Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

लकडाउनमा मनिषा कोइरालाका सिनेमा हेर्दै

$
0
0

लकडाउनमा के गर्ने ? अधिकांशको सुझाब त्यही पाइयो– पढ्ने, लेख्ने, व्यायाम गर्ने, योग, ध्यान, प्राणायम गर्ने, धेरै चिन्ता नगर्ने, सकारात्मक सोच राख्ने, संगीत सुन्ने, सिनेमा हेर्ने । अहो ! सिनेमा पनि अब घरघरै, कोठाकोठै, व्यक्ति र मोबाइलपिच्छे फरकफरक हेर्न सकिने चिज भएको दशकौं पुगेछ ।

कुनै समय थियो, सिनेमा हेर्न केही दिन खर्चेर योजना बनाउनु पर्‍थ्यो । पैसाको जोगाड गर्नु पर्‍थ्यो । साथीभाइसँग सल्लाह गर्नु पर्‍थ्यो । मन मिल्नेहरुको समूह बनाउनु पर्‍थ्यो । दिन जुराउनु पर्‍थ्यो । फलानाफलाना सिनेमा हेर्न गए भनेर गाउँभरि हल्ला हुन्थ्यो । सिनेमा हेरेर फर्किएपछि कैयौं दिनसम्म हेर्न नपाएकाहरुलाई कहानी सुनाउनु पर्‍थ्यो ।

त्यो एउटा समय थियो, सिनेमाबारे अनेक कुरा सुनिन्थे – तर सजिलै हेर्न पाइँदैनथ्यो । कस्तो हुन्छ होला सिनेमा ? कोही भन्थे – देवानन्द हुन्छ, अरु बेला कालो ड्रेस लगाउन बन्देज छ उनलाई । सिनेमामा मात्र लगाउन पाउँछन् । महिलाहरु कालो ड्रेस लगाएको देवानन्दलाई देखे सम्मोहित हुन्छन्, पछिपछि लाग्दछन् ।

गाउँमा तीन पत्ती खेल्नेहरु शुरुमै शर्त गर्थे, ‘राज कपुर चल्ने कि नचल्ने ?’

अर्कोले उत्तर दिन्थ्यो, ‘४२० कुरा नगर्न न’, के हो राज कपुर ? के हो ४२० ?’

सिनेमा हेर्न नपाए पनि गाउँमा सिनेमाका गीत सजिलै पुग्थे । कालो कोदोको रोटीजस्तो चक्का जब टिनको प्लेटमा फिनफिन घुम्थ्यो- माइकको मुखबाट थरिथरिका गीत गुन्जन्थ्यो । कुनै एउटा घरमा लाउडस्पिकर छ भने ४ गाउँ थर्काउने गरी बजाइन्थ्यो । तिनै गीत सुनेर कन्ठ गर्‍थ्यौं – यो फलानो फिल्मको गीत, त्यो फलानो फिल्मको गीत ।

गीत कन्ठ छ । फिल्मको नाम कन्ठ छ । हिरो हिरोइन र भिलेनको नाम कन्ठ छ । तर फिल्म हेर्न पाएको भने हैन । बरु फिल्मलाई ड्रामा बनाउँथे, स्थानीय नौटङ्की कम्पनीले । लैला मज्जनु, सुल्ताना डाँकु, मोहब्बतकी पुलती, राजा भरथरी आदिइत्यादि । हिउँदका अधिकांश रातहरु ती मञ्चन गरिन्थे । तिनै स्थानीय ड्रामा हेरेर सिनेमाको धित मार्नु पर्‍थ्यो ।

मैले हेरेको पहिलो फिल्म-राजा हरिशचन्द्र थियो । त्यो समय ‘सन्तोषी माँ’ को व्रत र राजा हरिशचन्द्रको कथा भनेपछि सिंगो समाज नै हुरुक्क हुन्थ्यो । ठूला आदर्श थिए, दुवै ।

राजा हरिशचन्द्रले सिनेमा हेर्ने धोकोको डोरो चुडाइदियो । त्यसपछि महिना दुई महिनामा सिनेमा हेर्न भाग्ने क्रम नै बस्यो । कहिले स्कुलबाट, कहिले घरबाट, कहिले गोठालोबाट । सिनेमा हेर्न जाने २ रुपैयाँ काफी हुन्थ्यो ।

मानपुरबाट झुम्का बजारसम्म हिडेर जाने हो । त्यहाँबाट इनरुवा आउन जान १०/१० पैसा, २० पैसा बस भाडा । कमल टाकिजमा थर्ड क्लास टिकट काट्न ८० पैसा । बाँकी १ रुपैया भए समोसा खायो नास्ता, नभए भोकै घर पुग्यो । यसरी नै हेरिए दर्जनौं सिनेमा । त्यो समय इटहरीजस्तो पूर्वको ठूलो बजारमा पनि सिनेमा हल थिएन ।

नेपालीमा पहिलो सिनेमा ‘सिन्दुर’ हेरेको थिएँ, धरान पुगेर । त्यो दिन झनै स्मरणीय लाग्छ । त्यो होलीको दिन थियो– एक त सडकमा यातायात त्यतिखेर कमै हुन्थे । त्यसमाथि होलीको दिन– सिनेमा हेरी सक्दा सडक सुनसानजस्तो भएका थिए । ट्याक्टर चडेर आएका थियौं इटहरीसम्म र यहाँबाट ३ घण्टा बढी हिँडेर राती घर पुगेका थियौं ।

सिनेमाबारेको त्यो सनसनी, त्यो रोमाञ्चकता आजको पुस्तामा सायदै होला ।

अँ, म कुरा गर्दै थिएँ मनिषा कोइरालाका सिनेमाको । वीपी कोइरालाकी नातिनी सिनेमाको हिरोइन हुने रे भनेपछि त्यसबेलाको नेपाली समाजमा एकप्रकारको उत्सुकता हुने नै भयो । मनिषाका लागि भिन्नै चर्चा र ग्लेमर जरुरी थिएन, कोइराला थर जोडिनु मात्र काफी थियो ।

त्यही उत्सुकताबीच ‘फेरि भेटौँला’ हेरेको थिएँ । नढाँटी भनौं– ‘झुर मात्र हैन, झुरेष्ट लाग्यो ।’ त्यसपछि मनिषाको फिल्मले कुनै आकर्षण सिर्जना गरेन ममा । हिन्दीमा उनको पहिलो फिल्म ‘सौदागर’ सुपरहिट भयो । हेरें । तर त्यो सुपरहिट हुनेको कारण मनिषा र विवेक मुसरानभन्दा बढी राज कुमार र दिलिप कुमार थिए ।

त्यसपछि उनको जम्मा २ वटा मात्र सिनेमा हेरें, हलमा गएर – अग्नीसाक्षी र खामोशी । तर यी दुबै फिल्म मैले मनिषाका लागि हैन, नाना पाटेकरको नाममा हेरेको थिएँ । नाना पाटेकर नशाजस्तो भएका थिए – अघिल्लो दशकमा विशेषतः हामीजस्ता अधवैशे दर्शकहरुको लागि ।

मैले नहेरेका नाना पाटेकरका सिनेमा विरलै होलान् । ठीक त्यही कुरा निर्देशक प्रकाश झाको बारेमा भन्न सक्छु । मैले नहेरेका प्रकाश झाका सिनेमा विरलै होलान् । नाना पाटेकर भाको, प्रकाश झाले बनाएको भए, त्यो झन् छोड्ने कुरै आएन ।

मनिषाको भूमिकाले तानेको भनेको ‘अग्नीसाक्षी’बाट हो । अग्निसाक्षीकी ‘मधु’ वा ‘सुवाङ्गी’ दुवै रुपमा मनिषाको छाप मस्तिष्कमा गहीरो रहन्छ । लगभग जीवनभरि बिर्सन नसकिने प्रकारको । त्यो एक बेजोड सिनेमा लाग्छ मलाई । पाटेकरको मात्र हैन, जैकी र मनिषाको पनि उत्तिकै बेजोड भूमिका ।

‘अग्नीसाक्षी’मा बिरलै कल्पना गरिने खालको सस्पेन्स प्रेमकथा छ । मेरो विचारमा प्रेम, विवाह र स्वतन्त्रताको भनायक द्वन्द्व । विश्वनाथका रुपमा नाना पाटेकर एक अजिवको चरित्र छन् । मनिषा दुई छन् – मधु र सुवाङ्गी । तर यी दुई रुपमा एकै मनिषाले भोगेको जीवन आकाश जमीनको फरक छ । विश्वनाथ उत्तिकै माया गर्दछ, तर दुर्व्यवहार गर्दछ, सुवाङ्गीका लागि जैकी एक साँचो प्रेम हो तर दोस्रो विवाह । फिल्म एउटा यस्तो क्लाइमेक्समा पुग्छ- जहाँ मनिषाका दुईमध्ये एक लोग्नेको मृत्यु अपरिहार्य बन्छ । त्यस्तो विन्दूमा पुगेर विश्वनाथले आफैलाई गोली हान्छ ।

खै किन हो, त्यसपछि मनिषाको फिल्म हेर्ने संगोय नै परेन ।

डम्बर खतिवडा

भाग्यले वा दूर्भाग्यले– यो लकडाउन आयो । कोरोना–लकडाउन जति आकस्मिक थियो, मेरो मनमा त्यस्तै आकस्मिक भावना आयो– यसपटक सिनेमा नै हेरे मनिषाकै हेर्छु । सिनेमा हेर्ने नाममा कति दुख्ख गरियो, कति समय खर्चियो, कति पैसा तिरियो जीवनमा, आफ्नै देशकी नायिकाले संसारकै सबैभन्दा ठूलो फिल्म उद्योगमा त्यत्रो तहल्का गर्दा आफू चाहिँ बेखबरझैं हुने ? मनले यसो भन्यो ।

तर शुरुवात कहाँबाट गर्ने ? उनको दोस्रो नेपाली भनिएको ‘धर्मा’ खोजेर हेरें – उस्तै झुरेष्ट । यस्ता सिनेमाले मनिषाको नाम र कद के धान्ला र भन्ने ठूलो डर लाग्यो मनमा । फेरि निराश भएँ । उनलाई यस्ता पाङदुरे फिल्ममा देखाउने रहर नेपालका निर्माता, निर्देशकलाई किन लागेको होला भनेर अलिअलि रीस पनि उठ्यो ।

त्यतिखेर मात्र मन प्रफुल्लित भयो जब– ‘इस्केप फ्रम तालेवान’ र ‘बम्बे’ हेरें । यी दुवै सिनेमामा मनिषाको लिड रोल छ । तर ठीक उल्टो ।

‘इस्केप फ्रम तालेवान’ की मनिषा ‘सुस्मिता बनर्जी’ हो । कलकत्ताकी एक बौद्धिक र स्वतन्त्रताप्रेमी बंगाली महिला । अफगानिस्तानबाट कलकत्ता आएको एक ‘मोनी लन्डर’ मुस्लिम युवासँग प्रेम गर्छे । बंगालीहरुको अलिक फरक प्रकारको हिन्दू भर्सन हुन्छ । एकातिर उनीहरु धर्म, परम्परामा कट्टर हुन्छन्, अर्कोतिर उदारवाद र साम्यवादजस्ता आधुनिक विचारको चर्को प्रभाव पनि हुन्छ ।

परिवारको सहमतिबिना ठाउँ न ठहरको अफगानसँग सुस्मिता बिहे गर्छे । आफ्नै मर्जीले अफगानिस्तान पुग्छे । रुसी सेना फर्की नसकेको, नाजिबुल्लाहको शासन कायम रहेको, मुजाहिद्दीनको शक्ति कमजोर नभएको र तालेवानको तीव्र उदय भइरहेको त्यो अफगानिस्तान कस्तो थियो ? त्यस्तो समाजमा एक मुश्लिमसँग बिहे गरेकी हिन्दू महिलाको अवस्था कस्तो भयो होला ? त्यो दर्शाउनु यो फिल्ममा मनिषाको मुख्य काम हो ।

त्यो भूमिकालाई मनिषाले शतप्रतिशत न्याय गरेकी छन् । यो कथाले मलाई यति धेरै छोयो कि सुस्मिता बनर्जीको जीवनी खोज्न पुगें । यो एक वास्तविक कथा हो । सुस्मिता बनर्जी नामकी एक लेखिका थिइन् । जो अफगानिस्तान पुगिन् र तालेवानको अत्याचार चरम भइरहेको समयमा भागेर फेरी भारत आइन् । त्यहाँको बारेमा ५ बटा किताब लेखिन् । जब फर्किएर फेरि अफगानिस्तान गइन् – तालेवानद्वारा नै उनी मारिइन् ।

‘बम्बे’ मा भने मनिषा हिन्दू युवासँग बिहे गरेकी मुस्लिम युवतीको भूमिकामा छिन् । अर्थात् ‘इस्केप फ्रम तालेवान’ की मनिषा ‘सुस्मिता बनर्जी’ भएजस्तै ‘बम्बे’ की मनिषा ‘सायरा बानु’ हुन् । यो भूमिकामा पनि उनी शतप्रतिशत छिन् ।

यो त्यो समयको कथा हो, जतिखेर भारतमा भाजपा र शिवसेनाजस्ता हिन्दू राष्ट्रवादी राजनीतिक शक्तिहरुको तीव्र उदय हुँदै थियो । अयोध्यामा बाबरी मस्जिद काण्ड भएको थियो । महाराष्ट्रमा वाल ठाकरेको दबदबा खपिनसक्नु थियो । मुम्बईमा हिन्दू–मुस्लिम दंगा भइरहन्थे । त्यस्तो बेला एक तेलुगु ब्राह्मण पत्रकार जो गाउँबाट मुस्लिम केटी भगाएर बम्बेमा बसेको छ, उसको स्थिति र मनोदशा यो सिनेमाले राम्रो चित्रण गर्दछ ।

मनिषाको उत्कृष्ट अभिनय बुझ्न ‘१९४२ः एक लवस्टोरी’ झन छोड्नै नहुने रहेछ । यो फिल्मको गीत–‘एक लडकीको देखा तो यैसा लगा’ आफ्नो समयको सुपरहिट गीत थियो । फिल्मको नाम र गीत सुन्दा मलाई लागेको थियो यो कुनै साधारण प्रेमकथा होला, टिनएजर युवायुवती बीचको । तर यो प्रेमकथामा ‘१९४२’ चाहिँ किन जोडियो ? त्यतातिर ध्यान नै दिएको थिएन ।

१९४२ अर्थात् ‘भारत छोडो’ आन्दोलन शुरुवात भएको वर्ष । भारतीय स्वतन्त्रता संग्रामको एक उत्कर्ष बर्ष । यो बर्ष तत्कालीन कुमाऊ–गढवाल राज्यको एक किल्ला कसौनी कसरी गुज्रियो ? त्यो कथा भन्छ यो फिल्मले । यो कुनै साधारण प्रेमकथा हैन, एक असाधारण प्रेमकथा हो । भूमिगत जीवन, फाँसी र बलिदानको बीचमा क्रान्तिकारी युवा–युवतीको समर्पित प्रेमकथा ।

यसमा मनिषा ‘राजेश्वरी पाठक‘ भएकी छिन अर्थात् रज्जु । एक क्रान्तिकारी परिवारकी मासुम युवती । उनको बुबा क्रान्तिका एक महान आदर्श हुन्– जो सेनाद्वारा मारिन्छन् । उनका दाजु अंग्रेज शासनको विरोध गर्दा फाँसीमा चडेका थिए । उनी नरेन सिंहसँग प्रेम गर्छिन् । दिवानको छोरो नरेन सिंह जस्को बुबाको जीवन उद्देश्य अंग्रेजको आशिर्वाद र रायबहादुरी प्राप्त गर्नु हो ।

तर यो प्रेममा रज्जुको कुनै अमौलिक परिकल्पना छैन । उनलाई नरेन सिंहको धन र पारिवारिक हैसियतप्रति कुनै मोह छैन । उनको पहिलो प्रेम क्रान्ति हो, जसका लागि बुबा र दाजु मारिए । क्रान्ति त्याग गर्ने मूल्यमा नरेनसँग प्रेम र विवाह गर्ने कुनै मोह छैन रज्जुमा, तर स्वाभाविक आकर्षण भने छ मनमा । यो द्वन्द्वमा राजेश्वरीको प्रेमले तानेर नरेनलाई क्रान्तिमा ल्याउँछ । क्रान्ति र प्रेम सँगसँगै हिड्न थाल्छन् ।

‘तुल्सी’ तुलसी बनेकी मनिषा र सुरजको कथा हो । दुवै अनाथ हुन् । श्रीडी साइनाथको आश्रममा हुर्किए, अनाथालयमा । त्यहीँ प्रेम गरे, बिहे गरे । उनीहरुको आफ्नो घर छैन । आश्रमकै एउटा कुटीमा बस्छन् ।

सुरज हृदयले खराब छैन तर रक्सी पिउने खराब बानी छोड्न सक्दैन । ४ बच्चा छन् उनीहरुका । तुल्सीलाई ब्लड क्यान्सर छ । उनी मर्दैछन । आफू बिना आफ्ना सन्तान फेरि अनाथ हुन्छन् भन्ने ठूलो चिन्ता छ उनलाई । तुलसी सुरजलाई अर्को बिहे गर्न भन्छिन् । तर सुरज तुल्सीभन्दा अगाडि नै मारिन्छ आफ्नै जँड्याहा साथीबाट । तुलसीमा कुनै असाधारण कथा छैन, तर असाधारण अभिनय छ मनिषाको ।

‘अग्नीसाक्षी’ कि मधु भएर मेरो मष्तिष्कमा बसेकी मनिषा ‘डियर माया’ मा ‘माया देवी’ बन्दा सौन्दर्यको ठीक विपरीत परिभाषा गरिरहेकी हुन्छन् । कहाँ कल्कलाउदी जवान मधु कहाँ भूतबंगलामा बस्ने मायादेवी ।

सिम्लाकी एक खान्दानीय परिवारकी एक्ली उत्तराधिकारी जसको अधवैशे उमेरसम्म बिवाह भएन– एक अमूर्त आशाको त्यान्द्रोमा गाँसिएर उनी दिल्ली जान्छिन्, त्यहाँ उनको जीवनमा जुन परिवर्तन आउँछ, त्यसले मान्छेलाई सधैं आशावादी भएर बाँच्न सिकाउँछ । भोलि के हुन्छ, कस्लाई थाहा छ र त्यो नराम्रो नै हुन्छ भन्ने के छ र ?

अझै हेर्दैछु– सबैको चर्चा नगरौं । अरु कुरा बिर्सर यो पाटो मात्र सम्झिँदा लकडाउन लम्बिदिए हुन्थ्यो जस्तो लाग्दैछ । मनमनै पश्चातापजस्तो हुँदैछ– मनिषाका सिनेमालाई अहिलेसम्म नहेरेर मैले आफ्नै समय र पुस्ताप्रति एक प्रकारको अन्याय गरेको थिएँ । त्यो अन्यायको घाटा आफै बेहोर्दै थिएँ ।

यो कल्पना गर्दिनँ कि मनिषा अभिनित सबै बम्बैया सिनेमा राम्रा होलान् । नराम्रा पनि होलान् । मनमा प्रश्न उठ्यो – बम्बैया सिनेमामा त्यति राम्रो अभिनय गर्ने मनिषा नेपालीमा भने किन बिल्कुलै अड लागेकी होलिन् ?

फेरि लाग्यो – मनिषा अभिनित अधिकांश सिनेमा सामान्य व्यवसायिक बम्बैया सिनेमा मात्र हैनन् । तिनमा गम्भीर कथा पनि जोडिएका छन् आफ्नो समय र परिवेशको । भारतीय निर्माता, निर्देशकले मनिषालाई एक सामान्य अभिनेत्रीका रुपमा हैन, खास र विशेष भूमिकाका लागि जोगाड राखिएकी अभिनेत्रीको रुपमा बुझेका छन् ।

अझ यसो भनौं नेपालमा जन्मिए पनि मनिषा हिन्दी फिल्मकै लागि हुन् । उनको बोलीको लय नै उतैका लागि मौलिक छ । नेपालीमा त उनले राम्ररी संवादसम्म बोल्न नसक्ने रहिछन् । बल्लबल्ल बोले पनि लय नमिलेको जस्तो लाग्दो रहेछ ।

कला र मानवीय संवेदनाबीच गहीरो सम्बन्ध छ । मान्छे भावनाप्रधान प्राणी हो । भावुकताले मान्छेलाई निर्मलीकरण गर्दछ । कलाको काम मान्छेको सुन्दर र सफा मनलाई मैलो पार्न आउने कुभावानालाई धुनु र मनलाई फेरि सफा पार्नु हो । र, सिनेमा कलाको आधुनिक अभिव्यक्ति ।

यो बुझाई अहिलेको स्थितिसँग जोड्दा भने कताकता अत्यास लाग्दछ । अहिले लकडाउनबीच हाम्रा शासकले हामीलाई नयाँ अर्ती, नयाँ महावाणी फर्माएका छन् । भावनामा बगेर शासन चल्दैन । भावनामा बग्नु हुँदैन । भावनाको कुरा नगर– आदिइत्यादी । राष्ट्रपति, प्रधानमन्त्रीदेखि साइजसाइजका मन्त्रीसम्मले ‘भावनाको कुरा नगर’ भनिरहँदा मन चस्सचस्स घोचे जस्तो लाग्दछ ।

आफै भावनाको व्यापार गरेर सत्तामा पुगेकाहरु शक्तिमा पुग्नेवित्तिकै अरुलाई भावनामा नबग्न उपदेश किन दिन थाल्छ्न, मैले बुझ्न सकेको छैन ।

मेरो बुझाइमा मान्छे भनेकै भावना र विवेक हो । यी दुई कुरा मान्छेबाट हटाइदिने हो भने मान्छे मान्छे रहँदैन, एक सामान्य जनावर बन्न पुग्दछ । विवेकपूर्ण काम भावनामै आधारित हुन्छ । भावनाविनाको विवेक, विवेकविनाको भावना कुनै अर्थ छैन ।

जतिखेर हाम्रा शासकहरु भन्दैछन् कि भावनामा नबग । मलाई भने मनिषाका सिनेमाले अझ बढी सुखद भावनामा बग्न प्रेरित गरेका छन् ।

The post लकडाउनमा मनिषा कोइरालाका सिनेमा हेर्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles