हाम्रो समाज सकारात्मक भन्दा अलिक बढी नकारात्मक समाचार र विचार खोजेर हिँडिरहेको मिडियामा बढी सेयर हुने नकारात्मक खबरले पुष्टि गर्दछ । सायद नकारात्मक खबरको माग बढेर होला, मिडिया सकारात्मक सन्देशलाई पनि नकारात्मक हेडलाइनमार्फत सामग्री पस्कन लागिपरिरहेका छन् । हामीले गर्ने आलोचनाले हाम्रो सामाजिक र सांस्कृतिक स्तरको मापन गर्दछ ।
केही सामान्य घटना हेरौं, गत आइतबार कलाकार करिष्मा मानन्धरले नयाँ शक्ति पार्टी घोषणासभामा उद्घोषण गर्दा गरेकी सामान्य त्रुटिलाई लिएर उनको व्यक्तिगत जीवनमा आँच आउने किसिमले विरोध र अपशब्द प्रयोग भए । विकसित देश अमेरिका, यूरोपमा गएर आफूले अंग्रेजी जस्तो छ बोल्नुस्, बोल्न कोसिस गर्नुस्, कुरा बुझाउनुस्, यसलाई सामान्य रुपमा लिइन्छ । नेपालमा केहि अंग्रेजी पण्डितहरुको जस्तो अंग्रेजी नजान्नु अपराध भएजस्तो हेयले व्यवहार गरिन्छ, विदेशमा त्यस्तो हुँदैन । करिष्मालाई जस्तो अमानवीय हिसाबले चरित्र हत्या गरियो, महिला भएर र समाजमा केहि गर्छु भन्ने उनको अठोटमा चोट पुर्याएको छ । हो, उनका कमजोरीहरुलाई आलोचना गर्न सकिन्छ । तर के त्यसका लागि केहि सभ्य र रचनात्मक माध्यम पनि थिए होलान नि ?
अर्को प्रसंग प्रधानमन्त्री केपी ओलीको भाषणको । उनले भनेका थिए, ‘हामीले समुन्द्री बन्दरगाह भाडामा वा कन्ट्याक्टमा लिएर जहाज किनेर आफ्ना सामान आयात निर्यात सजिलै गर्न सकिन्छ । बन्दरगाह देखि ३-४ घन्टाको सडक यातायातबाट समान नेपाल ल्याउने लाने सजिलै गर्न सकिन्छ ।’ यो भनाईलाई तोडमोड गरेर ओलीले नेपालमा पानी जहाज कुदाउने भन्दै हाँसोको पात्र बनाइयो । प्रमको कुरा असम्भव छैन । एक भूपरिवेष्टित देशले नजिकैको समुन्द्री तट प्रयोग गर्न पाइने संयुक्त राष्ट्रसंघको नियम नै छ । रह्यो कुरा जहाज किन्ने । देशको आयात निर्यातलाई बल पुर्याउने एउटा मुख्य समुद्री यातायात मार्ग हो जसको अभावले गर्दा हाम्रा निर्यात महंगो भएर विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ । कुरा यहाँ ओली र अमुक व्यक्तिको भन्दा पनि नियत र प्रवृतिको हो । यस्ता समृद्धिका भाषण सबैले गर्छन् नेता भएर । यसले सकरात्मक नै सन्देश दिन्छ ।
यसैगरी ‘गगन थापाले भारतलाई गाली गर्नेलाई भेडा भने’ भन्ने अर्को खबरले त्यस्तै चर्चा बटुल्यो । खासमा त्यो एउटा हावादारी अनलाइनले त्यसै आफ्नो लाइक र शेयर बढाउन नभनेको कुरा भनेको भनेर हालेको रहेछ । कुरै नबुझी नकारात्मक समाचारको पारख गर्ने र भारत भन्ने देशको विरोध गर्दा मात्र राष्ट्रवादी नेपाली भइने मानसिकताको फाइदा लिदै कयौं अनलाइनले व्यावसाय नै धानेका छन् ।
अब त हुँदाहुदा आजकल ठूला विश्वस्नीय पत्परत्रिका पनि यहि हावातिर बहकिन थालेको भान हुन्छ । गगनले कहिले ‘भारतीय दलाल’ कहिले ‘राजाको एजेन्ट’ भन्ने आरोपबाट वाक्क लागेर अति भएपछि जब अनलाइनविरुद्ध उजुरी नै दिए । तर पीडित सबैले उजुरी दिइहाल्न पनि सक्दैन । यो समस्याको समाधान पनि होइन । यस्तो अभ्यासले धेरै मानिसले मानसिक तनाव, आत्महत्या हुँदै अपराध गर्नसम्म प्रेरित हुने गर्दछन् । हाम्रो यस्तै अभ्यासले कतिपय जबरजस्त समाजमा ‘भ्रष्ट’, ‘विदेशीको दलाल’ बनेर बाँच्न बाध्य छन् । यसकै छाँयामा वास्तविक भ्रष्ट र दलालहरुले चुपचाप ध्नदा चलाइरहेका पाइन्छ ।
त्यस्तै बाबुराम भट्टराईलाई कहिले सिके राउत , कहिले ज्ञानेन्द्र भेटेको भनी मिथ्या आरोप लगाउने जमात पनि बढिरहेको छ । जसको नियतनै बाबुरामलाई असफल पार्नु हो । उनको कर्यशैली र भिजनमा खोट लगाउने हिम्मत नभएर हिसिला यमी भ्रस्ट भन्दिँदै प्रमाणबिनाका आरोप लगाएर उनको बदनाम गर्न उत्रिनेजस्ता हर्कत पनि हामीले देख्दै आएका छौँ ।
गत महिना सभामुख ओनसरी घर्तीमगरले बेलायतमा दोभाषे राखी नेपालीमा धन्यवाद ज्ञापन दिएको विषयलाई पनि चरित्र हत्या गर्ने उद्देश्यले उछालिएको थियो । नयाँ शक्ति पार्टी घोषणाको उद्घोषण गरेकी करिश्मा मानन्धरलाई उद्घोषणमा भएका सानातिना त्रुटि र अंग्रेजी बोल्दा भएको टङ्गस्लिपलाई त्यस्तै तारो बनाइएको छ । यी नारीहरुलाई गरिएको साइबर बुलिंगका केहि दृस्टान्त हुन् । यस्ता घटना हाम्रो समाजमा आजकाल दिनहुँ जसो हुने गरेका छन् ।
नकारात्मक समाचारको प्रभावसम्बन्धि पेनिन्सुएला विश्वविद्यालयमा गरिएको एक अनुसन्धानले ३ मिनेट नकारात्मक समाचार हेर्ने मानिसको ८ घन्टासम्म नकारात्मक दिमाग चल्ने २७ प्रतिशत सम्भावना पाइयो । त्यस्तै नकारात्मक समाचारले समाजमा घृणा, निन्दा र वितृष्णा जगाउने त छँदैछ, यसको साथै कमजोर मानसिकता र हृदय हुनेहरुलाई यसले ठूलो संख्यामा नकारात्मक असर गर्ने गरेको तथ्य विभिन्न खोज अनुसन्धानले बताइसकेको अवस्था छ ।
सामाजिक सञ्जाल दुई धारे तरबार हो यसलाई सदुपयोग गरे ठूलाठूला काम सजिलै गर्न सकिन्छ । दुरुपयोग भए ठूलाठूला दुर्घटनादेखि परिवर्तनको लाइनै उल्टो गतिमा लिएर जाने काम पनि गर्दछ । सामाजिक सञ्जाल दुरुपयोगको सरल उदाहरण मुलुकमा भएको अथाह परिवर्तनविरुद्ध परिवर्तन विरोधी शक्तिहरु हावी बन्दै जानु, तिनैको कर्मचारीतन्त्रदेखि सरकारसम्ममा हालीमुहाली हुनु इत्यादि ।
चिकागोस्थित अमिरिकी जनरल सोसियल सर्भेले गरेको प्रेस सम्बन्धी जनविश्वासको एक खोजमा ५४ प्रतिशतले केही , १७ प्रतिशतले धेरै र २८ प्रतिशतले मुस्किलले केही विश्वास रहेको बताएको तथ्यलाई नेपालमा भने लागू नहुने सामाजिक सञ्जालको व्यवहारले देखाएको छ । अर्धशिक्षित समुदायको बर्चस्व रहेको र अत्याधुनिक प्रविधिलाई अत्यन्त आश्चर्य हुँदै दैविक शक्तिको रुपमा समेत हेर्नेहरुको संख्या उल्लेख्यरुपमा रहेको पाइन्छ ।
नेपालमा किन साइबर बुलिङ्ग र अपराधको सम्भावना बढी ?
एक समयमा रेडियोले बोल्यो भनेपछि ध्रुवसत्य प्रमाणित हुने समय थियो । अहिलेसम्म पनि रेडियो र टिभीलाई विश्वसनीयरुपमा हेर्ने ठुलो समुदाय रहेको छ । झन् बिस्तारै बढिरहेको अनलाइन सूचना सन्देश दुनियाँमा राम्रोसँग परिचित भइनसकेको अवस्थामा फेसबुकदेखि अनलाइन सूचना, जानकारी देख्ने बित्तिकै विश्वासको आधार बनाइहाल्ने अपरिपक्व अवस्थामा छौं हामी ।
जसरी टोलका गुण्डा, कुण्डले, मुन्द्रे टोल, बजारमा बसेर महिला दिदीबहिनीहरुलाई जिस्क्याउने र दुःख दिने काम गर्छन् ठिक त्यसकै अनलाइनरुपमा लिन सकिन्छ साइबर बुलिंग । कसैको व्यक्तिगत जीवनमा असर पुग्ने यस्ता कुकृत्य सामाजिक अपराध हुन् ।
हाम्रा दूरदराजका गाउँबाट सूचना प्रविधिको आधा अध्यारो, आधा उज्यालो अवस्था छन् । यो अवास्थादेखि वैदेशिक रोजगारको शिलशिलामा विदेश जाँदा पूर्ण पहुँच भएको ठाउँमा पुग्दासम्मको अवस्थामा विद्यमान अपरिपक्व दृस्टी र बुझाइले सामाजिक सञ्जालका पोस्ट र समाचार हेर्ने बितिकै सत्य तथ्य नबुझी धारणा बनाउने बहुमत जनसंख्यालाई मध्यनजर गरेर गलत नियतले गरिने पित पत्रकारिता र सूचना सम्प्रेषणले फाइदा लिइरहेका छन् । सायद त्यसैको फलस्वरुप गगन थापा, बाबुराम भट्टराईदेखि समाज र राजनीतिमा राम्रो काम गर्ने र गर्न चाहने, परिवर्तनका संवाहकहरुलाई परिवर्तन विरोधीहरुको आक्रमणको सिकार बनेका छन् । राष्ट्रिय सुरक्षा, राष्ट्रियता , सरकार बनाउने भत्काउने खेलमा यस्ता मिडियाको भूमिका खतरनाक पनि हुन सक्ने विश्वका विभिन्न घटनाले पुष्टि गरेका छन् ।
के हो साइबर बुलिंग ?
आफ्नो नाम पहिचान लुकाएर कुनै व्यक्तिप्रति दुर्भाव राखी अनावश्यक फोटो, सन्देश, सूचना प्रवाह गरी कसैको चरित्र हत्या गर्ने काम हो साइबर बुलिंग ।
अझ सामाजिक सञ्जालको प्रयोगले कसैको व्यक्तिगत जीवनको बारेमा अनावश्यक दुस्प्रचार गर्नु हो साइबर बुलिंग । जसरी टोलका गुण्डा, कुण्डले, मुन्द्रे टोल, बजारमा बसेर महिला दिदीबहिनीहरुलाई जिस्क्याउने र दुःख दिने काम गर्छन् ठिक त्यसकै अनलाइनरुपमा लिन सकिन्छ साइबर बुलिंग । कसैको व्यक्तिगत जीवनमा असर पुग्ने यस्ता कुकृत्य सामाजिक अपराध हुन् ।
कसले गर्दछ यो हर्कत ?
च्याउझैँ उम्रिएका अनलाइन मिडियाहरुको आफ्नो अनलाइनमा धेरै संख्यामा पाठक बढाउन, विज्ञापनमा क्लिक गराएर पैसा कमाउने हेतुले भिडिओको लागि यहाँ क्लिक गर्नुहोला भन्दै चाहिने नचाहिने बिषवस्तु र प्रोपोगान्डा लेखी छल गरेर आफ्ना अनलाइन सन्देश धेरै भन्दा धेरै सेयर गराउने प्रतिस्पर्धा जे पायो त्यहि लेख्ने परिपाटी बढेर गएको छ । त्यस्तै अनलाइन पेज सञ्चालन गर्ने व्यक्तिहरु, अपराधी, ह्याकर, अनलाइन चोरी गर्नेहरु इत्यादिले गर्ने गरेको पाइएको छ |
साइबर बुलिंगका असर
साइबर बुलिंग, फेसबुकले वेबहाइक जीवन तोडेका, गोप्य रुपमा भिडिओ खिचेर धम्की दिने नम्रता श्रेष्ठ प्रकरणदेखि प्रकाश ओझा काण्डहरु जस्ता विभिन्न घटना आजकल धेरै सुनिन्छन् । एक अध्ययनले विश्वका ८० प्रतिशत १४ देखि २० बर्ष उमेरका युवायुवतीहरु स्मार्ट फोन र इन्टरनेट प्रयोग गर्ने मध्ये ३ मा १ जना साइबर बुलिंगको सिकार भएर पढाइ, सामाजिक जीवन र आत्महत्यासम्म गर्ने हदसम्म पुगेको बताएको छ ।
केही हप्ताअघि फुटबल खेलाडी विमल घर्तीकी बहिनी मनिषाको आत्महत्या पनि फेसबुकमार्फत साइबर बुलिंगबाट भएको अनुमान गरिएको छ । विद्यालयमा अध्ययनरत कलिला बालबालिकाको जीवनको खेलवाडदेखि तिनको अध्ययन बिगार्नेसम्मका घटना हुने गरेका छन् । मानसिक तनावदेखि मानिसलाई आत्महत्या गर्नेसम्मको अवस्थामा पुर्याउने गर्दछ साइबर बुलिंगले ।
कसरी हुने गर्दछ ?
१. कसैको बारेमा गलत प्रचार गरिदिने, अफवाह फैलाइदिने
२. गाली, बेइज्जत र धम्कीको सन्देश पठाएर
३. कसैको भावनामा चोट पुर्याउने फोटो सेयर गरेर
४. यौनजन्य तस्बिर शेयर गरेर
यसैगरी चिट्ठा परेकोदेखि देश विदेशको भिसा भन्दै अनलाइन डाटा भर्न लगाई परिचय चोरिने, एक काम भन्दै फिसिंग गरी व्यक्तिगत् डाटा जानकारी चोरी गर्ने, विभिन्न प्रलोभन, प्रेमजस्ता बिषयमा फसाएर फोटो, भिडिओ, गोप्य पासपोर्ट, सूचना ठगेर लिने अनि सार्वजनिक गरिदिने आदि ।
उपाय के छ ?
नेपालमा अबका दिनमा साइबर अपराधीहरुले अशिक्षित इन्टरनेट प्रयोगकर्ताहरुमार्फत आतंक र अपराध अझै मच्चाउन सक्छन् । उनीहरुलाई यो सजिलो पनि छ । नेपालमा इन्टरनेट प्रयोगकर्ता जमात बढ्नुसंगै साइबर सुरक्षा र बुलिंगसम्बन्धि जनचेतना सरकारी स्तरबाट बढाएर इन्टरनेटको मध्यमबाट हुने ब्यापार र अवसरहरुको सदुपयोग गर्नु अपरिहार्य देखिन्छ । नेपाल जस्तो अर्धशिक्षित समाजमा साइबर बुलिंगबाट हुने अपराध रोक्ने उपाय भनेको जनचेतनाको विकास नै उत्तम विकल्प हो ।
अनावस्यक पेज र नकारात्मक खबरहरु र दुरासययुक्त सूचनाहरुलाई निरुत्साहित गर्ने, सेयर नगर्ने, त्यस्ता खबर र सूचना कारबाहीको लागि प्रहरीलाई अनुरोध गर्ने जास्ता काम जनस्तरबाट गर्नु, १४ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई अभिभावक र शिक्षकको निगारानी नभई इन्टरनेट प्रयोग गर्न नदिने, इन्टरनेटमा पूर्ण शिक्षित भइनसकेका आफ्ना सन्तानलाई यसबाट हुने गरेका यौन शोषण जस्ता गतिबिधिको बारेमा सुसूचित गराउनु जस्ता क्रियाकलापले हुनसक्ने धेरै दुर्घटनाहरुलाई रोक्न सकिन्छ ।
(बेलायतमा व्यापार प्रशासनमा डक्टरेट गर्दै गरेका कार्की सामाजिक सञ्जाल तथा व्यापार प्रवर्द्धनमा दक्षता राख्छन्)
The post नकरात्मक समाचार सेयर र साइबर बुलिंग appeared first on Sajha Post.