राम रहिमले अध्यात्मवादी कोणबाट राम्रै कुरा गरेका थिए र त लाखौं मानिसहरुले उनलाई विश्वास गरे । तर, उनको नियत र कर्म खराब भएकै कारण आज उनी जेलमा छन् । धर्मको बारेमा राम्रै कुरा गरेका थिए आसाराम बापू तर उनको नियत राम्रो थिएन । ७१ वर्षको उमेरमा बलात्कारको आरोपमा उनी पनि जेलमा नै छन् । रामपालजी महाराज सबैको मोक्षको कुरा गरेका थिए र हजारौं उनीतिर आकर्षित भएका थिए । उनको नियत पनि राम्रो भएन र जेल जान पर्यो । राम्रा कुरा बोल्नु र लेख्नु मात्र सबथोक होइन । कहाँ जाने र कुन बाटो जाने भनेर दिशा निश्चित गर्नु विचार हो भने त्यहाँ पुग्न र पुर्याउन सोहीअनुरुपको आचरण गर्नु व्यवहार हो । किताब छापी दिएर सोही किताबको बलमा नेता हुने तर आफुले सोअनुरुपको आचरण नगर्ने नेतृत्व हुन सक्दैन । नेतृत्व त्यो हो जसले विचारअनुसारको व्यवहार गर्दछ, अर्थात् कथनी र करनिमा एकरूपता कायम गर्दछ ।
नेतृत्वमाथि कयौं प्रश्नहरु उठेका हुन्छन् तर उसले ती सबै प्रश्नहरुको उत्तर दिन आवश्यक ठान्दैन भने त्यो नेतृत्व हुन सक्दैन । भौतिक जगतमा उठेका हरेक प्रश्नहरुको उत्तर दिने र जनता कार्यकर्तालाई शिक्षित बनाउनु नै असल नेतृत्व हो । लामो बहसपछि बल्लतल्ल ‘सत्यनिरूपण तथा मेलमिलाप आयोग’ बनेको छ । एक कार्यकाल सकिएर अर्को कार्यकालको लागि पनि समिति बनेको छ तर वास्तविकता बाहिर आउँदैन । वाइडवडीको कुरा संसदभित्रकै समितिले उठायो, हतारहतारमा छानवीन समिति बनेको कुरा पनि गर्नु भएको थियो । तर त्यस्को पनि वास्तविकता बाहिर आउने सम्भावना अत्यन्तै कम छ ।
अरु मन्त्रीहरुका कुरा पनि बारम्बार बाहिर आएका छन् । सरकारको छानबिन खै? पार्टीले आफ्ना लिडरहरुप्रति उठेका कुराको जवाफदेही हुने कि नहुने ? निर्दोष हुन् कि दोषी हुन् ? सबै प्रश्नहरु सस्पेन्समा छन्, खाली अन्दाजाको भरमा मनोगत ढंगले कोही पार्टी र सरकारको पक्षमा चिच्चाएको छ भने कोही विपक्षमा ।
2
मेरो कुरा यो हो कि विचार अनुसार यदि व्यवहार गरिँदैन भने हामी र रामरहिम, रामपाल र आशाराम बापुमा के फरक रह्यो ? वहाँहरुले अध्यात्मवादको बाटो हुँदै मोक्ष प्राप्ति हुन्छ भनेर ढाँट्नु भएको छ भने हामीले भौतिकवादको बाटो हुँदै साम्यवादमा पुगिन्छ भनी सर्वहाराका कुरा गरेर सोही विरोधि कर्म गरिरहेका छौं । साम्यवादको सपना देखाएर आसेपासे पुँजीवादलाई पालनपोषण र संरक्षण गर्ने, भ्रष्टाचार गर्ने र गराउनेलाई संरक्षित गर्ने हामीभन्दा अन्नाहजारे जस्ले जे बोल्छन त्यहीँ गर्छन तिनी राम्रा छन् । कुनै चर्का ठूला कुरा नगरी चप्पलमै शपथग्रहण लिने सादा जीवन भएका अरबिन्द्र केजरीवाल राम्रा छन् ।
सादा जीवन र व्यवहार गर्ने महात्मा गान्धी राम्रा छन् । हामीभन्दा भारतका भूपू राष्ट्रपति ए.पि.जे. अब्दुल कलाम राम्रा छन् जो अवकाशपछि आफ्नै काममा फर्केका छन् । ठाटबाठका साथ ठूलो महलमा राजकीय चिन्तनका साथ बसेका हामीभन्दा मन्त्री भएपछि दिइएको महलबाट गरिबका झुपडी देखेर कैयौं रात निन्द्रा नपरेपछि महल नै छाडी दिने क्युवाली नेता चे राम्रा छन् । हामी ढोंगीहरु भन्दा सादा जीवन बिताएका गणेशमान, कृष्णप्रसाद भट्टराई राम्रा थिए । सादा जीवनका आदरणीय कमरेडहरु जीवराज, मदन भण्डारी र मनमोहन अधिकारी राम्रा छन् । तल्लो वर्गको पक्षमा आवाज उठाउने र सोही अनुरुप व्यवहार गर्ने डा. गोविन्द केसी राम्रा छन् । आआफ्नो विचारको कुरा हो ।
3
जीवन र व्यवहारमा एकरुपता भएन भने के त्यो ब्यक्ति लक्ष्यसम्म पुग्न सक्दछ ? असम्भव ! त्यो कुरा विज्ञान र इतिहासले पुष्टि गर्दैन। अन्ध राष्ट्रवादको नारा बोकेर सत्तामा पुगेका जर्मन शासक हिटलर पनि म यसरी नै जान सक्छु भन्ने सोचेका थिए, शोभियत संघका स्टालीनवादीहरु पनि यसरी नै अगाडि जान सकिन्छ भनेका थिए । पश्चिममा कहिल्यै सूर्य अस्ताउँदैन भन्ने ब्रिटिश शासकहरु पनि उतिबेला यसरी नै सोचेका थिए । भारतमा आफ्नी आमाको हत्यापछि राजीव गान्धी ७० प्रतिशत विजयका साथ सत्तामा आएका थिए, उनको कार्यकालमा ‘वोफोर्सतोप ‘भ्रष्टाचारको मुद्दा उठ्यो, वरिष्ठ वकिल राम जेठमलानीले प्रश्न गर्दा राजीव गान्धीले भनेका थिए, ‘कुत्ता भोकता रहता हे हात्ती चलता रहता हे ।’ अनि जेठमलानीले त्यसको प्रतिउत्तरमा भनेका थिए, ‘कुत्ता एसे नहि भोकता हे जब कोहि चोर नजर आता हे तो कुत्ता भोकता हे ।’ उनले नवभारत टाइम्समा एक महिनासम्म प्रश्नहरु सोध्दै रहे तर राजीव गान्धीले एक प्रश्नको पनि उत्तर दिन आवश्यक ठानेनन् । आज काङ्ग्रेस आई कहाँनेर छ ! कसैले सोधेको कुनै प्रश्नले हजारौं जनताको मनका प्रश्नको प्रतिनिधित्व गरेको हुन्छ भन्ने कुरा शासक वर्गले बुझ्न सक्दैन।
4
विचार अनुसारको व्यवहार र व्यवहार अनुसारको विचारको विचमा ‘नङ र मासु, ‘खुर्सानी र पिरो’, ‘शरीर र चेतना’ जत्तिकै सम्बन्ध रहन्छ । यदि हामीले यो विषयलाई नजर अन्दाज गर्दछौं भने हाम्रो आलोचना र विरोध गर्नेहरुलाई विचारको बम वर्षा गरौं, गाली गरौं, सरापौं, दुरुत्साही गर्ने कोशिश गरौं, गीतकार, कलाकार र पत्रकारहरुका आवाज थुन्ने कोशिश गरौं या रिसले दशपटक आफ्नै कपाल चिथरौं, कोठामा पन्ध्रपटक फन्को मारौं, भिन्न विचारहरु बन्द गराउन अनेकौं प्रपञ्च गरौं, रामकुमारी मरिन भनेर फेसबुकमा लेखेर रिसलाई शान्त पारौं, आफ्ना कमजोरीहरु लुकाउन पचासौं पर्दाहरुको सृजना गरौं, अथवा आफ्नो गुणगान र प्रशंसा गर्ने पात्रहरुको सेटिङ्ग गरौं तर पनि असम्भव ! हामी अगाडि जान सक्दैनौं ।
हामीलाई थाहा छ कि यी सबै विधि र तरिकाहरु सामन्त र राजा महाराजाहरुले प्रयोग गरेकै थिए तर पनि उनको भित्रि कुरा लुक्न सकेन, त्यसैले त सत्य र यथार्थतासगँ पराजित हुन पर्यो । झट्ट हेर्दा सत्य र यथार्थ अत्यन्तै सानो देखिन्छ, वलशाली सत्ताको अगाडि सत्य बबुरो देखिन्छ । तर, त्यो यति धेरै बलवान हुन्छ कि त्यस्ले संसारभरिका अज्ञानी, अहंकारी, ढोंगी र धुर्तहरु पराजित गरेको इतिहास छ ।
5
मैले सोच्दछु कि मेरा पचासौं अङ्गप्रत्यङ्गहरु परिचालित छन् । जबस मोर्चाहरु छन् । मैले नै नियुक्ति गरेका कैयौं राजदुतहरु छन् । प्रदेश, जिल्ला, नगर र वडा सरकारहरु छन् । कयौं तहले बनेको पिरामिड आकारको मेरो नेतृत्व छ भने मेरा नकारहरु छोप्न सक्ने के मैले हैसियत राख्दैन त ? अपशोच मेरो चिन्तन र बुझाइ बेठीक रहेछ ! मुख्य कुरा त इन्जिन पो रहेछ, मुख्य कुरा त शरीरको मस्तिष्क पो रहेछ । जसरी इन्जिन खराब भयो भने गाडी अगाडि बढ्न सक्दैन, जसरी मष्तिस्कघात भएको बिरामी अगाडी बढ्न सक्दैन ठिक त्यसरी नै म वा मेरो नेतृत्व गतिवान, दुरदर्शी, इमान र निष्ठाका साथ खरो उत्रन सकेन भने हजारौं पाटपुर्जा, पचासौं संयन्त्रले पनि कुनै काम गर्दो रहेनछ ।
6
मेरो मित्र को हो ? मेरो मित्र त्यो होइन कि जो चौबीसै घण्टा मेरो नजरमा रहन्छ र मेरा प्रशंसाका फूलहरु बाधिरहन्छ । मेरा कमजोरी र अज्ञानतालाई लुकाउन आफ्नो विवेक खर्च गरिरहन्छ । मेरो मित्र त्यो हो जस्ले मेरा नकारात्मकतालाई सच्च्याउन मद्दत गर्दछ । मेरा गुरुले मेरो कापीमा भएका गल्तीहरु नसच्चाइदिनु भएको भए म कसरी अगाडि बढ्न सक्थे?मैले सबैभन्दा बढी माया गर्ने, मेरो आस्था र विश्वासको धरोहरमाथि अर्काले आलोचना गरिदिँदा हाम्रो मन दुख्नु, रिस उठ्नु मानवीय स्वभाव हो ।
त्यसैले मेरो ब्यक्तित्वको बारेमा सबैभन्दा बढी मलाई नै जानकारी छ।जसरी आफ्नो छोराको मुखमा कालो लागेको कुरा पहिला आमाले नै देख्दछिन र बाहिर जानु भन्दा पहिले सरसफाइ गरेर पठाउँछिन, ठिक त्यसरी नै मेरो नेतृत्वको नकारहरु सफा गर्न मैले नै मद्दत गर्नुपर्दछ । मैले मेरो नेतृत्वलाई सहि मार्गमा ल्याउने कोशिश गर्नुपर्दछ । मैले देखाइदिएका नकारहरुलाई मेरो नेतृत्वले आत्मसात गर्नुपर्दछ । सम्झनुहोस कि यदि उसले आत्मसात गर्नुको साटो रिसाउँछ र मलाई शत्रु ठान्दछ भने अब मेरो आदर्श पुरुष ढल्यो किनकी उसले कमजोरि सच्चाउनुको सट्टा गल्तिहरु थप्दै जान्छ, औषधि सेवन गर्दैन र एकदिन मेरो नेतृत्व वैचारिक, सांस्कृतिक र राजनैतिक रुपमा पतन हुन्छ ।
7
मैले यसरी सोच्न सकिनँ । मैले सोचे कि मेरो नेतृत्वको गुणगान र प्रशंसा गरे भने आउने दिनहरुमा मेरो नेतृत्वले मलाई नगर प्रमुख बनाउने छ । प्रदेशसभामा मलाई पठाउने छ, प्रतिनिधिसभाको टिकट मलाई नै दिनेछ, मलाई राजदूत बनाई दिने छ या कुनै लाभको पदमा मलाई नियुक्ति गर्ने छ । त्यसैले मैले वहाँको मन पटक्कै दुखाउन हुन्न, चित्त दुखाउन त झन हुँदै हुन्न, आलोचनाका शब्दहरु मेरो मुखबाट फुस्कनै हुन्न । मैले त प्रशंसाका फुलहरु बाँधि रहनु पर्दछ। वहाँका नकारहरुलाई सकार हुन भनेर वाख्या गरि रहनु पर्दछ। आलोचना र नकारहरु देखाउनेहरु अरु नै छन् भन्ने मैले सोच राखे, तर अपशोच प्रायः सबैले यसरी नै सोचेका रहेछन, यहि तरिकाले बाजी मार्न सकिन्छ भन्ठानेका रहेछन् । त्यसैले त हजारौं प्रशंसाका फुल मात्र वर्षाएका रहेछन् । त्यसैले वहाँलाई सचेत गराउने र नकारहरुको औषधि दिने पात्र कोहि देखा परेन किनकी औषधि दिनेहरु शत्रुको कित्तामा पर्दछन भनेर हामीले नै नेतृत्वलाई वशिभुत गराएका थियौं ।
8
मैले यसरी पनि सोचे कि जीवनभर कमाएको विचार, योजना र सोचहरुलाई छाडेर बडो जुक्तिका साथ कैयौं चिजहरुमा सहमति र सम्झौता गरेर बनाएकाे यो भब्य महल, यो हजारौंको आसाको केन्द्र, म बोली दिनाले, मैले आलोचना र कमजोरी देखाइदिनाले यो महल चर्कन सक्छ । टुट्न सक्छ । भत्कन सक्छ । त्यसैले यो भब्य महल बचाउनको लागि मैले बोल्नु हुदैन । किनकि यो भब्य महल छ र त म पनि छु, यो महलमा मेरो पनि भविष्य जोडिएको छ । त्यसैले म बोल्नु हुँदैन। यसकारणले पनि म बोल्नु हुदैन कि म वैकल्पिक ठाउँमा उभिएको छु, त्यसैले चालीस प्रतिशतको लाइटर छिमेकीको घरमा आगो लगाउन व्यवस्थापन गरिएको हो भन्ने वहाँको भनाइलाई आत्मसात गरेको थिएँ । अरुको घर पोल्ने अपराधिक मानसिकता भएको लाइटरले आफ्नो घर पनि पोल्न सक्छ भन्ने कुरा मैले ख्याल गर्न सकिनँ । काश !त्यसैले मैले मेरो नेतृत्वलाई बचाउन सकिनँ ।
9
अन्त्यमा मेरो भनाइको निश्कर्ष यो हो कि विचार र व्यवहारको तादम्यताबिना गन्तव्यमा पुग्न सकिँदैन मात्र होइन कि काठमाण्डौको सपना देखाउने गाडी रोल्पा रुकुमतिर कुदाउने नियतले दुर्घटना नै हुने कुरा निश्चित छ । सबैले यसरी नै सोचौं कि।।
The post राजनीतिमा विचार र व्यवहारबीचको अन्तरसम्बन्ध appeared first on Sajha Post.