Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

‘सानोतिनो भूकम्पले नेकपाको घर भत्काउँदैन’

$
0
0

कमरेड केपी ओली, कमरेड प्रचण्डलगायत हाम्रा शीर्ष नेतृत्वको सुझबुझपूर्ण निर्णयबाट यो पार्टीले जनसमर्थन पायो । मैले धेरै ठाउँमा भन्ने गरेको छु, दुनियाँका धेरै पार्टीहरु टुहुराजस्ता छन्, नेताविहीन छन् । आज हामै्रै देशमा पनि नेपाली कांग्रेस नेताविहीन भएर छट्पटाइराख्या छ । कांग्रेसले नेता खोजिराख्या छ ।

तर, एउटा संयोग भनौं आज नेपाल कम्युनिस्ट पार्टीसँग ४ जना प्रधानमन्त्री भएको, एउटा समाजिक हिसाबले पनि, एउटा ठूलो प्रतिष्ठा बनाएको पार्टीका रुपमा अघि आएको छ ।

प्रधानमन्त्री हुनुहुन्छ केपी ओली । पूर्वप्रधानमन्त्री हुनुहुन्छ कमरेड प्रचण्ड । पूर्वप्रधानमन्त्री हुनुहुन्छ माधव नेपाल । पूर्वप्रधानमन्त्री हुनुहुन्छ झलनाथ खनाललगायतका अरु पनि हुनुहुन्छ ।

हाम्रो नेतृत्व, हामी सबैले संयमता र धैर्यताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ । सानोतिनो आवेग र सानोतिनो उत्तेजनाले फरक पार्नु हुँदैन । यो पार्टी आवेग र उत्तेजनाले सानोतिनो पार्टी, संसदमा २/४ वटा सिटमात्रै भएको पार्टीलाई त्यति ठूलो फरक पार्दैन ।

तर, यो पार्टीसँग ३ करोड नेपालीको भाग्य र भविष्य देखिरहेका छन् । दशौं लाख पार्टी सदस्य जिन्दगी कोरिएको छ । नेपाल राष्ट्रको एउटा समृद्धि सपना पनि जोडिएको छ । त्यसकारण यो पार्टीले पक्कै पनि ज्यादा संयमता, धैर्यता अपनाउनुपर्नेछ ।

पार्टीमा मेलमात्रै होइन, बेमेल पनि हुन्छ । हामी एउटा राजनीतिक पार्टी, जीवित पार्टी हुनुका नाताले त्यो बेमेलको अवस्थालाई पनि सही ढंगले समाधान गरिदिए पुग्छ । पार्टी अझै अलिकति एकताबद्ध भए पुग्छ । मलाई लाग्छ हामी यो काम गर्न सक्छौं ।

मलाई विश्वास छ यो पार्टी ५ वर्षपछि सडकमा आउँदैन । यो पार्टी ५ वर्षपछि पनि सिंहदरबारमै हुन्छ, मुख्यमन्त्री कार्यालयमै हुन्छ । यो पार्टी जनताको. मतबाट ५० वर्ष नेपालको शाषण गर्न सक्छ । त्यसकारण म हाम्रो सम्पूर्ण नेतृत्व गणलाई यो पार्टी जीवित हुन्छ, यो पार्टी अगाडि बढ्छ भन्न चाहन्छु ।

जब यो पार्टी यो जीवित हुन्छ, आजभन्दा भोलि राम्रो गर्ने प्रत्येक नेताहरुको पालो क्रमैसँग आउँछ । नेताहरुको पनि नेतृत्व गर्ने पालो आउँछ । तपाईं हाम्रो पनि पालो आउँछ । तर, पार्टी नै भएन भने कहाँ जाने ? त्यसकारण ऐतिहासिक जिम्मेवारीका साथ हामी अघि बढ्नुपर्ने छ ।

काठमाडौंका घरहरु कमजोर छन् । किनकी भूकम्प सबैभन्दा बढी त्यहीं जान्छ । धेरै पहिले जमानामा भूकम्प गयो । अहिले काठमाडौंमा अलिअलि सानोसानो भूइँचालो, भूकम्प गइरहेको छ । हिजोआजका सञ्चारमाध्यममा त्यस्तै देखिन्छन् । तर, यो भूकम्पले चर्किनेवाला छैन । यो चर्किंदैन । त्यो घर सकुशल ठडिन्छ ।

कहीं सामान्य चर्किएको भएपनि आजभोलि इन्जिनियरले अनेक उपाय निकाल्छन् । सुसज्जित बनाउँछन् । भत्केला भनेर डराउनुपर्दैन । हाम्रो नेपाल कम्युनिस्ट पार्टीको घरभित्र अनेक इन्जिनियर छन्, केही इन्जिनियरले घरको फिटिङ गर्छन् र त्यो घरलाई सकुशल ठड्याउँछन् । शानका साथ नेपाल कम्युनिस्ट पार्टीको घर काठमाडौंमा ठडिन्छ । यो भूकम्पले भत्काउने छैन । तर, त्यसमा हामी सबैको योगदान आवश्यक छ ।

हामी अहिले यो प्रक्रियाबाट बाहिर निस्कनुपर्ने आवश्यक छैन । म सोच्दैछु हाम्रा साथीहरु पोका पन्तुरा लिएर कतै निस्किहालेको जस्तो देखिन्छ । यी सबै थन्क्याए हुन्छ । किनभने हाम्रा नेताहरु जिन्दगी दाउमा राखेर हिँडेका नेताहरु हुन् ।

१४ वर्ष जेल जीवन बिताएका पार्टी अध्यक्ष हुनुहुन्छ, कमरेड केपी शर्मा ओली ।

त्यो जेल जीवनमात्रै होइन, ४० सालमा मैले उहाँलाई जेलमै भेटेको थिएँ । त्यो भन्दाअगाडि जम्मा ३ फिट लम्बाइ, ३ फिट चौडाइ भएको कोठामा वर्षाैं दिनसम्म उहाँलाई लडाइएको थियो ।

त्यो यातना खप्न सक्ने, त्यो यातना भागेर आएको प्रधानमन्त्री हुनुहुन्छ । त्यो प्रधानमन्त्रीले आजको पार्टीभित्रको यो समस्या हल गर्न सक्नुहुन्न भन्ने मलाई लाग्दैन ।

प्रत्येक सेकेन्ड मृत्युसँग जुध्दै आउनुभएका अध्यक्ष हुनुहुन्छ, कमरेड प्रचण्ड ।

सायद कतिपय ठाउँमा १ सेकेन्डले उहाँको ज्यान बचेको होला ! ती घटना आज पनि मनस्पटलमा ताजा भएर आउँछ । त्यस्ता हरेक जोखिमसँग जुधेर, लडेर आएको अध्यक्ष हो, कमरेड पुष्पकमल दाहाल प्रचण्ड । पार्टीको आजको यो अवस्थालाई सही दिशातर्फ लैजान उहाँले पक्कै पनि सक्नुहुनेछ । उहाँसँग त्यो ल्याकत छ ।

एक किसिमले भन्ने हो भने उहाँको परिवारको जस्तो अवस्था हामी कसैलाई पर्ने हो भने हामी विक्षिप्तै हुन्छौं होला ! उहाँको श्रीमतीको अवस्था त्यस्तो छ । छोराछोरीको अकालमा मृत्यु भयो । यस्ता अनेक पारिवारिक झन्झटलाई दिनदिनै सामाना गरेर आएको व्यक्तिले पार्टी भित्रका सामान्य घटनालाई सम्हाल्न नसक्नुहोला भन्ने मलाई लाग्दैन ।

कमरेड माधव नेपाल, कमरेड झलनाथ खनाल लगायत नेताहरु इतिहासमा धेरै पटक यस्ता उतरचढावबाट पार्टीलाई जोगाउँदै, रक्षा गर्दै, विभिन्न परीक्षामा पास हुँदै, समन्वय गर्दै, मिलाउँदै यहाँसम्म ल्याइपुर्‍याउनु भएको छ ।

यस्ता धेरै पंक्ति नेकपाभित्र छ । त्यसैले यो पंक्तिले एकताबद्ध रुपले नयाँ जोश, नयाँ जाँगर र उत्साहका साथ अगाडि जान सक्छौं । यसैले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्छ ।

(संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा व्यक्त गरेको विचारको सम्पादित अंश)

The post ‘सानोतिनो भूकम्पले नेकपाको घर भत्काउँदैन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles