मानव समाजमा कारोना जस्ता भयानक महामारीहरु लगातार किन बढिरहेका छन् ? यस्ता चुनौतिका आधारहरु के के हुन् ? चुनौतीहरुलाई कसरी समाधान गर्ने ? अवको मानव समुदायको कार्यदिशा र योजना के हुनु पर्छ ? भन्ने विषयमा गहन छलफल र वहस गर्नु पर्ने वेला भएको छ ।
कोरोना के हो ?
तिव्र गतीमा सर्ने कोरोना एक घातक प्रकारको खतर्नाक सुक्ष्म जीवाणु हो । नयाँ प्रजातिको यो भाईरस मानिसको रौं भन्दा नौसय गुणा सानो हुन्छ । छिटो सर्ने र उपचार संभव नभएकोले यो निकै डरलाग्दो मानिएको छ । कोरोना लगायत जति पनि जिवाणुहरु छन् ती प्रकृतिमा यत्रतत्र सर्वत्र पाईन्छन् । विज्ञहरुका अनुसार ती मध्ये कतिपय रोगका जिवाणुहरु मानवीय लापर्वाहीको कारण तथा हावा, पानी, माटो, खानापान, फोहरमैला, रसायन, विषादि आदीको माध्यमबाट उत्पति र विस्तार हुने गर्दछ । प्रकृतिको अचाक्लि दोहन, विभिन्न प्रकारका जीवजनावरहरूको अवैध व्यापार, नाफाको लागि गरिने कुनै पनि वस्तुको अव्यवस्थित तथा लापर्वाहीपूर्ण कारोबारले कोरोना जस्तो महामारीको विकास र विस्तार भएको हो । कोरोना यसरी फैलनुमा जनसंख्या वृद्घि, शहरीकरण, यातायात सञ्जालको विस्तारलाई पनि अर्को कारण ठानिएको छ ।
एकाथरी मानिसहरुले कोरोनालाई हल्का रुपमा लिँदै सजिलै पचाउन सकिने सामान्य रोगको रुपमा व्याख्या गर्दै आईरहेका छन् भने अर्कोथरीले मानव ईतिहासकै भयानक चुनौतिको रुपमा व्याख्या गरेका छन् । कोरोनालगायत पछिल्लो अवधिमा देखा परेका एड्स, ईबोला, सार्स, मर्स, स्वाईन फ्लु, बर्ड फ्लु, सुगर, प्रेसर, क्यान्सर जस्ता घातक महामारीहरुकोे मुख्य कारण मानवीय लापर्वाहीलाई नै मानिएको छ । विगतमा प्लेग, विफर, हैजा जस्ता रोगका जिवाणुहरु के कस्तो कारणले उत्पति र विकास भए त्यो अध्ययनकै विषय होला । तर ग्लोबल वार्मिङ, जलवायु परिवर्तन र पर्यावरणीय गिरावटको परिवेशमा जन्मेको कोरोना विगतको महामारीको तुलनामा निकै डरलाग्दो रुपमा देखा परेको छ । यदि आजको प्रणाली र यस्का नेतृत्वकर्ताले यस मुद्दालाई विश्व तापक्रम वृद्घिको मुद्दालाई जस्तै सामान्यीकरण गरेर घटनाक्रमलाई अन्यत्र मोड्न कोशिस गरे भने यस्को परिणाम भयानक हुन सक्छ ।
कोरोनाको ईपिसेन्टर
विश्व स्वास्थ्य संगठन लगायत कतिपय संघ संस्थाहरुले चाईना पछि कोरोनाको अर्को केन्द्र दक्षिण एसिया हुने र सरकारी प्रबन्धको अभावमा लाखौं मानिसहरु हताहत हुन सक्ने अनुमान गरे । त्यसपछि नेपाल लगायत पूरै दक्षिण एसिया आईसोलेसन, क्वारेन्टाईन, सामाजिक दूरी र लकडाउनको नीतिमा गयो । तर, विज्ञहरुको अनुमानविपरीत युरोप, अमेरिका, अष्ट्रेलियालगायतका विकसित राष्ट्रहरु कोरोनाको नयाँ ईपिसेन्टर बन्न पुगे । जहाँ आज महामारीबाट मर्नेहरुको दैनिक संख्या कुनै पनि भयानक युद्घले गरेको नरसंहार भन्दा कम छैन । यसको मतलव कोरोना भाईरसको विश्व आतंक बढेको बढ्यै छ । दक्षिण एसियामा पनि कोरोना त आयो तर सोचे जस्तो भयाभह देखिएको छैन, जुन पश्चिमा देशहरुमा देखिदै आएको छ । सरकारहरुले बेलैमा अपनाएको सजगता या मानिसहरुमा भएको रोग प्रतिरोधात्मक क्षमताको कारणले सायद यो दक्षिण एसिया सजिलै प्रवेश गरेन । तर यतिबेला विकसित देशहरु कोरोनासँगको कठोर लडाईमा व्यस्त छन् ।
कोरोनाको कारण र परिणाम
कोरोनाको ईपिसेन्टर अविकसित भन्दा विकसित देश नै किन बन्न पुगे ? गरिबी, अभाव, गुणस्तरहीन खानपान र असैह्य प्रदुषण हुँदाहुँदै पनि दक्षिण एसियामा सोचे जस्तो महामारी किन आएन ? भन्ने विषयमा आज संसारभर व्यापक मन्थन चलिरहेको छ । केही विज्ञहरुले दक्षिण एसियाका मानिसहरु श्रम र पसिनामा भिज्ने गरेको, अपेक्षाकृत ताजा खानपिनको आदत भएको, पर्यावरणीय अवस्था अझै प्रतिकूल भै नसकेको, प्राकृतिक अर्थात् जरिबुटी उपचार पद्घति कायम रहेको कारणले रोग प्रतिरोधात्मक क्षमता ज्यादा रहेको बताउँदै आएका छन् ।
कसैले झरीबादल, उकाली ओराली, जाडो गर्मीजस्ता पर्यावरणीय प्रतिकूलतासँग जुधेर बस्न सक्ने क्षमता आर्जन गरेको कारणले यतामा मानिसहरुमा महामारी नसरेको विश्वास गर्छन् । सम्पन्न देशका मानीसहरु धन र प्रविधिको उच्चतम प्रयोगले विकसित त भए । तर भद्दा, अप्राकृतिक र सुविधाभोगी जीवनशैलीको कारण निरन्तर शारीरिक क्षमता गुमाउँदै गएका हुन्छन् । त्यसैले पनि विकसित देशहरु कोरोनाको नयाँ ईपिसेन्टर वन्न पुगेको विश्वास गर्नेहरु धेरै छन् । यस्तो अवस्था आउनुको पछाडि निम्न कारणले काम गरेको छ ।
१. मान्छे र आजको विश्व व्यवस्थाले विज्ञान र प्रविधिमा जुन अभुतपूर्व छलाङ मारेको छ, त्यो मानव जातिकै इतिहासमा अभुतपूर्व चामत्कारिक आविस्कार भएको कुरामा दुईमत छैन । विशेषगरी पछिल्लो दुई शताव्दीको अवधिमा त मानिसहरुले सूचना, सञ्चार, यातायात, कृषि, स्वास्थ्य, शिक्षा, हातहतियार र खगोल विज्ञान लगायतका क्षेत्रमा अभुतपूर्व खोज, अनुसन्धान र विकास गरेका छन् । विकासको यो मोडेलले मानिसलाई एकातिर प्रकृतिसँग अलग्याउँदै लगेको छ भने अर्कोतिर पर्यावरण नराम्ररी बर्वाद भएको छ । पुँजि र सम्पत्तिको गलत मान्यता र प्रयोगले मानवता हराईरहेको छ । जसको कारण आज समाजमा भयानक चुनौतीहरु थपिदै गएका छन् । तर पनि विश्वका प्रायःजसो राष्ट्रहरु विकासको यही मोडेलमा जान हतारो गरिरहेका छन् ।
२. विगतमा विकसित देशहरुले मानिसलाई कृषीवाट झिकेर उद्योगमा लगाए । रसायन, विषादि र हाईब्रिड खेती गर्न सिकाए । खानाको लागि तयारी प्याकेटको विकास गरे । घर कार्यालय र गाडीमा भएको वातानुकुलितको व्यवस्थाले मान्छेलाई जाडो र गर्मीको अनुभव हुन छाड्यो । जताततै विस्तार भएको यातायात सञ्जालले मानिसलाई हिड्नै नपर्ने बनायो । भर्याङ चढ्नै नपर्ने, उकालो ओरालो गर्नै नपर्ने, झरीबादल सहनै नपर्ने व्यवस्था मिलायो । सामान्य रुघाखोकीमा समेत औषधि खानुपर्ने बानीको विकास गराईयो । पुँजी र प्रविधिको यस्तो विकास भयो कि एकथरी मान्छेले श्रम नै नगरी खान पाउने सुविधा पाए । अन्ततः यसले मान्छेलाई प्राकृतिक जीवनशैलीवाट मात्र अगग्याएन बरु उल्टै मान्छेले रोगसँग लड्ने क्षमता गुमाउँदै गयो । त्यसपछि मानिसहरु सामान्य भनिएको कोरोनासँग पनि जुध्न नसक्ने अवस्थामा पुगे । कतै हाम्रो विकास आफ्नै विरुद्घमा त भईरहेको छैन ? अब सोच्नु पर्नेबेला आएको छ ।
३. मानिसले विकासको परिभाषा खोज्दै जाँदा, आफू प्रकृतिको एक अंश भएको र प्रकृतिसँगको अन्तरसम्वन्धमा मात्र आफ्नो अस्तित्वको रक्षा हुने कुरा बिर्संदै गए । प्रकृतिलाई जति दोहन गर्यो त्यति नै विकास र सामाजिक सुरक्षा हुन्छ भन्ने गलत मान्यता स्थापित गरियो । प्रकृतिका सबै घटनाक्रम भन्दा आफूलाई उच्च ठाउँमा राखेर मान्छेले जिवनको आधारभूत पर्यावरणीय तत्वहरु जस्तै हावा, पानी, माटो, ताप, प्रकास, जैव विविधतालाई लगभग विनास नै गरे । परिणामस्वरुप मानिस लगायत सम्पूर्ण जैव–जीवन नै संकटमा फस्दै गयो ।
४. आजको मानव समुदायको मुख्य चुनौती ग्लोबल वार्मिङ, जलवायु परिवर्तन, पर्यावरणीय गिरावट र अमानवीयकरण हुन आएको छ । धनी र गरिबबीचको बढ्दो असमानता, आतंकवाद, शरणार्थी समस्या, युद्घ, हिंसाजस्ता चुनौतीहरु आजको प्रणालीले पैदा गरेको भयानक संकटहरु हुन् । बेलैमा बुद्घी नपुर्याए मानव समाजले अझै भयानक संकट व्यहोर्नु पर्ने हुन सक्छ । मानवले विगतमा कतिपय प्राकृतिक महाविपत्तिहरु नव्यहोरेका होईन् तर पछिल्ला कालखण्डमा देखापरेका कोरोना लगायतका महामारीहरु मानवीय लापर्वाहीले पैदा गरेका हुन् । विकास र समृद्घिको नाममा उत्पादन वृद्घि, आय वृद्घि र नाफालाई मात्रै केन्द्र बनाउँदै जाने हो भने आगामी दिनमा यो भन्दा भयानक चुनौतीहरु देखा पर्न सक्छन् ।
धन र सत्तालाई सर्वोच्च ठान्ने आजको प्रणालीको केन्द्रीय विषय हो । तर प्रकृति-मानव केन्द्रित जनअभियानको विचारमा जीवनको सर्वोच्च मूल्यवान वस्तु भनेको पर्यावरणीय तत्व हुन । त्यो भनेको शुद्घ हावा, शुद्घ पिउने पानी तथा शुद्घ भोजन हुन् । जो बिना जीवनको अस्तित्व रहन सक्दैन । तर हाम्रो प्रणाली र यसको नेतृत्वलाई यसबारे त्यति चासो छैन । उसलाई जीवनभन्दा अर्थव्यवस्था खराब हुन्छ कि भन्ने चिन्ता छ । सत्ता र शक्ति गुम्छ कि भन्ने मान्यता छ ।
उदाहरणको रुपमा अमेरीकी ट्रम्पलाई लिन सकिन्छ । उनी यतिखेर हजारौ मान्छेको जिवनलाई भन्दा अर्थतन्त्र कमजोर वन्छ कि भन्ने चिन्ता व्यक्त गर्दै आईरहेका छन् । संसारका धनाढ्यहरुलाई कोरोनाको खोप आविस्कार भन्दा छिटो छिटो ब्राण्ड दर्ता गरेर छिट्टै पैसा कमाउने चिन्ता मात्र छ । कुनै पनि जीवित प्राणीको पहिलो विशेषता आफ्नो अस्तित्वको रक्षा गर्नु हो । त्यस पछि मात्रै न्याय, समानता, विकास र समृद्धिको प्रश्न आउँछ । धन र नाफालाई केन्द्रविन्दू बनाउने तर प्रकृति र पर्यावरणलाई कम महत्व दिने प्रणाली कती खतर्नाक छ भन्ने कुरा आजको कोरोना संकटले प्रष्ट्र पारेको छ ।
अबको बाटो
आगामी दिनमा पनि “ग्लोवल वार्मिङ, पर्यावरणीय गिरावट र अमानवीयकरणको क्रम नरोकिएमा सन् २०५० सम्ममा विश्वले निम्न ५ घातक चुनौतीको सामना गर्नु पर्ने” प्रसिद्घ प्रकृती–मानवशास्त्री आर पी सर्राफले सन् २००८ मा नै एक भविष्यवाणी गरेका थिए । उनको भनाई अनुसार-
१) ग्लोबल वार्मिङ–जो मानव समुदायको निम्ति सवभन्दा घातक छ– यदि विश्व तापक्रम यसरी नै वृद्घि भै रह्यो भने सम्पूर्ण जैव–जगत हमेशाको लागि समाप्त हुन सक्छ ।
२) बढ्दो जनसंख्या अर्को चुनौती हो । सन् २०५० सम्ममा विश्व जनसंख्या ९.५ अरब पुग्ने अनुमान छ । जबकि हाम्रो पृथ्वीले आठ अरब भन्दा बढीको जनसंख्या धान्न सक्दैन ।
३) लगातार पर्यावरणीय गिरावट र अमानवीयकरण बढ्दै गएमा आगामी दिनमा कृषि संकट अर्को विश्व चुनौती हुनेछ । कृषि क्षेत्र घट्दै जाने र कृषिका सबै घटकहरुको अवस्था बिग्रँदै जाने सम्भावना रहेको छ ।
४) शुद्घ पिउने पानीको अभाव आगामी दिनमा मानव समुदायले व्यहोर्ने अर्को महासंकट हुनेछ ।
५) घातक एवं चुनौतीपुर्ण रोग महामारीहरुको फैलावट आगामी विश्वको लागि अर्को चुनौती बन्नेछ ।
कोभिड–१९ को महामारीले विश्वलाई एक झड्का दिएको छ । आजको प्रणाली र विश्व सरकारहरुले वेलैमा सजगता अपनाएर प्रकृतिमैत्री र जीवनमैत्री कार्यदिशा अख्तियार गरेनन भने त्यो भयानक भुल हुन सक्दछ । त्यसैले ग्रिन हाउस ग्यासका खतर्नाक मात्रालाई कम गर्न, बढ्दो प्रदूषण र घट्दो संशाधनलाई ख्याल गर्न, कृषि उपजको घट्दो गुणस्तरलाई रोक्न, भू-क्षय, जंगल फडानी, अनेकौं जैव प्रजातिको विलोपीकरण, जनसंख्या वृद्घि रोक्न, प्राकृतीक संसाधनहरुको अती उपभोग र बर्बादी जस्ता समस्याहरुको उचित निकास र प्रबन्ध गर्न प्रभावकारी कदम चाल्न ढिला भैसकेको छ ।
गरिबी, अभाव, असमानता, युद्घ, अशान्ति, मानव अधिकारको गम्भीर उल्लंघन जस्ता अमानवीयकरणका कारक तत्वहरुलाई जरैदेखि उन्मुलन गर्दै धन र सत्ताको खराब कर्पोरेट विधिलाई सच्याउनै पर्ने अवस्था आईसकेको छ । अब विश्वले धन, सत्ता र साम्राज्यको घमण्ड छाडेर प्रकृति र जीवनमैत्री बाटो अपनाउनु पर्दछ ।
जीउनको लागी अनिवार्य शर्तको रुपमा रहेको शुद्घ पिउने पानी, शुद्घ हावा, शुद्घ भोजन लगायतको क्षेत्रमा सबभन्दा बढी बजेट, खोज अनुसन्धान र रोजगारीको व्यवस्थापन गर्न सकिन्छ । तर यसको लागी सरकारहरुले घातक हतियार, युद्घ, अशान्तिको प्रवर्द्धनमार्फत् साम्राज्य खडा गर्ने होडबाजीको अन्त गर्नैपर्छ । तर दुर्भाग्यवश त्यसतर्फ कसैको ध्यान गैरहेको छैन ।
बिसौ शताब्दीको आधाआधीबाट नेपाल लगायत दक्षिण एसियामा भित्रिएको रसायनिक र विषादियुक्त खेतीलाई तत्कालीन राज्य व्यवस्थाले हुबहु लागू गर्दा आजको पुस्ताले कृषिमा भयानक समस्या व्यहोर्नु परेको यथार्थ आज हाम्रो सामु छर्लङग छ । त्यसैले उत्पादन वृद्घिको नाममा जिएमओ बिउलाई भित्र्याउने, रसायनिक तथा विषादियुक्त खेतीलाई अनुमति दिने जस्ता अस्वस्थ्यकर उत्पादन प्रणालीलाई तुरुन्त खारेज गरी सरकारहरुले प्राकृतिक खेतीको प्रवर्द्धन गर्न ढिला गर्नु हुँदैन ।
अब विश्व सरकारहरुले हतियार, युद्घ, घृणा, विद्वेस र विभेदको राजनीति छाडेर शुद्घ भोजन, शुद्घ पानी, शुद्घ हावा कायम राख्न तत्काल काम थाल्नु पर्ने अवस्था छ । प्राकृतिक खेती, प्राकृतीक उपचार, शुद्घ पिउने पानीको उपलव्धतामा सरकारले तत्काल ध्यान दिनु पर्दछ ।
विकासको नाममा विगतमा विश्व समाजले गलत बाटो अख्तियार गरेको कारण मानव समाजले धेरै दुःख पाएका छन् । पश्चिमा विकास मोडेल एकमात्र सहि र निर्विकल्प वाटो हो भन्ने भ्रममा परेर कैयौ देशहरुले प्रकृति र पर्यावरणको चरम दोहन गरिसकेका छन् या दोहनको उत्कर्षमा पुगेका छन् । कोरोनाको कहरले विश्व तवाह मच्चिरहेको बेलामा विकास मोडेलवारे नयाँ बहस हुनु जरुरी छ । अव विकास गर्दा प्रकृति र जीवन रक्षाको सवाललाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ । अबको विकासमा प्राकृतिक विध्वंशलाई कसरी रोक्ने या नियन्त्रण गर्ने ? प्रविधि भित्र्याउँदा भविष्यमा पर्न सक्ने असरहरुबाट कसरी जोगिने ? प्रकृतिमैत्री विकास मोडेलमा के कस्ता विषयवस्तु समेटिनु पर्ला ? आदि प्रश्नहरुको सहि जवाफ खोजेर मात्र विकासनीति बनाउनु पर्दछ ।
विकसित र सम्पन्न देशहरु कोरोनाको नयाँ ईपिसेन्टर बन्नुमा अप्राकृतिक जीवनशैली र प्रकृतिविरोधी विकास मोडेललाई विज्ञहरुले जिम्मेवार ठर्याउन थालेका छन् । मानिस जतिजति प्रकृतिबाट अलग्गिँदै जान्छ त्यति त्यति संकटको घेरामा पर्दैछ । त्यसैले मानिसहरुले विशेषगरी प्रकृति र जीवनमैत्री मोडेलमा जान ढिला गर्नु हुँदैन ।
अन्तमा, रोग फैलन नदिन र रोकथाम गर्नको लागि यतिखेर विश्वका अधिकांश मानिसहरु बन्दाबन्दीको अवस्थामा छन् । जताततै त्रास छ । अब मानव समुदायले गम्भीर शिक्षा लिनु जरुरी छ । वास्तवमा यी सबै आजको कर्पोरेट प्रणाली र विकास मोडेलले पैदा गरेका चुनौतीहरु हुन् । विगतमा पनि मानव समुदायमा यस्ता भयानक संकटहरु नआएका हैनन् । तर मानव मात्रको संयुक्त तागतले ती संकटहरुको समाधान सम्भव भएको थियो । आजको संकटबाट मुक्ति पाउन पनि मानव समुदायको नेतृत्व गर्ने आजको विश्व व्यवस्थाले विगतको भुलबाट सच्चिँदै एकतावद्घ भएर अगाडि बढ्नु जरुरी भैसकेको छ ।
६ वैशाख २०७७
(लेखक प्रकृति–मानव केन्द्रित जनअभियान, नेपालको संस्थापक अध्यक्ष हुन्)
The post मानिसले सिक्ला कोरोनाले दिन खोजेका यी शिक्षाहरू? appeared first on Sajha Post.