कोरोना भाइरसलाई जितेर अगाडि बढ्ने एउटा अवसरलाई अमेरिकाले गुमाएको छ । तर, महत्वपूर्ण निर्णय लिने झ्यालहरु अझै बन्द भएका छैनन् । हामी र हाम्रो नेतृत्वले अहिले लिएको निर्णयले कालान्तरमा ठूलो प्रभाव पार्ने छ । कोरोनाका मामिलाहरु कहिले समाप्त हुन्छ, अर्थतन्त्र कति समयसम्म अस्तव्यस्त रहन्छ र कति अमेरिकी जनताले आफन्तहरु गुमाउनुपर्छ ? यी सबै कुराहरु हाम्रो नेतृत्वको निर्णयमा निर्भर छन् ।
हाम्रो गेट्स फाउन्डेसनले कोरोना प्रकोपलाई रोक्न धेरै महिनादेखि काम गर्दै आईरहेको छ । आजसम्म आईपुग्दा हामीले नयाँ थेरापिट्स तयार गर्न, परीक्षणका लागि पहुँच विस्तार गर्न र भाइरसको प्रभावलाई सीमित पार्न सिअट्टलमा १० करोड ५० लाख अमेरिकी डलर लगानी गरिसकेका छौं ।
यो कामको परिणाम हेरेर मैले वासिङ्टन तथा देशभरीका विज्ञ तथा नेतृत्वहरुसँग कुराकानी गर्ने मौका पाए । यसपश्चात् हामीले अझ तीनवटा कदम चाल्नुपर्ने कुरामा म स्पष्ट भएको छु ।
पहिलो कुरा हामीले देशव्यापीरुपमा लकडाउन गर्न सबैतिर निरन्तर आह्वान गर्नुपर्छ । सार्वजनिक स्वाथ्य विज्ञहरुले बताउँदा पनि केही गाउँ, शहर तथा राज्यहरुमा पूर्णरुपमा लकडाउन गरिएको छैन । केही राज्यहरुमा अझै पनि समुद्री तटहरु खुल्ला गरिएको छ । रेस्टुरेन्टहरु बन्द छैनन् ।
यो विनाशको लागि पूर्वतयारी हो । किनभने मानिसहरु जसरी भाइरस पनि स्वतन्त्ररुपमा हिंडडुल गर्न सक्छ । कतै एकठाउँ लकडाउन गरेर हुँदैन, सबै ठाउँमा गर्नुपर्छ । अमेरिकामा यो संख्या ओरालो लाग्न दश हप्ता वा त्योभन्दा धेरै समय लाग्न सक्ला । त्यो समयसम्म कसैले आफ्नो व्यवसाय सुरु गर्न दिनुहुन्न र सबैले लकडाउनको आनन्द उठाउनुपर्छ । यसको विपरित गए आर्थिक संकट थप लम्बिनेछ, भाइरस पुनः फिर्ता आउने छ र मृत्युको संख्या थप बढ्ने छ ।
दोस्रो भनेको संघीय सरकारले थप परीक्षण गराउन अघि सर्नु पर्नेछ । अझ धेरै परीक्षणहरु हुनुपर्छ । हामीले सम्पूर्ण परिणामहरुलाई संकलन गर्नुपर्छ ताकी हामीले सम्भावित संक्रमित क्षेत्रलाई पहिचान गरेर स्वयम्सेवकहरु खटाउन सकौं र कहिले सामान्य अवस्थामा फर्कन सकिन्छ भनेर जानी राखौं । एउटा राम्रो उदाहरण हामीसँग न्यूयोर्क शहरको छ । त्यहाँ भर्खरै प्रतिदिन २५ हजार भन्दा धेरै परीक्षण क्षमता बढाइएको छ ।
साथै परीक्षण विधिमा पनि प्रगति भएको छ । सिएट्टल कोरोना भाइरस एसेसमेन्ट नेटवर्कले सेल्फ स्वाब विकास गरेको छ । जसबाट मानिसहरु आफैंले आफ्नो नमूना लिएर परीक्षण गर्नसक्छन् । मलाई आशा छ- परीक्षणमा भएका यी अन्वेषणहरु चाँढै नै देशव्यापीरुपमा फैलिने छ ।
केही समय परीक्षणको आपूर्तिले मागलाई धान्न सक्ने छैन । अहिले धेरै कमले माग अनुसार आपूर्ति पाउने छन् । परिणामस्वरुप हामीसँग यस्ता मामिला कति छन् भन्ने यकिन तथ्य थाहा छैन र भाइरसको अबको गन्तव्य कहाँ हुन्छ भन्ने कुराको पनि हामीलाई राम्रो जानकारी छैन । पछि यो फिर्ता आउने कुराबारे पनि हामीलाई थाहा छैन ।
हामीसँग परीक्षण नभईसकेका धेरै नमूनाहरु छन् जसको परिणाम/नतिजा आउन अझै सात दिन लाग्ने देखिन्छ । तर हामीलाई यसको रिजल्ट २४ घण्टाभित्र आवश्यक छ ।
यसकारण कसलाई पहिले परीक्षण गर्ने हो भनेर देशले एउटा स्पष्ट प्राथमिकताको खाका कोर्नु पर्छ । प्राथमिकताको पहिलो सूचीमा स्वास्थ्यसेवी कर्मचारीहरु हुनुपर्छ । त्यसपछि जोखिममा रहेका तथा लक्षण देखिएका व्याक्तिहरुलाई परीक्षण गर्नुपर्छ ।
मास्क र भेन्टिलेटरको पनि अवस्था यस्तै छ । पचास गभर्नरहरुलाई यी जीवनरक्षक उपकरणहरुको खरिदमा प्रतिस्पर्धा गर्न लगाउनु अस्पताललाई महंगो मूल्य तिर्न लगाउनु यी सबै कुराले अवस्थालाई थप खराब बनाएर लग्छ ।
भ्याक्सिन तयार पार्न र उपचार गर्न हामीलाई तथ्यांकमा आधारित अप्रोच आवश्यक पर्छ । वैज्ञानिकहरु तीव्र गतिमा यतैतिर लागेका छन् । नेतृत्वले यो बेला अफवाह तथा हल्लाहरु सुन्नु हुन्न । हाइड्रोक्साएलक्लोरिक्युन ड्रग्स कोभिड-१९ को आपकालीन उपचारको लागि प्रमाणित हुनुअघि नै यसबारे हल्लाहरु फिजाइएका थिए । यसले गर्दा यसको कृतिम अभाव सृजना भएको थियो ।
जुन पद्धतिले काम गर्छ हामी त्यसमा अडिग रहनुपर्छ । परीक्षण तीव्र गतिमा अगाडी बढाउनुपर्छ र रिजल्ट आएपछि त्यो जनतासमक्ष सार्वजनिक गर्नुपर्छ । हामीसँग सुरक्षित र प्रभावकारी उपचारविधि भएपछि हामीले त्यसको पहिलो डोज आवश्यक भएकाहरु माझ पुगेको सुनिश्चितता गर्नुपर्छ ।
यो रोगको अन्त्य गर्न हामीलाई सुरक्षित र प्रभावकारी भ्याक्सिनको आवश्यकता छ । यदि हामीले सबै काम सहि ढंगले गर्यौं भने हामी १८ महिनामा नै भ्याक्सिन बनाउन सक्छौं । भ्याक्सिन बनाउनु भनेको आधा युद्ध मात्र जित्नु हो । विश्वभरीका मानिसलाई बचाउनका लागि हामी अर्बौं डोज भ्याक्सिन तयार गर्नपर्छ ।
भ्याक्सिन बिना धनी मुलुकहरुभन्दा विकासशील मुलुकहरु अहिले बढी जोखिममा छन् । किनभने यी मुलुकहरुमा सामाजिक दूरी कायम गर्न र लकडाउन गर्न धेरै गाह्रो छ । लकडाउनले ज्यालामा निर्भर मानिसहरुको रोजीरोटीलाई नै निमोठेको छ । परिवार पाल्न दैनिक ज्यालामजदूरी गर्न उनीहरुलाई समस्या भएको छ ।
यदि उनीहरु एकदमै दयनीय क्षेत्र सब साहारा अफ्रिका वा भारतमा बसोबास गर्छन् भने घर बस्नु मात्र उनीहरुको विकल्प हुँदैन । उनीहरु घर मात्र बस्छन् भने पनि उनीहरु आफ्नो छरछिमेकीबाट आफूलाई बचाउन सक्दैनन् । गरिब बस्तीहरुमा भीडभाड हुन्छन् त्यहाँ दूरी कायम गर्ने ठाउँ हुँदैनन् ।
अहिले धनाढ्य मुलुकहरुले भ्याक्सिन बनाउन जुन काम गरिरहेका छन् यसले ती क्षेत्रका मानिहरुको जीवन बचाउन मद्दत गर्छ ।
विश्वलाई आवश्यक पर्ने कोरोना भ्याक्सिनको डोज तयार गर्न हाम्रो मुलुक (अमेरिका)ले नेतृत्व लिनसक्छ अहिलेदेखि नै । भ्याक्सिन तयार पार्ने क्षेत्रहरु निर्माण गर्नसक्छ । अहिले भ्याक्सिनमा काम गरिरहेका टोलीहरुले विभिन्न नयाँ उपकरणहरु प्रयोग गरिरहेका छन् त्यसका लागि हामी स्थान तयार गरिदिनसक्छौं । निजी कम्नपीहरुले यस्तो जोखिम व्यहोर्न सक्दैनन् । तर संघीय सरकारले गर्नसक्छ । भर्खरै एउटा राम्रो संकेत देखिएको छ । अमेरिकी प्रशासनले भर्खरै मात्र दुई भ्याक्सिन निर्माणकर्ता कम्पनीहरुसँग सम्झौता गरेको छ । आशा छ यसमा थप प्रगति पनि हुँदै जाने छ ।
२०१५ मा मैले टीईडी टकमा विश्वभरीका नेतृत्वलाई युद्धका लागि तयार भए झै महामारीको लागि पनि तयार रहन आह्वान गरेको थिए । सिस्टममा भएका कमिकमजोरीलाई पनि खोजी गर्न आह्वान गरेको थिए । यो वर्ष हामीले देख्यौं हामी अझै धेरै हिड्न बाँकी छ । तर मलाई विश्वास छ- हामीले विज्ञान, तथ्यांक र अनुभवी मेडिकल प्रोफेसनलहरुको सल्लाह लिएर अहिले सही निर्णय लियौं भने हामीले धेरै जीवनहरु बचाउन सक्ने छौं र देशलाई पुनः पुरानो अवस्थामा काममा फर्काउन सक्ने छौं ।
(गेट्सले ब्लगमार्फत् व्यक्त गरेको सामग्रीको साझापोस्टले गरेको भावानुवाद)
The post ‘कोरोनाको क्षति हाम्रा नेतृत्वको क्षमतामा भरपर्छ’ appeared first on Sajha Post.