Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

यसकारण म पनि नयाँ शक्ति

$
0
0

दोश्रो संविधानसभा चुनावमा तत्कालिन एनेकपा माओवादीको पराजय र पार्टी नेतृत्वसँगको निरन्तरको टकराव संगै ‘नयाँ शक्तिको आवश्यकता’ सम्बन्धी बहसलाई सतहमा ल्याउनुभयो डा. बाबुराम भट्टराईले । मिडियामा विभिन्न लेखहरु आए यसका पक्ष र विपक्षमा । विपक्षमा लेख्नेहरुले राजनीतिको केन्द्रमा रहन नसकेको पीडाको रुपमा पनि व्याख्या गरे डा. भट्टराईद्वारा प्रस्तावित नयाँ शक्तिको बहसलाई । जुन विषयवस्तु उठानको समय र परिस्थितिलाई मध्यनजर गर्दा त्यति अस्वाभाविक पनि लाग्दैनथ्यो ।

संविधानसभाबाट संविधान जारी भएको केहि दिनमै नयाँ संविधानलाई ‘आधा भरिएको गिलास’को संज्ञा दिदै आफुले दशकौं लगानी गरेको पार्टी र सांसद पद समेत त्यागेर फेरी चर्चाको चुलीमा आउनुभयो डा. भट्टराई । मधेशी-जनजातिको संविधानप्रतिको असन्तुष्टि र आन्दोलनलाई भारतीय उक्साहटको रुपमा चित्रित गर्दै जबर्जस्त रुपमा भारतीय दलालको आरोप लगाइयो डा. साबलाई यसपल्ट विशेषत: प्रचण्डजी नेतृत्वको पार्टी भित्रबाट । प्रचण्डले मधेशी-जनजातिको अगुवाई गर्दै आन्दोलन गर्दा राष्ट्रवादी हुने, अनि त्यहि आन्दोलनको नेतृत्वमा प्रचण्ड नरहँदा चाहि विदेशीको इशारामा हुने… कुरो बुझिनसक्नु भयो ।

डा. विवेक रेग्मी
डा. विवेक रेग्मी

बरु के-कति कारणले प्रचण्डले मधेशी-जनजातिलाई दिलाउनुभएको विश्वाश तोड्नुभयो भन्नेतिर केन्द्रित हुनुपर्ने थियो बहस । किनकी प्रचण्डजीले नेतृत्व गर्नुभएको त्यही आन्दोलनको निरन्तरको शिलशिलाले नै संविधान निर्माण रोकिएको थियो । मिडिया र सामाजिक सञ्जालमा ठूलो प्रोपोगान्डा मच्चियो बाबुराम भट्टराईको राष्ट्रवादी चरित्रलाई धुमिल गराउने मनसायसहित । तर गत एक दशकको संविधान निर्माण र शान्ति प्रक्रियालाई नजिकबाट नियालिरहेका सचेत जन-मानसको मनमा जबरजस्त प्रश्न उठ्यो – मौसम अनुसार फरक व्याख्या गर्ने प्रचण्डजीको राष्ट्रियता चाहिँ के हो त ?

जसरी संसदवादी शक्तिहरु एजेन्डाविहीन हुँदा माओवादीले नेपाली राजनीतिलाई गणतन्त्र, संविधानसभा, संघियता र धर्म-निरपेक्षतासम्म ल्याइपुर्‍यायो । आज माओवादी पनि एजेन्डाविहिन बनेको छ । नयाँ शक्तिको एजेन्डामा लत्रिनुको सिवाय कुनै अर्को विकल्प छैन यी सबै पुराना शक्तिहरुलाई जसरी पहिले कांग्रेस-एमाले माओवादीको एजेन्डामा लत्रिए ।

डा. भट्टराई माओवादी पार्टी र संसदबाट छुट्टिनु मात्र भएन- नयाँ वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको निर्माण गर्ने संकल्पसहित एउटा नयाँ यात्रामा निस्कनुभयो । सायद उमेरले एक दशकभन्दा बढी सक्रिय रहन दिँदैन होला उहाँलाई । तथापि एउटा नयाँ यात्रा गर्ने जुन संकल्प उहाँले व्यक्त गर्नुभएको छ – यो चानेचुने कुरो छैन । देशको प्रमुख कार्यकारीसमेत भैसकेको व्यक्तिले आखिर यत्रो जोखिम किन मोल्दैछ त ? सर्वत्र जिज्ञासा छ । उहाँले चालेको हरेक पाइला, उहाँले बोलेको हरेक विचार बडो गम्भिरताको साथ हेरिरहेको छ अनि सुक्ष्म विश्लेषण गर्दैछ नेपाली जनता र नेपाली समाजले ।

उहाँ नयाँ शक्तिको निर्माणमा लाग्दै गर्दा, एउटा छटपट्टि प्रस्टै देखिएको छ आफुलाई मुलधार मान्ने संसदवादी दलको खेमामा । विशेषत: आफुलाई नयाँ मान्ने प्रचण्ड नेतृत्वको माओवादी खेमामा । स्वभाविक नै छ, नयाँ शक्ति स्थापित हुँदा सबैभन्दा ठुलो अस्तित्वको संकट आउनेछ आफुलाई नयाँ मान्ने माओवादी तप्कामा ।

तसर्थ प्रश्नहरु तेर्स्याइएको छ- नयाँ शक्तिको वैचारिक धरातल के ? आन्दोलन-परिवर्तन पुरानो दलले गरेको हुनाले किन आवश्यक पर्यो नयाँ शक्ति ? के पहिलाको बाटो गलत थियो र नयाँ बाटो समातेको ? नयाँ शक्तिको राजनीतिक कार्यदिशा के ? नयाँ शक्तिको जनआधार के ? नयाँ शक्तिको सांगठनिक संरचना कस्तो ? नयाँ शक्तिको राष्ट्रियतासम्बन्धी अवधारणा के ? नयाँ शक्तिको विकास र समृद्धिको अवधारण के ? आदि/इत्यादि । यस्ता यक्ष प्रश्नहरुको तर्कपूर्ण जवाफ ले नै नयाँ शक्तिको सान्दर्भिकतालाई पुष्टि गर्ने हो ।

यसबीचमा नयाँ शक्ति नेपालले आफूप्रति तेर्सिएको प्रश्नहरु सम्बोधन हुनेगरी केहि दस्तावेज निकाल्यो । दस्तावेजले आफूप्रति सोझिएको पश्नहरुको जवाफ मात्र दिएको छैन, २१औं शताब्दीमा विश्व राजनीतिमा उदाइरहेको र स्थापित हुँदै गरेको वैकल्पिक विचारको चिरफार पनि गरेको छ । त्यस्तै आजको मार्क्सवाद, आजको पुँजीवाद र आजको नेपाली समाजको वर्ग विश्लेषण पनि निकै सटिक ढंगबाट गरेको छ । नेपाली समाजको अन्तरविरोधको किटान र अन्तरविरोध हल गर्ने विधि पनि निकै ठोस र वस्तुपरक तरिकाले आएको छ ।

खासगरी विचारको क्षेत्रमा, विभिन्न मुक्ति आन्दोलन र क्रान्तिको ‘ब्राण्ड’ नाम भजाउने तर तिनको भित्रि तत्व र ऐतिहासिकता बिर्सने पुराना शक्तिहरुको चरम अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्दै नयाँ विचार संश्लेषण गर्नुपर्ने आवश्यकतालाई खुलारुपमा राखेको छ । निश्चय पनि बजार निर्देशित ‘पुँजीवाद’ र राज्य निर्देशित ‘समाजवाद’ दुवै संकटमा छन् अहिले । दुई मध्ये कुनै एकलाई मात्र काखी च्यापेर २१ औं शताब्दीको मानव सभ्यताको समस्यालाई सम्बोधन गर्न सकिँदैन । आज लाज पचाएर सम्पत्ति कुम्ल्याउने, विलासी जीवन जिउने, नातावाद र कृपावादमा लिप्त हुने तथापि आफुलाई ‘कम्युनिस्ट’ भन्ने नेताहरुले नै नयाँ शक्तिको वैचारिक धरातलको प्रश्न उठाएका छन् ।

आखिर ‘कम्युनिस्ट’ को ट्याग झुनड्याउँदैमा के हुने रैछ त ? त्यस्तै आफुलाई लोकतन्त्रको मसिहा ठान्ने पार्टीमा हुने निषेधको राजनीतिले उनीहरुको ब्राण्ड नामप्रतिको मोहलाई जबरजस्त रुपमा कुरीकुरी गरेको छ ।

पुराना राजनीतिक शक्तिहरु एजेन्डाविहिन भएको अवस्थामा नयाँ शक्तिले जुन समयसापेक्ष ५ ‘स’ को वैकल्पिक एजेन्डा प्रस्तुत गरेको छ । यसले स्पष्ट पार्दछ कि अबको नेपाली राजनीतिको ‘ड्राईभिङ्ग फोर्स’ भनेको नयाँ शक्ति नै हो । जसरी संसदवादी शक्तिहरु एजेन्डाविहीन हुँदा माओवादीले नेपाली राजनीतिलाई गणतन्त्र, संविधानसभा, संघियता र धर्म-निरपेक्षतासम्म ल्याइपुर्‍यायो । आज माओवादी पनि एजेन्डाविहिन बनेको छ । नयाँ शक्तिको एजेन्डामा लत्रिनुको सिवाय कुनै अर्को विकल्प छैन यी सबै पुराना शक्तिहरुलाई जसरी पहिले कांग्रेस-एमाले माओवादीको एजेन्डामा लत्रिए ।

baburamदेशभित्रै विविध मुलका नेपाली जातिबीच डरलाग्दो असामान्यजस्यता र अविश्वास पैदा भएको अहिलेको सन्दर्भमा आर्य-खस, तिब्बती-बर्मेली र अस्ट्रो-द्रविड मुलका तीन क्लस्टरलाई राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गराउनुपर्छ भन्दै नयाँ शक्तिले नयाँ राष्ट्रिय एकताको आधार प्रस्ताव गरेको छ । यिनै तीन क्लस्टरबाट आलो-पालो प्रणालीबाट प्रत्यक्ष निर्वाचित कार्यकारी चुनिनुपर्छ र पूर्ण-समानुपातिक निर्वाचन प्रणालीबाट विधायिका बन्नुपर्छ भन्ने मोडेल प्रस्तुत गरेको छ जसबाट उत्पीडित जाति-समुदायले पनि राज्य-संचालन र नीति-निर्माणमा अपनत्वको भावना राख्न सक्दछन ।

परम्परागत संसदीय व्यवस्था भन्दामाथि उठेर आएको यो मोडेलबाट मात्र देशमा राजनीतिक स्थिरता कायम गर्न सकिन्छ । छ महीना – वर्ष दिन मै सरकार परिवर्तनको खेल भइराख्ने अहिलेको जस्तो शासन-व्यवस्थाले देशमा राजनीतिक स्थिरता कायम हुनै सक्दैन । र, अस्थीर राजनीतिको बीचमा देशले आर्थिक समृद्धिको फड्को मर्न असम्भवप्रायः छ ।

यसरी ‘नयाँ शक्तिको आवश्यकता’को बहस ‘व्यापक शंका’ को घेराभित्र रहेर उठ्यो र अहिले नयाँ पार्टी घोषणाको विन्दूसम्म आइपुग्दा ‘व्यापक अनिवार्यता’ को रुपमा स्थापित भैसकेको छ । तर शंका पूर्णतया मेटिएको छैन र मेटिनु पनि हुँदैन ।

संविधानसभाबाट संविधान घोषणा हुदाँसम्म राजनीतिक अधिकार प्राप्तिको लडाईमै केन्द्रित भयो नेपाली राजनीति । अबको लडाई भनेको विकास र समृद्धि प्राप्ति कै हो । अधिकार प्राप्तिको लडाई लड्न जुन संरचना बन्यो राजनीतिक पार्टीहरुको त्यसले नै समृद्धि प्राप्ति हुने कुरा वैज्ञानिक हुँदैन र सम्भव पनि छैन । तसर्थ, संरचनाको दृष्टिकोणले पनि नयाँ शक्तिको खाँचो परेको छ । पहिले भौतिक जुझारुपनको भूमिका प्रधान हुन्थ्यो भने अहिले विषय-विज्ञता, ज्ञान-विज्ञान तथा प्राविधिक सीपको भूमिका प्रधान हुन आउँछ । यसै अनुरुप नयाँ लक्ष्य हासिल गर्न नयाँ संरचनासहितको शक्ति आवश्यक छ भन्ने विश्लेषण पनि सर्वथा न्यायोचित र जायज छ ।

यसरी ‘नयाँ शक्तिको आवश्यकता’को बहस ‘व्यापक शंका’ को घेराभित्र रहेर उठ्यो र अहिले नयाँ पार्टी घोषणाको विन्दूसम्म आइपुग्दा ‘व्यापक अनिवार्यता’ को रुपमा स्थापित भैसकेको छ । तर शंका पूर्णतया मेटिएको छैन र मेटिनु पनि हुँदैन । अब गठन हुने नयाँ पार्टीले साँच्चै नै विकास र समृद्धिको लक्ष्य हासिल गरेरै छाड्ने हो कि उही पुरानै शक्ति झैँ भ्रस्टाचार, नातावाद र कृपावादमा फस्ने हो ? राजनीतिलाई समाजसेवाको माध्यम बनाउने हो कि, उद्योग-व्यवसाय जस्तो पैसा कमाउने माध्यम बनाउने हो ? भूमिगत शैलीको आर्थिक तथा वित्तीय गतिविधि सञ्चालन गर्दै जनतालाई गुमराहमा राख्ने हो कि, वित्तीय व्यवस्थापनलाई पारदर्शी बनाई सुशासनको अनुभूति दिने हो ? नेतृत्व सत्ताभोग र सम्पत्ति प्राप्तिमा लिप्त हुने हो कि समग्र देश र जनताको आर्थिक-सामाजिक रुपान्तरण गर्ने हो ? यस्ता यक्ष प्रश्नहरु अझैपनि सोझिएका छन् र सोझिरहने छन् डा. बाबुराम भट्टराईलगायतका नयाँ शक्ति अभियन्ताहरुप्रति ।

यसरी वैकल्पिक राजनीतिको विकल्प नदेखिएको वर्तमान परिप्रेक्ष्यमा वैकल्पिक राजनीतिका अभियन्ताहरुप्रति मनमा रहेका शंकारुपी प्रश्नहरु तेर्स्याउँदै म आफूपनि विकास र समृद्धि प्राप्तिको यो अभियानमा समाहित भएको घोषणा गर्दछु ।

The post यसकारण म पनि नयाँ शक्ति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles