एक थरी मान्छेहरु भन्ने गर्छन्, ‘यो देश बनाउन सक्ने कोही जन्मेको छैन ।’ यो हाम्रो समाजमा रहेको निराशाको प्रतिनिधि प्रतिविम्ब पनि हो । नेपाली समाजमा अनेक किसिमका निराशा रहेका छन् । खास गरी २००७ सालमा प्रजातन्त्र, त्यसपछिको पञ्चायत अनि बहुदल र गणतन्त्र । हाम्रा अपेक्षाहरु हरेक व्यवस्थासँग थिए र छन् ।
अझै स्पष्ट भाषामा भन्ने हो भने गणतान्त्रिक नेपालको नेतृत्वसँग जनअपेक्षा धेरै थिए । समाजको सोच्ने तरिका पनि त्यहि हुने गर्छ र अपेक्षा पनि नयाँहरुसँगै हुने गर्छन् । यसकारण गणतन्त्र नेपालको नेतृत्वसँग जअपेक्षा धेरै हुनु स्वभाविक थियो । तर त्यो पूरा हुन नसकेको हाम्रो आँखा अगाडि नै छ । सरकारको खेलमा लडिबुडी खेल्दा खेल्दै गणतन्त्रका पनि दशक बितेका छन् ।
के अब नेपाली समाज यो भन्दा अगाडि बढ्न सक्दैन ? के हामी तेस्रो विश्वभन्दा केही अगाडी बढ्न सक्दैनौं ? प्रश्नहरु धेरै छन् ।
तर अब प्रश्न गर्ने मात्र होइन उत्तर खोज्ने बेला आएको छ र त्यो उत्तर आँखा अगाडि नै दिन अब ढिलो गर्नु हुँदैन । तर हामीले समाजशास्त्री म्याक्स बेवरले भनेको जस्तो चमत्कारिक सत्ता खोजेर यी सबै प्रश्नको एक साथ समाधान खोज्न थाल्यौं भने सम्भव छैन ।
विकासको एउटा प्रक्रिया हुन्छ । यसको आफ्नै गति हुने गर्छ । समृद्धिको लागि प्रथमतः नेतृत्व तहमा इमान्दार प्रतिबद्धता आवश्यक रहन्छ । सबैजना एकैपटक मर्स्याङ्दी थुन्छौं र मनकामना पुर्याउँछौं भनेर खोला किनारमा पुगेर त्यो काम सम्भव त हुँदैन । तर त्यसप्रकारको योजनामा एकसाथ हुन सक्ने हाम्रो प्रतिबद्धता भने जरुरी रहन्छ ।
पछिल्लो पटक नयाँ शक्ति एउटा अभियानको रुपमा आएको छ । लामो छलफल पछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसलाई मूर्त रुप दिँदै छन् । आफू प्रधानमन्त्री हुँदा नविनतम कार्यक्रम ल्याएका उनले काठमाडौंको सडकलाई बिस्तार गरेर हामी सबैलाई गुन लगाएका छन् । राष्ट्रिय गौरवका योजना घोषणा गर्नु उनको अर्को महत्वपूर्ण कदम थियो । १८ महिनाको कार्यकालमा पनि केही गर्छु भन्ने हुटहुटी भयो भने काम हुने रैछ भन्ने उनले गतिलो उदाहरण कामबाटै प्रमाणित गरेर देखाए ।
सरकारको खेलमा लडिबुडी खेल्दा खेल्दै गणतन्त्रका पनि दशक बितेका छन् ।
के अब नेपाली समाज यो भन्दा अगाडि बढ्न सक्दैन ? के हामी तेस्रो विश्वभन्दा केही अगाडी बढ्न सक्दैनौं ? प्रश्नहरु धेरै छन् ।
यिनै कारण र विकासप्रतिको उनको लगाव र भिजनले नयाँ शक्तिलाई विश्वास गर्न सकिन्छ । किनभने डा. भट्टराईले विकासको नारा मात्र लगाएनन् आफ्नोतर्फबाट गर्न सकिने कामहरु गरेर पनि देखाए । गणतन्त्रपछि ७ जना प्रधानमन्त्री भए । ती सबैले एक-एकवटा विकासका काम गरेको भए ७ काम त अवश्य हुने थिए । तर ती ७ जना मध्ये एकै जना भट्टराईले मात्र काम गरे र आज काठमाडौंको सडकमा हिंड्दा उनको नामै लिन नरुचाउनेहरुको मुखबाट पनि ‘भट्टराईले यो काम गरेकै हुन्’ भन्ने वाक्य निस्कन्छ ।
हाम्रो समाजको आर्थिक स्रोतको अवस्था बदलिएको छ । ३० को दशक वरिपरी नेपाली समाज पूर्णरुपमा कृषिमा आधारित थियो । त्यो समयमा नेपाली अर्थतन्त्रको करिब ७० प्रतिशत कृषिले ओगट्थ्यो भने ३० प्रतिशत अन्य विषय थिए । अब त्यो रहेन । २०७० सम्म आइपुग्दा कृषि ३० प्रतिशतमा र सेवा मुलक र उद्योग व्यवसायले अर्थतन्त्रको करिब ७० प्रतिशत ओगटेका छन् । नेपाली अर्थतन्त्रमा यहाँको व्यवसायले भन्दा रेमिट्यान्सले प्रभाव पारेको देखिन्छ । यसको अर्थ युवा शक्ति अन्तराष्ट्रिय श्रम बजारमा छन् भन्ने हो । आधा शताब्दीमा नेपाली अर्थतन्त्रमा देखिएको यो एउटा परिवर्तन हो । अर्थतन्त्रमा त परिवर्तन देखियो तर विकासमा भने देखिएन यो हामीले सोच्नु पर्ने महत्वपूर्ण विषय हो ।
मानिसले किन परम्परा देखि गर्दै आएको कृषि छोडे र सेवा मुलक, व्यवसाय र वैदेशिक रोजगारीमा गए भन्नेबारे हामीले विकासवादी समाजशास्त्रीय धारबाट अनुसन्धान गर्न जरुरी छ । यसैले नै नेपाल किन बनेन ? भन्ने प्रश्नको उत्तर सहज निकाल्न सक्छ ।
हाम्रो युवा जनशक्तिलाई विदेश जान विमानस्थलबाट रोक्न खोजेर हुँदैन । यसको लागि यहाँ उत्पादनमुलक काम गर्नु पर्छ । रोजगारी सृजना गर्न सक्नुपर्छ । औद्योगिक क्षेत्र र विकासको क्षेत्रमा काम गर्ने हो भने रोजगारी आफै सृजना हुन्छ । नेपाली उद्योगले नै सामग्री उत्पादन गर्ने हो भने विकासका काममा सहजता हुन्छ । यसरी यी दुवै एक-अर्काका परिपुरक हुन्छन् र रोजगारी सृजना गर्न सक्छन् ।
हामीसँग केही पनि नभएको होइन । यहाँ धेरै कुराहरु छन् तर यसको परिचालनको समस्या छ । दुई महाशक्ति चीन र भारको बीचमा हुँदा कुटनीतिक सम्वन्धलाई मिलाउनु पर्ने चुनौति छ । आफ्नो आन्तरिक राजनीतिलाई स्थिर बनाउनु पर्ने चुनौति छ र विकासका प्राथमिकताहरु पहिल्याउन जरुरी छ । सबैभन्दा ठूलो कुरा असल राजनीतिको आवश्यकता छ । यति गर्न सक्ने हो भने समृद्धि हाम्रै पालामा सम्भव छ । हामीले धेरै समय कुर्न पर्दैन । त्यो केही दशकमै अनुभव गर्न सक्ने गरी देख्न सकिने छ ।
के यसरी बहस मात्रै गरेर यो सम्भव होला त ? अहँ त्यो हुँदैन । हामी असल राजनीतिको लागि अगाडी बढ्नै पर्छ । असल राजनीति गर्छु भन्नेहरुलाई सहयोग गर्नुपर्छ । राजनीतिक नेतृत्वलाई मात्र दोष लगाएर मात्र पन्छिन सकिन्न । यो देशलाई सम्वृद्ध बनाउने कर्तव्य तपाई हाम्रो पनि हो । एक पटक सोचौं हामीले समृद्ध नेपाल बनाउनको लागि आफ्नो ठाउँबाट के के गर्यौं त ? अरुले गरिदेलान् भन्ने भावनाबाट मुक्त भएर एकपटक हामी सबै आफ्नो ठाउँबाट कम्मर कस्यौं भने यो देश हाम्रै पालामा सुन्दर हिमाल जस्तै बन्ने छ । त्यसको लागि हामीसँग धेरै समय पनि छैन । र हामीसँग भएको समयमा समृद्धि हात पार्न नसकिने पनि होइन ।
The post के नेपालमा समृद्धिको नेतृत्व गर्न सक्ने मानिस जन्मिएका छैनन् ? appeared first on Sajha Post.