Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

बहुराष्ट्रियताको बहुरङ्गी प्रतिक्रियाः खास कुरा यसरी बुझौं

$
0
0

भर्खरै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकृत भई बनेको जनता समाजवादी पार्टी (जसपा) को विज्ञप्तिमा ‘बहुराष्ट्रियता’ शब्द प्रयोग भएकोमा केही मानिसले प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा त्यो प्रतिक्रिया देखिएको छ । प्रतिक्रियामा मुख्य तीनवटा कोणहरु देखिन्छन् ।

पहिलो खाले प्रतिक्रिया– यो बहुराष्ट्रियता भनेको के हो ? यसको के अर्थ दिन्छ ? नेपालको राजनीतिक परिवेशमा यस्तो शब्द प्रयोग हुँदा के बुझिन्छ ? पहिलो प्रकारका यी प्रतिक्रिया जिज्ञासाजन्य हुन् । यस्ता प्रतिक्रियामा यो शब्दको अर्थ र प्रयोगबारे बुझ्न चाहेको भाव प्रकट हुन्छ ।

दोस्रो खाले प्रतिक्रिया दिनेले यो अलिक कडा र अस्पष्ट शब्द हो, नेपाली राजनीतिमा धेरैले बुझ्दैनन् । तसर्थ संघीयताभन्दा पुगेकै थियो, यो शब्द प्रयोग नगरेको भए हुन्थ्यो भन्ने धारणा व्यक्त गरेका छन् । यस्ता अस्पष्ट शब्दहरुले विरोधी दलहरुलाई आलोचना गर्ने र भ्रम उत्पन्न गर्ने ठाउँ दिने हुनाले सरल र अस्पष्ट नलाग्ने शब्दहरु प्रयोग हुनु उचित हुन्छ भन्ने धारणा व्यक्त गरेको पाइन्छ ।

तेस्रो प्रकारको प्रतिक्रिया दिनेहरुले यो शब्द नै आपत्तिजनक हो, यसले विखण्डनको संकेत गर्दछ, यो हिजोको सोभियत संघ र युगोस्लाभियाकोजस्तो अवधारणा हो । यही अवधारणाले गर्दा आज ती देशहरु अस्तित्वमा नै छैनन् । त्यसैगरी जसपाले नेपालाई विखण्डन गरी टुक्राटुक्रा पार्न चाहेको छ । यो जातिवादी, पहिचानवादी प्रवृतिको चरमोत्कर्ष हो । यसको निन्दा र भर्त्सना हुनुपर्दछ भन्ने भाव व्यक्त गरेका छन् ।

यी प्रतिक्रियामा छिर्नु अघि केही आधारभूत मानकहरुलाई परिभाषित गर्न जरुरी छ । यस बहसले आकर्षित गर्ने राजनीतिकशास्त्रका स्थापित शब्दाबलीहरु के-के हुन्, त्यसको परिभाषा, समानता र असमानतालाई बुझ्न, बुझाउन आवश्यक छ । विशेषतः देश (कन्ट्री), राज्य (स्टेट) र राष्ट्र (नेशन) शब्दको अर्थ र परिभाषालाई बुझ्न जरुरी हुन्छ ।

देश भनेको भूगोल र जनसंख्याको समग्रता हो । जस्तो नेपाल भनेको के हो ? मेचीदेखि कालीसम्म, उत्तरमा हिमालदेखि दक्षिणमा १० गजासम्म फैलिएको करिब ३ करोड जनसंख्या भएको एक राजनीतिक एकाई नै नेपाल भन्ने देश हो । देश कसरी बन्छ ? कुनै देशको जति सीमा र जनसंख्या हुन्छ, के त्यति नै उसको प्राकृतिक सीमा र जनसंख्या हो ?

बिल्कुल हैन । जस्तै मेची र काली नै नेपालको सीमा किन मान्नु पर्ने ? जबकी कुनै बेला नेपाल टिष्टा र काँगडाको बीचमा थियो । दक्षिणमा गंगाको तटसम्म थियो । यही प्रश्नलाई अर्को तरिकाले पनि भन्न सकिन्छ । अहिलेको मेची र कालीभन्दा कम सीमा भएको पनि त कुनै नेपाल थियो । नेपाल भनेको मूलतः काठमाडौं भ्यालीबाट शासित राज्यको थियो । त्यसको सीमा इतिहासमा बारम्बार कहिले धेरै, कहिले थोरै भएको छ ।

त्यो शक्ति र युद्धको क्षमतामा आधारित छ । अर्थात् देशको सीमा युद्धको शक्ति र तत्परताले निर्धारण गर्दछ । संसारमा आज जति पनि देश छन्, ती सबैका सीमा, युद्ध, आन्दोलन, सम्झौता र स्वीकार्यताबाट तय भएका हुन्, कुनै पनि प्राकृतिक हैनन् । नेपालको अहिलेको सीमा पनि नेपाल-अंग्रेज युद्ध र सुगौली सन्धिले निर्धारण गरेको हो ।

यदि नेपालसँग युद्धको क्षमता र तत्परता हुने हो भने अहिलेकै सीमा मान्नु पर्दछ भन्ने छैन । कतिपयले अहिले पनि ग्रेटर नेपालको कुरा गरिरहेकै छन् । जब युद्ध र सम्झौताबाट कुनै देश सृजना हुन्छ, त्यस भौगोलिक क्षेत्रफभित्रका बासिन्दाहरु स्वतः त्यसको जनसंख्या बन्छ ।

यो नियमका केही अपवादहरु पनि छन् । जस्तो कि भारत र पाकिस्तान टुक्रिएको बेला सम्झौताले तय गरेको सीमाभित्रको बासिन्दालाई नै जनसंख्या मानिएको थिएन । मानिसलाई इच्छाले एकअर्को क्षेत्रमा सीमा जान पनि सुविधा दिइएको थियो । कराँची र लाहुरबाट कयौं मानिस दिल्ली आएका थिए र भारतको नागरिक भएका थिए । पञ्जाब र दिल्लीबाट कयौं मानिस पाकिस्तान गएका थिए ।

राज्य भनेको चाहिँ देश चलाउन बनाइएको मानवीय संगठन वा संस्था हो । मूलतः यसभित्र कार्यकारी, विधायकी र न्यायिक अंगहरु पर्दछन् । अर्थात् राजनीतिक दल, संसद, सेना, प्रहरी, कर्मचारीतन्त्र, अदालत, संघीय, प्रादेशिक र स्थानीय सरकार राज्यका अंग हुन् । अहिले त मिडिया, निक्षी क्षेत्रका संघसंस्था, सामाजिक संघसंस्था र नागरिक समाजलाई पनि राज्यकै अंग मानिन्छ ।

यदाकदा मान्छेलाई भ्रम हुन्छ कि राज्य यस्ता संगठनहरुको समग्रतालाई भनिएको हो वा प्रदेशलाई भनिएको हो । कतिपय देशमा प्रदेशलाई राज्य भन्ने चलन छ , जस्तो अमेरिकामा ५० वटा राज्य छ भनिन्छ । प्रदेश पनि राज्य हो, राज्यको अंश हो, तर प्रदेश भनेकै राज्य चाहिँ हैन । नेपालमा संघीयताका एकाइलाई राज्यभन्दा प्रदेश भन्नु नै बढी उचित हुन्छ ।

राष्ट्र भनेको चाहिँ देश र राज्यभन्दा बिल्कुल फरक कुरा हो । लामो संघर्ष र सम्मिलनको प्रक्रियाबाट नश्ल, भाषा, धर्म, संस्कृति र मनोविज्ञानको समरुपता हासिल भएको मानव समुदायलाई राष्ट्र र उनको विशेषता जनाउने शब्दलाई राष्ट्रियता भनिन्छ । जस्तो युके एक देश हो । यसभित्र मुख्य ४ वटा राष्ट्रियता छन्- वेल्स, स्कटिस, आइरिस र इंग्लो । यी ४ राष्ट्रियताहरु मिलेर युके देश बनेको छ ।

संसारका सबै राष्ट्रियताहरुमा बराबर विशेषता हुँदैन । कुनै तत्व धेरै वा थोर हुन् सक्दछ । जस्तो कि भारतमा पञ्जाबीहरुको भाषा, धर्म र नश्ल फरक छ । तर तमिलहरुको भने भाषा र नश्ल मात्र फरक छ, धर्म फरक छैन, हिन्दू नै छन् । जबकी पञ्जाबीहरुको आफ्नो भिन्दै धर्म शिख छ ।

सबै राष्ट्रियताहरु कुनै एउटा देशको सीमाभित्र अटाएका हुँदैनन् । जस्तो कि पञ्जाबीहरु भारत र पाकिस्तान दुईतिर बाँडिएका छन् । बंगाली भाषीहरु बंगलादेश र पश्चिम बंगालमा बाँडिएका छन् । तमिलहरु तमिलनाडु र श्रीलंकाको जाफ्नामा बाँडिएका छन् । नेपाली भाषीहरु नेपाल र भारतमा बाँडिएका छन् । मैथिल भाषीहरु नेपाल र बिहारमा बाँडिएका छन्, आदि ।

त्यो भए के गर्ने त ? हरेक राष्ट्रियताहरुको एकएक फरकफरक देश बनाउन सम्भव छ, ? छैन । हरेक राष्ट्रियताहरुको फरकफरक प्रदेश बनाउन सम्भव छ ? त्यो पनि छैन । त्यसो भए बहुराष्ट्रियता कस्तो अवधारणा हो त ?

बहुराष्ट्रियता संघवाद वा बहुसांस्कृतिकतावादकै राजनीतिक अभिव्यक्ति हो । त्यसले एउटै देश वा राजनीतिक एकाईभित्र ऐतिहासिक परिबन्द (युद्ध, आन्दोलन र सम्झौता) का कारण समेटिन पुगेका फरकफरक तर समरुप मानव समुदायहरुको अस्तित्व, पहिचान, मान्यतालाई आत्मसात गर्दछ । अर्थात् एउटै देशभित्र धेरैवटा राष्ट्रिय समुदायहरु उत्तिकै सम्मानपूर्ण अस्तित्व, पहिचान र मान्यताको अवस्थामा हुन् सक्दछन् । उनीहरुको जाति, भाषा, धर्म, संस्कृति, इतिहास र मनोविज्ञानलाई राज्यले बराबरीको स्थान, पहिचान र मान्यता दिनुपर्दछ । सम्मान, संरक्षण र विकास गर्ने अवसर दिनुपर्दछ भन्ने मान्यता नै बहुराष्ट्रियता हो ।

एकल राष्ट्रियताको अवधारणाले भने त्यस्ता फरकफरक समरुप मानव समुदायलाई प्रत्यक्ष, अप्रत्यक्ष घोलाघाल पार्दै एकै प्रकारको प्रवाहमा हिँडाउने प्रयास गर्दछ । तर बहुराष्ट्रियताको अवधारणाले विविधता र भिन्नपनको सम्मान गर्दै सबैमा साझा देशभक्तिको भावना सृजना गर्दछ । संरचनामा यो भावना संघवादको अभिव्यक्त हुन्छ ।

तर विखण्डन भनेको चाहिँ हरेक राष्ट्रियताको भिन्नै देश र राज्य हुनु पर्दछ भन्ने धारणा हो जबकी बहुराष्ट्रियतावादले एउटै देशभित्र धेरै राष्ट्रियताहरु समेट्न सकिन्छ भन्ने ठान्दछ । यस मानेमा विखण्डनवाद र बहुराष्ट्रियतावाद विपरित अवधारणा हो । तर बहुराष्ट्रियतावाद एकल राष्ट्रियतावाद भन्दा पनि फरक अवधारणा हो । किनकी त्यसले कुनै देश र राज्य निर्माणमा मानव विविधताहरुको अन्त्य हुनु पर्दछ, सबैलाई राज्यले एकैप्रकारको बनाउनु पर्दछ भन्ने पनि ठान्दैन ।

एकल राष्ट्रवादको अभ्यास राष्ट्रवाद हुँदै फासीवादतिर उद्यत हुन्छ जबकी बहुराष्ट्रियतावादले बहुसांस्कृतिकतावाद, देशभक्ति र संघवादको पैरवी गर्दछ । जसपाबारे आएका प्रतिक्रियाहरुलाई यही परिप्रेक्ष्यबाट हेर्नु उचित हुन्छ ।

The post बहुराष्ट्रियताको बहुरङ्गी प्रतिक्रियाः खास कुरा यसरी बुझौं appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles