यतिबेला संसार नै कोरोना भाइरस (कोभिड-१९)को कारण आक्रान्त छ । चीनको वुहानबाट सुरु भएको यो महामारी अहिले विश्वको २०९ भन्दा बढी देशमा फैलिइसकेको छ । आज संसारका आफुलाई अब्बल दावी गर्ने सत्ताहरु नाकाम भएका छन् र संसारभर कोभिड-१९ को शासन चलेको छ । सिङ्गो मानव जाति प्रतिपक्ष बनेर यसको सामना गर्नुपर्ने चुनौति आज हाम्रो अगाडि आएको छ । आफूलाई संसारको महाशक्ति भन्ने अमेरिका, विकसित यूरोपका इटली, स्पेन, जर्मन, फ्रान्स जस्ता देशहरु बेलैमा बुद्धि नपुर्याउँदा आज पश्चात्ताप गर्न अभिशप्त । सिमानामा पर्खाल लगाएर सुरक्षित हुन्छु भन्ने भ्रम पाल्ने शासकहरुको सीमाको दम्भ कोरोनाले टुक्राटुक्रा पारिदिएको छ । ब्रेक्जिटको नारा लगाउने बेलायतमा पनि यो भाइरस भित्रियो । इरानमा अल्लाहले जोगाउन सकेनन् । भारतमा मोदीको कट्टरपन्थलाई कोरोनाले चुनौति दियो ।
कोरोनाले धनी भनेन । गरिब भनेन । न राजा र रैतीको भेद मान्यो । यसले सिकायो कि यी सबै विभाजन र विभेद मान्छेले आफ्नो स्वार्थका कारण खडा गरेको अस्थायी संरचना हुन् । प्रकृतिका अगाडि यसको केही अर्थ र उपादेयता छैन । पृथ्वीमा झण्डै ५ बिलियन प्रजातिहरु रहेको अनुमान गरिन्छ । यसमध्ये झण्डै १.२ मिलियन प्रजातिहरु मात्र चिनिसकिएको छ । यही पहिचानित प्रजातिहरुमध्ये एक हो मान्छे । वैज्ञानिकहरु भन्छन्- हरेक दिन एक प्रजातिको लोप भइरहेको छ । यसका लागि सबैभन्दा बढी मानिस नै दोषी छ । सिक्काको अर्को पाटो हेर्दा यी लोप भइरहेका प्रजातिहरुले मानिसलाई भाइरस मानिरहेको होला ।
यसबाट के सिक्न सकिन्छ ? हामी प्रकृतिभन्दा माथि छैनौं । प्रकृतिमाथिको शोषण र दोहन रोकिनुपर्छ । प्रकृतिलाई चिथोर्नु आफ्नै आमालाई पीडा दिनजत्तिकै अपराध हो । जसको फल हामीले हाम्रै जीवनकालमा कुनै न कुनै ढंगले पाउँछौं । विकास र सभ्यताको नाममा मानव जातिले जति पनि कामहरु गरिरहेको छ, हामी जुन दिशामा गइरहेका छौं, यसलाई सच्याउन आवश्यक छ । हामीले हाम्रो कार्यदिशा सच्याउन आवश्यक छ । प्रकृति जोगाउन आवश्यक छ । यसले अबको समयमा वातावरणीय मुद्दा पनि राजनीतिको प्रमुख एजेन्डा हुन आवश्यक छ भनेर हामीले सिक्न ढिला गर्नु हुँदैन । नत्र प्रकृतिले हामीलाई यसैगरी सिकाउने छ । जतिबेला हामीसँग पश्चात्ताप गर्ने समय पनि रहनेछैन ।
कोरोनाविरुद्धको लडाई लडिरहँदा हामीले चीनबाट सकरात्मक शिक्षा लिन सक्छौं भने पश्चिमा राष्ट्रहरुबाट नकरात्मक शिक्षा । शिक्षा हामीले सफलता र असफलता दुवैबाट सिक्नुपर्छ ।
भनिन्छ- महामारीको क्लष्टर हुन्छ । दक्षिण एसियामा हामी जुन स्थानमा छौं, हाम्रोमा पनि यो संक्रमण एकपटक एउटा उत्कर्षमा पुग्ने अनुमान गर्न सक्छौं । शक्तिशाली राष्ट्रहरुलाई त यो लडाई यति गाह्रो भइरहेको छ भने हामीले कसरी लड्न सकौंला ? यसर्थ, हामीले संसारबाट सिकेर महामारी फैलन नै नदिने उपायहरु अपनाउन ढिला गर्नु हुँदैन । हामीलाई कोरोनाले समय दिइरहेको छ संसारबाट सिक्नका लागि । तर हामी साँघुरो गुटीय स्वार्थमा अल्मलिइरहेका छौं । कोरोनाले भत्काइदिएको साँघुरा स्वार्थका घेराहरु हाम्रा लागि अझै नभत्किएको जस्तो भान हुन्छ ।
एकपटक बितेका तीन महिनाहरुको समीक्षा गरौं । जब चीनमा भाइरस संक्रमण भएर चिनियाँ जनता र चिनियाँ सरकार भाइरसविरुद्ध एक्लै लडिरहेको थियो, आफूलाई महाशक्ति ठान्ने राष्ट्र र नेताहरु चिनियाँ भाइरस भनेर खिसिट्युरी गर्दै थिए । यदि सबै मिलेर समयमै उक्त भाइरसलाई त्यसको मुहानमै रोक्न सकेको भए संसार यति ठूलो आर्थिक मन्दीको दिशामा जाने थिएन । यति ठूलो मानवीय क्षति व्यहोर्नु पर्दैन थियो । यूरोप, अमेरिकाको दम्भ र घमण्डको नकरात्मक परिणाम युरोपियन जनता र अमेरिकाको जनताले मात्रै नभई संसारभरका जनताले भोग्नुपरेको छ । हामीले यो सबै परिघटनाबाट पाठ सिकेर अगाडि नबढ्ने हो भने मानव जातिको भविष्य संकटमा पर्ने खतराको घण्टी हाम्रो अगाडि बजिरहेको प्रष्ट देख्न र सुन्न सकिन्छ ।
सकरात्मक पाठ चीनबाट सिक्ने कुरा के हो भने माओको पालाको सर्वहारा सांस्कृतिक क्रान्तिदेखि आज सि जिनपिङको नेतृत्वको सरकारसम्म आउँदा त्यहाँ चिनियाँ जनता र चीनप्रति प्रतिवद्ध हुँदै व्यवस्थित, अनुशासित र मर्यादित सत्ता सञ्चालन चलिरहेको देख्न सकिन्छ । यसको परिणाम सिङ्गो राष्ट्र अनुशासित बनाउन सफल भयो । सबै सिस्टमले काम गर्यो । सिङ्गो देश केन्द्रित भएर भाइरसको सामना गर्न सफल भयो ।
आज सि नेतृत्वको प्रशासन र सिङ्गो चिनियाँ जनता संसारभरीका जनतालाई यो कोरोना भाइरसँग लड्न महत्वपूर्ण भूमिकामा अग्र पंक्तिमा छन् । आज अमेरिका युरोपजस्ता देशमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक पर्ने धेरै उपकरण र सुरक्षाका सामान उत्पादन गरेर संसारभरी पठाइरहेका छन् । आज खिसिट्युरी गरेर बसेका छैनन् । किनकी अझै चीनमा यो विपति आउँदैन भन्न सकिन्नँ भन्ने ठम्याई उनीहरुको देखिन्छ । यो सबै परिघटनाबाट हामी नेपालीले पाठ सिक्न जरुरी छ ।
हुन त हाम्रो देशको नेतृत्व रातिको १२ बजे अथवा समयको अन्तिम मिनेटमा निर्णय गर्ने चलन छ तर त्यो अवस्था फरक हो, अहिलेको अवस्था फरक हो । हामी पछाडि परिसक्यौं । हाम्रो तयारी पुगेन । डा. सुन्दरमणिले अहिलेको अवस्था आउन सक्छ भन्दा कार्बाही गर्ने कुरा गरियो । सरकारको भूमिकामा जनताले प्रश्न खडा गर्ने अवस्था सिर्जना भयो ।
अहिले पनि पार्टी, पार्टीभित्र गुट, धर्म, क्षेत्रको कुरा गर्दैछौं । हामीले भूकम्पबाट व्यहोरेको अनुभूति हामीसँग छ । सबैको छाना एउटै भएको अवस्था अहिले भुल्नु हुँदैन । टुँडिखेलमा प्लाष्टिकको छाना र सबैको खाना एउटै बनाएको थियो भूकम्पले । आज पनि बंगला त छ तर घरमा बस्ने मान्छे छैन । सम्पत्ति छ, खाने सन्तान छैननको अवस्था सिर्जना नहोला भन्न सकिन्नँ । परिवारका सबै सदस्यहरु नरहेपछि सम्पत्ति, पद र प्रतिष्ठाको के काम ? सत्ताको नजिक रहने केही पात्र र प्रवृत्ति हेर्दा अझै पनि निद्रामा बर्बराएको जस्तो देखिन्छ ।
यस्तो विषम परिस्थितिमा पनि पार्टी, पार्टीभित्र गुट, जाति, क्षेत्रको कुरा गर्ने प्रवृत्तिले हामीलाई कहाँ पुर्याउला ? आजको दिनमा हाम्रो पार्टी छैन । हाम्रो जात छैन, हाम्रो कुनै धर्म छैन । कुनै सत्तापक्ष र प्रतिपक्ष छैन । हामी सबैको पार्टी कोरोना भाइरस (कोभिड-१९) विरोधी पार्टी हो । हाम्रो जात मान्छे, हाम्रो धर्म कोरोनाको विरुद्ध लड्नु हो र एकले अर्काको सहयोग र सेवा गर्नु हो । हामी मानव जाति प्रतिपक्ष कोरोना सत्तापक्ष । आज संसारको सिमाना मेटिएको छ । कोरोनासँग लड्न विश्व एक हुनुपर्ने अवस्था छ । हामीले सरकारलाई एक भएर सहयोग गर्नुपर्ने सरकारलाई रचनात्मक आलोचना गर्दै अगाडि बढ्नुपर्ने यस्तो विषम परिस्थितिमा गलत गर्ने र गलत सोच्नेको हिसाब भोलि जनताले पाईपाई चुक्ता गर्नेछन् ।
संकटले जहिले पनि कमजोरलाई पहिला आक्रमण गर्छ । खासगरी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने श्रमिक, मजदुर र किसानहरुको पीडा सरकारले सम्बोधन गर्नुपर्छ । कोरोना भाइरसभन्दा अगाडि भोक भाइरसका कारण मृत्यूवरण गर्नुपर्ने अवस्थाले सरकारप्रतिको विश्वास गुम्छ । हामी संघीयताको अभ्यास गरिरहेका छौं । यतिबेला हरेक तहका सरकारले पहिला आफ्नो नागरिक बचाउन भूमिका खेल्नुपर्छ । संकटको बेला हरेक नागरिकले आफ्नो सरकार भेट्नुपर्छ । हरेक तहका सरकारका लागि यो एउटा परीक्षाको समय पनि हो । पहिला जनता बचाऔं, अनि विकासका कुरा गरौंला । जनतै नरहे विकास कसका लागि ?
यो प्रसंगमा इटलीका प्रधानमन्त्रीको भनाई मननीय छ- यसअघि नागरिकले देश बचाउन बलिदानी गर्दै आएका थिए । यसपटक नागरिक बचाउन देशले बलिदानी गर्नुपरे पनि तयार हुनुपर्छ । यो प्रसंगलाई हामीले सामान्य अर्थमा नलिगौं । आँधी तुफान आउँदैछ भन्ने थाहा पाएर पनि तयारी नगर्ने मुर्खता नगरौं । हरेक नागरिकले सचेतना अपनाउन सम्झौता नगरौं । यो महामारीबाट एक्लो सचेतनाले कोही बाँच्न सक्दैन । समाजको एकजनामा मात्रै रोग छ भने फैलिइहाल्छ । यसर्थ, महामारीविरुद्ध एक्लो होइन, सामूहिक प्रयास गरौं । मृत्यू जिते संसार जित्न सकिन्छ । चेतना भया ।
(लेखक प्रदेशसभा सांसद तथा सत्तारुढ नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष हुन्)
The post कोरोनाविरुद्धको लडाईंः कुराले होइन, कामले तयारी गरौं appeared first on Sajha Post.