Quantcast
Viewing all articles
Browse latest Browse all 942

वरीयतामा बाबुराम

बाबुरामको जिल्लावासी हुनुको नाताले म यी पङ्क्ति लेखिरहेको छैन । भट्टराईका बारेमा आलोचना गरेर पनि लेखेको छु र उनका कार्यको प्रशंसा गरेर पनि । तपाईँ यो लेख पढ्दै गर्दा एक पटक पूर्वधारणा भङ्ग गरेर पढ्नोस् नत्र भने बाबुराम भट्टराई एउटै किस्सा बनिरहनेछन् ।

म राजनीतिक विश्लेषक होइन तर राजनीतिसँग टाढिन सक्दिनँ । कहीँ न कहीँ कुनै न कुनै रूपमा म बाँचेको युगले मलाई राजनीतिको गन्ध घुलाएर छाडेको छ । तपाईँलाई यस लेखमाथि पक्ष वा विपक्षमा लेख्न छुट छ तर यो पनि अनुरोध गर्दछु कि तपाईँले आदर्श मानेका व्यक्तिका त्यस्ता ५ गुणको चर्चा गर्नोस् जुन गुण यो जगतले वाह ! भन्न लायक होस् । यसो भनिरहँदा मैले लेख्न लागेको व्यक्ति महान हुन् र उनी सबै गुणले युक्त छन् भन्न खोजेको छैन । भट्टराईमा पनि त्यही मानवीय गुण-दोष छ जुन हर मान्छेमा हुन्छ ।

केही समय अगाडि मैले कान्तिपुरमा ‘भष्मासुरको नलीहाड’ शीर्षकको लेख लेखेँ र बाबुरामले पनि बोल्दा विचार पुर्‍याउनुपर्ने निष्कर्ष राखेँ । सायद उनले त्यो लेख पढे वा पढेनन् उनै जानून् । केही वर्ष पहिले उपेन्द्र देवकोटासँग मैले लिएको लामो अन्तर्वार्ता अन्नपूर्ण पोष्टमा छापिएको थियो । त्यसमा उपेन्द्र देवकोटाले बाबुरामलाई लगाएको आरोप वा गुनासोको राम्रै फेहरिस्त छ । देवकोटा र भट्टराई एकअर्काका एन्टी देखिन्छन् त्यो लेखमा । तथापि उनीहरूको ‘एन्टि’ गुणसँग मेरो कुनै चासो-गुनासो छैन । म दुवैलाई उत्तिकै सम्मान गर्छु । सम्मान गर्नका लागि काम चाहिन्छ । दुवैले आआफ्ना ठाउँमा काम गरेका छन् । भलै त्यो उच्च होओस् वा दोयम । तपाईँ यही हरफलाई लिएर टिप्पणी गर्न सक्नुहुनेछ । तपाईँ यही पङ्क्ति कारलाई पनि ‘झोले’, ‘पकेटे’ इत्यादि विशेषण झुन्ड्याउन सक्नुहुनेछ । यो लोकतन्त्रको ‘वाक् सौन्दर्य’ हो ।

०००

Image may be NSFW.
Clik here to view.
राजिन पनेरु

हामी १० वर्षीय द्वन्द्वबाट गुज्रियौँ । हजारौँ मान्छे मारिए । लाखौँका सपना केवल सपना बनेर बिलायो । जुन सोच बोकेर द्वन्द्व भएको थियो त्यसले मूर्त रूप धारण गरेन । निश्चित झुण्डहरू जनयुद्धको नाममा अहिले सत्तामा भजन गाइरहेका छन् । बाबुराम पनि १० वर्षे युद्धले खारिएका मान्छे हुन् । उनको इतिहास र उनको कर्मबारे पनि म चर्चा गर्ने छैन । इतिहासको हिसाब किताब उनीसँग छुट्टै बहसमा गर्न सकिनेछ । अथवा त्यो छुट सम्बन्धित सबैका निम्ति हुनेछ । मेरो लेखको चर्चाको विषय भर्खर जनता समाज पार्टी (जसपा) दर्ताको सन्दर्भमा भएको टिपेक्स लगाएर भट्टराईलाई चौथो नम्बरमा पुर्‍याइएको वरीयता क्रम र त्यसबारे सामाजिक सञ्जालमा गरिएका टिप्पणीमाथि रहेको छ ।

०००

राजेश्वर देवकोटाको द्वन्द्वको अवसानको पुनर्पठन गर्दै थिएँ । यही क्रममा एउटा पङ्क्ति आउँछ । जहाँ दुर्योधन आफ्ना परम मित्र राधेयलाई भन्छ, ‘मित्र राधेय ! दान र त्यागमा ठूलो अन्तर छ । दान सृष्टिको सङ्केत हो, प्रवृत्ति हो, त्याग विसर्जन हो, निवृत्ति हो ।’

मैले यही पङ्क्ति फेसबुकमा स्ट्याटस लेखेर भनेँ, ‘बाबुरामले दान दिए ।’ यसपछि प्रतिकृया आउन थाले उनका विरुद्ध र समर्थनमा । भट्टराईका विरुद्ध आएका मतको सार छ, ‘पद नपाएर छाडेपछि केको दान ? दान दिन त दानवीर हुनुपर्छ आदि ।’

केही व्यक्तिलाई प्रतिकृया गरे पनि प्रत्यके कमेन्टमा प्रतिकृया दिनु उचित लागेन । किनकि सुतेकालाई बिउँझाउन सकिन्छ, सुतेको अभिनय गर्नेलाई बिउँझाउन सकिँदैन । देवकोटाको उपन्यास द्वन्द्वको अवसानको कथनसँग मैले भट्टराईको राजनीतिक गुणलाई जोडेको हुँ र त्यो पनि वर्तमान अवस्थाको घटनाक्रमको साक्ष्यसँग । दानवीरको फरक पाटो छ । सापेक्ष अर्थमा दान शब्द प्रयोग गरेको हुँ । मैले दान यो अर्थमा भनेँ- बाबुरामले यति बेला पदभन्दा ठूलो पार्टी ठाने । पार्टी रहे न पद रहन्छ भन्ने सोच लिए । पर्दाभित्रको कुरा उनै जानून् तर उनले दान कसरी गरे ? मेरो ब्रह्म भन्छ, उनले भोलिका दिनमा पार्टीको सृष्टिलयका निम्ति दान गरे । भलै यो भोलिका दिनले पुष्टि गर्नेछ । त्याग गरेनन् । त्याग गर्नुको अर्थ हुन्छ त्यो (राजनीति/सत्ता/पार्टी) बाट निवृत्त हुनु । यो उनको वर्तमान होइन । यो मेरो निष्कर्ष वा बुझाइ हो ।

०००

यति बेला केही व्यक्तिहरू घन्टैपिच्छे भट्टराईका विरूद्धमा सामाजिक सञ्जालमा आक्रोश पोख्ने काम गरिरहेका छन् । केही व्यक्ति उनका कर्ममा सशर्त राम्रो मान्नुपर्ने धारणमा पनि व्यक्त गरिरहेका छन् । मैले केही मित्रहरुको फेसबुक स्ट्याटसका आधारमा तिनलाई इनबक्स गरेर भनेँ, ‘मलाई तपाईँको आदर्श पुरुषका बारेमा एक पेज लेखेर दिनोस् । तपाईँका नायकका चरित्र पनि चित्रण गर्नोस् । मलाई बताइदिनोस् तिनले यस भूतलमा त्यस्ता उल्लेखनीय कर्म के-के गरे ? र तपाईँका दृष्टिमा महामानव भए ?’ मलाई राम्रोसँग थाहा छ तिनीहरूसँग रेडिमेड उत्तर बाहेक खास केही छैन ।

Image may be NSFW.
Clik here to view.
Image may be NSFW.
Clik here to view.

हाम्रो एउटा गजबको विशेषता छ कि सत्ता र शक्तिको आरति गर्ने र सत्ताबाट बाहिरिएपछि सातपत्रे निकाल्ने । हिजो यही समाज हो भट्टराईको समर्थनमा टोल-टोल, सडक-गल्लिमा ‘बाबुरामलाई काम गर्न देऊ’ भन्दै टिसर्ट धारण गरेर हिँड्ने । र आज पनि तिनैमध्ये केही हुन्, भट्टराई पतित भए भन्दै हिँड्ने । यसो भनिरहँदा हिजो बाबुरामको पदचापमा दौडिएकाहरू नै आज गाली गर्नेको अग्र मोर्चामा छन् । हुनसक्छ तिनमा बाबुरामप्रतिको भरोसा वा उनीबाट प्राप्त लाभांशको आशा थियो । जुन उनीहरूले ठाने, यो भट्टराईबाट असम्भव छ । तथापि स्थायित्वका लागि होओस् अथवा अन्य कुनै कारण भट्टराईको पार्टी परिवर्तन तिनका अनुयायीहरूलाई खास हुन सकेन । यो पनि हुनसक्छ भट्टराईको परिवर्तनशील चरित्रका कारण उनी सदैव डाडूपनियूँबाट टाढिनेछन् अर्थात् सत्ता र शक्ति उनलाई असम्भव हुनेछ, यस समयमा सम्भावनाको खास लाभांशको भागिदार हुन पाउने सौभाग्य मिल्ने छैन ।

उपर्युक्त चरित्रका कारण आज ती वृत्त भट्टराई खेमाबाट बाहिरिएका छन् । वास्तवमा छुटफुट बाहेक यी वृत्त भट्टराईका सैद्धान्तिक वा वैचारिक निकटतासँग अथवा उनको राजनीतिक पृष्ठभूमि वा सङ्घर्षसँग जोडिएको सम्बन्ध नभई उनी भोलिका दिनमा राष्ट्रको प्रमुख पदमा आसिन हुनसक्ने सम्भावना देखेर जोडिएको सम्बन्ध हो । र त्यो लाभांश तत्काल भट्टराईबाट प्राप्त नहुने देखिएपछि ती वृत्तहरू टाढिएका हुन् । सत्य यो पनि हो कि गाली सबैभन्दा बढी त्यसले गर्दछ जसले गाली खानेलाई राम्रोसँग बुझेको हुन्छ ।

हिजो भट्टराई शक्तिमा हुँदा तिनीसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेर वीर भएको अनुभूत गर्नेहरू आज उनैको आन्द्राभुँडी खोतल्न तल्लीन छन् । राम्रो कुरा तिनले यतिबेला देख्दैनन् वा प्रस्तुत गर्न चाहँदैनन् । यो पनि तिनीहरूको मनोरोग हो । कुण्ठा हो । राजनीतिक तिक्ततासँगै उत्पन्न मनोविकार हो ।

०००

केही मित्रहरूले मलाई भन्नुहोला अथवा टिप्पणी राख्नुहोला, कि यो बाबुरामको झोले रहेछ । झोला हिजो विद्यार्थी जीवनमा अनिवार्य थियो आज ऐच्छिक छ । जागिर छ । एउटा निश्चित परिवेश छ । यस मानेमा भोलि कसले के भन्लान् ? जागिर गुम्छ कि अथवा बक्सिस प्राप्त हुन्छ कि भन्ने डर-आश केही छैन । सत्यलाई सत्य र झुठोलाई झुठो भन्न सकिँदैन र सदैव शक्तिकै प्रशस्ति गाएर बस्नुपर्छ भने केका गतिशील मानव जीवन ? सदैव सबैले गुण मात्र बोकेर हिँड्न सक्छ भन्ने छैन केही दोष पनि हुन्छ ।

बहस गरौँ तर तर्कसङ्गत । हामी सबै पृथक अस्तित्व चाहन्छौँ । र यो पनि चाहन्छौँ कि हामीभित्रको अहम् कहिल्यै नमरोस् र कसैको बन्दी नबनोस् । अरूको बारेमा आलोचना गरिरहौँ तर आफ्नो बारेमा कसैले अलिकति पनि नराम्रो नबोलून् । मैले रोजेको मान्छे र मेरा विचार महान् हुन् अरूका मान्छे खत्तम र विचार तुच्छ हुन् । हामीले गुण-दोष वा साम्य-वैषम्यबीच सम आलोचना राख्न सक्नुपर्छ । अझ भनौँ, कसैको आलोचना गर्नु छ भने ऊभन्दा आफू पवित्र हुनुपर्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्वीट गरेर भनेँ, ‘वरीयताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरीयता/राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’

थापाको उपर्युक्त मतलाई कसरी विश्लेषण गर्ने ? कि थापा पनि भारतीय दलाल भए वा रातारात बाबुरामका भक्त बने । सत्तारूढ पार्टीकै क्रियाशील बुद्धिजीवीहरू पनि यति बेला शर्त राखेर बाबुरामको कदमलाई स्वागत गरिरहेका छन् । यसको अर्थ यो होइन कि ती सबै रातारात बाबुरामका बने ।

बाबुरामका अगाडि थुप्रै चुनौतिहरू छन् । उनलाई आफ्नो गतिशील यात्रालाई स्थायी बनाउन सहज छैन । आज पनि उनीमाथि आशा राख्ने जमातहरू छन्, तथापि ती जमात खुलेर ‘ठीक हो’ वा ‘हामी छौँ’ भन्न सकिरहेका छैनन् ।

भोलि उनले कुनै हलचल ल्याउने सङ्केत पाए भने ती सबैभन्दा पहिला समर्थनको गुच्छा बोकेर उनको द्वारमा देखा पर्नेछन् । जति बेला बाबुरामलाई ‘खास’ र ‘वकवाश’ छुट्ट्याउन धौ-धौ पर्नेछ । मलाई एक मित्रले भने मैले चौथो वरीयातमा आफूलाई स्वीकार्न सक्नुलाई बाबुरामको चरित्र नेल्सन मण्डेलासँग तुलना गरेको छु । यद्यपि उनी बाबुराम समर्थक व्यक्ति होइनन् । यो पनि सत्य छ कि उनले आगामी राजनीतिक दौडमा नेल्सन मण्डेलाका थुप्रै कदमहरू चालेर देखाउनुछ ।

पार्टी रूपान्तरणको प्रश्न उनका सहकर्मी योद्धाहरूमा पनि उसैगरी उठाउन सकिन्छ । बाबुराम मात्र त्यसका व्यतिरेक होइनन् । विषयान्तर गरेर यसलाई तिलको पहाड बनाउनुभन्दा पनि बाबुरामका केही विचारहरूलाई समर्थन गरेर काम गर्ने मौका दिन सकिन्छ । तर रमाइलो यो छ कि यही आँखाले यिनै सामाजिक सञ्जालमा आज असभ्य भाषामा गाली गर्नेहरू भोलिका दिनमा बाबुराम कुनै तरिकाबाट नेतृत्वमा पुगे पनि बडो शालिन-सभ्य-मानक भाषामा बधाई र कार्यकाल सफलताको शुभकामना टाँसिरहेका हुनेछन् र म त्यही स्ट्याटस पढिरहेको हुनेछु ।

… र यो पनि, कलमी लगाएको बिरुवामा फलेको फलबाट उसको नाम बोध हुन्छ न कि उसको मूलबाट ।

०००

Twitter: @RajinPaneru

The post वरीयतामा बाबुराम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles