Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर

$
0
0

‘कोही त भने जहाजमा हरर, कोही त भने पसीना तरर, हाम्रो नेपालमा ।
कोहीको घरमा डाक्टरको चाकरी, कोही त मर्छन अस्पताल नहेरी, हाम्रो नेपालमा ।’

शास्त्रहरूबाट ज्ञान र शासकहरूबाट जमान झिकिदिने हो भने, के बाँकी रहला ? एउटा सामान्य मान्छेले त्यसको यथार्थ चित्र शब्दमा उतार्न निकै गाह्रो छ । तर, कोरोनाभाइरसको संक्रमणको कारणले संसारको जनजीवन सङ्कटमा परेको बेलामा नेपाली भूगोलभित्र केही असुहाउँदिला र पैशाचिक गतिविधिहरू बाहिर आइरहेका छन् । सम्भवतः माथि भनिएको जस्तो शास्त्रहरूबाट ज्ञान र शासकहरूबाट जमान झिकिदिँदाको यथार्थ चित्र यस्तै हुन्छ होला ।

प्रसङ्ग हो, कोरोनाभाइरस अथवा कोभिड–२०१९ संक्रमण र नेपालको संघीय सरकारको भूमिकाको । छिमेकी देश चीनको उवावे प्रान्तको उहान शहरबाट फैलिएको कोरोनाभाइरस नामक एउटा सूक्ष्मातिसूक्ष्म वस्तुले विश्वलाई हावाकावा खेलाइरहेको छ । मै हूँ भन्ने प्याथलोजिष्टहरूको पनि दिमाग खराब भएको छ । विज्ञान, प्रविधि, शक्ति, सुविधा सबै हिसाबले अतिसम्पन्न युरोपेली र अमेरिकी मुलुकहरूले सबैभन्दा धेरै मानवीय क्षति व्यहोरिरहेका छन् ।

वैज्ञानिकहरूले यसलाई काबुमा ल्याउनेबारे तीनवटा कुरा सुझाएका छन् । पहिलो र सबैभन्दा उत्तम– भ्याक्सिनेशनको आविष्कार । जो तत्काल सम्भव मानिएको छैन । दोस्रो र गाह्रो– संक्रमण फैलन नदिएर काबुमा ल्याउने । त्यसको निम्ति अनिश्चितकालसम्म लकडाउनको निरन्तरता । तेस्रो र जोखिमपूर्ण– हड इम्युनिटी, अथवा संक्रमणलाई खुल्ला छोडिदिने कोरोनाभाइरसलाई जित्न सक्नेहरू बाँच्ने, नसक्ने जति मर्ने ।

पोखरामा जन्मिएका न्यूयोर्कका एकजना नेपाली मूलका सर्वसाधरण अमेरिकन भन्थे– ट्रम्प प्रशासन मानवीय क्षतिप्रति पटक्कै चिन्तित छैनन् । उसलाई चिन्ता इकोनमीको परेको छ । किनभने संक्रमित हुने र मर्नेहरू नियो–अमेरिकनहरू हुन् । विशुद्ध अमेरिकनहरूलाई संक्रमणले त्यत्ति छोएको छैन । श्रम गर्ने र उत्पादन गर्ने नियो–अमेरिकनस्, बायो–सेक्युरिटीकासाथ घरमा बसिबसि कोरोनालाई जित्ने पियोर अमेरिकनस् । बाँचियो भने कुनै दिन भेट होला ।

अमेरिकाको संक्रमणको गति नियन्त्रण भन्दा बाहिर गएको देखिन्छ । र, त्यहाँको सरकार अझैपनि लकडाउनको पक्षमा छैन । अथवा अमेरिकाको ट्रम्प प्रशासन तेस्रो विकल्प, हड इम्युनिटीको पक्षमा देखिन्छ । यसर्थ भ्याक्सिनेसन तुरुन्त पत्ता नलाग्ने हो भने अहिलेको स्थितिमा ठूलो मानवीय क्षति हुने देशमा अमेरिका पर्ने कुरा पक्का छ ।

तर, नेपालजस्ता विकासोन्मुख देशहरूले भ्याक्सिनेसनपनि पत्ता नलाग्ने र लगडाउनपनि थाम्न नसक्ने अवस्था आयो भने के होला ? आहारा खोज्दै सडकमा निस्किएका, देश खोज्दै सीमानामा भौतारिएका, ओखतीमूलो खोज्दै सडकपेटीमा ओछिएका गरीब, निमुखा, पहुँच नभएका जनताहरूको पीढा बालुवाटारका सुकुम्बासीहरूलाई हजम भैरहेको छैन ।

पुलमा काँडेतार तेर्स्याएर, भोको आङमाथि घङारुको लौरो बर्षाएर, अस्पतालको दैलो लगाएर कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सकिएला ? कि संक्रमणको खतरा अरु बढ्ला ? लकडाउनको व्यवस्थापनप्रति संघीय सरकारको ध्यान रत्तिभरपनि भएको देखिदैन । उसको ध्यान त अर्थ आर्जनतिर पो गएको छ ।

‘कोही त भने जहाजमा हरर, कोही त भने पसीना तरर, हाम्रो नेपालमा ।
कोहीको घरमा डाक्टरको चाकरी, कोही त मर्छन अस्पताल नहेरी, हाम्रो नेपालमा ।’

आजका सत्तासीन कामरेडहरूलाई उपर्युक्त गीत कत्तिको याद छ ? थाहा भएन । तर, पक्का हो । अहिले यो गीत सम्झिने फूर्सद उहाँहरूलाई छैन । कुनैबेला उहाँहरूको जिब्रोमै झुण्डिएको गीत हो, यो । आन्दोलन, क्रान्ति र निर्वाचनको बेला जनताको भावनासित खेल्न यो गीतको भरपूर प्रयोग गरिएको थियो ।

विरेन्द्र कटुवाल

आज परिस्थिति फेरिएको छ । हिजो क्रान्तिकारीहरूको संगीतमा जनताका यस्ता गीतहरू गाइन्थ्यो । किनभने जनताको भावनालाई लिस्नु बनाएर सत्तामा जो उक्लिनु थियो । आज चाकरीवाजहरूको संगीतमा जाल, झेल, हत्या, यौनक्रीडा, भ्रष्टाचार, कमिशन र दलालीका गीतहरू गाइन्छ । सुनिँदै छ, बाबु कामरेडहरू झण्डा हल्लाउँदै सरकारी सवारहरूमा, छोरा कामरेडहरू कालो धन्दा समाल्दै राष्ट्रिय झण्डाबहाक जहाजहरूमा ।

गाउँबस्ती र देशका सीमानाहरूमा ठहर–ठेगाना हराएका नेपाली जनताहरू देश खोजिरहेका छन् । ज्यामी, खेताला, श्रमिक र दूधेबालकहरू ‘कोरोना–भाइरसको आक्रमणले भन्दापनि भोकले मरिने हो कि’ भन्ने चिन्ताले सुकिरहेका छन् । ज्यामी, मजदूर, खेताला, गोठालाहरूको जनजीवनमा यत्रो ठूलो संकट परेको बेलामा पनि, तथाकथित मजदुर नेताहरू सरकारमा बसेर कमिशन र भ्रष्टाचारका गीतहरू गुनगुनाइ रहेका छन् ।

माफ गर्नु होला । संघीय सरकारको यस्तो प्रतिकुल भूमिकाको बावजूद पनि केही स्थानीय सरकारहरू, प्रहरी जवानहरू, स्वास्थ्यकर्मीहरू, सामाजिक संघसंस्थाहरू अत्यावश्यक पिपिई र आधारभूत स्वास्थ्य सामग्रीहरूको अभावमापनि जनताको सेवा र सुरक्षामा जुटिरेका देखिन्छन् । कोही स्थानीय स्रोत र साधनहरू जुटाएर हुँदाखाने वर्ग र समुदायलाई राहत वितरण पनि गरिरहेका छन् । यी र यस्ता संस्थाहरू मिडियामा त्यत्ति आउँदैनन्, उनीहरूको प्रचारबाजी पनि हुँदैन । प्रचारबाजी र मिडियामा तिनै आउँछन् जो करोडौैं घोटाला गर्छन्, र एकझोला माक्स वितरण गरेको समाचारको हेडलाइन बन्छन् ।

ती व्यक्ति र ती संस्थाहरू नै वास्तविक रूपमा जनताका हिरोहरू हुन् जो विश्वव्यापि संकटको घडीमा आ–आफ्नो ठाउँबाट अहोरात्र खटिरहेका छन् । जुटिरहेका छन् । उहाँहरूलाई सलाम गर्नैपर्छ । उहाँहरूप्रति हृदयबाटै आभार प्रकट गर्नैगर्छ । हार्दिक नमन !

समाजमा तपाईंहरूजस्ता केही असल मान्छेहरू हुनुहुन्छ, त्यसैले हामी विदेशी भूमिमा बसेरपनि केही आश गर्न सकेका छौं । र, यो आलेखमा ती अप्रचारित हिरोहरूप्रति हृदयबाट आभार व्यक्त गर्दै संघीय सरकारप्रति केही विमतिहरू पस्किने अनुमति चाहन्छु ।

भन्नै पर्दैन कि हरेक समाजमा धमीलो पानीमा माछामार्ने कुत्सित उद्देश्य बोकेका मान्छेहरू हुन्छन् । तर, भन्नै पर्छ कि बर्तमान संघीय सरकार एकमात्र यस्तो ऐतिहासिक सरकार होला जस्को एकमात्र कुत्सित उद्देश्य नै धमीलो पानीमा माछामार्ने मात्रै हो । यही कठोर अभियोगका साथ केही गुनासाहरू पस्किन्छु ।

सत्य हो कि अल्पसङ्ख्यक, गरीब, ज्यामी, खेताला, गोठाला, श्रमिकहरूको शान्तिपूर्ण आवाज नेपालको राज्यसत्ताले सुनेको इतिहास भेटिदैन । आन्दोलन र क्रान्तिको नाममा शहीदहरू मन्साइन्छ । माथि उल्लेखित गीतहरू गाइन्छ । तर, जब क्रान्तिकारीहरू सरकारमा पुग्छन, उनीहरू बहिरा हुन्छन् । गरीब दुःखीको पीरमर्का, साह्रोगाह्रो सुन्दैनन् । नेकपा नेतृ रामकुमारी झँक्रीकै शब्द सापटी लिएर भन्ने हो भने, उनीहरू दलाल पूँजीपतिको संरक्षण गर्ने कवचमात्रै बनेका छन् ।

म यो आलेख लेख्दै गर्दा साउदी अरबको जेद्धामा छु । विश्वव्यापि महामारीको बेला मनमुटुमा घरपरिवारलाई राखेर पराइभूमिमा बस्न त्यत्ति सजिलो छैन । नेपाल सरकारको भूमिका हेर्दाखेरी झन अत्यास लाग्छ । नाबालक बच्चाहरू अस्पतालको प्रारङ्गणमा निमोनियाँले मरिराखेका छन् । डाक्टर साहेबहरू बच्चा भर्ना गर्न इच्छुक देखिदैनन् । १४ दिने क्वारेन्टाइन सकेर हातमा नेगेटिभ रिपार्ट बोकेको सर्वसाधरण सडकमा अलपत्र छ । घर जान पाउँदैन ।

संसारमा कोरोनाभाइरसको माहामारी छ भनेर अन्य रोगका जीवाणु, कीटाणुहरूपनि क्वारेन्टाइनमा बस्ने भन्ने होइन । उनीहरू आफ्नो काम गरिरहेकै हुन्छन् । त्यसोभएको हुनाले अन्य रोगका बिमारीले उपचार पाउनु पर्छ कि पर्दैन ? अस्पतालबाट डिस्चार्ज भएको बिमारी र क्वारेन्टाइनको अबधी पुरागरेको नागरिकले घरजान पाउनु पर्छ कि पर्दैन ? इम्युनिटी पावर बढाउँन हरिया सागसब्जी, फलफुल, दूधजस्ता बस्तुहरू अत्यावश्यक हुन्छ । त्यस्ता खाद्य वस्तुहरू लामो समयसम्म स्टोरेज गर्न सम्भवपनि हुँदैन । भने, ती वस्तुहरूको वायोसेक्युरिटीका साथ बिक्रीवितरणको व्यवस्था गर्नु संघीय सरकारको काम हो कि होइन ?

संसारले भोगेको अनुभवले के सिकाउँछ भने, सिम्टस्मस देखिने बित्तिकै बायोसेक्युरिटीका साथ भेन्टिलेटरमा राख्ने हो भने, ८० प्रतिशत बिरामी बचाउन सकिन्छ । तर, नेपालमा प्राथमिक जाँचको त कुरै छोडौं, जरो आएको र खोकी लागेको भन्ने बित्तिकै डाक्टरहरू छिःछिः र दुरदुर गर्न थाल्ने, प्राइभेट क्लिनिकहरू ढोका थुनेर भाग्ने, यस्तो व्यवहारले बाँच्ने उम्मीद भएको बिमारीपनि अस्पतालको मुखै नदेखि मर्नुपर्ने स्थिति सृजना हुँदैछ ।

धेरैलाई लाग्दो हो, विदेशमा बसेर आफ्नो देशको बदख्वाइँ गर्दैछ । किमार्थ होइन । बरु, यत्ति भन्न चाहेको हुँ कि नेपाल अझैपनि सुरक्षित छ । कोरोनाको त्रासका कारण समान्य बिमारीहरूलाई नमारौं । सुनिदै छ, हिजो गाउँ नै पिच्छे ह्वाइँह्वाइँ र हुइँहुइँ गर्दै दौडिरहने एम्बुलेन्सहरू आज फोन स्विचअफ गरेर बसेका छन् । प्राइभेट अस्पतालका सञ्चालकहरू तालाचाबी लगाएर सुइँकुच्चा ठोकेका छन् । यस्तो अवस्थामापनि सराकार कमिसनको छिर्के दाउँ हेरेर बसेको देख्दा, कस्को मन अशान्त हुन्न होला ?

त्यसो त डा. गोविन्द के.सी. को अनसनलाई उपहास गर्दै उनलाई पागल घोषणा गर्ने संघीय सरककारको वर्गाीय चरित्र र पक्षधरता उतिबेलै उजागर भएकै थियो । आज कोरोनाभाइसरको विश्वव्यापी संकटले उनीहरूको वर्गीय पक्षधरता व्यवहारिकरूपमा पुष्टि मात्रै गरेको छैन । यिनीहरूको अमानवीय छविपनि यसपटक छर्लङ्ङिएको छ । माथि गीतले भनेजस्तै उनीहरूको घरघरमा डाक्टरहरूको चाकरी छ । अस्पतालको मुख नदेखि मर्नुपर्ने विडम्बना फेरिपनि तिनै ज्यामी, खेताला, गरीब र दुःखीहरूकै भागमा परेको छ ।

यो बीचमा सरकारी पक्षका केही मान्छे र सङ्गठनहरूले प्राइभेट अस्पतालहरू कब्जा गर्ने । अनुमति रद्दगर्ने । जस्ता लोकप्रिय स्टाटसहरू लेखेर सामाजिक सञ्जालमा पोष्ट गरे । शेयर र लाइकपनि धेरै आए । केही गरि पो हाल्छन कि जस्तोपनि भयो । तर, परिणामहरूले के देखायो भने ती स्टाटसहरू पोष्टिङ्ग गर्नुको सार नै यत्ति थियो । र, त्यो सम्भवतः जनआक्रोशलाई मत्थर पार्न स्वास्थ्य माफियाहरूकै सरसल्लाहमा गरिएको हुनसक्ने प्रवल सम्भावना देखियो । किनभने सरकार, नेकपा र त्यसका जनवर्गीय संगठनसित त्यो इच्छाशक्ति भएको भए, अहिलेसम्म हातमा दही जमाएर किन बस्थे होलान र ?

किन यस्तो भैरहेको छ ? सबैलाई थाहा छ । सीमानामा भोकभोकै देश खोज्नेहरूको भीडमा, सडकमा नाङ्गैभुतुङ्गै राहात खोज्नेरूको जमातमा, बन्द अस्पतालको चउरमा अन्तिम सास लिदैगरेको नावालक र बुढाबुढीहरूको खातमा मन्त्री र उच्चपदस्थ व्यक्तिहरूका आफ्ना मान्छेहरू छैनन ।

कुनैसमय उपर्युक्त गीत हरेक नेपालीको ओठओठमा झुण्डिएको थियो । सबै जना गर्भले गुनगुनाउँथे । आजफेरि सत्तामा बसेर उक्त गीतलाई उपहास गर्ने कामरेडहरूको सङ्ख्या ह्वात्तै बढेको छ । यो गीतको उपहास हुनु भनेको नेपाली जनताको उपहास हुनु हो । संघीय सरकारलाई अनुरोध छ, ‘आफू जन्मिएको, हुर्किएको धरातल नबिर्स र माटोको उपहास नगर ।’
(हालःसाउदी अरव, जेद्धा)

The post कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles