जीवनमा धेरै यस्ता चीजहरु छन् जसलाई हामी राम्रोसँग वुझ्न सक्छौं । यही समाज सुन्दर भएको अवस्थामा हामी हिँड्ने मार्ग पनि सहज लाग्छ । अपरिचित वस्तुको कारण मुश्किल सामना गर्नुपर्छ । कठीन परिस्थिति र असहज स्थितिमा के गर्ने ? यो कुरा जान्नु जरुरी छ । पछिल्ला केही दिनहरुमा हामीले जे कुरा देखिरहेका छौं, भोगिरहेका छौं, जे जस्तो वास्तविकतालाई नजिकबाट नियालिरहेका छौं – अब हामीले के गर्नुपर्ला ? अक्सर विमारी एक्लै हुँदैन । विमारीसँगै मृत्यु र मृत्युसँगै भय पनि हुन्छ । वर्तमान समय चारैतिर डर, त्रास र चिन्ताको माहौल हावी हुँदै गइरहेको छ । यस्तो विषम एवं विकराल समयमा हामीले के गर्दा उत्तम हुन्छ त्यो सोच्नु र कर्म गर्नु नितान्त आवश्यक छ । जीवनमा केही यस्ता घटनाहरु अचानक घटित हुन्छन् जसको बारेमा पूर्ववत् कुनै जानकारी नै हुँदैन । हाम्रो जीवनमा अरुको जस्तो नजिकका मित्र सम्बन्धी कसैको निधन हुनु, कसैको दुर्घटना हुनु, कसैको नोकरी छुट्नु त कसैको नाता टुट्नु नहोस् भन्ने चाहना हुन्छ नै । तैपनि अप्रिय लाग्ने ती घटनाहरु हामीलाई हुन गएमा सामना गर्न निकै दर्दनाक हुन्छ । कार्यक्षेत्रमा घरबाहिर निस्कँदा बाटोमा ट्राफिक जाम हुन्छ भन्ने बारे हामी जानकार छौं । ट्राफिक जाम हुनु स्वाभाविक हो फेरि पनि त्यसलाई सहजताका साथ स्वीकार्न सकिरहेका हुँदैनौं । जुन परिस्थिति हाम्रो जीवनमा दैनिकजसो हुन्छ, त्यो कुरा हामीलाई पनि थाहा छ तैपनि हामी निकै परेशान एवं वेचैन भइरहेका देखिन्छौं । तर यस समय हाम्रोसामु एक अकल्पनीय, अस्वाभाविक र पीडादायक स्थितिको सिर्जना भएको छ जसबाट पूरै विश्व प्रभावित भएको र अत्यन्तै जोखिममा गुज्रिरहेको छ । सम्भवतः यो विश्वमा पहिलो घटना होला जहाँ संसारका सबै देश एकैपटक आक्रमण भनौं संक्रमणको चपेटामा फसिरहेका छन् – एउटा सुक्ष्म भाइरसबाट । विज्ञान र प्रविधिले सुसम्पन्न मानव निरीह हुँदै उक्त भाइरसको प्रत्यक्ष शिकार बनिरहेको छ यतिबेला ।
कोरोना भाइरस(कोडिभ–१९) महामारी (२०१९–२०२०) को शुरुवात संक्रमणको रुपमा मध्य चीनको वुहान शहर जुन पृथ्वीमा पाइने सबै प्रकारका जनावरको होलसेल मार्केटको रुपमा चिनिन्छ । त्यहीँबाट २०१९ को मध्य डिसेम्बरमा भएको थियो । यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो तर नयाँ भाइरस मानिसमा सरेको र अहिले फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकोले यसलाई २०१९ नोवेल कोरोना भाइरस नाम दिइयो । यसबारे अहिलेसम्म पनि आधिकारिक पुष्टि हुन सकिरहेको छैन । विश्व स्वास्थ्य संगठनले २३ जनवरी २०२० मा अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।
हामीले खाएको खानामा पाइने पोषक तत्वले हाम्रो शरीरलाई असर पार्दछ त्यसैगरी सूचनाले हाम्रो मनको स्वस्थता एवं सोच प्रभावित हुन्छ । सूचना जसलाई मनले ग्रहण गर्छ । नकारात्मक सूचनाले मनमा नकारात्मक भावना पैदा गर्छ र त्यसको प्रत्यक्ष प्रभाव हाम्रो कार्य व्यवहारमा देखा पर्छ । आज हाम्रो जीवनमा हरेक कुराको लागि संकल्प गर्नुछ । पहिला ट्राफिक जाम थियो आज भाइरस छ । दुवै कुरा परिस्थिति हुन् । यी दुईटै परिस्थिति बाहिरका हुन् तर मनको स्थिति हामीभित्र छ । जुन समीकरण जीवनको कैंयन वर्षदेखि हामीसँगै लिएर हिँडिरहेका छौँ। परिणम चिन्ता र डर वढिरहेको छ । त्यो समीकरण हो – जस्तो परिस्थिति त्यस्तै मनको स्थिति । यति ठूलो समस्यामा विचलन आउनु सामान्य हो, त्यस्तै तनाव देखिनु पनि स्वाभाविक हो भने डर उत्पन्न हुनु नि सामान्य हो भन्दै नकारात्मतालाई समेत सामान्य रुप दिऔं । यही विश्वास लिएर हामी वचपनदेखि बाँचिरहेका छौं, सायद संसारका प्रत्येक मानिसहरुले हामीले जस्तै विश्वासलाई आत्मसात् गरिरहेका छन् । वास्तवमा कोरोना भाइरसको विश्वव्यापी आतंकमा शान्त रहनु, स्थिर हुनु, निडर बन्नुका साथै निर्भयको अवस्था बनाउनुमा सबैको कल्याण छ । आज त्यही समीकरणको जाँच गर्नु जरुरी छ । परिस्थिति बाहिरको हो भने मनको स्थिति मेरो हो । परिस्थितिलाई ठीक गर्न नसके पनि म आफ्नै मनको स्थितिलाई संयमित, मर्यादित तथा व्यवस्थित त गर्न सक्छु नि ! परिस्थितिले मनको स्थिति निर्माण गर्न सक्दैन तर मनको स्थितिको प्रभाव परिस्थितिमा १००% पर्दछ । कोरोना भाइरसबाट आफ्नो परिवार, स्वदेश एवं विश्वलाई बचाउनको लागि हामी सबैको दायित्व वा जिम्मेवारी के हो ? यस विषयमा धेरै कुरा सिकिरहेका छौं र व्यवहारिक जीवनमा गरिरहेका पनि छौं । परन्तु सोच्न सकेनौं कि हामीले आफैलाई र अरुलाई बचाउनुपूर्व आफ्नै मनभित्र के गर्न आवश्यक छ ?
भाइरसबाट हाम्रो स्वास्थ्यमा असर पर्छ, संक्रमण बढ्छ र संक्रमित व्यक्तिको मृत्यु हुन्छ । त्यसैले कसैसँग भेट गर्दा पनि उक्त व्यक्ति संक्रमणमा त छैन ? सावधान भएर ३ फिट टाढा रहने प्रयास गर्छौं किनकी हामी आफै जोखिमबाट बच्न सकौं । हामीभित्र भाइरसको डर पहिलादेखि नै छ त्यसैगरी अर्को व्यक्तिमा पनि यही डरले डेरा जमाएको छ । घरभित्र प्रत्येक सदस्यको मनमा भाइरसको त्रासदी व्याप्त छ कि कतै मलाई संक्रमण नहोस् । यही डर र त्रासले आज विश्वका आधा मानिसहरु बाँचेर पनि मनबाट मरिसकेका छन् । के धनी, के गरीब, के विकसित, के ठूलो, के सानो, के कालो, के गोरो सबैतिर हंगामा मच्चिएको छ यतिबेला । मनोविज्ञ एवं डाक्टरहरु भनिरहेका छन् डरले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पार्छ । सामान्यतया ६०–७० वर्षमाथिका मानिसहरुमा रोग प्रतिरोध क्षमता कमजोर हुन्छ त्यसैले त्यस्ता व्यक्तिहरु संक्रमणको चपेटामा पर्छन् भन्नु त्यति सान्दर्भिक देखिँदैन । यदि ८० वर्ष उमेर भैसकेको मानिसभित्र डर छैन, नकारात्मक सोच छैन र मन सशक्त छ भने त्यस्ता व्यक्तिलाई भाइरसले प्रभाव नपार्न पनि सक्छ । तर भर्खरको यूवा जसमा सकारात्मक सोंच छैन, भित्रभित्रै डरको आगो सल्किएको छ भने तिनीहरु सुरक्षित रहन्छन् भन्नु मूर्खता हुनसक्छ । वर्तमान समय वनको डढेलो भन्दा पनि मनको डढेलोले समग्र मानवलाई जलाइरहेको छ । यसको मतलव सावधानी अपनाउनु पर्देन भन्ने भावार्थ नलागोस् । बाहिरी सावधानीसँगै मनको सशक्तीकरणको महत्वपूर्व भूमिका रहन्छ भन्ने आशय मात्र हो ।
मानव जीवन विचार, ईच्छा, भावना तथा क्रियाको मुख्य धारा हो । जसको जीवनशैली सात्विक छ, त्यस्ता साधकहरु कम भयभित हुन्छन् । वाह्य स्वच्छता र आन्तरिक स्वच्छताको साथै आवश्यकता छ सादगीपूर्ण जीवनको, आध्यात्मिक उन्नतिको । आत्मिक स्वरुपमा स्थित हुनु नै अध्यात्म हो । भक्तिमा प्रार्थाना, स्तुति र गायनपूजन हुन्छ । धर्म भनेको श्रेष्ठ धारणा हो । आत्माका सात गुणहरु – ज्ञान, प्रेम, सुख, शान्ति, पवित्रता, शक्ति र आनन्द हुन् । जब आत्मा उपरोक्त सातवटै गुणहरुको स्वरुप बन्दछ त्यही आध्यात्मिक शक्तिसम्पन्न मानिन्छ । अध्यात्ममा दान पुण्य तथा श्रेष्ठ कर्मको परम महत्व रहन्छ । अध्यात्म शक्तिको कमीको कारण घर घरमा अशान्ति, जीवनमा असन्तोष एवं विकारहरुको बोलवाला भएको हो । आध्यात्मिक सशक्तीकरणले जीवनमा सुख शान्तिको पुनःसञ्चार हुन्छ, फलस्वरुप भिन्न भिन्न रोगहरुबाट मुक्त वन्न सकिन्छ । अशुद्ध वातावरणबाट सुरक्षा कवचको काम गर्दछ । कमजोर विचार तथा न्यून मनोवल हुनेलाई भाइरसले सजिलै शिकार बनाउन सक्छ । शुद्ध सात्विक जीनशैलीमा आफूलाई रुपान्तरित गरौं र नयाँ यूगको लागि तयारी होऔं । कोरोना भाइरस होइन करुणा भाइरस बनेर आपसमा दया करुणाको भावले समस्त मानव सेवामा समर्पित बनौं, यसैमा सर्वजनहिताय कल्याण छिपेको छ । मनुस्यले आज अनेक साधनहरुमा आफूलाई परवश गरिदियो । धन, बस्तु वैभवको प्राप्तिको लागि मानिस यति लिप्त भैसक्यो कि मानिसले अरुलाई त के कुरा आफैलाई समय दिन सकिरहेको छैन । अब आउनेवाला समयमा सबै साधन खतम हुनेछन् । साधनहरुको ध्वस्ततासँगै मानसिक कमजोरीको कारण मानिस कतै ध्वस्त नहोस् । यसका लागि वस्तु वैभव नहुँदा पनि आफैले आफैसँग समय बिताउन सकियोस्, यो एक अवसर हो । कोरोना भाइरसभन्दा पनि आज डिप्रेसन, नकारात्मक सोचरुपी भाइरसलाई समेत रोक्नुपर्ने भैसक्यो । सहज उपाय हो आध्यात्मिक विचारबाट मनलाई परिवर्तन, सकारात्मक र श्रेष्ठ दिशानिर्देश गर्न प्रेरित गर्दछ । मनको कमजोरीमाथि विजय पाउन सहज हुन्छ ।
बीसौं शताव्दीसम्म हामी सोच्थ्यौं कि हामी एकदमै सुरक्षित छौं तर अहिलेको अवस्थामा परिवर्तन आएको छ । मानवले अहिलेसम्म जलवायू परिवर्तन, परमाणु युद्ध, कोरोना भाइरस जस्ता अन्य महामारी वा उल्कासँग पृथ्वी ठोकिनसक्ने जस्ता सम्भावित खतराहरुको सामना गरिरहेको छ । यो शताव्दीको अन्त्यसम्म मानवजातिको विनाश वा अस्तित्व मेटिने त होइन यस चिन्ताले सताउन समेत थालेको छ । तीव्रतर रुपमा बढिरहेको जनसंख्या बृद्धि र अनियन्त्रित संशाधनको दोहनसँगै जलवायू परिवर्तनले पनि एक गम्भीर पेचिलो संकट निम्त्याएको छ । यी सबै घटनाको सूत्रधार हामी मानव नै हौं । हामीले गर्नु नगर्नु गर्यौं, खाने नखाने खायौं । अति गरेको निशानी हो हाम्रै अन्त्य । अब पनि चेत नखुले कहिले खुल्ला ? अझै नसच्चिए कहिले सुध्रिने ?? विज्ञान र प्रविधिको विकासको युगमा विनाशकारी हमलाहरुको सम्भावना बढी रहन्छ । दुनियाँमा पछिल्लो आँकडा हेर्दा ३० करोड मानिसहरु मानसिक विरामी छन् । तिनीहरुमध्ये विनाशकारी वटन थिचेर सबै कुरा नष्ट गरिदिने र सार्वजनिक स्थलहरुमा अन्धाधुन्ध गोलावारी गर्नेहरु साथै धार्मिक कट्टरपन्थीहरुको कारण मानव सृष्टि खतराउन्मुख संकेत आभास भैरहेको छ यतिखेर । तसर्थ यस्ता खतराहरुलाई गम्भीर रुपमा लिएर हाम्रो प्राचीनतम् सभ्यता अपनाउँदै समयमै सचेत बन्न तथा केही सिक्न र परिवर्तन हुन जरुरी छ ।
पाठकगण, संसारको सबैभन्दा धनी व्यक्ति विल गेट्सले हरेक घटनामा जे हुन्छ त्यसका पछाडि एउटा दरिलो आध्यात्मिक कारण हुने कुरामा म विश्वास गर्छु भन्दै समग्र मानव समुदायलाई कोरोना भाइरसले निम्त्याएको सन्देशलाई सम्प्रेषण गर्नुभएको कुरा यहाँहरुलाई पस्किन सान्दर्भिक लागेको छ । विल गेट्स भन्नुहुन्छ – कोभिड–१९ ले सबैलाई समान व्यवहार गरेको छ । एकातिर छोटो समयका लागि यो संसारलाई दमन र दवावमा राखेर बाँचिरहेकाहरुको अवस्थाको सम्झना गराएको छ भने अर्कोतिर हाम्रो स्वास्थ्य कति महत्वपूर्ण छ भन्ने समेत दर्शाएको छ । त्यसैगरी हामीले जीवनमा एक अर्कालाई सहयोग गर्नुपर्छ भनी सिकाएको छ साथै हाम्रो समाज कति र कसरी भौतिकवादी बनेको छ भन्नेतर्फ संकेत गरेको कुरा उल्लेख गर्नुभएको छ । यस परिवेशले हामीलाई हाम्रो परिवार र घरेलु जिन्दगीको महत्व सम्झाएको छ र हामीभित्रको अहंकार र दम्भको परीक्षण गर्न झक्झक्याएको छ । यतिमात्र हैन हाम्रो स्वतन्त्र कर्मको शक्ति हाम्रै हातमा रहेको स्मरण गराउँदै हामी कति आत्तिन्छौ र धैर्यवान छौं भनी जाँच्ने मौका दिएको भन्नुहुन्छ । यस घटनाले हामीलाई यो मानव सृष्टिको अन्त्य वा नयाँ शुरुवात के हुनसक्छ सोच्न वाध्य बनाउँदै जीवन एउटा चक्र हो हरेक जटील समयपछि सजिलो आउँछ भनी विश्वस्त तुल्याएको भाव व्यक्त गर्नुभएको छ । अन्तमा कोरोना भाइरसको कारण हाम्रो गल्ती सञ्चाउने अवसर तथा हामीले बिर्सिएका महत्वपूर्ण पाठहरु सिकाएको हँदा सिक्ने वा नसिक्ने, गर्ने वा नगर्ने त्यो सबै हामीमाथि नै निर्भर छ भनी सबै कुरामा जिम्मेवार मानव नै रहेकोतर्फ ईशारा गर्नु भएको छ ।
भारतीय पूर्व राष्ट्रपति वैज्ञानिक प्रो.डा.ए.पि.जे. अव्दुल कलाम भन्नुहुन्छ – “जीवनमा कठिनाईहरु हामीलाई वर्वाद गर्न आउँदैनन् बरु हामीभित्र लुकेका सामर्थ्य र शक्तिहरु बाहिर निकाल्नमा मद्दत गर्दछन् । आत्मविश्वास, धैर्यता र कडा मेहनत जस्तोसुकै जटील रोगलाई मार्ने अचूक औषधी हुन् ।” डा. योगी विकासानन्दले कोरोनालाई जित्नका लागि प्रकृतीसँग रमाउन सुझाउनुभएको छ । वहाँको भनाइमा “हामी नेचरबाट टाढा हुनु भनेको शरीर कमजोर बनाउनु हो । नेचरसँग रिकनेक्ट गरियो भने इम्यूनिटी सिस्टम बढ्छ जसले खुसी र आनन्द प्राप्त हुन्छ ।” त्यसैगरी नेचुरल फूडले भाइरससँग लड्ने क्षमतामा बृद्धि गर्ने र रोग प्रतिरोध गर्नमा हाम्रो शरीर सफल हुने भएकोले जंक फूड प्रयोग नगर्न सल्लाह दिनुहुन्छ ।
विज्ञानले भाइरस मार्ने औषधी बनाएको छैन । भाइरसले मानिसलाई इन्फेक्सन त गर्छ तर सबै संक्रमित मानिसहरु मर्दैनन् । हाम्रो शरीरको भाइरस मार्ने औषधी हाम्रै रगतमा छ । जसलाई नेचुरल किलर भनिन्छ । जुनसुकै भाइरसबाट बच्ने सहज उपाय भनेकै हामीभित्र विद्यमान डरलाई हटाउनु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु हो । व्यक्ति जति दुःखी, अशान्त एवं तनावमा रहन्छ त्यति नै रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले कोरोनाले यही सन्देश दिएको छ कि हे मानव ! अब आफ्नो दिनचर्या व्यवहारलाई बदल । यो केवल सावधानी वा रिहर्सल मात्रै हो । मांशाहार प्रोटिनका लागि हाम्रो शरीरमा आवश्यक छ भन्ने सोच बदलौं, प्रकृतीले त्यसभन्दा पनि अझ हाम्रो स्वास्थ्यका लागि चाहिने खनिज तत्व प्रदान गरेको छ । भान्सामा पाकेको खाना खाने समय थिएन, आफन्ती र परिवारजन बालबच्चाहरुसँग सँगै बस्ने र रमाउने पटक्कै फुर्सद थिएन हिजोसम्म तर आज समय बदलिएको छ । तसर्थ अदालतमा बढ्दै गरेका सम्बन्ध विच्छेदका मुद्दाहरु समेतमा कमी आउने देखिन्छ । यो मनको सफाई गर्ने समय हो । मनभित्रको पुरानो कलुषित मैलोपनलाई शुद्ध गरी सुन्दर बनाउने सुनौलो अवसर पनि हो । त्यसैले दैनिक शारीरिक योग प्राणायाम गरौं, अरुलाई सहयोगका लागि हातहरु बढाऔं साथै राजयोग मेडिटेशन ध्यान साधनामा मन आनन्दित पारौं । त्यसैगरी आध्यात्मिक धार्मिक पुस्तक अध्ययन गरौं । संंगीतमा रमाऔं, गलत सूचना सम्प्रेषण नगरौं, जतिखेर पनि कोरोनाको मात्र चर्चा नगरौं । सरकारी निर्णयको पूर्णरुपले पालना गरौं । सावधानी अपनाऔं, आफू बचौं र अरुलाई बाँच्ने वातावरण बनाऔं । प्रकृती र शरीरलाई धन्यवाद भनौं किनकी हामी ठीक छौं । जे नहुनु थियो त्यो भयो तर भैसकेको चिन्ता नगरौं, वर्तमान राम्रो बनाउने प्रयास गरौं । यस्तो सकारात्मक चिन्तनले कोरोना भाइरसको भयबाट बच्न सकिन्छ – “म शान्तस्वरुप आत्मा हुँ, म कस्मिक इनर्जी हुँ, संसारका हरेक आत्माहरु परमात्माका सन्तान आपसमा भाइ भाइ हौं । मेरो शरीर स्वस्थ र पूर्ण छ । मेरो शरीरका प्रत्येक कोषिकाहरुमा शान्ति, पवित्रता र शक्तिका किरणहरु विचरण गरिहेका छन् । मेरो रोग प्रतिरोध क्षमता सशक्त अनि मजवुत छ । हामी सबै मनुस्यहरुका आत्मिक परमात्मा पिताको छत्रछाँया ममाथि बनिरहेको छ । मेरो विश्व अनि मेरो परिवार सुुरक्षित छ ।” यो समय भनेको हामी बदलिने उत्तम र उपयुक्त समय हो । यो महामारीलाई कुनै एउटाको प्रयासले मात्र नियन्त्रण सम्भव छैन तसर्थ हामी सबै आफैमा अनुशासित बनौं अन्यथा संसारको कुनै शक्ति वा ताकतले हाम्रो गल्तीको क्षमादान गर्नसक्ने छैन । सबैलाई चेतना भया ! ओम् शान्ति ।।
(लेखक ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, घोराही, दाङका प्रवक्ता हुन्)
The post डरबाट प्रभावित हुन्छ रोग प्रतिरोधात्मक क्षमता, संंकटमा राखौं सकारात्मक सोच appeared first on Sajha Post.