चीन कस्तो देश हो ? धनी कि गरिब ? यो प्रश्नले धेरैलाई अलमलमा पारिदिन्छ । गरिब भनौं विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । धनी भनौं जनताको आर्थिक स्थिति भने राम्रो छैन ।
चीनमा योे हप्ता बहस नै यही बिषयमा छ । सरकारले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका श्रृंखलाबद्ध तथ्यांकहरु सार्वजनिक गरिरहेको छ । प्रधानमन्त्री लि किवेङले यो बहसमा आफै घ्यु थपेका छन् । उनले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘चीनमा ६० करोड मानिसको मासिक आम्दानी अझै प्रतिमहिना १ हजार युवान अर्थात् १४० डलर मात्र छ ।’
यो पैसाले त कुनै पनि चिनियाँ शहरमा एक महिनाको कोठाभाँडा तिर्न पुग्दैन । बेइजिङ पत्रकार सम्मेलनमा लि ले भनेको थिए । लिको तर्क थियो कि चीन तुलनात्मक रुपमा अझै गरिब देश हो । यसको १ अर्ब ४० करोड जनसंख्याको ४० प्रतिशत अर्थात् करिब ५६ करोड मानिसको मानिसको दैनिक आय ५ डलरभन्दा कम छ ।
तर प्रधानमन्त्री लिको यो व्याख्या अन्य प्रतिवेदन र तथ्यांकहरुसँग मिल्दैनन् । अन्य तथ्याङ्कहरुले चीनको आर्थिक अवस्था राम्रो देखाउँनछन् । चिनियाँ राष्ट्रिय तथ्यांक ब्युरोका प्रमुख निङ जिन्जेका अनुसार सन् २०१९ को अन्त्यसम्म चिनियाँ अर्थतन्त्रमा सञ्चित धन १८२ ट्रिलियन डलर पुगेको थियो । तथ्यांक विभागको तथ्यांकमा प्रत्येक नागरिकसँग एक लाख युवान बराबरको सम्पत्ति छ । यो तथ्यांक मान्ने हो भने सबै चिनियाँ मिलेलियर हुन् ।
तर सन् २०१९ को अन्त्यमा चिनियाँ जनता बैंकले प्रकाशित गरेको आर्थिक सर्भे प्रतिवेदन अझै फरक थियो । त्यसले प्रत्येक शहरिया चिनियाँ नागरिकसँग ३.२० लाख युवान सम्पति भएको बताएको थियो । केन्द्रीय बैंकको तथ्यांक करिब ३० हज्जार घरधुरीमा गरिएको सर्वेमा आधारित थियो । तर केन्द्रीय बैंकको यो तथ्यांकलाई बुद्धिजिबीहरुले पत्याएका थिएनन् । त्यसको व्यापक आलोचना भएको थियो । अन्ततः बैंकले त्यो तथ्याङ्क आफ्नो जर्नलको बेबसाइड पेजबाटै हटाएको थियो ।
यी विवादहरुले चिनमा जनताको आर्थिक स्थिति सही ढंगले दर्शाउने तथ्यांक नभएको प्रष्ट पार्दछ । जनताको आर्थिक आयको वास्तविकता के हो यसै भन्न गाह्रो छ ।
सामान्यतया चीन मध्यम आयस्तर भएको देश हो । कुल ग्राहस्थ उत्पादनमा यसको प्रतिव्यक्ति आय १० हजार डलर छ । तर यो तथ्यांक राज्यको कुल आम्दानीको गणितीय विभाजन हो । जनताको वास्तविक आय भने १० हजार डलर छँदैछैन् । यसो भन्न सकिन्छ कि चिनियाँहरु धनी राज्यका गरिब जनता हुन् ।
चीन धनी र गरिब बीचको दुरी संसारमै धेरै भएका देशमध्ये पर्दछ । सन् २०१७ को अन्त्यमा आर्थिक असमानता देखाउने गिनी कोफिसियन्ट ०.४६७० थियो । यो असमानता निक्कै धेरै हो । विगत २ वर्ष यता चीनले गिनी कोफिसियन्ट प्रकाशित गरेको छैन ।
ग्रामिण र शहरिया जनताको आय भिन्नताले यो चित्रलाई झनै जटिल बनाउँछ । सिन्हा न्युज एजेन्सीका सामाजिक सञ्जाल प्रमुख न्यू ता क्वीन भन्छन्, ‘मेरा धेरै विदेशी मित्रहरु बेइजिङ, साङ्घाई र गोन्जाओ डुल्छन् र छक्क पर्दछन् । चीन त अमेरिका र युरोपभन्दा पनि विकसित रहेछ भन्नछन् । तर यी शहर त चीनको एउटा पाटो मात्र हो, चीनको अर्को पाटो, ग्रामिण अर्थतन्त्रको पाटो पनि छ भन्ने उनीहरुलाई के थाहा ?’
चिनियाँ केन्द्रिय तथ्यांक विभागका अनुसार सन् २०१९ को अन्त्यमा चिनियाँहरुको खुद प्रतिव्यक्ति आय ४३०० डलर मात्र थियो र यसको वार्षिक वृद्धिदर ५.८ प्रतिशत छ । युवानमा यो करिब ३१ हजार हुन्छ । तर ग्रामीण क्षेत्रको प्रतिव्यक्ति आय भने करिब १६ हजार युवान मात्र थियो । चीनमा करिब ४० प्रतिशत जनता ग्रामीण क्षेत्रमा बस्दछन् । यसले के देखाउँछ भने चीनको ग्रामिण क्षेत्रमा जनताको आर्थिक अवस्था दयनीय छ ।
लि छेन हुई- साङघाई स्थिति एक अर्थशास्त्रीले गत वर्ष रमाइलो तथ्यांक दिएका थिए । उनको तथ्यांकअनुसार करिब १० करोड चिनियाँहरुले अहिलेसम्म हवाई जहाज नै चढ्न पाएका छैनन् ।
आज विश्वमा बेइजिङको बढ्दो राजनीतिक तथा आर्थिक शक्तिको जुन चर्चा हुन्छ, यी तथ्यांकले त्यसलाई फिका बनाइदिन्छन् ।
(द साउद चाइना मोर्निङ पोष्टबाट भावानुवाद गरिएको)
The post चीनः धनी राज्य, गरिब जनता appeared first on Sajha Post.