दा काँग्रेसको जस्तो बन्ने ‘लाल सलाम’ भन्दा कम्युनिष्टको जस्तो बन्ने भएकोले दुवै नभनौँ भनी नमस्कार वा अभिवादन भन्न लाग्यौँ ।
देश अघि बढ्छ भने, समृद्ध हुन्छ भने, हामीले अहम् त्याग्नै पर्छ, आ-आफ्ना दम्भ त्याग्नै पर्छ । देश र जनताको हितमा रगत पनि दिनुपर्छ भनेर गफ हाँक्ने अनि, त्यति साना कुराहरु त्यागेर आफूलाई बदल्न नसक्नेहरु नयाँ शक्तिमा नआएकै राम्रो ।
साँच्चै देशभक्त र समाज अघि बढोस् भन्ने चाहनेहरु आउनुहोस् नयाँ शक्तिलाई साँच्चै नयाँ बनाइ, परम्परागत दाहिने र वामको छुवाछूत प्रथा बन्द गराइ, दुवै हात र दुवै खुट्टाले टेकेर भए भरको तागत लगाएर देशलाई एक कदम अघि बढाएर देखाऔँ । हामी कुनै वादी नबनौँ । सबै नेपालवादी, सबै विकासवादी, सबै समृद्धवादी बनौँ । के के छाड्न पर्छ, के के लिनुपर्छ विकासलाई केन्द्रमा राखेर छलफल गरौँ । नयाँ शक्तिमा आवद्ध होऔँ । महाधिवेशन एक वर्ष पछि हुँदै छ । के के गर्दा देश र जनताको भलो हुन्छ । त्यहि लेखौं संशोधन गरौँ, परिमार्जन गरौँ । तर भ्रष्टाचार, कुशासन, अनियमितता, गरिबी, बेरोजगारी सबैलाई हटाउन निजी स्वार्थ त्यागेर आऔँ । नयाँ शक्तिमा निजी स्वार्थ पूरा गर्ने उद्देश्य लिएर नआऔँ । तपाईलाई पछि धोका हुनेछ ।
The post विकास र समृद्धिको सपना र वाम-लोकको बहस appeared first on Sajha Post.