Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

खच्चड संसदीय व्यवस्था भत्काउँदै समृद्धिका लागि नयाँ शक्ति

$
0
0

अहिले हामी एउटा महान अभियानमा छौं । त्यसो त जीवन नै एउटा अभियानपछि अर्को अभियान हुँदै निरन्तर अगाडि बढ्ने प्रक्रिया नै हो । यसरी हाम्रो जीवन पनि स्थिर रहँदैन । समाजर इतिहास पनि विभिन्न चरण र कालखण्ड हुँदै अगाडि बढ्छ । ज्ञान र विज्ञानका आविष्कारहरुपनिनविनतम् ढंगले अगाडि बढ्छन् । त्यही हिसाबले अहिले हामी नेपालमा नयाँ शक्ति निर्माणको प्रक्रियामा अगाडि बढिरहेका छौं । यो पार्टीहरुको भिडमा थप एउटा पार्टी थप्ने अभियान होइन, किनकी तपाई हामी सबैलाई थाहा छ नेपालको निर्वाचन आयोगमा १८० वटा पार्टीहरु पहिले नै दर्ता भइसकेका छन् । अर्को एउटा पार्टी थप्ने हाम्रो कुनै मनसाय होइन ।

 

पदको च्याँखे थाप्न होइन नयाँ शक्ति
म आफैं साठी वर्ष नाघिसकेको मान्छे हुँ ।बुढेसकालमा च्याँखे थापेर, नयाँ पार्टी बनाएर दुईचार सिट ल्याउने र मन्त्रीको बार्गेनिङ गर्ने, प्रधानमन्त्री र उपप्रधानमन्त्रीको लागि च्याँखे थाप्ने जुन काम गर्छन्, त्यो हामीले गर्नुछैन । हामीले चाहेको कुरा त अर्कै छ । नेपाल इतिहासले कोल्टो फेर्दैछ । यही आवश्यकता पूरा गर्न हामीले हिम्मत गर्नैपर्दछ । इतिहासमा त्यस्ता मान्छे मात्रै महान हुन्छन्, जसले इतिहासको गतिको प्रवाहलाई र आवश्यकतालाई ठम्याउँछन् । त्यसलाई पूरा गर्नको निम्ति आफ्नो भूमिका निर्वाह गर्दछन् । यिनै मानिसहरु मात्रै इतिहासमा स्मरणयोग्य हुन्छन् । जो इतिहासको प्रवाह र हुरी बताससँग आफैं बढारिँदै हुरिँदै हिड्छन्, ती मानिसहरुको इतिहासमा कुनै पनि गणना हुँदैन । त्यसैले इतिहास निर्माण गर्ने भनेको युगको आवश्यकतालाई बोध गरेर त्यस अनुरुप आफ्ना भूमिका निर्वाह गर्ने नै हो ।

डा. बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई

त्यसैले आधुनिक भौतिकवादी चिन्तनले मात्र होइन, पुरानो अध्यात्मवादी चिन्तनले पनि विभिन्न युगमा नयाँ नयाँ आविस्कार र आवश्यकता हुने बताउँछ । त्यसैले नयाँ आवश्यकता अनुसार नयाँ अवतारको कल्पना गरिएको थियो । सत्य युगमा एक प्रकारका भगवानहरुको कल्पना गरिएको थियो । त्यतिबेला सत्ययुगको अन्तरविरोधको हल गर्न नयाँ भगवानको कल्पना गरिएको थियो । त्रेता युगको कल्पना गर्दा पनि भगवान एउटै हुन्छन् तर तत्कालीन अन्तरविरोध हल गर्न नयाँ अवतारको कल्पना गरिएको थियो । किनकी पुरानै अवतारले नयाँ युगको कार्यभार पूरा गर्न सक्दैनथियो । त्यसैले त्रेतामा अर्को, द्वापरमा अर्को कल्पना गरे । सुरुमा ब्रम्हा, विष्णु र महेश्वरको कल्पना गरेको थियो । त्रेता युगमा रामको कुरा गरियो भने द्वापर युगमा कृष्णको कल्पना गरियो । कलियुगमा आम जनताको लोकतान्त्रिक शासनको परिकल्पना त्यतिबेलै उनीहरुले गरेका थिए ।

मैले जोड दिन खोजेको अध्यात्मवादी दृष्टिकोणले पनि समाज भनेको विभिन्न चरण हुँदै अगाडि बढ्छ, एउटा युगको नेतृत्वले अर्को युगको अन्तरविरोधलाई हल गर्न सक्दैन । म त विश्वास गर्दिन, यदि भगवान नै छन् भने पनि उनीहरुले गरेका परिकल्पना पनि ठिकै हो । नयाँ युगमा नयाँ नयाँ समस्या आउँछन्, त्यसलाई पुराना विचार, सोच र नेतृत्वले हुँदैन, त्यसैले नयाँ अवतार चाहिन्छ भन्ने अवधारणा वैज्ञानिक छ भन्ने लाग्दछ । यसरी एउटा अध्यात्मवादी चिन्तनले त त्यस्तो परिकल्पना गरेको थियो भने आधुनिक ज्ञान र विज्ञानले त हामीलाई समाज विभिन्न चरण र हुँदै अगाडि बढ्छ भन्ने सिकाउँछन् । समाजको एउटा चरणमा विद्यमान समस्या एउटा विचार, संगठन र नेतृत्व प्रणालीले हल गर्दछ भने अर्को युगमा अर्का आवश्यक हुन्छन्, त्यसले नयाँ विचार, संगठन र नेतृत्वको माग गर्दछ । आधुनिक युगमा पनि यो भनिएको छ ।

 

अहिलेसम्म संस्थापक सदस्यहरु एक लाखभन्दा बढी भइसकेको हाम्रो अनुमान छ । नयाँ युगको नयाँ आवश्यकता पूरा गर्ने काम सबै संस्थापक सदस्यले सामूहिक शपथ ग्रहण गरेर अगाडि बढ्दैछौं । पार्टी र संगठित शक्तिको रुपमा घोषणा गर्ने यो अभियानमा मैले व्यापक उत्साह देखेको छु ।

 

तेस्रो चरण, नयाँ विकल्प
द्वन्द्वात्मक भौतिकवादका प्रणेता माक्र्स र एंगेल्स पनि यिनै युगहरुको परिकल्पना गरेका हुन् । यसरी हेर्दा नेपाली समाजमा यसरी नै विश्लेषण गर्न सकिन्छ । मेचीदेखि महाकाली र हिमालदेखिसम्म फैलिएको जुन नेपाली भूखण्ड छ, यसको पनि विभिन्न कालखण्डमा यसका सिमानाहरु बदलिएका छन् । यसको जुन पछिल्लो विद्यमान सीमा छ, त्यसलाई हेर्नुभयो भने हामीले स्पष्ट तीनवटा कालखण्डहरु देख्दछौं । पहिलो कालखण्ड पृथ्वीनारायण शाहको नेतृत्वमा भौगोलिक एकीकरणको चरण हो ।

१८ औं शताब्दीदेखि सुरु भएर करिब ८ दशक यो चरण रह्यो ।भीमसेन थापादेखि सुगौली सन्धीसम्मको यो चरण नेपालको एउटा भौगोलिक राज्य निर्माणको चरण रह्यो । त्यतिबेलाको राजनीति भनेको अत्यन्त एकात्मक, राजतन्त्रात्मक, फौजीकृत हुन आवश्यक थियो । किनकी त्यतिबेलाको काम भनेको भूगोलको एकीकरण, सेना निर्माण गर्ने र हतियार र राज्य कब्जा गर्ने र अरुमाथि आक्रमण गरेर आफ्नो सिमाना बढाउने त्यतिबेलाको राजनीति हुन्थ्यो । फौजीकृत राजनीतिले एउटा बलियो नेतृत्वको माग गर्दथ्यो, त्यो भनेको राजा जसलाई विष्णुको अवतारको रुपमा कल्पना गरिएको थियो । बलियो राजा अथवा बलियो ठूला भारदारहरुको परिकल्पना त्यतिबेला हुन्थ्यो र भयो नै त्यस्तै । त्यसकारण पहिलो चरणको राजनीति राजतन्त्रात्मक र फौजीकृत प्रकारको रह्यो ।

त्यसपछि नेपालको राजनीति लोकतान्त्रिकरणको रह्यो । जनतालाई अधिकार नदिएसम्म, जनतालाई अधिकारसम्पन्न नबनाएसम्म राज्य समृद्ध भएर अगाडि बढ्दैन भन्ने मान्यता अनुसार १९९० पछाडि ००७ साल, ०४६ साल, ०५२ साल हुँदै ०६२ र ०७२ सालसम्म आउँदा एउटा लोकतान्त्रिक अधिकार प्राप्ति र राजनीतिक परिवर्तनको श्रृंखला अगाडि बढ्यो । यो दोस्रो चरण राजनीतिक अधिकार प्राप्तिको चरण रह्यो । यसमा प्रजा परिषद हुँदै, नेपाली कांग्रेस, एमाले, माओवादी हुँदै मधेसवादीसम्मको समूहहरु नयाँ नयाँ अवतारकारुपमा उदाए । अहिले ०७२ सालसम्म आइपुग्दा सबैको योगदानको योगफलस्वरुप संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी अर्कै आधारभूतरुपमा अर्को चरण पूरा गर्‍यौं । कुनै पनि चरण पूर्णरुपमा पूरा कहिल्यै पनि हुँदैन । आंशिक कामहरु बाँकी रहन्छन् । भौगोलिक एकीकरणको कुरा पनि सुगौली सन्धीपछि पनि बाँकी रहे । अहिले पनि त कतिपय ठाउँमा सीमा विवादहरु छन् ।

 

समृद्धिका लागि सहकार्य
जसरी भौगोलिक एकीकरणको प्रक्रियाको अंशहरु बाँकी रहन्छन्, लोकतान्त्रिक आन्दोलनको पनि अंशहरु बाँकी रहन्छन् । अहिले पनि आदिवासी जनजाति, मधेसी, महिला, दलितलगायतका कतिपय कुराहरु बाँकी नै छन् । यसमा बहस र विवाद छ, आन्दोलन छन्, यसलाई बिस्तारै सम्बोधन गर्दै हामी जान्छौं । फेरि पनि मूल रुप भनेको राजनीतिक अधिकार प्राप्तिको दोस्रो चरण पूरा गरेका छौं । अबर हामी तेस्रो चरणमा प्रवेश गरेका छौं, त्यो पनि आर्थिक विकास र समृद्धिको चरण अथवा भौतिक सभ्यता निर्माणको चरण । औद्योगिक क्रान्तिको चरण पनि भन्न सकिन्छ । मुलरुपमा अब आर्थिक विकास र समृद्धिको नयाँ युगमा हामी प्रवेश गर्दैछौं । यो अहिलेको यथार्थ यही हो । यो कार्यभार पूरा गर्न पुरानै पार्टीमा रहेर, पुरानै विचारमा टाँस्सिएर, पुरानै शैली अपनाएर यो आवश्यकता हामी पूरा गर्न सक्दछौं त ? भन्दा हामी सक्दैनौं । पहिलो चरणमा फौजी दृष्टिले लडाई लड्ने शक्तिको आवश्यकता थियो । दोस्रो चरणमा त्याग र बलिदान गर्ने, भूमिगत बस्ने, जेल जाने क्षमताको आवश्यकता पर्दथ्यो । राजनीतिक दलको नेतृत्वमा, पार्टीमा यस्तै मानिसहरु हावी भए । विचार पनि यसैलाई दिशावोध गर्ने खालको हुन आवश्यक हुन्थ्यो ।

अब आर्थिक समृद्धिको चरणमा ज्ञान र विज्ञानका पछिल्ला आविस्कारहरुसँग अवगत हुने कुरा, आर्थिक विकासका नियमहरु बुझ्ने कुरा र राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ठिक ढंगले हिसाब गर्ने कुरा र व्यवस्थापन र सुशासन कायम गरेर छिटो भन्दा छिटो आर्थिक क्रान्ति सम्पन्न गर्ने कुरा मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने प्रकारको विचार, क्षमता र व्यवस्थापनको माग गर्दछ । त्यसैले हिजो हामी जुनसुकै पार्टीमा रहेका भए पनि वा कुनै पनि पार्टीमा नभएका मानिसहरु सबै मिलेर फेरि नयाँ युगको आवश्यकता पूरा गर्न नयाँ ढंगले अगाडि बढ्नुपर्छ । यही मान्यताअनुसार नै हामीले संविधानसभाबाट संविधान जारी भएपछि यो नयाँ शक्ति निर्माणको अभियान हामीले चलायौं । केही महिनाको वृहत बहस र छलफलपछि हामी आगामी जेठ ३० गते विशाल भेला गरेर पार्टीको घोषणा गर्दैछौं । यो अभियानमा सहमत हुने सबैलाई संस्थापक सदस्य बनाउने हाम्रो अभियान छ ।
अहिलेसम्म संस्थापक सदस्यहरु एक लाखभन्दा बढी भइसकेको हाम्रो अनुमान छ । नयाँ युगको नयाँ आवश्यकता पूरा गर्ने काम सबै संस्थापक सदस्यले सामूहिक शपथ ग्रहण गरेर अगाडि बढ्दैछौं । पार्टी र संगठित शक्तिको रुपमा घोषणा गर्ने यो अभियानमा मैले व्यापक उत्साह देखेको छु ।
बिस्तारै नेपाली जनताले यो कुरा बुझिरहेका छन् । छिटोभन्दा छिटो गरिबी र बेरोजगारीबाट मुक्त गराउन, विदेश पलायन हुन बाध्य युवा पंक्तिलाई देशभित्रै रोजगारी दिने, निर्वाहमुखी र परम्परागत कृषि प्रणालीलाई बदलेर देशमा उद्योगधन्दा, सेवा, वित्तको व्यापक विस्तार गरेर छोटो समयमै मुलुकलाई समृद्ध नबनाउने हो भने अहिलेसम्म प्राप्त भएको राजनीतिक अधिकार न सुरक्षित रहन्छ, न त हाम्रो पुर्खाले लडेर ल्याएको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता हो, त्यो नै कायम राख्न सकिन्छ । त्यसकारण अबको मुख्य पुँजी भनेको लोकतन्त्रको रक्षाको निम्ति पनि, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाको निम्ति पनि, आर्थिक विकास र समृद्धिबिना सम्भव छैन । यो कुरा आमरुपमा बोध भएको छ । यही कुरालाई ध्यानमा राखेर पार्टी घोषणाको तयारी गर्दैछौं । यसैको पूर्वसन्ध्यामा हामीले विभिन्न दस्तावेजहरु तयार बनाएर अगाडि बढाउँदैछौँ ।

 

कस्तो सिद्धान्त, कस्तो कार्यदिशा
अहिले एउटा ठूलो ध्रुवीकरणको प्रक्रिया चलेको हुनाले म एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने अहिले हामीले कुनै बनिबनाउ सिद्धान्त, फर्मुला सचेत ढंगले नै हामीले अगाडि सारेका छैनौं । हामीसँग केही नयाँ अवधारणाहरु छन् नयाँ युगको आवश्यकता पूरा गर्नको लागि । अहिले हामीले नयाँ शक्ति निर्माणको प्रक्रियालाई पनि नयाँ बनाउनुपर्छ । केही मानिसहरुले मात्र निर्णय गर्ने होइन, केही नेताहरु बसेर दस्तावेज लेखेर लौ यो हो दस्तावेज भनेर फ्याँक्दिएर नयाँ हुँदैन । ज्ञान र विज्ञानको यति ठूलो अथाह सागर छ, त्यसमा डुबुल्की नमरीकन विचार, सिद्धान्त र कार्यदिशा त्यत्तिकै फ्याँकिदिएर हुँदैन । त्यो तत्काल त केही मानिसलाई आकर्षित गर्न त सक्दछ, तर त्यो पुनः पुरानै बन्ने खतरा रहन्छ । यसर्थ, नयाँ शक्तिका वैचारिक, दार्शनिक आधारहरु, कार्यदिशा, संगठनात्मक र नेतृत्वको प्रणाली र कार्यशैलीमाथि व्यापक छलफल चलाउनका लागि एक सामान्य प्रारम्भिक खाका हामीले कोरेका छौं । तीन वटा दस्तावेजहरुमा पहिलो राजनीतिक प्रतिवेदन जसलाई हामीले नयाँ शक्तिको आधारतत्व भनेका छौं, दोस्रो आर्थिक विकास र समृद्धिको कार्ययोजना वा मार्गचित्र, तेस्रो संगठन र विधानसम्बन्धी प्रतिवेदनको हामीले खाका कोरेका छौं । बहस र छलफलमा रहेका यी दस्तावेजहरुलाई ३० गतेको भेलाबाट पनि हामी अन्तिम रुप दिँदैनौं । त्यहाँ प्रारम्भिक छलफल गरेर पुनः व्यापक छलफल र बहसका लागि जनताको लगेर बाहिर हामी पठाउँछौं । यसकारण यसमा तपाईंहरुले पनि आफ्नो सल्लाह, सुझाव दिन सक्नुहुन्छ । यसमा व्यापक छलफल चलाएर अन्त्यमा नयाँ ढंगले संश्लेषण गरेर अन्तिम रुप दिने हाम्रो सोच छ ।
विचार के हो त नयाँ शक्तिको ?
यसमाथि व्यापक जिज्ञासा रहेको पाएका छौं । विचार र सिद्धान्त भनेको मान्छेले आविस्कार गर्ने कुरा हो । इतिहासका गति सँगसँगै मानिसको आवश्यकता फेरिन्छन्, चेतना विकास हुँदै जान्छ, त्यसैको सापेक्षतामा विचार र दर्शनको पनि विकास हुँदै जान्छ भन्ने नयाँ शक्तिको मान्यता यस्तो छ । हिजोसम्म संश्लेषण गरिएका कुनै पनि विचार र दर्शनलाई धर्मशास्त्रको रुपमा अंगालेर अगाडि बढ्यौं भने हामी अगाडि बढ्न सक्दैनौं । अहिलेसम्मको विचार, दर्शन र सिद्धान्तलाई यसको प्रयोग र अभ्यासलाई पुनरावलोकन र पुनर्संश्लेषण गरेर रअहिलेसम्मको ज्ञान र विज्ञानलाई संश्लेषण गर्दै पछिल्ला आवश्यकताको जगमायसलाई समृद्ध गर्ने नयाँ शक्तिको उद्देश्य हो ।

धेरै सैद्धान्तिक व्याख्या नगरीकन भन्दा अहिलेसम्म विचार र दर्शनको क्षेत्रमा अथवा राजनीति र अर्थशास्त्रको क्षेत्रमा मुलतः दुई प्रकारको बहस विद्यमान छन् । दर्शनको क्षेत्रमा वस्तु वा पदार्थ प्राथमिक हो कि चेतना भन्ने विषय नै दर्शनशास्त्रको हजारौं वर्षदेखिको बहस हो । त्यसैले भौतिक पदार्थको संसारलाई प्रधान मान्ने भौतिकवादी सिद्धान्त र चेतना वा मानिसको ज्ञान पक्षलाई प्रधान मान्ने आदर्शनवाद वा चैतन्यवाद भन्ने अर्को यी दुईटा धार नै दर्शन शास्त्रको दुईवटा विषय भए । राजनीति शास्त्रमा हेर्नुभयो भने व्यक्तिको हित वा व्यक्तिको निजत्वलाई प्रदान मान्ने कि समूहको हित वा समुदायलाई प्रदान मान्ने हो ? यी दुईवटा मध्ये कसको हितलाई प्रधान मान्ने हो वा प्राथमिकता दिने हो भन्ने राजनीति शास्त्रमा बहस छ ।

उदारवादले एउटा व्यक्तिको हितलाई प्रदानता दिनुपर्छ भन्दछ भने समाजवादले सामूहिक हित र समाजको हितलाई प्रदानता दिनुपर्छ भन्दछ । आदिमकालदेखि अहिलेसम्मको बहस त्यहीँनेर हो । यसैको हाँगा भएको अर्थशास्त्रले पनि के भन्छ भने विषयलाई व्यक्तिको निजी विवेकमा छाडिदिनुपर्छ वा बजारले नै सबैकुरा आफैं निर्धारण गर्दछ, त्यसैले त्यहाँ हस्तक्षेप गर्नु हुँदैन भन्ने एउटा दृष्टिकोण र अर्को समाजको हितको लागि राज्यले नै अर्थतन्त्रको नेृतत्व गर्नुपर्छ र उसले हस्तक्षेप गर्नुपर्दछ भन्ने अर्को दृष्टिकोण । यसर्थ, यी दुई दृष्टिकोण जसले व्यक्तिको हित र समाजको हितलाई व्यवस्थापन गर्ने राजनीतिकशास्त्रको बजार र बजारले नै अर्थतन्त्रको सबै कुरा निरुपण गर्दछ भन्ने र राज्यले त्यसमा दखल दिनुपर्छ भन्ने अर्को बहस ।

नेपाल चीन र भारतको बीचमा रहेको छ, यो विशिष्ट भूराजनीतिक अवस्था छ । यी दुई राष्ट्रहरु दुई देश मात्र होइनन् । उनीहरु शक्तिशाली अर्थतन्त्रको रुपमा विकास हुँदैछन् । २१औं शताब्दीको विकासको केन्द्र एसिया हुन्छ र त्यसको पनि केन्द्र भारत र चीन हुन्छ भन्ने प्रक्षेपण छ । यसरी हेर्दा अब नेपाल दुई ढुंगाबीचको तरुल बनेर बस्न सक्दैन, दुई ठूला बजार, ठूला समुन्द्रको बीचमा गतिशील पुलको रुपमा नेपाललाई हामीले परिकल्पना नगर्ने हो भने हाम्रो नेपालको विकास र समृद्धि सम्भव हुँदैन र राष्ट्रियता र स्वाधिनता पनि बचाउन पनि गाह्रो हुन्छ ।

यिनै विषयमा नै बिसौं शताब्दीसम्म बहस केन्द्रित भए । तर अहिले एक्काइसौं शताब्दीसम्म आउँदा ज्ञान र विज्ञानका आविस्कारहरु भएका छन् । खासगरी भौतिकशास्त्रमा क्वान्टम मेकानिक्ससम्म आउँदा पहिले कणलाई प्रमुख मान्ने कि तरंगलाई भन्ने विषयमा यी दुवैलाई अन्तरसम्बन्धित हुन्छन् भन्न थाल्यो । यी दुईलाई चटक्कै अलग्याएर मात्र हेर्न सकिन्न भनेर भौतिक विज्ञानले भन्यो । यसरी नै दर्शनशास्त्रमा पनि पदार्थ र चेतनाको विषयलाई अन्तरसम्बन्धित ढंगले हेर्नुपर्छ । यसलाई एकअर्काबाट छुट्याएर बुझ्न सकिन्न भन्ने पनि बहस छ । त्यसैगरी राजनीतिकशास्त्रमा पनि व्यक्तिको निजत्व र समूहको हित भन्ने कुरालाई पूरै एकअर्काको विरोधीको रुपमा मात्रै उभ्याउन सकिन्न । यी पनि अन्तरसम्बन्धित हुन्छन् ।

व्यक्तिको निजत्व र हितलाई पनि ध्यान दिनुपर्छ र जनताको सामूहिकतालाई पनि ध्यान दिनुपर्छ भन्ने कुरा पछिल्ला समाजशास्त्र, मानवशास्त्रका पछिल्ला अनुसन्धानले र जेनेटिक्सका पत्ता लगाएका नियमहरुले त्यो कुरालाई व्यक्त गर्दछ । समाजभित्र व्यक्ति हुन्छ र व्यक्ति पनि समाजको एउटा अंग हुन्छ भने यसलाई अन्तरसम्बन्धित हेर्नुपर्छ भनेर राजनीति शास्त्रको नियमले पनि भन्छ ।
अर्थशास्त्रमा पनि व्यक्तिको पहल र उद्यमशीलतालाई पनि प्रश्रय दिनुभएन भने सबैथोक राज्यले मात्रै हेर्छुभन्दा पनि प्रगति नहुने रहेछ भन्ने समाजवादको अभ्यासले देखियो । व्यक्तिलाई बजारमा सबैथोक छोडिदिन्छु भन्दा पनि त्यसले असमानता ल्याउने रहेछ भन्ने कुरा युरोप र अमेरिकामा भएका विभेद र त्यसको विरुद्ध उठेका आवाजले देखाउँछ । त्यसैले बजारको पनि र राज्यको पनि संयोजित भूमिका हुनुपर्छ भन्ने कुरा यी कुराले पुष्टि गर्दछन् ।

 

नयाँ शक्तिको प्रस्थानविन्दू
यसर्थ सिद्धान्त र दर्शनको क्षेत्रमा पनि बिसौं शताब्दीको ज्ञान र विज्ञानभन्दा अहिले २१औं शताब्दीमा हामी माथि उठेका छौं । त्यसर्थ हामीले अहिले विश्व र नेपालको समस्या हल गर्नको निम्ति हिजोका विचार, दर्शन र सिद्धान्तभन्दा, हिजोका राजनीतिक र आर्थिक प्रणालीभन्दा माथि उठेर तिनका सकरात्मक पक्षहरु ग्रहण गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्छ । यो नै नयाँ शक्तिको प्रस्थान विन्दू हो । यसैले नयाँ शक्ति विचारविहिन छ भनेर फैलाइएको भ्रम सत्य होइन । यो पछिल्ला ज्ञान र विज्ञान एवम् नयाँ विचारमा आधारित छ । हामी विश्वलाई नै नयाँ विचार दिन सक्छौं भन्ने हाम्रो आत्मविश्वास हो ।

२५ सय वर्ष पहिले त्यतिबेलाको अन्धकार युगमा गौतम बुद्धले ज्ञानको ज्योति छर्न सके भने आजको ज्ञान विज्ञान र सूचना प्रविधिको प्रचूर विकास भएको अवस्थामा हामीले गर्न सक्दैनौं भन्ने अर्थ लाग्दैन । सक्छौं र सक्नुपर्छ र नयाँ शक्ति नयाँ विचार, नयाँ दर्शन, नयाँ मान्यता र नया प्रणालीसहित अगाडि आउँछ । म पूर्णरुपमा विश्वस्त छु, यहाँलाई पनि विश्वस्त बनाउन चाहन्छु ।

 

खच्चड संसदीय व्यवस्था भत्काउनुपर्छ
यसमा मुख्यतः केही कुरालाई ध्यान दिनुपर्छ । आन्तरिकरुपमा हाम्रो मुलुकमा जुन राष्ट्रिय विविधताहरु छन्, हिमाल, पहाड तराई छ एकातिर भने मधेसी, थारु, खस–आर्य, आदिवासी जनजाति, महिला दलितलगायतको रुपमा जसरी हामीसँग विविधता छ, यसलाई सम्बोधन गर्न समानुपातिक, समावेशी र सहभागितामुलक लोकतन्त्रको अभ्यास गर्नुपर्छ । त्यसरी मात्र राष्ट्रिय एकता कायम गर्न सकिन्छ । यसपछि मात्रै आर्थिक विकास र समृद्धिको यात्रामा जान सकिन्छ भन्ने हाम्रो मान्यता छ । यसको लागि शासकीय प्रणाली पनि स्थिरता दिने प्रकारको हुनुपर्छ । अहिलेको खच्चड खालको संसदीय व्यवस्था छ, यसले कुनै स्थायी प्रकारको सरकार दिँदैन । ६–६ महिनादेखि वर्षदिनमा सरकार फेरेर देशको विकास हुँदैन । यसबारे नयाँ शक्तिको स्पष्ट धारणा छ, हामी संसदलाई पूर्णरुपले समानुपातिक बनाऔं र कार्यकारी राष्ट्रपति प्रत्यक्षरुपले निर्वाचित गर्नुपर्छ । यसरी मात्रै समानुपातिक समावेशिता पनि हुन्छ र कार्यकारी पनि स्थिर हुन्छ र कमसेकम पाँच वर्ष एउटा निर्वाचित राष्ट्रपतिले सरकार चलाउन सक्छ । यसर्थ, देशको समृद्धिको लागि समावेशी, सहभागितामुलक र समानुपातिक लोकतन्त्रको अवधारणा अगाडि सारेका छौं । यो आर्थिक विकासको लागि चाहिने पहिलो पूर्वशर्त हो ।

यसैगरी नेपाल चीन र भारतको बीचमा रहेको छ, यो विशिष्ट भूराजनीतिक अवस्था छ । यी दुई राष्ट्रहरु दुई देश मात्र होइनन् । उनीहरु शक्तिशाली अर्थतन्त्रको रुपमा विकास हुँदैछन् । २१औं शताब्दीको विकासको केन्द्र एसिया हुन्छ र त्यसको पनि केन्द्र भारत र चीन हुन्छ भन्ने प्रक्षेपण छ । यसरी हेर्दा अब नेपाल दुई ढुंगाबीचको तरुल बनेर बस्न सक्दैन, दुई ठूला बजार, ठूला समुन्द्रको बीचमा गतिशील पुलको रुपमा नेपाललाई हामीले परिकल्पना नगर्ने हो भने हाम्रो नेपालको विकास र समृद्धि सम्भव हुँदैन र राष्ट्रियता र स्वाधिनता पनि बचाउन पनि गाह्रो हुन्छ । त्यसैले नेपाललाई दुई ढुंगाबीचको तरुल भन्दा होइन, दुई विशाल अर्थतन्त्रबीचको गतिशील पुलको रुपमा पुनर्परिभाषित गरेर अगाडि बढ्नुपर्छ । यसरी मात्र नेपालको विकास र समृद्धि सम्भव हुन्छ र राष्ट्रियता र स्वाधिनताको पनि रक्षा हुन्छ ।

अर्को नभइनहुने कुरा सुशासन र सदाचार हो । समाजमा, पार्टीभित्र सदाचार र सुशासन कायम रहेन र अहिलेजस्तै भ्रष्टाचार रह्यो भने राजनीतिलाई फोहोरी खेलको रुपमा बुझिन्छ । केही नभएका मानिसहरु कुनै श्रम नगरी रातारात करोडपति बन्ने खराब प्रचलन अगाडि आएको छ, त्यसले गर्दा राजनीतिप्रति नै वितृष्णा छ । राजनीति मुल नेतृत्व गर्ने ठाउँ नै भ्रष्टाचार र दुराचारको केन्द्र बन्छ भने भोलि उनीहरुले नेतृत्व गर्ने राजनीतिक व्यवस्थाबाट विकास र समृद्धि एवम् सदाचार र सुशासन सम्भव छैन । यसर्थ, हामीले विधिको शासन पालना गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्नुपर्दछ । उपदेश दिएर, भजन गाएर सुशासन सम्भव हुने होइन । विधि र नियमकानुन बनाउने र त्यसलाई कडाईपूर्वक पालना गर्नुको विकल्प कसैसँग छैन । अर्को भनेको पारदर्शिता हुनुपर्छ, त्यो राजनीतिक जीवन र व्यक्तिगत जीवनमा समेत हुनुपर्छ । यसरी सापेक्षितरुपमा बढीभन्दा बढी सुशासन र पारदर्शिता अपनाएर मात्र हामीले विकास र समृद्धि हासिल गर्न सक्छौं ।

 

नयाँ शक्ति, शीरमा समृद्धि
यसर्थ नयाँ शक्तिले अगाडि सारेको पाँच ‘स’को मुख्य कुरा समृद्धि हो र त्यसलाई हासिल गर्न समानुपातिक, समावेशी र सहभागितामुलक लोकतन्त्र, देशको सार्वभौमसत्ता र स्वाधिनतालाई रक्षा गर्ने विदेश नीति र व्यवहारमा सदाचार र सुशासन कायम गर्ने प्रतिबद्धता नै नयाँ शक्तिको मुल आधार हुन् । प्रारम्भिक छलफल र बहसका विषय हुन् । यसलाई बहस र विवादमा लगेर समृद्ध बनाउँदै भेलाबाट झन अगाडि बढाउँछौं । एकवर्षभित्र महाधिवेशन गरेर यसलाई अन्तिमरुप दिन्छौं र नेपालमा नयाँ शक्तिको निर्माण गर्छौं भन्ने नयाँ शक्तिको लक्ष्य रहेको छ । यसर्थ नयाँ शक्ति अर्को एउटा नयाँ पार्टी मात्रै होइन, नयाँ युगको नयाँ आवश्यकता पूरा गर्ने वैकल्पिक राजनीतिक शक्ति हो । आगामी निर्वाचनबाट देशको प्रमुख शक्ति बनेर शासकीय स्वरुप फेर्दै मुलुकलाई समृद्धिको यात्रामा डो¥याउँदै अगाडि बढ्नुपर्छ र मुलुकलाई १५ वर्षभित्र मध्यमस्तरको विकास गर्ने संकल्पलाई अगाडि बढाउनुपर्छ ।

जेठ ३० गतेको भेलालाई विश्वले नै हेरिरहेको छ । हामीले विश्वलाई नै केही नयाँ सन्देश दिनुछ । पुरानो कुराको ब्याज खाएर बस्ने छुट हामीलाई छैन । नेपाली कांग्रेसले ००७ सालको ब्याज खाएर बसिरहेको छ । मेरा बाजे कांग्रेस थिए भनेर नाति पनाति पनि कांग्रेस बन्ने एउटा संस्कारजस्तो हाम्रोमा छ ।

अर्कोतिर माले र माओवादी भनेर हिजो कुनै कालखण्डमा भूमिका निर्वाह गरेको नाउँमा यसैको ब्याज खाएर फेरि त्यही साइनबोर्ड झुण्ड्याएर बस्ने प्रवृत्ति छ, यस्तो अवस्थामा नयाँ शक्ति कसरी बन्ला भन्ने मानिसहरुको जिज्ञासा छ । त्यसलाई हामीले चिर्नै पर्दछ । किनकी पार्टी भनेको ब्राण्ड होइनन् । यो पेप्सीकोला, कोकाकोला भनेको जस्तो ब्राण्ड होइन । पार्टी भनेको विचार हो, आदर्श हो । नयाँयुगको आवश्यकताअनुसार जुन पार्टी अगाडि जान सक्दैन । ब्राण्ड मात्रै झुण्ड्याएर बस्नुको कुनै अर्थ हुँदैन ।
नेपालमा कांग्रेस–कम्युनिष्ट, औचित्य कति ?
कंग्रेस भनेको त नेपाली नाम नै होइन । यो त भेला, जमघट भनेजस्तो हो । दोस्रो विश्वयुद्धको बेला लोकतन्त्रको लहर आएको बेला लोकतान्त्रिक पार्टीको परिकल्पनाको रुपमा कांग्रेसको गठन गरेको हो । नेपाली कांग्रेस, भारतीय कांग्रेस, दक्षिण अफ्रिकी कंग्रेस । कंग्रेसको नाम यसरी बसेको हो । यसरी युद्धपछिको सन्दर्भमा औपनिवेशिकबाट मुक्त हुन र लोकतान्त्रिक अभियानलाई अगाडि बढाउने अभियानस्वरुप कंग्रेस जन्मिएको हो ।

त्यसरी नै कम्युनिष्ट पार्टी पनि सर्वहारावर्ग, मजदुर, किसान, गरिबको निम्ति भनेर जुन अवधारणा आयो । नेपालको सन्दर्भमा पुराना कम्युनिष्टहरु भन्ने मात्रै कम्युनिष्ट व्यवहारमा चाहिँ गैरकम्युनिष्ट भए भनेर माले नाम किन राखियो भने आफूलाई क्रान्तिकारी भनेर चिनाउन राखिएको हो । ६० को दशकमा पुराना कम्युनिष्टहरु पुँजीवादी पार्टीहरु जस्तो पार्टीमा परिणत भए, क्रान्तिकारी कम्युनिष्टहरुलाई परिचय दिन माक्र्सवादी लेनिनवादी भनेर परिचय दिन नामको पछाडि माले झुण्ड्याइएको हो ।

यसैगरी साठीको दशमा माओको नेतृत्वको सांस्कृतिक क्रान्तिलाई आदर्श मानेर सुरु भएको मालेको कुनै आदर्श अहिलेको कम्युनिष्टमा देख्नुहुन्छ ?केही पनि छैन । कम्युनिष्ट भन्नेको कुन चरित्र एमालेमा छ र ? केही पनि छैन । एमालेको माओको सांस्कृतिक क्रान्तिसँग कुनै साइनो छैन । रत्नपार्कको चटकेले राम्रो ब्राण्डको कागज बेरेर नक्कली औषधी बेचेजस्तो मालेले त्यो औषधी बेचिराछ । त्यसपछि माओवादी प्रभावित भएर नेपालमा एउटा युद्धको आवश्यकता छ, विद्रोह आवश्यक छ भनेर हामीले माओवादी आन्दोलन सुरु गरेकै हो । यसरी तत्कालीन कम्युनिष्ट भन्दा फरक बन्न माओवादी पदावली देखाएकै हो । त्यसले केही भूमिका निर्वाह ग¥यो । यो यसको सकरात्मक पक्ष हो ।

यसले नेपालमा केही परिवर्तन गर्‍यो तर अब परिवर्तित सन्दर्भमा यसको केही औचित्य छैन । माओवादका नाममा अहिले केही साथीहरु जम्मा हुनुभएको छ, के उहाँहरुमा माओवादको कुनै स्पिरिट बाँकी छ ?माले सांस्कृतिक क्रान्तिको बेला जुन सिद्धान्त अगाडि सारेको थियो, सर्वहारा वर्गको नेतृत्व अन्तर्गत निरन्तर क्रान्ति नै माओवादी सिद्धान्त हो । के त्यो नेपालमा अहिले लागू गर्ने अवस्था छ ?सर्वहारा वर्गको अधिनायकत्व अहिले तुरुन्तै लागू गर्न सक्ने अवस्था छ ?हो भने भन्नुपर्‍यो । होइन भने भन्नुपर्छ ।

 

साम्यवाद र राम राज्य, उस्तै–उस्तै
समाजवाद र साम्यवादको आदर्श म व्यक्तिगतरुपमा छोड्न चाहन्न । रामराज्यको परिकल्पना, स्वर्गको परिकल्पना, आदर्श समाजको परिकल्पना मानव जातिले सुरुदेखि गर्दै आएको छ । समाजवाद र साम्यवादको परिकल्पना पनि शोषणविहिन र वर्गविहिन समाजको परिकल्पना अत्यन्त राम्रो कुरा हो ।

भोलि कुनै बेला वा दशौं बिसौं पुस्तापछि आउन सक्छ, आउनुपर्छ र आउँछ भन्ने कुरामा मलाई अहिले पनि विश्वास छ । त्यसमा हामीले ध्यान दिनुपर्छ । तर के अहिले हाम्रै जीवनकालमा समाजवाद र साम्यवाद आउने अवस्था छैन । अहिले त हामीले उत्पादक सम्बन्धहरु र उद्योग धन्दाको विकास गर्ने र रोजगारी दिने र त्यसैको जगमा टेकेर समाजवाद, साम्यवादमा पुग्ने हो । यस्तो यथार्थपरक नीतिलाई छाडेर हिजो कुनै सन्दर्भमा माओवादी भनिएको थियो भनेर त्यसैलाई ब्राण्डको रुपमा माओवादी समाउनुको अर्थ छैन ।

माओवादको नाममा जुनप्रकारको भ्रष्टीकरण भइरहेको छ, त्यसैले इमान्दार र परिवर्तनकामी शक्तिले हिजोका ब्राण्डका रुपमा कांग्रेस, एमाले र माओवादी भन्ने होइन, अब हामीले नयाँ ब्रान्ड सिर्जना गर्ने हिम्मत राख्नुपर्छ । त्यो भनेको नयाँ शक्ति नै हो । यसले नयाँ पुस्ताको भावनाको प्रतिनिधित्व पनि गर्दछ, समृद्धिको नेतृत्व गर्न सक्छ । त्यसैले यी परिवेशभन्दा माथि उठेर जुन परिकल्पना गरेका छौं, यो सम्भव छ र हुन्छ भन्ने मलाई लाग्दछ । म पूर्णरुपमा विश्वस्त छु । बन्दैन कि हुँदैन कि भन्ने कुनै पनि प्रकारको आशंका गर्न आवश्यक छैन । जेठ ३० गते एउटा सानो ट्रेलर मात्रै देखाउने हो, त्यहाँबाट हामीले भविष्यमा नयाँ शक्ति कसरी आउँछ, के गर्छ भन्ने ट्रेलर मात्र देखाउने हो । हामी पनि आउँदैछौं भन्ने सन्देश दिनेछौं ।

 

धादिङ-काठमाडौं सम्पर्क संयन्त्रको भेलामा भट्टराईले दिएको मन्तव्यको सम्पादित अंश ।

 

The post खच्चड संसदीय व्यवस्था भत्काउँदै समृद्धिका लागि नयाँ शक्ति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles