नयाँ शक्ति जन्मने पूर्वसन्ध्यामा यसले विविधखाले तरंग नेपाली राजनीतिक समाजमा स्थापना गर्दै गइरहेको आभाष हुन थालिसकेको छ । किन नयाँ ? कस्तो खाले नयाँ ? के का लागि नयाँ ? आदि आदि । पुरानै खाले मान्छे भेला भएर बन्न आँटेको कस्तो प्रकारको नयाँ हुने ?
हालै नयाँ शक्तिद्वारा प्रकाशित लेख रचना दस्तावेजहरु सरसर्ती हेर्दा यो नयाँ शक्ति नेपालले अंगीकार गर्न खोजको राजनीति नेपालका लागि मात्र नभएर नेपालजस्ता पिछडिएका अरु मुलुकहरुले पनि अनुशरण गरेर अगाडि बढ्ने मार्गदर्शक सिद्धान्त बन्नेमा दुईमत नहुनसक्छ । देश, काल, परिस्थिति अनुरुप व्यक्ति, समाज र राज्यलाई कसरी समुन्नत बनाउने ? प्रकृतिका नियमहरुको समूचित व्याख्या, वर्ग विश्लेषणद्वारा मानवीय भावनामा प्रकट हुने खुसीहरुको व्यवस्थापन, योजनाहरुको वर्गीकरण आदि यावद कुराहरुको बिशद ढंगले विश्लेषण अथक परिश्रमद्वारा गरिएको छ जसको सफल कार्यान्वयनले नेपालीको भाग्योदय हुने देश समृद्धिको अघि बढ्ने कुरामा दुईमत हुन सक्दैन ।
कुन कुन क्षेत्रमा ‘नयाँ’ ?
क. इतिहासको व्याख्या सम्बन्धमा
‘नयाँ’ नेपाल राज्यको उत्पति, यहाँ बसोबार गर्ने आदिम गोपालवंशीदेखिको कविला, गण हुँदै भुरे–टाकुरे राजा रजौटाहरुको करिब चार हजार वर्ष अघिदेखिको अवस्थालाई ऐतिहासिक भौतिकवादमा आधारित रहेर नेपालको भूगोल, राज्यविस्तारको क्रममा टुक्रिने र फैलिने, विविधखाले रक्तपातपूर्ण संघर्षहरु हुँदै आएको विस्तृत व्याख्या, नेपाल राज्यको भौगोलिक एकीकरण करीब आठ दशकसम्म चल्यो । यस अविधमा सामन्ती राजतन्त्रात्मक निरंकुश एकात्मक शासन व्यवस्थाको निर्माण भएको थियो ।

त्यसपछिको लोकतान्त्रिकरणको दोस्रो चरण वि.सं. १९९० सालको राणा शासक विरोधी जागरणबाट सुरु भएर २०७२ सालसम्म संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको अवधिसम्म हेर्दा यो युग पनि पूरा हुन आठ दशक लागेको देखिन्छ । यो अवधिमा जति पनि आन्दोलन, संघर्षहरु भए ती सबै एउटै आन्दोलनका अंशहरु हुन भन्नुपर्दछ । सबैले प्रजातन्त्र, लोकतन्त्रलाई स्थापित गर्ने आन्दोलनहरु अघि बढाउने नै प्रयत्न गरेका थिए भन्नुमा अत्युक्ति नहोला । प्रजा परिषद, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी आदिले आ–आफ्नो कालखण्डमा नयाँ शक्तिको रुप लिए । सबैले पालैपालो नयाँ एजेन्डा आफ्नो समयको लिएर आएकै हुन् ।
फलतः सबै आन्दोलनकारी शक्तिहरु मिलेर नयाँ शक्ति निर्माण गरी २०४६ सालमा राजाको निरंकुश पञ्चायती व्यवस्था ढाल्ने आधार बनाइएको हो । नेपालको संविधान २०४७ ले सामन्तवादको जरो उखेल्न नसकेको, कांग्रेस एमालेको सोचबाट नेपालमा गणतन्त्र स्थापना हुन असम्भव देखेर नयाँ एजेन्डासहित नयाँ शक्तिको रुपमा नेकपा माओवादी देखापर्यो । जसको फलस्वरुप गणतन्त्रको एजेन्डा संविधानमा सम्बोधन हुनुपुग्यो तर २०६२/६२ को अन्तरिम संविधानले मधेसवादी जनजातिवादी दलहरुको संघीयता समावेशिता र समानुपातिकको माग सम्बोधन गर्न नसकेका कारण मधेस आन्दोलन हुन पुग्यो । जसले संविधानमा ती मान्यताहरुलाई स्थापित गर्न मद्दत पुर्यायो । यसरी इतिहासलाई व्याख्या गर्ने क्रममा नयाँ शक्ति भन्दछ– ‘मानव समाजको जीवन पोखरी जस्तो हुँदैन, नदीको जस्तो हुन्छ । हामीले इतिहासको पोखरीमा जम्ने होइन, भविष्यको नदीमा प्रवाहमान हुन सक्नुपर्दछ ।’
नयाँ शक्ति भन्दछ– ‘अब आधुनिक नेपाली राजनीतिले तेस्रो चरणमा प्रवेश गरेको छ त्यो हो ‘समुन्नत समाजवाद’ । यो कार्यभार बहनको निम्ति अर्को फेरि ‘नयाँ शक्ति’ को बोध भएको छ । जसले गतिशील जीवन पद्धति अंगीकार गर्न सफल हुनेछ । संघर्षहरुका फलस्वरुप २०७२ को संविधान जारीसँगै पुरानो अन्तरविरोधहरु समाप्त भइ फेरि नयाँ खाले अन्तरविरोधहरु सतहमा देखा परेका छन् । ती अन्तरविरोधहरु यसप्रकार छन् । संविधानमा मधेसी, मुस्लिम, महिला, दलित, सिमान्तकृत समुदायको पहिचान र संघीयताको मुद्दामा सहमति बन्न नसक्नु, नैतिक मूल्य मान्यता अनि सदाचारमा आधारित राजनीतिक संस्कृति र संस्कारको विकास नहुनु, माफिया र गिरोहहरुले सरकार चलाउनु, गरिबीको विकराल समस्या, बेरोजगारीले व्यापकता पाएको, महंगी नियन्त्रण हुनै नसक्ने गरी बढेको, चौतर्फी भ्रष्टाचार मौलाएको आदि आन्तरिक अन्तरविरोधहरु हुन भने क्षेत्रीय भू–राजनीतिक अन्तरविरोधले देश अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्र बन्नेतिर जाने खतरा पैदा भएको विश्लेषण निकालेको छ । यो अन्तरविरोधहरुको हल पुरानो राजनीतिक पार्टीहरुले पुरानै सोचको आधारमा हल गर्नै सक्दैनन् । नयाँ शक्तिले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्दै समानुपातिक, समावेशी, सहभागितामुलक लोकतन्त्रको अभ्यास र सुशासनमार्फत तीव्र आर्थिक समृद्धि हासिल गर्न फेरि एउटा नयाँ शक्ति निर्माण गर्नैपर्दछ भने सोचको विकास तिव्ररुपमा चौतर्फी उठिरहेको भन्ने ठम्याइ राखेको पाइन्छ ।
ख. नयाँ शक्तिको दर्शन सम्बन्धी नयाँ व्याख्या
नयाँ शक्तिले अंगीकार गरेको विश्वदृष्टिकोण वैज्ञानि नै रहेको कुरा यसले प्रष्ट पारेको छ । मुलतः यसले द्वन्द्वात्मक भौतिकवादलाई नै आफ्नो दृष्टिकोण बनाएको छ । यसकै जगमा टेकेर चिन्तनको क्षेत्रमा आएका परिवर्तित रुपहरु र विज्ञानका क्षेत्रमा आएका बदलावहरुलाई पुरानो ज्ञानले सधैं नयाँ समाजको नेतृत् वगर्न सक्दैन । तसर्थ नयाँ शक्तिले ज्ञान विज्ञानका क्षेत्रमा भएका नयाँ विकास, खोज, अनुसन्धानलाई आत्मसाथ गर्नुपर्दछ भन्ने मान्यता राखेको पाइन्छ ।
द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण अबलम्बन् गर्नुको अर्को उद्देश्य कुनै पनि अस्तित्व, एकाइ वा परिघटनालाई कुनै एक पक्षबाट, एकांकी पाराले नहेर्नु, हरेक घटनालाई दुवै कोण र बहुआयामबाट विश्लेषण गर्नु र समष्टिमा बुझ्न खोज्नु हो । चेतना र पदार्थ एकअर्काका परिपूरक हुन्छन् । पदार्थ बिना चेतनाको कल्पनासम्म गर्न सक्दैनौं भने चेतनाबिना पदार्थको अस्तित्व सिद्ध हुँदैन । सकारात्मक–नकारात्मक, राम्रो–नराम्रो, जोड–घटाउ, तातो–चिसो, जन्म–मरण, दिन–रात सृष्टिको यो द्वन्द्वात्मक चरित्रलाई दुवै कोणबाट हेर्नुपर्ने ठम्याई रहेको छ । विगत शताब्दिका भौतिकवादी दर्शनहरुले न्यूटनको गुरुत्वाकर्षण र गति सम्बन्धि नियम तथा डार्बिनको विकासवादलाई पछ्याए । अहिले आइन्स्टाइनको सापेक्षतावाददेखि क्वान्टमको ‘कण–तरंग द्वैधता’ सिद्धान्तसम्म आइपुग्नाले ब्रम्हाण्डका सारा चिजहरु एकैचोटि कण र तरंग दुवै हुन सक्दछन् भन्ने मान्यता स्थापित गर्यो । आँखाले स्थुल रुप मात्र देख्न सक्दछ तर सुक्षम रुप तरंग देख्न सक्दैन ।
यसको अर्थ ठाडो देखेका चिजहरु वा वस्तुहरु मात्र सत्य हुँदैनन् । सृष्टि ज्ञेय र बोधगम्म मात्र छैन । अज्ञेय र अबोधगम्य पनि छ । निश्चितता मात्र होइन, अनिश्चितता पनि छ । आफ्नो ज्ञानको कुरा गर्दा अज्ञानको कुरा पनि स्वीकार्न पर्छ । भावी पुस्ताले ‘ज्ञान उत्पादन’लाई निरन्तरता दिने प्रयास गर्नुपर्दछ ।
जुनसुकै विचार पद्धतिमा भएका गलत, अवैज्ञानिक र मानवता विरोधी चिन्तलाई त्याग्ने तरिकाबाट अगाडि बढ्ने, यान्त्रिक भौतिकवादको अन्ध दौडमा लागेर पूर्वीय दर्शनका कयौं सकारात्मक पक्षहरुको उपेक्षा नगरेर तिनलाई विकास गर्ने विशेषगरी योग पद्धतिको आधारमा गरिने चिन्तन प्रणाली निकै नै उपयोगी छ । यसको पुनरुत्थानमा भूमिका खेल्ने पूर्वीय दर्शनले मानिसको सोच, चिन्तन स्मरण क्षमतामा विकास गर्न धेरै नै मद्दत गर्दछ भन्ने आधार बोकेको पाइन्छ ।
ग. उत्पादन सम्बन्धमा नयाँ अवधारणा
निजी स्वामित्व र सार्वजनिक स्वामित्वको पनि द्वन्द्वात्मक प्रवर्गीय सम्बन्ध हुन्छ । कुनै पनि राज्यमा सबै सम्पत्ति व्यक्तिगत स्वामित्वमा नरहने र सामूहिक स्वामित्वमा पनि नरहेको पाइएको छ । समाजको आवश्यकता र विकासस्तर अनुसार सार्वजनिक स्वामित्वहरुको क्षेत्र निर्धारण गर्ने उद्देश्य ‘नयाँ शक्ति’ को रहेको छ ।
घ. राजनीतिक कार्यदिशामा नयाँपन
नयाँ शक्ति नेपाल वाम–लोकतान्त्रिक हुनेछ भनेर भनिएको छ । विधि पद्धतिमा लेफ्ट र प्रक्रियामा डेमोक्र्याटिक । यसले अंगीकार गर्ने कार्यदिशा भनेको वामकेन्द्री रहनेछ भनेर भनिएको छ । वामकेन्द्री कार्यदिशाको मुख्य पक्ष निरन्तर प्रगति, सुधार, परिवर्तन र परिमार्जनको पक्षपोषण गर्ने । मानवताको कुरा गर्दा श्रमिक वर्गको हित र उत्थान गर्नुपर्ने दायित्व नबिर्सने ।
वर्गको कुरा गर्दा समग्र मानवतालाई हानी पुर्याउने वा मानवताको कुरा गर्दा वर्गको महत्व बिर्सने दुवै प्रकारका गल्ती नगर्ने । शक्ति सन्तुलनमा आधारित भएर कार्यनीति र गतिशील सन्तुलनमा आधारित रणनीतिहरु निर्माण गर्ने भनेर स्पष्टताका साथ व्यक्त गरिएको छ ।
ङ. सिद्धान्त निर्माणमा नयाँ आयाम
नयाँ शक्ति नेपालले चिन्तन प्रक्रियाको क्षेत्रमा नौलो पद्धतिको सुरुवात गर्न खोजेको पाइन्छ । भौतिकवादी दर्शनमा रहिआएको तीन संघठक अंगले मात्र मानवीय जीवनको समग्र पक्षलाई समेट्न नसक्ने, यसलाई मानव केन्द्रित बनाउँदा थप ज्ञानका दुई शाखालाई आफ्नो सिद्धान्तमा थपेर पञ्चांगिक सिद्धान्तलाई विकास गर्ने लक्ष्य लिएको छ । राजनीतिशास्त्रमा लोकतन्त्रको प्रारुपलाई नयाँ ढाँचामा विकास गर्नुपर्ने र मनोविज्ञानका आधारमा मानव आनन्दको वृद्धि कसरी गर्ने भनेर त्यसको एउटा भिन्नै शास्त्र, खुसी शास्त्र विकास गर्ने यसरी मात्र द्वन्द्वावादलाई मानवकेन्द्रित बनाउन सकिन्छ भन्ने सोच लिएर आएको पाइन्छ । एकपटक निर्माण वा स्थापित गरेको दार्शनिक तथा वैचारिक प्रस्तावना युगौंयुगका लागि चिरस्थायी हुँदैन । त्यसभित्रका सर्वकालीक सत्यलाई समाई बाँकी विषयलाई निरन्तर परिमार्जन गर्ने, सुधार गर्ने तरिका अबलम्बन गरी अगाडि बढ्न सक्नुपर्दछ । संसारको व्याख्या मात्र होइन, बदल्नु चाहिँ मुख्य जिम्मेवारी हो ।
च. एक्काइसौं शताब्दीको समुन्नत समाजवादका केही नयाँ विशेषताहरु :
१. विगतका स्थापित मान्यताहरुमा अभूतपूर्व संकट देखापर्नु, नयाँ वैचारिक संकट र संक्रमणको युगमा आइपुग्नु, वैचारिक रुपमा नै विकल्प चिन्तनको खोजी हुन थाल्नु । पहिले नवउदारवाद र केन्द्रीकृत समाजवाद दुई स्थापित मान्यताका रुपमा रहेका थिए । तर अहिले नयाँ धारको विकल्पको खोजीको सुरुवात नै पहिलो विशेषता हुन पुगेको छ ।
२. विचारका अनेक आयाममा विश्व बाँडिएको छ । सामरिक तथा आर्थिक हिसाबले पनि अनेक केन्द्र र उपकेन्द्रहरु रहि आएका छन् । कुनै शक्ति केन्द्रको आड लिने होइन । सबैसँग सुमधुर सम्बन्ध बनाउने आफ्नो निजत्व र राष्ट्रिय हितका बिषयलाई नबिर्सने ।
३. तिव्र भूमण्डलीकरणले राष्ट्रहरुको सार्वभौमसत्ता खुम्चिँदै जाँदै छ भने व्यक्तिको फैलिँदो क्रममा छ । सञ्चारको अभूतपूर्व विकास, श्रम र पुँजीको अन्तरदेशीय प्रवाह मात्र नभएर आप्रवासन र सांस्कृतिक अन्तरघुलनको तिव्रता । राष्ट्रवादका कुरामा साँघुरो कक्रिएको, वैश्विक प्रक्रियाबाट टुटेको राष्ट्रियताको कुरा गरेर हुँदैन । स्थानीय र आन्तरिक राष्ट्रवादको भावनालाई समूचित रुपमा सम्बोधन गरेर अगाडि बढ्ने यसले मात्र सभ्यता संघर्षबाट विमुख गराउन सक्छ । आर्थिक समृद्धि र अन्तरनिर्भर अर्थतन्त्रको विकास गरेर मात्र आफ्नो स्वाधीनता र राष्ट्रियता बचाउन सकिन्छ ।
४. प्रविधिहरुको व्यापकतम् विकास र विस्तारका कारणले सन् १९९० यता ठूला यान्त्रिकीको ठाउँमा साना प्रविधि र सूचना प्रविधिको विकास भइरहेको अवस्थामा स्थानीय प्रविधिको ज्ञान, सीप, क्षमता र दक्षताको पनि जोड दिनुपर्छ ।
५. अर्थतन्त्रका बारेमा कुरा गर्दा पुरानै सोच राखेर हुँदैन । मनोरञ्जन, साहित्य, संस्कृति, सिनेमा, खेलकूदलाई पनि व्यावसायमा जोडिएको छ । निर्वाहमुखी कृषि प्रणालीबाट औद्योगिकीरकणतर्फ संक्रमण गर्ने ठोस परिस्थिति प्राथमिकतामा पार्नुपर्छ भन्ने योजना । यस शताब्दीमा वर्गसंरचना, वर्गदृष्टिकोण र वर्गपक्षधरतामा नै परिभाषा फरक रहन गएको छ । तयो श्रम र पुँजीको एकत्वबाट नयाँ वर्ग, मध्यम वर्ग शक्तिशाली भएको छ । यसरी नयाँ शक्तिले अरु पनि चिन्तन र व्यवहारका क्षेत्रमा नयाँ प्रारुपहरु खडा गरेर अघि बढ्ने संकल्प लिएको देखिन्छ ।
सन्दर्भ सामग्री : नयाँ शक्ति नेपालका प्रचार सामग्रीहरुबाट
The post नयाँ शक्ति : हरेक क्षेत्रमा थप नयाँ आयाम appeared first on Sajha Post.