सन् २०२० को राष्ट्रपतीय निर्वाचन उम्मेद्वारीको दौड स्थगन भाषणमा बर्नी स्यान्डर्सले मार्टिन लुथर किङ जुनियरको यो भनाई उद्धृत गरे– नैतिक ब्रह्माण्डको वृत्त–चाप लामो हुन्छ तर यो न्याय नेर झुकेको हुन्छ ।’ यो भनाईको ताजा अर्थ बुझ्न गाह्रो छैन । यो कुनै साधारण आत्मचेतको अभिव्यक्ति हैन । न त उनको अभियान र उम्मेद्वारी नै साधारण थियो ।
बर्नी स्यान्डर्सले आफ्नो राजनीतिक करियर विसंगतिबीच शुरुवात गरेका थिए । शुरुमा उनी समाजवादी युवा लिगमा लागे । त्यसपछि सानो तेस्रो पार्टीको उम्मेद्वार बने । जम्मा २% भोट पाए तर त्यो भोट अमेरिकाको सारा सम्पतिमा कब्जा जमाएका २% विरुद्ध लक्षित थियो ।
स्यान्डर्सको राजनीतिक सन्देश कुनै समूह वा विशेषज्ञद्वारा प्रायोजित तवरले ठोस गरिएको थिएन । त्यो यो संसार कसरी चलिरहेको छ भन्ने फरक प्रकारको समाजवादी समझबाट आएको थियो । त्यो थियो– शक्तिशालीहरुले सधै कमजोरहरुबाट फाइदा मात्र उठाएका छन् । कमजोरहरु संगठित हुन र कथित शक्तिशालीहरुसँग टकराउन जरुरी छ ।
भोरमेन्ट सिनेटरको यो वैचारिक प्रष्टता र क्रोध मृत राजनीतिको अन्तिम नमूनाजस्तो थियो । ऊ एक जिद्दी मान्छे थियो । ऊ आफूलाई त्योे बाटोमा परिवर्तन गर्न राजी थिएन जतातिर उसलाई राजनीतिक मौसमले परिवर्तन हुन भन्थ्यो । ऊ आफना केही फरक सोच र दृष्टिकोणमा अड्न जन्मिएको राजनीतिज्ञ थियो ।
स्यान्डर्सले यी कुरा त्यस्तो समाजमा भन्ने आँट गरेका थिए जहाँ मूलधार डेमोक्र्याट्स नै ‘हामी अमेरिकी समाजको समृद्धिको घाँटीमा फित्ता कस्न सक्दैनौं’ भन्थे । अमेरिकी समाजको वर्ग–प्रणालीलाई विल्कुलै नयाँ ढंगले विकसित गर्न सजिलो थिएन पनि ।
यहाँ लाखौं गरिबहरु इतिहासकै सबैभन्दा धनी देशमा भोको हुनुको अनुभव संगाल्दै थिए । यहाँ लाखौं बेरोजगारहरु स्वास्थ्य बिमाहीन, ऋणको पासोमा डुबेका र उनीहरुलाई अर्थतन्त्रको भार ठानिदै थियो । स्यान्डर्सलाई यो थाहा थियो कि उनी जे सन्देश दिँदै छन्, त्यसलाई सुन्नुपर्ने श्रोता समाजमा छन् ।
सन् २०१५ को अप्रिलपछि स्यान्डर्सले ती सम्भावित श्रोतालाई वास्तविक श्रोतामा परिणत गर्न थाले । उनले अन्यायपूर्ण आर्थिक प्रणाली र उदारवादको दशकौं लामो राजनीतिप्रति क्रोध मात्र सृजना गरेनन् बरु यसमा के खराबी छ भन्ने प्रष्ट भाष्य वर्णन गरे ।
उनले त्यस्ता नीति निर्माण गर्न मद्दत गरे, जसले चिजहरुलाई कसरी अझ राम्रो पार्न सकिन्छ भन्ने बताउँदथ्यो । राजनीतिक क्रान्तिको खाँचो कहाँनेर छ र त्यसका संवाहक को हुन सक्दछन भन्ने प्रष्ट पारे । स्यान्डर्सको प्लेटफर्म लाखौं सर्वसाधारण अमेरिकीहरुको सामान्य चेत अभिवृद्धि हुने अवसर बन्यो । बुधबार बिहानको भाषणमा उनले भने,‘ हामी एक विचारधारात्मक लडाई जितिरहेका छौं ।’
सबैका लागि निशुल्क स्वास्थ्य सेवा, शुल्कहीन विश्वविद्यालय, सार्वजनिक वाल हेरचाह प्रणाली, श्रमिक स्कुल, निष्पक्ष व्यापार नीति, असल रोजगारी वातावरण र रोजगारी संरक्षण र नयाँ हरित योजना– यी कामदार वर्गको धरातलीय आवश्यकता हुन भन्ने कुरालाई स्यान्डर्सले सधैं आफ्नो सन्देशको केन्द्रभागमा राखे र लोकप्रिय बनाए ।
अमेरिकी समाजको प्रगतिका दुश्मनहरु को हुन भन्ने यति प्रष्ट यस अघि कहिल्यै हुँदैनथ्यो । अहिले ७० प्रतिशत अमेरिकीहरु उच्च आयमा उच्च करको समर्थन गर्दछन्, त्यसमध्ये ५४ प्रतिशत त स्वयं रिपब्लिकनहरु छन् । स्यान्डर्सको उदयकालमा डेमोक्र्याटिक संचालकहरुले कामदार वर्गका वस्तुगत आवश्यकताको प्रतिरक्षा लोकप्रिय बिषय हो भन्ने कल्पना गर्न सक्ने भए ।
आफ्नो मिसनको अन्त्यतिर आइपुग्दा स्यान्डर्सले छोटै भए पनि यो अनुभूति गर्न पाए कि राजनीतिक ध्रुवीकरणका लागि उनको परिचालन गणनायोग्य बन्यो । राजनीतिक मोड सृजना गर्न उनलाई आकस्मिक मतदाताहरुको आवश्यकता थियो, प्रारम्भिक सफलताका बाबजुद त्यो हुन सकेन । मतदाता उनको कुरा सुन्न राजी भए, समर्थन गर्न तयार भएनन् । दशकौंको पराजय र असंगठितता केही महिनाको अल्प सान्त्वना बन्न पुग्यो ।
अझै लाखौं मानिसहरु स्यान्डर्सको अभियानप्रति सहानुभूति राख्दछन् । उनका बिषयवस्तुहरु सञ्चार गरिरहेका हुन्छन् । स्यान्डर्सले त्यो बुझेका छन् । त्यसैले हिजोको भाषणमा उनले आफूलाई कुनै परम्परागत उम्मेद्वारका रुपमा हैन, एक जनआन्दोलनको हिस्साका रुपमा प्रस्तुत गरे । उनले भने, ‘यो उम्मेद्वारी मेरा लागि छँदै थिएन । राष्ट्रपति मेरो लागि एक माध्यम थियो, जसमार्फत् हामी सबै मिलेर प्रगतिशील र संस्थागत परिवर्तन निर्माण गर्न सक्थ्यौं ।’
स्यान्डर्समा यो वलियो आशा थियो कि उनी सन् २०२० को निर्वाचनबाट फ्रान्किलनि डि रुजभेल्टझैं राज्यको शक्तिलाई कामदार वर्गको हितमा संस्थागत उपयोग गर्न सक्ने एक सक्षम व्यक्तिको रुपमा उदित हुनेछन । उनले यो उद्धेश्यको बाटोमा आइपर्ने अवरोधहरु निर्ममतापूर्वक हटाउँने छन । अमेरिकी राजनीति एक नयाँ मोड लिने छ ।
तर त्यो आशालाई लागू गर्ने अवसरको सट्टा उनले मार्टिन लुथर किङ, युजिन डेब्स र मोदर जोन्सजस्ता नैतिक नेताहरुसंगै आफूलाई राख्न स्वीकार गर्नु परेको छ जसले स्वतन्त्रता र न्यायकोे आन्दोलनलाई सधै उत्प्रेरित गर्दछन ।
बर्नी स्यान्डर्स राष्ट्रपतिको दौडबाट अब सधैका लागि बाहिरिएका छन् तर उनको राजनीतिक क्रान्ति सकिएको छैन ।
(द गार्जियनबाट भावानुवाद गरिएको)
The post बर्नी स्यान्डर्सको क्रान्ति अझै सकिएको छैन appeared first on Sajha Post.