Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

बयलगाडाको सवारीले उछिन्ला कोरोनाको कहर

$
0
0

कुनै बेला गणतन्त्रको मागको सन्दर्भमा के.पी. ओलीले भन्ने गरेका थिए, ‘बयलगाडामा अमेरिका पुगिन्न ।’ उनले बारम्बार फलाक्ने गरेको विकास र समृद्धिको सन्दर्भमा आज उनैमाथि यो कथन सटीक रुपमा लागू भएको देखिन्छ । के देखिन्छ भने के.पी. ओली आज काठको घोडामाथि बसेका छन् । जति ‘हैट हैट’ गरे पनि उनी आफैं मच्चिएका छन् तर काठको घोडाको रौंसम्म पनि हल्लिएको छैन । कुरा विकास र समृद्धिको बारेमा उनले बनाएका भाष्य (न्यारेटिभ) र त्यसका विरोधाभासहरुसँग सम्बन्धित छ । र अब यो कोरोना जस्ता अनपेक्षित संकटसँग सरकारको लड्न सक्ने सामर्थ्यसँग पनि जोडिन आइपुगेको छ ।

के.पी. ओलीको व्यक्तिगत स्वास्थ्यमाथिको टिप्पणी अनुपयुक्त होला, तर पात्र र प्रवृत्तिमाथिको प्रश्न यथावत छ । कम्युनिष्ट भन्नु मात्र हो, बाबुसाहेवगिरी र पुरोहितवाद जारी छ । यसका नकारात्मक परिणामहरु पनि छ्यालब्याल भएर बाहिर पोखिइसक्यो । भ्रष्टाचार, कमिशन, लुछाचुँडी, षड्यन्त्र, झगडा देखिएकै छन् । हुँदा हुँदा अब राणाकाल र शाहकालका “खोपी शासन”को युगमा फर्किएका छौं हामी । ७६० वटा स्थानीय र प्रदेश सरकारहरु कोरोना महामारीको महासङ्कटको बेलामा समेत लाटो बन्नुले महाराजको निगाहमा बाँच्नुपर्ने परिस्थिति खडा गरेको देखिन्छ ।

झण्डै दुई तिहाईको खली द ग्रेट नेकपा सरकार हुँदाहुँदै यस्तो किन भयो त ? पहिलो कुरा यो नेकपाको सरकार हो कि हैन भन्ने नै प्रश्न हो । आजसम्मको विडम्बना नै यही हो । नेकपा होस् कि काँग्रेस होस् । चुनाव पार्टीले जित्ने, बहुमत पार्टीले निर्माण गर्ने, तर सरकार सदैब कुलीनहरुले हाइज्याक गरिदिने । नेपालको ईतिहासमा दुईटा मात्र सरकार यस्तो देखिन्छ, जो कुलीनहरुले अँठ्याउन सकेको देखिएन । प्रचण्ड नेतृत्वको नौ महिने प्रथम माओवादी सरकार र बाबुराम नेतृत्वको माओवादी सरकार । र यसैको खामियाजा दुबै सरकारले भोग्नुपरेको जगजाहेर छ । आज परम्परागत कुलीनहरु ढलिमलि गरिआएका छन् । उनीहरुको रजगज चलेसम्म काग कराउँदै गर्छ, पीना सुक्दै गर्छ ।

भाग्यवादले पनि यही भन्छ, काग कराउँदै गर्छ, पीना सुक्दै गर्छ । कोरोना महामारीवाट बच्न विनोद चौधरीले पुजापाठ गर्नु र सरकारका मन्त्रीले जनतालाई धार्मिक किताब पढ्न सल्लाह दिनुको तात्पर्य एउटै हो । शशांक कोइरालाले हिन्दू राष्ट्र माग्नु र एमाले पंक्तिले सम्मतिमा टाउको हल्लाउनु पनि उही कुरा हो । ओली सरकार किन आधा बाटोमै इन्धन सकिएको ट्रयाक्टरजस्तो हुन गयो भन्ने कुराको जडमै पुग्नुपर्छ हामी । हामी के देख्छौं भने सत्ताधारी दल नेपालमा राजनैतिक मुद्दाहरु समाप्त भैसक्यो भन्ने भुलभुलैयामा बस्न पुगे ।

जबकि पहिचान, नागरिकता, सीमाङ्कन, समानुपातिकता र समानतासँग सम्बन्धित सवालहरुको सम्बोधन नभएसम्म आधारभूत रुपमा संविधान २०७४ माथिको स्वामित्व र सर्वस्वीकार्यता प्रश्नको घेराभित्र रहिरहने प्रष्ट थियो । जसले जे भने पनि बाँकी रहेका राजनीतिक एजेण्डाहरुको हल नखोजेसम्म विकास र समृद्धिको कुरा गफ मात्रै हुने रहेछ भन्ने कुरा शुरुदेखि नै स्पष्ट थियो । तर नेतृत्वले ती कुराहरुमा कुनै उत्सुकता देखाएन र विभिन्न राजनैतिक दाउपेच गरी ती मुद्दाहरुको समन गर्नतिर लागे ।

चुनावी भाषणमा राजनैतिक एजेण्डा समाप्त भयो भन्नेहरुले राजनीतिक मुद्दा र त्यसका पात्रहरुको व्यवस्थापनमा अत्यधिक श्रम र समय खर्च गरे विगत दुई वर्षमा । परिणामस्वरुप सरकार आफैं अलमलियो उसको प्राथमिकता के हो भन्ने कुरामा । कहिले मधेशी दललाई खेलाएछ, कहिले सी.के.राउतलाई त कहिले नेत्रविक्रम चन्दलाई ।

अर्को महत्वपूर्ण कुरामाथि दृष्टिगोचर गर्दा के देखिन्छ भने राज्य अस्थिर/तदर्थ र सरकार स्थायित्वपूर्ण हुन सक्दैन । तत्कालीन माओवादीहरुले राज्य पुनर्संरचनाको मुद्दा त्यसै अलपत्र छाडिदिए । नेकपामा विलयपश्चात बरु उनीहरुले आफैंलाई राज्यअनुकुल रुपान्तरण गरिदिए । कुनै समय उनीहरुले नै भन्दै आएको सेनाको लोकतान्त्रीकरण, स्वायत्तता, आत्मनिर्णयको अधिकार, संसदीय व्यवस्थाको अन्त्य, प्रत्यक्ष कार्यकारी, संसद र राज्यका सम्पूर्ण अंगहरुमा पूर्ण समानुपातिकता, राजनैतिक दलहरुको लोकतान्त्रीकरण जस्ता मुद्दाहरु विर्सिदिए, बिसाइदिए ।

परिणामस्वरुप २४० वर्षदेखि तदर्थवादमा चल्दै आएको राज्य यथावत् रहन पुगे । अझ भनौं त्यो भन्दा पनि बढी तदर्थवाद र मनपरीतन्त्रतर्फ हुत्याइए । न्यायपालिका, प्रहरी, सेना, प्रशासन सबैतिर राजनीतिकरण गरिए र ती निकायहरुमाथि मनपरितन्त्र लादिए । यस अलावा पनि मिडिया, शैक्षिक संस्था, पेशेवर संघसंस्था, व्यापारिक क्षेत्र, नागरिक समाज सर्वत्र पार्टीकरण गरियो र यो वा त्योको बीचमा बाँडचुँड गर्ने काम गरियो । यसरी संसारका पुराना राज्यहरु मध्येको एक नेपाल राज्य संविधान र निर्वाचनपछि पनि अस्थिर, परम्परावादी र तदर्थ रहन पुगेको छ । यति मात्र हैन, नेपालको यस्तो परम्परावादी राज्यले वामपन्थी, लोकतान्त्रिक सबै प्रकारका दलहरुलाई पनि आफूअनुकुल सामन्तीकरण, भ्रष्टीकरण र सम्भ्रान्तीकरण गरेका छन् ।

राजनीतिक दलहरुको यस प्रकारको उल्टो प्रगति भएकै कारण वामपन्थी नामधारी दलहरु वामपन्थी जस्ता छैनन् र लोकतान्त्रिक नामधारी दलहरु लोकतान्त्रिक छैनन् । बरु नेपालका सबै प्रकारका वाद बोक्ने प्रमुख दलहरु एकैप्रकारका भएका छन् । जुनसुकै वाद भने पनि यिनीहरु सबै एकल जातिवादी, हिन्दूवादी, सनातनपन्थी र भाग्यवादी छन् । अझ द्वन्दात्मक भौतिकवादमा विश्वास गर्छु भन्ने वामपन्थी दलका नेताहरुले गर्ने पुजापाठ र हिन्दूवादी अध्यात्मको मीमांसाले नेपालमा खच्चड वामपन्थको जन्म भएको भन्न सकिन्छ, जसले खासमा केही पनि उत्पादन गर्न सक्दैन ।

गधाजस्तै बरु वामपन्थ र भाग्यवादको भारी बोकेर उकालो ओरालो ओहोरदोहोर गरिरहन चाहिँ सक्छ । सिद्धान्त, विचारमा अस्पष्टता र विचलनले जन्माउने भनेको उही भ्रष्टाचार, कुशासन, नातावाद, फरियावाद र यथास्थितिवाद हो । अन्ततः काँग्रेस, नेकपा जस्ता दलहरुसँग शासन सत्तामा टिकिरहने र राज्यसत्तामा एकल जातिवादी प्रभुत्वलाई कायम गरिराख्ने उद्देश्य बाहेक अन्य लक्ष्य र उद्देश्य छैन । देशको एकता, प्रगति र एकल जातिवादी प्रभुत्व मध्ये कुनै एकलाई रोज्नुपर्‍यो भने नेपालका दुबै प्रमुख दलले रोज्ने भनेको दोश्रो विकल्प नै हो ।

अहिलेसम्म राज्यले सरकार र दलहरुलाई बदलेको छ । ईतिहासमा कुनै पनि दल वा सरकारले नेपाल राज्यको मूलभूत चरित्रलाई बदल्न सकेको छैन । अझ राज्यकरण भैसकेका दलहरुले राज्यलाई नै बदल्न सक्ने वा रुपान्तरणमा लान सक्ने सामर्थ्य राख्दैनन् । नेपालको राज्य-व्यवस्था एकल जातिवादी र केन्द्रिकृत राज्यलाई कायम राख्न चाहन्छ । शक्ति सन्तुलनको यथास्थिति कायम राख्न चाहन्छ । यस्तोमा विकास र समृद्धिको कुरा गर्नु अर्को क्रान्तिको कुरा गर्नु जस्तै हो ।

संस्थापनले क्रान्ति, रुपान्तरण वा परिवर्तन मन पराउँदैन । राज्यको संरचना र दलहरुको संरचनामा फेरवदल नभई स्वस्थ निर्णय र डेलिभरी सम्भव हुँदैन । त्यसैले, सरकार र राज्यका बीचमा नै राज्यका नयाँ संयन्त्रहरुको संस्थागत विकासको क्रममा द्वन्द चल्यो र निरन्तर चलिरहेको छ । धेरै ज्यादा पेनिट्रेशन भएकाले राज्य संयन्त्रहरु निष्कृय छन् र सरकारका विरुद्धमा गएका छन् । र यो भन्दा पनि महत्वपूर्ण कुरा सत्ताधारी दलको नियत पनि सङ्लो छैन ।

यस्तोमा सत्ताधारी दल वा सरकारले गर्ने भनेको राजनीतिकरण हो । र अति राजनीतिकरणले नै यो भ्रष्टाचार, कुशासन र गतिहीनता जन्माएको हो । के.पी. ओली सरकारको पहिलो नौ महिने कार्यकाललाई सम्झँदा पनि अहिलेको तस्वीर प्रष्ट हुन्छ । अघोषित नाकाबन्दीविरुद्धको कथित अडान र चीनसँगको पारवहन सम्झौताका कारण तत्कालीन समयमा उनको वाहवाही भैरहँदा वास्तविकताको अर्को पाटो हामी बिर्सन्छौं । त्यो बेला ओली सरकार गतिहीन, कुहिरोको काग र लकवाग्रस्त भएकै हो ।

मधेशीहरुसँग सहमतिमा पनि पुग्न नसकिने र चुनाव पनि गर्न नसकिने तत्कालीन परिस्थितिको कारण सरकारबाट बाहिरिएका हुन् ओली त्यसबेला । अहिले पनि ठ्याक्कै त्यही परिस्थिति जन्मिएको छ । कोरोना सङ्कटको कारण ओली सरकार अगाडि पनि बढ्न सक्ने हालतमा छैनन् भने पछाडि पनि फर्किने अवस्था छैन । एकातिर ओली सरकार सङ्कटसँग जुध्ने साहस, नैतिकता, उर्जा र तदारुकता नभएर कान्तिविहीन अनुहार लिएर बसेको छ । तर कोरोना सङ्कटले ओजश्वी र युद्धस्तरमा काम गर्नसक्ने सरकारको माग गर्दछ । यो आवश्यकता आज ओली सरकारले पुरा गर्न सकेन भने आँधीपछिको सन्नाटामा बेमौत मारिनेमा नेकपा पर्नसक्छ । ओली रथको पाङग्रा ठ्याक्कै यही विन्दूमा आएर अड्किएको देखिन्छ ।

यस्ता उदाहरणहरु थुप्रै छन् । यसले नेपालमा बन्ने सरकारहरुको सीमिततालाई राम्ररी उजागर गर्दछ । राष्ट्रिय स्वाभिमानको जतिसुकै ठूलो कोकोहोलो मच्चाए पनि आफू इमान्दार नभए अरु पनि थुप्रै बेइमानहरु जन्मन्छन् । ओलीका आफ्नै धर्म सन्तानहरु पनि बेइमान भएर निस्किएका छन् । तदर्थ सरकारको कुनै भरोशा नहुने भएकोले जतिसक्दो कुम्ल्याउन तछाडमछाड मच्चिएको छ । यो सरकारको आयु केही अरु लम्ब्याउन विरामी र अशक्त प्रधानमन्त्रीलाई अस्पतालको बेडबाट वालुवाटारको पटाङ्गिनीमा जबर्जस्ती ल्याइएको दुनियाँले देखे ।

सवाल के.पी. शर्माले हिजो कति र कस्तो उखानटुक्का सुनाए भन्ने हैन । सवाल के भने के.पी. शर्माको राष्ट्रवादी भाष्यको पटकथा रच्ने पटकथाकारहरुको उद्देश्य के हो भन्ने हो । स्पष्ट छ यो बर्चश्वको लडाइँ हो र यसको लागि अवैधानिक बाटो रहेसम्म स्वामी महाराजहरुको दखल र बेदखलको क्रम चलिरहन्छ । संविधानको विरोध गर्ने मधेशी जनजातिले यो संविधान बोकिदिनुपर्ने र नेकपा-काँग्रेसले यो संविधानलाई रद्दीको टोकरीमा फाल्ने हरकततिर उद्यत हुनु यो देशकै विडम्बना हो । अन्त्यमा यति मात्र भनौं, ‘ये जीना भी कोई जीना है लल्लु ?’

The post बयलगाडाको सवारीले उछिन्ला कोरोनाको कहर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles