Quantcast
Viewing all articles
Browse latest Browse all 942

अति राजनीतिकरणको चपेटामा नेपाली

राजनीति देशको रुपरेखा बदल्ने, देशको राज्य संयन्त्र सुचारु गर्ने, देशको बागडोर सम्हाल्ने महत्वपूर्ण साधन हो । हरेक देशलाई सुव्यवस्थितरुपमा सञ्चालन गर्न सुदृढ राजनीति आवश्यक छ । विकसित, अविकसित, विकासशील जुनसुकै देशमा पनि राजनीतिक गतिविधि, राजनीतिक नेतृत्वको भूमिका, जनतामा राजनीतिक चेतना, राजनीतिक सुझबझले देशको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा प्रभाव पारिरहेको हुन्छ ।

अझै स्पष्ट भन्ने हो भने राजनीति नै आधुनिक युगमा देश विकासको मुख्य आधार हो । बोलीचालीको भाषामा राजनीतिलाई समाज सेवाको महत्वपूर्ण क्षेत्र मानिन्छ । तथापि नेपाल जस्तो मुलुकमा अझैसम्म राजनीतिलाई समाजसेवाको रुपमा वास्तविकरुपमा परिभाषित गर्न कठिन छ किनकी अधिकांश व्यक्तिहरुले यसलाई व्यवसायिक पेशाको रुपमा ग्रहण गरिरहेको देखिन्छ ।

नेपालमा हरेक क्षेत्र राजनीतिबाट प्रभावित छ । नेपालीहरु जुनसुकै क्षेत्रमा पनि राजनीति घुसाएर आफ्नो अभिष्ठा पुरा गर्न चाहन्छन् । जन्मेर बोली नफुट्दै बच्चाहरुलाई राजनीतिको पाठ पढाउन शुरु गरिन्छ र जब ऊ स्कुल, कलेजमा पढ्छ, उसले कुनै न कुनै राजनीतिक पार्टीको झण्डा बोकेर हिड्ने राजनीतिकर्मी बनिसकेको हुन्छ । घरपरिवार, स्कुल, कलेज, सरकारी वा प्राईभेट कार्यालयहरु, सार्वजनिक संघ, संस्था सबै राजनीतिक हावाले प्रभावित छन् जसले गर्दा हरेक नागरिक राजनीतिमा चाहेर वा नचाहेर पनि आवद्ध हुनुपर्ने हुन्छ ।

Image may be NSFW.
Clik here to view.
प्रकाश श्रेष्ठ
प्रकाश श्रेष्ठ

गाउँको चिया पसल, चौतारी, मेलापातादेखि शहरको गल्ली-गल्ली, चोक, होटेल, लज, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, प्राईभेट कार्यालय, व्यवसायिक संस्था, धर्मशाला, कलेज, विश्वविद्यालय, ट्राभल एजेन्सीदेखि सिंहदरबार, फिल्म हलदेखि दशरथ रंगशाला, पार्कदेखि सपिंग मलसम्म जताततै राजनीतिक प्रभाव र राजनीतिक गफगाफ, राजनीतिक चिन्तन मनन, राजनीतिक खिचातानी, राजनीतिक कार्यकर्ताको धौडधुप देखिन सकिन्छ । हरेक व्यक्ति कतै न कतै राजनीतिक संगठनको सदस्य बनेर आफ्नो भक्तिभाव र आस्थालाई घोषित एवं अघोषित व्यवहारबाट संलग्नता जनाईरहेका हुन्छन् ।
स्कुलमा पढ्ने विद्यार्थीदेखि पढाउने शिक्षक, जागिर खाने कर्मचारी, खेल खेल्ने खेलाडी, कला क्षेत्रका कलाकार देखि साहित्यमा लागेका साहित्यकार, सामाजिक सेवामा लागेको संघ, संस्थादेखि धार्मिक संघ, संस्था, पत्रकारदेखि लेखकहरु, व्यापारीदेखि उद्योगपतिसम्म, झुपडी मालिकदेखि महल मालिकसम्म, श्रमिक/कामदारदेखि सामान्य बेरोजगारीसम्म, कलेजका विद्यार्थी देखि प्राध्यापकसम्म, हजामदेखि कसाईसम्म, भट्टी पसलेदेखि पाँचतारे होटल मालिकसम्म, साउदी बस्ने नेपालीदेखि अमेरिका बेलायत बस्ने गैरआवासीय नेपालीसम्म, पियनदेखि मन्त्रालयका सचिवसम्म सबका सब राजनीतिमा आवद्ध हुन्छन् ।

नेपालका हरेक राजनीतिक पार्टीहरुले सबका सबलाई कुनै न कुनै भातृसंगठनमा आवद्ध बनाएर आफ्नो चाकडी गर्न बाध्य बनाएका छन् र आम नागरिक पनि त्यसरी चाकडी गर्न लालायित देखिन्छन् । हरेक क्षेत्र राजनीतिबाट आक्रान्त भएकोले बिना राजनीतिक संलग्नता सामान्य गैरराजनीतिक व्यक्ती भएर बाँच्न निकै कठिन छ जसको फलस्वरूप हरेक व्यक्ति कुनै न कुनै राजनीतिक दलको सदस्य बनेर आफ्नो कार्य क्षेत्रलाई सुरक्षित बनाईरहने प्रयत्न गरिरहेको हुन्छ । सामान्य किसिमको जागिर र कामको लागि पनि राजनीतिक आस्थालाई आधार बनाई नियुक्ति गरिने परिपाटी रहँदै आएको सन्दर्भमा राजनीतिक पार्टीको सदस्यबेगर कुनै पेशा वा जागिर खान समेत कठिन देखिन्छ तसर्थ राजनीतिमा सहभागिता देखाउनै पर्ने बाध्यता छ । यतिसम्मकी दैनिक गतिविधि संचालन गर्नसमेत राजनीतिक आस्था र संलग्नता कतै न कतै हुनुपर्ने देखिन्छ ।

अब यस्तो राजनीतिक झोला भिरेर आएका कामचलाउ शिक्षक, प्राध्यापकहरुले विद्यार्थीहरुलाई कस्तो शिक्षा दिएर योग्य नागरिक बनाउलान् हामी सबैले अनुमान गर्न सक्छौ ।

यतिसम्मकी गाउँघरमा साहुको ऋण पाउन, पसलमा सामान उधारो पाउन, पसलमा सहुलियत मूल्यमा सामान पाउन, अभावको बेला लुकाई छिपाई ग्याँस सिलिण्डर पाउन, राम्रो स्कुलमा बच्चाको एडमिसन पाउन, गाउँका सामान्य संघ-संस्थामा नेतृत्व पाउन, स्कुलमा व्यवस्थापन समितिको अध्यक्षलगायत सदस्यमा जिम्मेवारी पाउन समेत राजनीतिक रुपमा निकटता रहनुपर्ने, राजनीतिक पार्टीको आस्थाले भूमिका खेल्ने हुन्छ ।

विशेष योग्यता र क्षमता चाहिने ठाउँमा समेत राजनीतिक आस्था नमिल्दा योग्य व्यक्तिहरु समेत पछाडि परेको देख्न सकिन्छ । पढेलेखेको दक्षता भएका व्यक्ति समेत राजनीतिक कारण विभिन्न जागिर र पेशाको लागि अयोग्य ठहरिएको, कर्मचारीहरुको सरुवा, बढुवादेखि ईनाम, सम्मानमा समेत राजनीतिले भुमिका खेलेको हुन्छ । जुन राजनीतिक पार्टीको सरकार छ उसले आफ्ना राजनीतिक आस्थाका कार्यकर्ता, कर्मचारीलगायत सबै क्षेत्रका व्यक्तिलाई काखी च्यापेर प्रोत्साहन गर्ने, गल्ती गर्नेलाई पनि बचाउन खोज्ने तर अन्य राजनीतिक पार्टीमा आस्था राख्नेहरु योग्य र अनुभवि भएपनि पाखा लगाउने प्रवृति रहँदै आएको छ । हरेक क्षेत्रमा कार्यरत व्यक्तिलाई कुन राजनीतिक आस्था र संलग्नताको व्यक्ति हो भनेर हेर्ने र सोही अनुसार व्यवहार राजनीतिक पार्टी र सरकारी पक्षबाट गर्ने गरेको देखिन्छ ।

स्कुल, कलेजका शिक्षक, प्राध्यापक नियुक्तिमा समेत राजनीतिक कारण योग्य, सक्षम व्यक्ति बाहिर परेको देखिन्छ भने अर्कोतर्फ राजनीतिमा लागेर गान्धी डिभिजनमा पास गरेका व्यक्तिहरु नियुक्ति भएर पढाउने पेशा अंगालेको पनि कतिपय स्कुल, कलेजमा देखिन्छ । अब यस्तो राजनीतिक झोला भिरेर आएका कामचलाउ शिक्षक, प्राध्यापकहरुले विद्यार्थीहरुलाई कस्तो शिक्षा दिएर योग्य नागरिक बनाउलान् हामी सबैले अनुमान गर्न सक्छौ । पढ्न नसके, जागिर नपाए राजनीति गर्ने र नेता बन्ने सोच बन्ने गरेको र अधिकांश त्यसरी नै लागेको पनि देखिन्छ । यसरी विभिन्न क्षेत्रमा अयोग्य ठहरिएको व्यक्ति भोली गएर नेता बनेर सांसद, मन्त्री, प्रधानमन्त्री हुँदा देशमा कस्तो विकास गर्ला, कस्तो नीति, नियम बनाउँला त्यसमा पनि सोच्नु जरुरी छ ।

यसरी हरेक क्षेत्र राजनीतिको दलदलमा फस्दै गएको र सर्वसाधरणहरु यसको चपेटामा पर्दै गएको प्रस्ट देख्न सकिन्छ । बिना ज्याकफोर्स सामान्य काम समेत सरकारी कार्यालयबाट हुन सक्दैन । राजनीतिक आस्थाकै भरमा राज्यबाट सुविधा लिन सकिने र नसकिने अवस्था देखिन्छ । राजनीतिक नेताको नजिक हुन सके ठेक्कापट्टा देखि विभिन्न विकासको नाममा छुट्टाएको कार्यक्रमबाट बजेट आफ्नो मुठ्ठीमा पार्न पनि कुनै कठिनाई हुँदैन तर राजनीतिक विचार र आस्था नमिल्दा कतिपय सजिलै हुने काम पनि हुन नसक्ने हुन्छ । कतिपय व्यक्तिहरु योग्यता र क्षमता हुँदाहुँदै राजनीतिक पहुँच नपुगेर विदेशिन समेत बाध्य भएका छन् । हरेक क्षेत्रमा राजनैतिक भातृसंगठन क्रियाशील  छन् ।

भर्खरै मात्र कर्मचारीहरुको संगठन कर्मचारी यूनियनको चुनाव सम्पन भएको छ जसमा राजनैतिक दलहरु खुलेरै त्यो चुनाव आफ्नो पक्षमा पार्न रातदिन लागिपरेका थिए । राज्यको विकास निर्माण देखि दैनिक प्रशासनिक कार्य संचालन गरी जनताका अत्यावश्यक समस्याहरु समाधान गर्न कार्यरत निकाय कर्मचारीतन्त्र समेत यसरी राजनैतिक पार्टीको भातृसंगठनका रुपमा खुलेर लाग्नुले प्रष्टरुपमा भन्न सकिन्छ कि उनीहरु राजनैतिक संरक्षणमा जुनसुकै हरकत गरेर जनताबाट आफु लाभान्वित हुने काममा र राज्यको ढुकुटी दोहन गर्ने काममा बिना रोकतोक लाग्न सक्छन् र कहिकतै गल्ती देखिएमा पनि राजनीतिक पार्टी र नेताबाट सफाई पाउने वा क्लिन चिट दिने काम सजिलै हुनसक्छ भन्नेमा ती तमाम कर्मचारीहरु ढुक्क छन् र उनीहरु राजनैतिक पार्टी र नेताहरुको चाकडी गर्न भरमग्दुर प्रयास गरिरहेका हुन्छन् ।

अझै यस्तै चाकडी गर्ने कर्मचारीहरुको बढुवा, सरुवा देखि मानपदवी, पदकहरु समेत दिने काममा सरकारमा संलग्न राजनीतिक पार्टी र नेताहरु लागिपरेका हुन्छन् । सरकार परिवर्तन हुँदा वित्तिकै मन्त्रालयहरुमा सचिवहरुको सरुवा, जिल्ला जिल्लामा सिडियोहरुको सरुवा, बढुवा, प्रहरी प्रमुख, सेना प्रमुखको नियुक्तिमा चलखेल, राजदुत नियुक्ति, राजदुत फिर्ता, संस्थानहरुको जिएमहरुको नियुक्ति लगायत हरेक क्षेत्रमा राजनीतिक प्रभाव देखाईन्छ । यसले गर्दा समेत आफ्नो आस्थाको पार्टी सरकारमा जान सके आफुले व्यक्तिगत फाईदा लिन सकिने आशाले जहिले पनि कर्मचारी, विभिन्न पेशामा आवद्ध व्यक्तिहरु देखि सर्वसाधरण समेत आफ्नो आस्थाको पार्टीलाई सत्तामा पुर्याउन प्रत्यक्ष वा अप्रत्यक्षरुपमा लागेको हुन्छन् वा याचना गरिरहेका हुन्छन् र आफ्नो समर्थन एवं विरोधमा आफ्ना विचारहरु विभिन्न माध्यममार्फत राखिरहेका हुन्छन् । अझै आजकल त सामाजिक संजालमा यस्तो किसिमको अभियाननै संचालन गरेको पाईन्छ ।

त्यस्तै स्थानिय निकाय एवं सांसदको चुनावमा त ज्यानै फालेर मानिसहरु लागिपरेका हुन्छन् । देश विदेशबाट आर्थिक सहयोगको लर्कन नै लागेको समेत पाईन्छ । चुनाव ताका पाएको सहयोगको बदला सत्तामा पुगेपछि यस्ता राजनीतिक दलहरुले उनीहरुलाई सक्दो र सुहाउँदो सेवा सुविधा दिन कुनै कन्जुसाई गर्दैनन् जसको फलस्वरूप आम सर्वसाधरणहरुले पाउनु पर्ने सेवा सुविधाबाट वञ्चित भएका हुन्छन् ।

त्यस्तै गरी विदेशमा बस्ने नेपालीहरु समेत राजनीतिक पार्टीका भातृसंगठन खोलेर समेत कृयाशिल रहेको पाईन्छ । यसरी हेर्दा देश विदेशमा बस्ने सबै नेपालीहरु राजनीतिक पार्टीहरुको पंजामा नमज्जाले फसिरहेको देखिन्छ । नेपाली बरु एक दिन नखाई बस्न सक्लान् राजनीति बिना एकछिन यसै बस्न सक्ने स्थितिमा छैनन् । तसर्थ चाहिने भन्दा बढी राजनीतिक गतिविधि र अन्धभक्त हुनाले समेत देशको सुशासन र दिगो विकासको काममा नकारात्मक प्रभाव पारेको हो कि भन्ने आशंका उब्जेको देखिन्छ । वास्तवमा राजनीति गर्नेले राजनीति र अन्य काम गर्नेले सोही अनुरुप काम गर्ने वातावरण हुने हो र सबै क्षेत्रमा राजनीतिक प्रभाव नपर्ने हो भने मात्र देशले सही गति लिन सक्छ अन्यथा यस्तै संस्कार रहिरहेमा देशले विकासको गति लिन सक्नेमा आशंका गर्न सकिने प्रशस्त ठाउँ रहेको छ ।

यति सम्म राजनीतिले हामीलाई गाँजेको छ कि आपतविपतमा आएको विदेशी सहयोग पिडितलाई बाँडफाँड गर्दा समेत राजनीतिक आस्थाको आधारमा धेरै थोरै राहत सामाग्री र सुविधाहरु दिने गरिन्छ । विकास निर्माणको काममा समेत कुन क्षेत्रमा कुन राजनीतिक पार्टीको जनताहरुको बर्चस्व बढि छ त्यसको आधारमा सरकारी बजेटको बाँडफाँड र आयोजनाहरुलाई प्राथमिकता क्रममा राखिन्छ । देशको गौरवशाली र महत्वपुर्ण जनसरोकारको ठुला आयोजनाहरु समेत राजनीतिक खिचातानीले गर्दा अन्यौलग्रस्त अवस्थामा पारिन्छ ।

पानीमा राजनीति, सडकमा राजनीति, सरकारी ठुला ओहोदाको नियुक्तिमा राजनीति, खरदारको सरुवामा राजनीति, वनपालेको नियुक्तीमा राजनीति, यातायात संचालनमा राजनीति, ठेक्कापट्टा, मानसम्मान, अपराधीलाई सजाय दिने कुरामा राजनीति, कुटनीतिक क्षेत्रमा राजनीति हुँदा हुँदा घरको भाईहरु छुट्टाविन्दा हुँदा राजनीति, मर्दा-पर्दा, जन्ती मलामी, विरामी उपचार, खेलमैदान देखि आकाशमा जहाज उडाउने क्षेत्र सम्म राजनीतिले प्रभाव पारेको हाम्रो देशमा कसरी स्वच्छ तरिका बाट विकासले गति लिन सक्ला यसै भन्न सकिदैन ।

भर्खरै शिक्षा एेन संसोधन भएर नयाँ एेन लागू हुने तरखर हुँदै गर्दा शिक्षकहरु स्थानिय एवं जिल्ला वा कुनै तहको राजनीतिक संगठनमा प्रत्यक्ष राजनीतिक दलको सदस्य बनेर लाग्न नपाईने कुरा त्यस एेनमा व्यवस्था गरिएको छ तर राजनीतिक दलहरुको भातृसंगठनको रुपमा क्रियाशिल शिक्षक संगठन, शिक्षक संघहरुमा समेत आवद्ध हुन नपाईने भनेर कहिकतै उल्लेख छैन । यसले पनि सरकारले घुमाउरो पारामा शिक्षकहरु आफुहरु संलग्न भातृसंगठनहरुमा भरमग्दुररुपमा लागेर राजनीति गर भनेर बाटो देखाई रहेको जो कोहीले महशुष गर्न सकिन्छ । त्यसो त राजनीतिक संगठनका हरेक क्षेत्रमा बढि सकृयरुपमा लागेर पढाउने कामलाई नै कर्मकाण्डी रुपमा मात्र लिने शिक्षकहरुलाई भने यो एेनमा भएको नयाँ व्यवस्थाले निद्रा हराम बनाएको पक्कै हुनु पर्छ ।

वास्तवमा सर्वत्र यसरी राजनीतिक दलहरुको भातृसंगठन र पेशागत हक हितको नाममा प्रत्यक्ष राजनैतिक चलखेल हुनु अत्यान्तै निकृष्ट कार्य हो भन्दा कुनै अतियुक्ति नहोला । समयमै राजनीतिक दलहरुको होश नखुले नेपालमा राजनीतिनै सास फेर्ने, राजनीतिनै खाने, लाउने सबथोक हुनेछ र देशलाई अधोगतितर्फ धकेल्ने छ । विकसित देशहरुको राजनीतिक संस्कार र चलनचल्तीलाई समेत आत्मसाथ र मध्यनजर लगाउने बानी नेपाली राजनेतामा हुनसके र सोही अनुरुप परिवर्तन हुनसके साथै जनताहरुमा समेत राजनीति मात्र हरेक आवस्यकता पुरा गर्ने साधन हो भन्ने मानसिकताबाट माथि उठ्न सके मात्र देशले नयाँ गति लिन सक्छ कि भन्ने अपेक्षा लिन सकिन्छ ।

The post अति राजनीतिकरणको चपेटामा नेपाली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles