Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कम्युनिष्टका अहिलेका नेतृत्वकर्ता सामन्तहरुभन्दा कम छैनन्

$
0
0

विभिन्न घुम्तीहरु पार गर्दै नेपालका कम्युनिष्ट पार्टी यहाँसम्म आइपुगेको छ । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा कहिले दक्षिणपन्थको सिकारको सामना गर्नुपर्‍यो त कहिले उग्र वामपन्थी खालका प्रवृत्ति पनि देखा पर्‍यो । तर, विभिन्न आरोह र अवरोह पार गरेर आएका कम्युनिष्टका नेतृत्वमा अहिले विचारको संकट देखा पर्‍यो । कम्युनिष्ट राजनीति र पुँजीवादी राजनीति भन्नुभन्दा पनि सबै प्रकारका राजनीतिमा अहिले चुनौतिका पहाड चुलिएको छ । समाज विज्ञानकै अगाडि प्रकृति विज्ञानले जुन चुनौति दिइरहेको छ त्यसलाई समायोजन गर्न राजनीतिक विज्ञान चुकिरहेको छ ।

आज पनि नेपालमा कम्युनिष्टहरुप्रति नागरिकको विश्वास धेरै छ । तर, त्यसलाई नेतृत्व गर्ने नेतृत्वको चालबाजी र व्यवहारलाई पनि सबैले मूल्यांकन गरिरहेकै छन् । यही प्रवृत्तिहरु रहिरह्यो र कार्यकर्ताले नेतृत्व सच्याउन अथवा जिम्मेवारी लिने पौरख देखाउन सकेनन् भने कम्युनिष्ट आन्दोलन अब नचिनिने अवस्थामा पुग्दैछ ।

विचारको संकट

नेपालका कम्युनिष्टहरुमा अहिले विचारको संकट देखिएको छ । पुरानो पीढी जसले आजसम्म कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्दै आयो त्यसको अगाडि विचारलाई अपडेट गर्ने काम हुन सकेन । आजको सन्दर्भमा विचारलाई कसरी विकसित गराउने भन्नेबारेको कौशल र ल्याकत अहिलेको नेतृत्वमा भएन । सन्दर्भ फेरिइसकेको छ तर, संगठनलाई पुरानै तरिकाले चलाउन खोजिएको छ । यसकै उपज नयाँ पीढीमा राजनीतिप्रति लगाब नै देखिँदैन । यसको कारण पुरानो राजनीतिक पीढीले आफ्नो विगतको बखान त बेस्सरी नै गर्‍यो तर, वर्तमानका संकटहरु जो छन् त्यसलाई कसरी पार लगाएर नेपाली समाजलाई अघि बढाउने भन्ने नेतृत्वले बाटो देखाउन सकेन । त्यसकै कारण विचारहरु फुट्दै गएका हुन् ।

राम कार्की, नेता- नेकपा

मार्क्सवाद भनेको नवीनतम वैज्ञानिक विचारधारा हो । यसमा केही थप्न या विकसित गराउन सकिएन, समय सन्दर्भ र परिस्थितिअनुसार अगाडि बढाउन सकिएन भने त विचार नै मरेर जान्छ । कम्युनिष्ट नेता भनाउँदाहरु नव सामन्तवादी बनेको, चिल्ला गाडी चढेको देख्दा रीस उढ्न थालेको छ । साम्यवादी समाज बनाउँछु भनेर हिँडेका नेताहरु एउटा कम्पनीको कार फेर्दा खुसी हुने, दलालको घरमा दिनरात आवतजावत गर्ने, दलालहरुसँग भेट्न पाउँदा खुसी हुने यस्ता उनीहरुको बौद्धिक र वैचारिक दरिद्रता देख्दा हिजोआज निक्कै दया पनि लाग्ने गरेको छ । त्यसैले अहिले जे जे भैरहेका छन् यी सबै विचारको संकटकै कारण भैरहेको मलाई लाग्छ ।

वैचारिक खाका नै छैन कसैको दिमागमा

अबको २० देखि ५० वर्षसम्म नेपाललाई कसरी लैजाने भन्ने वैचारिक खाका नै कसैको दिमागमा छैन । नेताहरु जे आउँछ त्यो गर्दै जानेमा पुगेका छन् । हिजोका दिनमा एउटा सिद्धान्तनिष्ट राजनीति थियो । पहिलो कुरा कहाँसम्म पुग्ने भन्ने लक्ष्य तय हुनुपर्छ । त्यसका लागि रणनीति बनाउनुपर्‍यो । अहिलेको नेपालको जरुरी विषय भनेको समाजवादलाई कसरी परिभाषित गर्ने भन्ने हो । नेपालमा कस्तो समाजवाद लागू गर्ने, यातायात शिक्षा लगायत विषयमा समाजवाद कसरी पुर्‍याउने, कृषिको समाजवाद कस्तो हुने त्यो चित्र त देखाउनुपर्‍यो नि । कमसेकम सपना त हुनुपर्‍यो नि । अहिले त कतै पनि समाजवाद देखिँदैन ।

शिक्षा र स्वास्थ्यमा समाजवाद हुन्थ्यो भने आज यो हालत हुन्थ्यो र ? नेपालीहरु बेलायतमा कुटाई खाइरहेका छन्, अष्ट्रेलियामा लखेटिइराखेका छन्, हाम्रा माष्टर्स गरेका मान्छेहरु ती देशका पीआर पाउँदा खुसी भैरहेका छन् । हाम्रो शिक्षामा ठूलो कमजोरी भएकैले नै यस्तो अवस्था भएको हो नि, हैन र ? हाम्रो शिक्षाले स्वावलम्बन, देशभक्ति, कठोर श्रम केही पनि सिकाएन । एउटा निष्कर्षमा पुग्नका लागि त हाम्रो दिमाग सक्रिय हुन दिनुपर्यो नि । दिमागलाई सक्रिय बनाउनकै लागि के के एजेण्डालाई अघि बढाउने, भन्ने खाका हुनुपर्‍यो । जस्तै पार्टीको सचिवालय र स्थायी समिति जसलाई भनिन्छ, त्यसमा एउटा मस्यौदा बनाएर वार्षिक बजेट कस्तो बनाउने, कस्तो कृषि प्रणाली अवलम्बन गर्ने भनेर तलसम्म छलफल गराउनुपर्दैन ? सरकारको नीति र कार्यक्रम कस्तो बनाउने भन्नेबारे तत्लो तहसम्म छलफलका लागि खाका खोई ? त्यसका लागि जनतासम्म पुग्न त कार्यकर्तालाई परिचालन गर्नुपर्‍यो नि । यस्ता विषयमा ध्यान दिइएन भने ठूलो दुर्घटना निम्तने देख्छु म । त्यसैले अब पनि वैचारिक खाका के हुने भन्ने विषयमा चनाखो भइएन भने अवस्था झन बिग्रन सक्छ र सुधार गर्न गाह्रो हुनेछ ।

इतिहासको गौरव गाथा गाएर मात्रै कम्युनिष्ट बन्न सकिन्छ र ?

नाम कम्युनिष्ट पार्टी । समाजवाद ल्याउने भनिएको छ । तर काम गर्ने तौरतरिका पुरानै छ । आफूलाई मन परेका र अगाडि डाक्टर झुण्डिएका दुई चारजनालाई जम्मा गरी नीति र कार्यक्रम बनाइदिन लगाइदिने । यस्तो प्रवृत्तिले त कतै पनि न उर्जा थपिन्छ न त नयाँ काम गर्ने वातावरण नै बन्छ । अहिलेको यो अवस्थामा एउटा कुनै धक्का आयो भने त्यसलाई यो पार्टी, आन्दोलन र सरकारले थाम्न नै नसक्ने स्थिति छ ।

मैले २०४० सालमा यस्तो बहादुरी गरेको थिएँ भनेर अहिलेको समस्या समाधान हुन्छ ? इतिहासको गौरव गाथा त अरुले भनिदिने हो ।

अहिलेको नेतृत्वमा कुनै नयाँ भिजन र रणनीति बनाउने क्षमता नै छैन । यस्तै तरिकाले कम्युनिष्ट पार्टी चल्न सक्दैन । हाम्रा नेताहरुको विचार नै पंगु भैसकेको छ । न अरुसँग ज्ञान लिन्छन्, न त आफ्ना विचार राखेर छलफल नै गर्छन् । मन परेका मान्छेलाई छेउमा राखेर हिँड्ने मान्छेले त राजनीति नगरेकै राम्रो हुन्छ ।

अहिलेको नेतृत्वलाई युवाहरु आएर हुत्याइदिनुपर्‍यो

अहिले जो कम्युनिष्टको नेतृत्वकर्ता भनिरहेका छन् उनीहरुलाई युवाले आएर हुत्याइदिनुपर्छ । तपाईंहरुको काम सकियो, तपाईंहरु आफ्नो अतीतको स्मरण लेखेर बस्नुस् राजनीति चाहिँ हामी गर्छौं भन्ने पीढी जन्मनुपर्‍यो अब ।

आज हाम्रो पार्टी जन्मिएको दिन हो । लेनिनको जन्मदिन पनि हो । महान लेनिन जसले मार्क्सवादी विज्ञानलाई एउटा क्रान्तिको विज्ञान र व्यवहारिक विज्ञानको रुपमा लैजान ठूलो भूमिका खेले । लेनिनकै कारण मार्क्सवादी विज्ञान विश्वव्यापी भएको हो । त्यसैले जहिले पनि एउटा नवीनतम विचार आउनुपर्छ । त्यसका लागि छलफल गनुपर्‍यो ।

मार्क्सवाद पनि मार्क्सको दिमागबाट फुत्त झरेको होइन । अहिले पनि नेपाललाई कसरी अगाडि बढाउने, नेपालका समस्याहरु कसरी समाधान गर्ने, नेपालका पर्यावरणलाई कसरी जोगाउने, नेपाल कस्तो छ, नेपाली जनताको स्थिति कस्तो छ लगायत तमाम विषयमा छलफल गरेर अघि बढ्नुपर्छ । तर, अहिलेको नेतृत्वले त्यो आँट गर्न सक्ला जस्तो लाग्दैन । अहिलको नेतृत्वलाई हुत्याइदिन नयाँ युवा शक्तिले हस्तक्षेप गर्नुपर्ने देखिन्छ ।

भ्रष्टहरुसँगको हिमचिम

देशमा कम्युनिष्ट पार्टीले शासन चलाउने, अनि मन्दिर र धामीझाँक्रीको संख्या बढ्दै जाने । अन्धविश्वास र बोक्सीप्रथा बढ्दै जाने । यस्तो पनि हुन्छ कहीँ ? अहिले त विचारको बन्ध्याकरण भएको छ । यतिका वर्षसम्म संघर्ष गरेर आएको भनिए पनि उहाँहरु (नेतृत्व) को दिमाग अर्चापिएकै रहेनछ ।

उहाँहरुको दिनचर्याकै कुरा गरौं । कहिल्यै पढ्नुभएको छ ? कहिल्यै छलफल गर्नुभएको छ ? उहाँहरुसँग डिबेट गर्ने मान्छे उहाँहरुका घरमा कहिल्यै देखिँदैनन् । उहाँहरुसँग त सिफारिस गरिमाग्ने, सरुवा गरिमाग्ने र नियुक्ति गरिमाग्ने मान्छेहरु मात्रै वरिपरि रहन्छन् ।

तर्कवितर्क गर्ने, सजग गर्ने र गराउने, असहमति जनाउने मान्छेहरुसँग उहाँहरुले कहिल्यै भेटघाट नै गर्नुहुन्न । पार्टीभित्र यी सबै माहोल बनाइएको भए आज यत्रो ठूलो पार्टी बन्दा समेत किन संकटहरु आइपरिरहेका छन् त ? उहाँहरुको त हिमचिम नै भ्रष्ट, दलाल र घुसखोरीहरुसँग मात्रै भयो । यसले त कसरी कम्युनिष्टको परिभाषा दिन सकिएला र खै ?

कार्यकर्ताले ठेगान लगाउनुपर्‍यो

नेतृत्वलाई कार्यकर्ताले ठेगान लगाउनुपर्ने समय आएको छ । ठाउँ ठाउँमा बसेर विचार विमर्श गरेर पार्टीलाई क्रान्तिकारीकरण गर्नुपर्ने समय आएको छ । कम्युनिष्ट पार्टीलाई कार्यकर्ताहरुले क्रान्तिकारीकण गर्नुपर्ने समय आएको छ । उद्देश्य पनि नयाँ तय गर्नु पर्नेछ । पुराना उद्देश्यले अबको जीवनशैली परिवर्तन गर्न सकिने अवस्था रहँदैन । हिजोको उद्देश्यले आज र भोलिको आवश्यकता थेग्न नै सक्दैन । त्यसैले नयाँ उद्देश्यसहित नेतृत्वलाई ठेगान लगाउन कार्यकर्ताहरु जुर्मुराउने समय आइसकेको छ । देशलाई भन्दा पहिले पार्टीलाई क्रान्तिकारीकरण नगर्ने हो भने अघि बढ्न निक्कै समस्या हुने मैले देखेको छु ।

अहिलेको नेतृत्वबाट आशा गर्ने ठाउँ छैन

कम्युनिष्ट पार्टीको सरकार छ । हाम्रै साथीहरु सरकारमा हुनुहुन्छ । कतिपय साथीहरुलाई चाहिँ नेताहरुलाई नै रिझाएर केही गर्न सकिन्छ कि भन्ने लाग्न थाल्यो । मन्त्री लगायत पदको आशामा पनि कति साथीहरु नेतालाई रिझाउने दौडमा हुनुहुन्छ । अनि नेतृत्वले पनि पछिल्लो समय जथाभावी निर्णय गर्दै हिँडेको अवस्था छ । यसरी त कसरी कम्युनिष्टको आभाष दिन सकिएला र ?

शक्तिको स्रोत भनेको नै जनता हो । जनतालाई नै नबुझी आफुखुसी निर्णय गर्दै हिँडेपछि कसरी हुन्छ र ? समाजवाद प्राप्त गर्ने भनेको त समाजवादी बाटोबाट होला । समाजवादी तरिकाले होला । अर्को कुनै तरिकाले त समाजवाद आउँदैन । सामन्तवादको तरिकाले समाजवाद आउने भएको भए त उहिल्यै आउनुपर्ने हो नि । त्यसैले समाजवादी तरिका अख्तियार गर्नका लागि सबैभन्दा पहिले पार्टी प्रणालीमा हिड्नुपर्‍यो । तर, अहिलेको नेतृत्व सामन्तवादी व्यवहारमा लिप्त भएको हामी पाउँछौँ ।

राजनीतिक पार्टी त जीवन्त हुनुपर्ने हो । पार्टीलाई लथालिंग छाडिदिएर केहीले सत्ता कब्जा गर्न पाएकोमा अहोभाग्य ठानिरहेका छन् । उहाँहरुको नियत त सफा हुनुपर्‍यो नी । प्रक्रिया र प्रद्धति नै नअपनाएपछि त पार्टी अब पार्टी नै कहाँ रह्यो र ?

अहिलेको नेतृत्वबाट यी सबै कुराहरु सम्भव छैन । जस्तै राजदूत नियुक्त गर्नुपर्‍यो भने उहाँहरुले पार्टीलाई सोध्नुहुन्न । केही निर्णय गर्नुपर्‍यो भने आफूखुसी गर्नुहुन्छ । आफै मात्रै सर्वोपरी भन्ने उहाँहरुलाई लागेको छ । यसरी पार्टी चल्दैन । नयाँ नेतृत्व आउनुपर्छ सरकार र पार्टी दुबैमा । यस्तो तरिकाले कम्युनिष्टको नारा मात्रै जप्नुको कुनै अर्थ छैन ।

उहाँहरुलाई लाज लाग्नुपर्ने हो

उहाँहरु (नेतृत्व) लाई कोटाको हिसाबकितावमा रमाउने बानी परिसकेको छ । फलानो कमरेडको कोटाबाट यतिजना र फलानोको कोटाबाट उतिजना भनेर भागबण्डा गर्ने विषयमा त उहाँहरुलाई पनि लाज लाग्नुपर्ने हो । तर आफ्नो कोटाबाट मान्छे भर्ती गर्न पाउँदा उहाँहरु लाजको सट्टामा ठूलो उपलब्धी हासिल गरेजस्तै गरी प्रफुल्लित हुनुहुन्छ । उहाँहरुलाई आफ्नो कोटामा नाम पार्न सकेकोमा गौरव लाग्ने गर्छ । यति भएपछि उहाँहरुको अवस्था कहाँसम्म पुगेको रहेछ भनेर सबैले बुझ्नुपर्छ । उहाँहरुको राजनीतिक स्वास्थ्य त अब स्वस्थ रहेन । यसरी चाहिँ कम्युनिष्ट भनेर नाक ठूलो पारेर बसिरहन सक्ने अवस्था छैन । साँच्चैको कम्युनिष्ट बन्ने हो भने उहाँहरुबाट नेतृत्व सम्भव हुँदैन । अबको नयाँ पीढीले उहाँहरुलाई गलहत्याउनुपर्छ ।

(नेकपा स्थापना दिवसको अवसरमा नेकपाका वैचारिक नेता कार्कीसँग गरिएको कुराकानीमा आधारित)

The post कम्युनिष्टका अहिलेका नेतृत्वकर्ता सामन्तहरुभन्दा कम छैनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles