वनजंगल र मानव समुदायबीच युगौंदेखि अत्यन्त निकट र पारस्परिक सम्बन्ध रहिआएको छ । वनजंगलले कृषि, पशुपालन, उर्जा आदिमा प्रत्यक्ष र देखिने सहयोग गर्दै आएको छ भने अप्रत्यक्ष रुपमा सुक्ष्म जलवायू, पानी लगायतका स्रोतको संरक्षण र जलवायू परिवर्तनलाई न्यूनीकरणका लागि कार्वन सञ्चयको भरपर्दो स्रोतको काम गरिरहेको हुन्छ । यसका अलावा स्थानीय जन समुदायहरु र वनजंगलबीचको सम्बन्ध झनै गहीरो रहेको हुन्छ । स्थानीय जनसमुदायले गर्ने संरक्षणको काम र वनजंगलले स्थानीय समुदायको खाद्य तथा पोषण सुरक्षाको लागि पुर्याउने सहयोग विशेष रहन्छ । कतिपय वनजंगलकै स्रोतमा निर्भर समुदायहरु जस्तै चेपाङ वा राउटेहरुका लागि त वनजंगल दैनिक खाद्यान्नको स्रोत पनि हुन आउँछ जसबाट उनीहरुको खाना, तथा जीविकोपार्जनका लागि पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
नेपालको परिप्रेक्ष्यमा हेर्दा स्रोतको नजिक रहेका आदिवासी समुदायहरु तथा वनमा नै निर्भर रहने गरेका माथि उल्लेखित समुदायहरुका लागि जंगलमा गएर खानका लागि तरकारी, फलफूल ल्याउने प्रचलन धेरै पुरानो हो । यसका अलावा जंगलभित्रको पोखरीमा गएर माछा वा अन्य जलचर प्राणीको शिकार गरी ल्याउने एकदम चलिआएको दैनिकी हो । तर पछिल्लो समयमा यस्ता स्रोतमाथिको अधिकारमा विभिन्न कारणले कमी भएको महशुस स्थानीय समुदायहरुले गर्दै आएका छन् भने संरक्षणका लागि काम गर्ने निकायहरुले पनि स्रोतको दोहन भएकोतर्फ ख्याल गरिनुपर्ने तर्क अगाडि सारेका छन् । हाल आएर सामुदायिक वन वा अन्य खालका संरक्षित वनको अवधारणाका कारणले गर्दा स्थानीयका यस्ता अधिकारहरु कुण्ठित भइरहेको गुनासो पनि आइरहेका छन् । अधिकारका कुराहरुको बहस छुट्टै होला तर तिनीहरुको संरक्षण गर्ने दायित्वबाट सबै पक्ष चुकेका छन् । आजको यस लेखमा हामी सामान्यतया जंगली कंदमुल वा अन्य तरकारी वा फलफूलको कसरी संरक्षणसहितको उपभोग गर्न सकिन्छ भनेर चर्चा गर्नेछौं ।
जंगली संकलन (Wild harvest) को अवस्था र संरक्षणको आवश्यकता
नेपालमा खासगरी जंगलको आसपासमा रहेका समुदायहरुले जंगलबाट आफ्ना आवश्यकता र उपलब्धताको विभिन्न वनस्पतीहरु ल्याएर खानाको रुपमा खाने चलन पुरानो हो । यस्ता वनस्पतीहरु समुदाय र हावापानी एवं मौसमी उपलब्धता अनुसारका हुने गर्छन् । उदाहरणका लागि जंगलनजिकै बसोबास गर्ने समुदायहरुले जंगलबाट काफल, ऐंसेलु, चिउरी, बेल, कुसुम, बन आँप, हर्रो, बर्रो, अमला, बयर, बडहर, तिँदु लगायतका फलफूलहरु टिपेर खाँदै आएको पाइन्छ । यसका साथसाथै तरकारीको रुपमा खान मिल्ने विभिन्न प्रकारका तरुलहरु (बनतरुल, घर तरुल, तिते तरुल आदि), गिठ्ठा, भ्याकुर, सिस्नु, खोलेसाग, कुरीलो, सिप्लीगान, टाँकी, कोइरालो, कर्कलो आदि पनि विभिन्न समुदायहरुले ल्याएर खाने गरेको पाइन्छ । यसरी संकलन गरिएका अधिकांश फलफूल तथा तरकारीहरु आजकलको समयमा धेरै नै कमी आएको पाइन्छ भने यसमा नै भर पर्ने चेपाङ, राउटे तथा अन्य आदिवासी जनजातिहरुलाई खाद्य तथा पोषण सुरक्षामा गम्भीर असर पनि परिरहेको पाइन्छ । सबैले उपभोगको लागि टिपेर ल्याउने तर संरक्षणका लागि कुनै ध्यान नदिँदा यी वनस्पतीहरुको लोप हुँदै गइरहेको छ । यसका लागि सम्बन्धित स्थानीय निकाय वा सामुदायिक वनहरुले समुदायसँगको सहकार्यमा यस्ता वनस्पतीहरुको दीगो उपभोग र संरक्षणका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ । अन्यथा यस्ता वनस्पतीको लोप हुँदै जाने र अन्तमा जैविक विविधता तथा खाद्य एवं पोषण सुरक्षामा दिएको टेवा पनि अन्त हुनेछ । यसका लागि नीतिगत रुपमा नै सरकार वा स्थानीय तहहरुले कसरी यस्ता स्रोतहरुको संरक्षण र दीगो रुपमा उपभोग गर्न सकिन्छ भनेर छलफल र बहस गरिनु आवश्यक हुन्छ ।
Image may be NSFW.
Clik here to view.
जंगली संकलनको जोखिम
जंगली संकलनका अर्को डरलाग्दो पक्ष भनेको जंगलबाट संकलन गरिएका न्युरो जस्तै लाग्ने विषालु उन्यू लगायतका वनस्पतीहरु तथा जंगली च्याउको संकलन र उपभोग र यसले निम्त्याउने मृत्यु हो । खासगरी बर्खाको समयमा यस्ता उन्युँहरु तथा जंगली च्याउहरु प्रशस्त रुपमा उम्रने र देख्दा नै अत्यन्त रहरलाग्दो र खाउँखाउँ लाग्ने भएकाले, सहज रुपमा र सित्तैमा पाइने भएकाले पनि स्थानीय समुदायहरुले टिपेर घरमा ल्याई पकाएर खाने गरेको पाइन्छ । नेपालमा अहिलेसम्म ५४५ प्रजातिका जंगली च्याउ पाइएकोमा ५६ प्रजातिहरु विषालु प्रजाति रहेको पाइन्छ । तर यी विषालु च्याउहरु धेरै मानिसहरुले नचलाउने भएकाले वर्षैपिच्छे यसको संख्या बढ्दै जान्छ र सहजै उपलब्ध भई मानिसले टिपेर खाने सम्भावना पनि बढाउँछ । जंगली च्याउको सहज उपलब्धता र गरीब परिवारमा छाक टार्नुपर्ने बाध्यताका बीचमा यसको उपभोग भएको देखिन्छ । यसको नियन्त्रणका लागि सम्बन्धित समुदाय खासगरी जंगलको नजिक रहेका आदिवासी जनजाति आदिमा सचेतनाको कार्यक्रम गरी विषालु च्याउको बारेमा जानकारी तथा अभिमुखीकरण गराउनु र नखानका लागि सचेत गराउन अत्यन्त आवश्यक देखिन्छ । यसका लागि स्थानीय वनजंगल वा अन्य स्थानमा पाउने च्याउको विस्तृत अध्ययन, अनुसन्धान गरी खान सकिने वा नहुने, विषालु छन् वा छैनन् आदि रंगीन चित्रहरुको साथमा विभिन्न विषालु तथा जंगली च्याउहरुको जानकारी सहितको सामाग्रीको प्रकाशन तथा स्थानीय सञ्चारमाध्यमबाट आवश्यक समयमा प्रसारण पनि गर्नु आवश्यक रहन्छ ।
नीतिगत आवश्यकता र साझा सवालहरु
वनजंगलहरु क्रमशः समुदायबाट व्यवस्थापन हुँदै आइरहेको वर्तमान अवस्थामा उक्त स्रोतमाथिको अधिकार व्यवस्थापन जिम्मा लिने दायित्व सबैको उत्तिकै हुन आउँछ । तर वर्षौंदेखिको त्यही स्रोतनै जीविकोपार्जन तथा खाद्य तथा पोषण सुरक्षाको प्रमुख आधार भएका आदिवासी, जनजाति तथा क्षेत्र विशेषका जातिको अग्राधिकार पनि आवश्यक देखिन्छ । कृषि उत्पादनको न्यूनतम अवस्था पनि नभएका तथा वनजंगलमा नै अत्यधिक भर पर्ने समुदायहरुका लागि सबै पक्षहरुको समन्वय र समझदारीमा स्थानीय तहहरुले संरक्षण तथा उपभोग दुबैको अग्राधिकार सहितको व्यवस्था गर्न सके अधिकार र दायित्व दुबै पूरा हुने अवस्था आउँछ । स्थानीय समुदायहरुले आवश्यकताको कारणले होस अथवा धेरै कमाउने र खानेकुरा संकलन गर्ने स्वभावले होस्, अधिक दोहन अत्यन्त ठूलो समस्याको रुपमा रहिआएको छ । तर स्रोतको पुनर्जागरण र वृद्धिलाई ध्यान नदिई अधिक मात्रामा उत्पादन लिनाले पनि भविष्यमा हुन सक्ने स्रोतकै नाशलाई पनि ध्यान दिइनु आवश्यक छ । स्थानीय समुदायद्वारा गठित विभिन्न समूहहरु, सहकारीहरु तथा अन्य स्थानीय समुदायहरुका संगठनहरुलाई विधिवत रुपमा नै स्रोतको जगेर्ना र संरक्षण तथा दीगो उत्पादनशिलतालाई ध्यानमा राखी केही मापदण्डको व्यवस्था गरिनु आवश्यक रहन्छ । तर यस्ता मापदण्डहरु समुदायकै संलग्नता र सहकार्यमा गरिनु आवश्यक हुन्छ ।
अन्तमा, नेपालमा कृषियोग्य जमीनको व्यापक खण्डीकरण लगायतका कारणहरु तथा कतिपय अवस्थामा कृषियोग्य जमिन नै उपलब्ध नभएका घरपरिवारहरुको दीगो जीविकोपार्जनका लागि सामुदायिक वनमा आधारित खेती प्रणालीको पनि सम्भावनाबारे छलफल चलाउनु वाञ्छनीय देखिन्छ । यसले जीविकोपार्जन र खाद्य सुरक्षाका लागि नै भए पनि लुकिचोरी सामुदायिक वनमाथिको विनाश रोकी यसलाई महत्वपूर्ण स्रोतको रुपमा विकास गर्न सकिन्छ । सामुदायिक वनभित्र हुने विभिन्न कन्दमुल, बहुपयोगी वनस्पती तथा बोटविरुवाहरु, फलफूलजन्य बोटविरुवा तथा तरकारीजन्य वनस्पतीको दीगो उत्पादन स्थानीय समुदायका लागि वरदान सावित हुन सक्छ ।
(डा. भीम चौंलागाईं कृषि विज्ञानको बालीरोग विषयमा विद्यावारिधी गरी हाल अमेरिकाको Oregon state University, Corvllais, Oregon मा Postdoctoral Scholar को रुपमा कार्यरत छन् ।
डा. खतिवडा अष्ट्रेलियामा रहेर कृषि क्षेत्रभित्र ताजा कृषि उपजको गुणस्तर व्यवस्थापनमा काम गर्छन् ।)
यसअघिका स्तम्भहरु
कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन
कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर
कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता
नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत
यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक
महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान
The post जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम appeared first on Sajha Post.