राजनीतिमा युवा शहभागिता र नेतृत्वदायि भुमिकाको प्रश्नमा अहिले विश्वभरीनै राजनीति प्रति एक खालको वितृष्णा रहेको पाउँछु । विशेषगरि एक किसिमले पुरा विश्वनै दक्षिपन्थतर्फ ढल्कदैं गएको छ । राष्ट्रवाद बलियो रुपमा अघि आएको छ । लोकतन्त्रमा कमजोरहरुको भुमिका, उनिहरुको सहभागिताका विषयहरु गौण हुँदै गएका छन् । यद्यपि, वितृष्णा र असन्तुष्टिहरु बढ्दै जाँदा त्यसले सृजना गर्ने सामाजिक, राजनीतिक आन्दोलनको पहलकदमी युवाहरुले नै लिने गरेका छन् । युवाहरुको सामुहिक हस्तक्षेपहरु नेपालमा पनि खास-खास अवस्थामा देखिएको हो । हालका दिनमा भने युवा भूमिका, नेतृत्व र सामूहिक हस्तक्षेप वृहत राजनीतिक कसीमा सुस्त देखिएको छ ।
राजनीतिमा सहभागिता भन्नेबित्तिकै कुनै राजनीतिक पार्टीको सदस्यता लिएर मात्रै, कुनै पार्टीको संगठनभित्रको प्रतिबद्ध सदस्य भएरै जानुपर्छ भन्ने होइन । सहभागिता सामाजिकरुपमा, विभिन्न मुद्दाहरुमा उनीहरुले कत्तिको बोल्न सक्ने अवस्था छ ? उनीहरु कत्तिको सुनिन्छन् ? उनीहरुले भनेको कुरा कत्तिको मानिन्छन् ? अथवा कार्यान्वयनको तहमा उनीहरुको नेतृत्व र सहभागिता कति छ ? यी कोणहरुबाट हेर्दा फरक-फरक देशमा फरक-फरक अवस्था र भूमिकाहरु छन् ।
विश्वले युवाहरुलाई पनि प्राथमिकता दिनु पर्यो है भन्ने दृष्टिबाट अलि गम्भीररुपमा सन् २०११ पछि जब अरब आन्दोलन सुरु भयो, त्यसपछि संयुक्त राष्ट्र संघ लगायत संस्थाहरुले युवाहरु विद्रोहमा किन सहभागी भइरहेका छन् भनेर अध्ययन गर्न थाल्यो । त्यसरी कारणहरु खोज्दै जाँदा दुईवटा विषय भेटिए । युवाहरु बेरोजगार भए र उनीहरुको ऊर्जाको सदुपयोग हुन सकेन । बेरोजगार र असंलग्न युवाहरुको संख्या धेरै भए भने राजनीतिमा सहभागी भएका युवाहरुमा पनि सत्ता र राजनीतिप्रति विकर्षण र वितृष्णा बढ्दै गयो । राजनीतिक दलको सदस्य नभएरै पनि सत्ताको चरित्र र शैलीसँग वितृष्णा भएपछि युवाहरु विद्रोहमा सहभागी भएको भेटियो ।
यसरी नीति निर्माणकै तहदेखि नै युवाहरुलाई लक्षित गरेर काम गर्नुपर्छ भनेर संयुक्त राष्ट्र संघ लगायतका संस्थाहरुले काम सुरु गरेको पाइन्छ । सहश्राब्दी विकास लक्ष्य लगायतका कार्यक्रमहरु तय गर्दा पनि युवालाई प्राथमिकता दिन थालियो ।
को हुन् युवा ?
मलाई युवा र राष्ट्रवादको अवधारणा उस्तै उस्तै लाग्छ । बाहिर चर्चा धेरै हुने तर त्यसको गुदी खासै नहुने । संसारमा युवा भनेका को हुन् भन्ने विषयमा नै मतैक्यता छैन । शहरका युवाका आफ्ना सवालहरु छन् भने गाउँका युवाहरुको फरक सवालहरु छन् । वैदेशिक रोजगारमा गएका युवाहरुको अन्य समस्या हुन सक्छन् । लैंगिक हिसाबले, जातीय हिसाबले, क्षेत्रीय हिसाबले फरकफरक सवालहरु हुन सक्छन् । यी सबैलाई एउटै डालोमा हालेर हेर्दा न्याय हुन्छ जस्तो लाग्दैन ।
उमेरको दृष्टिले पनि युवालाई फरक फरक उमेरसमूहमा राखेर परिभाषित गरिएको पाइन्छ । संयुक्त राष्ट्र संघले एउटा उमेर समूहलाई युवा मान्छ भने भारतले फरक उमेर समूहलाई । नेपालको पनि आफ्नै परिभाषा छ । नेपालले १६ देखि ४० वर्षका मानिसलाई युवा भनेर परिभाषित गरेको छ । यो परिभाषाअन्तर्गत आमा र छोरी, बाबु र छोरा एकैचोटि युवामा पर्न सक्छन् । भोलि राज्य नीति निर्माण गर्दा छोरालाई हेरेर काम गर्ने कि बाबुलाई हेरेर । यसरी हेर्दा हाम्रो परिभाषा वैज्ञानिक देखिएन । खास खास उमेर समुहका किशोर किशोरी तथा युवाहरुको चासोलाई उचित रुपले सम्बोधन गर्ने प्रयत्नमा हामी सधैं कमजोर सावित हुदैं आएका छौं ।
पार्टीअनुरुप भएपछि मात्र नेतृत्व
नेपालका राजनीतिक पार्टी्भित्रको संरचना र संस्कार पनि त्यस्तै छ । एकजना युवा कुनै राजनीतिक पार्टीमा छिरिसकेपछि नेता बन्नको लागि पार गर्नुपर्ने चरणहरु धेरै छन् । ठुला भनिने पार्टीहरु जस्तो कि नेपाली कांग्रेस र नेकपामा अझै पनि साधारण सदस्य बनेको निश्चित वर्षपछि मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाइन्छ । यसरी हेर्दा कुनै पनि मानिसले आफ्नो प्रतिभा र क्षमताले नेतृत्व गर्ने होइन कि पार्टी प्रवेश गरेपछि पार्टी जस्तो छ त्यस्तै बनिसकेपछि मात्रै नेतृत्वमा आउने सम्भावना रहन्छ । पार्टी भित्रका यि संरचनाहरु युवा मैत्री पटक्कै होइनन् ।
हाम्रो युवा नेताहरु भनेर छवि बनाएका गगन थापा, योगेश भट्टराईहरु युवा होइनन् । झण्डै ५० हाराहारी वा मध्य चालिकस कटिसकेकालाई वैज्ञानिकरुपमा पनि युवा भन्न मिल्दैन । दुई चार वर्षअघिसम्म शेरबहादुर देउवालाई युवा नेता भनिन्थ्यो । अब यसरी बुढा नेताहरुलाई युवा भनेर ट्याग लगारहँदा नयाँ आउने मानिसहरुले स्पेश पाउँदैनन् । पुरानाहरुले सकिनसकी ठाउँ ओगटिरहँदा नयाँ पुस्ताले चुनौतीको सामना गरेर अगाडि बढ्न पाइरहेका हुँदैनन् ।
युवालाई चिनाउने परिभाषामध्ये प्राध्यापक मार्क हेमल्टनको परिभाषा मलाई मनपर्छ । उहाँले युवा भनेको संक्रमणको उमेर हो भन्नुहुन्छ । बच्चापन पार गरिसकेको तर बयस्क भइसकेको छैन । यो संक्रमणको समय हो । शारिरिक, मनोसामाजिक, आर्थिक, शैक्षिक संकम्रणहरुले घेरिएको नेपाली नेपाली युवाहरु दोहोरो संक्रमणमा छन् । एउटा संक्रमण आफ्नै जीवनको भयो । के पढ्ने, को सँग विहे गर्ने, करिअर के बनाउने आदि प्रश्नहरुले घेरिएको हुन्छ । दोस्रो, हाम्रो देश संक्रमणमै छ । यो दोहोरो संक्रमणको चापमा नेपाली युवा छन् ।
सँगसँगै देशभित्र युवाको लागि उचित वातावरण छैन । पार्टीका कुरा गरिहाल्यौं । राज्यका संरचनाहरु पनि युवामैत्री छैनन् । उसको लागि अन्तिम र पहिलो विकल्प भनेकै वैदेशिक रोजगारीमा जानु हो । यी प्रमुख सवालहरुलाई हटाएर उसले देशको बारेमा, राजनीतिको बारेमा चिन्ता गर्ने भन्ने प्राथमिकता कम हुन्छ । युवा आफ्नै कुरा गर्दा ऊ यतिधेरै प्रश्नहरुले जेलिइरहेको छ कि उसलाई बृहद् राजनीतिक प्रश्नमा सोच्ने रुचि र फुर्सद नै छैन । गुनासोमा अल्झिने र भाग्यवादी प्रवृत्ति युवाहरुमा देखिनु दुःखद पक्ष हो ।
भोट हाल्ने उमेरको कुरा गर्दा प्रत्येक वर्ष नेपालमा झण्डै पाँच लाख युवाहरुको प्रवेश हुन्छ । पाँच वर्षमा चुनाव हुँदा २५ लाख नयाँ मतदाताको रुपमा युवाहरु आउँछन् । यसरी एउटा चुनावदेखि अर्को चुनावको बीचमा २५ लाख नयाँ मतदाता आउँछन् । राजनीति पार्टीहरुका लागि एउटा ठूलो अवसर र चुनौती दुवै हो यो ।
दलीयकरणको दलदलमा युवा
राजनीतिकरण हुनु राम्रो कुरा हो । गाउँ देखी जिल्ला, प्रदेश र देशका विकासका विविध मुद्दाहरुमा छलफल हुन्थ्यो भने । मतदानमा सहभागी हुने, विकास निर्माणको काममा सहभागी हुने, स्थानीय निकाय र संघसंस्थाहरुको कार्यक्रमहरूमा सहभागी भएर मत राख्ने, स्थानीय एजेन्डाबारे छलफल गर्ने, राष्ट्रिय राजनीतिका सवालहरुमा बहसमा सहभागी हुने कुरा राजनीतिकरणको कुरा हो । यो सकारात्मक पक्ष हो । तर, दलीयकरण हुनुभनेको लोकतन्त्रको लागि डरलाग्दो कुरा हो । प्राथमिक स्कूलदेखि नै कुनै पार्टीको सदस्य बनिहाल्ने, दलको टोपी र टिका लगाइहाल्ने अभ्यासमार्फत् आदेशपालक मानिसहरुको भिड बनाउने अभ्यास डरलाग्दो पक्ष हो । गाउँस्तरदेखि कुनै पनि पार्टीको सदस्यता भएन वा पार्टीसँग कुनै पनि हिसाबले जोडिएन भने वा अंकल, काका, मामा, भिजानु आदि लागेको पार्टीमा जोडिएन भने उसको जीविकोपार्जनलाई पनि समस्या हुन्छ । एकप्रकारको सिन्डिकेट नै हो यो । सामान्य कामदेखि विकास निर्माणको काम गर्न पनि दलसँग जोडिनुपर्ने अवस्था छ । एउटा सामान्य क्लब खोलेर आर्थिक जोहोको काम गर्न पनि दलसँग नजोडिकन सम्भव हुँदैन । एउटा युवा स्वतन्त्र र निर्भिक भएर बाँच्न सक्ने अवस्था कमजोर बन्दै गइरहेको छ । दलीयकरणको चंगुलमा ऊ जानीनजानी फस्दै पर्ने अवस्था सिर्जना गरिएको छ ।
अति दलीयकरणले सामान्य विकास निर्माणको कामहरुमा पनि असर पारिरहेको हुन्छ । हाम्रोमा दलहरुको निर्माण र सञ्चालन प्रक्रिया जस्तो छ त्यसकै स्थानीय स्तरसम्म विस्तारीकरण भइरहेको छ । जसले पैसा ल्याउन सक्छ उही शक्तिशाली हुने, नेताका नजिक हुनेले अवसर पाउने, आसेपासेहरुले सुविधा पाउने र आलोचकहरु दबाउने, अपारदर्शिता लगायतका केन्द्रीय प्रवृत्ति, संरचना र संस्कार दलीयकरणले स्थानीय स्तरसम्म विस्तार भइरहेको हुन्छ ।
हाम्रोमा अभ्यासको रहेको निर्वाचन प्रणाली जसबाट चुनिएर सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति चुनिन्नछन्, यो नै त्रुटिपूर्ण छ । पहिलो हुने सर्वस्व र दोस्रो हुने केही पनि होइन भनेजस्तो छ । यसले मानिसलाई पहिलो हुनका लागि साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्छ । दलीयकरणले गाउँमा स्वतन्त्र मानिस बस्नै दिँदैन । शिक्षक, किसान, उद्योगी, पत्रकार र पेशाकर्मीहरु सबैलाई दलको छाताभित्र राख्नुपर्छ । किनकी चुनाव जित्नुछ । चुनाव किन जित्नु छ भने दोस्रो हुनेको त अस्तित्व नै छैन । दलीयकरणमा मानिसहरुबीच स्वार्थको सम्बन्ध हुन्छ । स्वार्थको सम्बन्धमा विवेकको प्रयोग हुँदैन । आर्थिक लाभ र अन्य लाभहरुलाई सुरक्षित गर्नेगरी मानिसलाई सोच्न बाध्य पारिन्छ । यसरी, दलीयकरणले लोकतन्त्रलाई बिस्तारै कमजोर बनाउँदै लैजान्छ ।
दक्ष, व्यवसायिक र स्वाभिमानी युवाको खोजी
म क्याम्पस पढ्दा स्ववियूका दाईदिदीहरु पैसाको मुठो बोकेर हिंड्नुहुन्थ्यो । एउटा सामान्य विद्यार्थीसँग त्यत्रो पैसा कहाँबाट आउँछ ? हाम्रो राजनीतिमा वैचारिक स्खलनको दर तीव्र छ । युवा भनेको त विचार राजनीतिमा निरन्तर रचनात्मक छलफल बहस गर्ने नयाँ र उन्नत तरिकाहरुको खोजी गर्नुपर्ने पुस्ता हो, प्रश्न गर्ने पुस्ता हो र आफ्नो क्षमता र दक्षताका आधारमा विकल्प प्रस्तुत गर्नुपर्ने पुस्ता हो । गुण र दोषका आधारमा ठूला नेताले भनेका विषयहरुमा समर्थन वा विरोध गर्ने र रुपान्तरणको लागि निरन्तर संघर्ष गर्ने पुस्ता हो । तर हाम्रोमा त ठूला नेताहरुलाई कसरी खुसी बनाउन सक्छु, उनीहरुको सामिप्यमा कसरी रहन सक्छु र आफ्नो स्वार्थ पूरा गर्न सक्छु भन्ने कुरामा मात्रै अल्मलिएको पाइन्छ । यो दृश्य हेर्दा त अहिलेको नेताभन्दा बिग्रने अवस्था छ र भविष्य झन् डरलाग्दो छ ।
यसरी चरम दलीयकरण भएको देशको अवस्था अभ्यासमा रहेको व्यवस्था र राजनीतिक अभ्यासभित्रैबाट सुध्रन पहिला दलहरु लोकतान्त्रिक हुनुपर्दछ । दल लोकतान्त्रिक हुने र सुध्रने भनेको ऊ कति वैचारिक स्पष्टताका साथ अगाडि जान सक्छ, एजेण्डामा स्पष्ट छ भन्ने कुरामा भर पर्छ । पार्टी कति अनुशासित छ, कति पारदर्शी छ, कति लोकतान्त्रिक ढंगले चल्न सक्ने भन्ने कुरामा पनि भर पर्छ । वैचारिक स्पष्टता, नयाँ विचार, नयाँ कार्य्दिशा, नयाँ कार्यशैली, स्वस्थ बहस, स्वस्थ आलोचना, स्वस्थ प्रतिष्पर्धाका लागि युवाहरुले नयाँ तरिका ल्याउन सकेनन् भने सबै नामका पार्टीहरुको काम उस्तै हुन्छ । पार्टीको नाम र नेताहरु फरक हुनसक्छन् तर पार्टीको शैली, पार्टीको विचार, पार्टीको आन्तरिक लोकतन्त्र उस्तै भयो भने आगामी दिन झन् दुःखद, डरलाग्दो र भयानक बन्दै जानेछन् ।
युवाहरुले तत्कालको नाफाघाटा, तत्कालको स्वार्थलाई भुलेर स्वावलम्बी, दक्ष र व्यवसायिक बन्नुपर्यो । युवामा कुनै पनि नेताको फेर नसमातिकन म आफ्नो तरिकाले मेरो निजी जिन्दगी बाँच्न सक्छु भन्ने क्षमता र आत्मविश्वासको विकास गर्नुपर्यो । त्यसरी बाँच्न सक्ने क्षमता र आत्मविश्वास हासिल गरिसकेपछि नेताहरुसँग प्रश्न गर्न सकिन्छ र नयाँ एजेन्डा स्थापित गर्न सकिन्छ । वैचारिकरुपले प्रष्ट र पारदर्शी बनाउन सकिन्छ । यसबाट आन्तरिक लोकतन्त्र बलियो बनाउनसक्ने आत्मविश्वास पनि युवाहरुमा विकास हुन्छ । यसरी, पहिला युवाहरु नै एजेण्डामा स्पष्टता, वैचारिक प्रष्टता हासिल गर्न सक्यौं भने बल्ल पार्टी्भित्र नयाँ संगठन र अभियान संगठित गर्न सकिन्छ । यसरी, दलको रुपान्तरण सम्भव हुन्छ र दल फेरिए देश फेरिन सक्छ ।
दलहरुको रुपान्तरणको लागि युवाहरुको अन्तरदलीय गठबन्धन वा साझा पहलकदमी असम्भव कुरा होइन । यसको लागि युवाहरुमा उन्नत राजनीतिक संस्कार आवश्यक पर्दछ । २०६२/६३ को आन्दोलनताका ठूला दलहरुका बीच वैचारिक दूरी हुँदा पनि युवा र विद्यार्थीहरु मिलेर काम गरेका थिए । उनीहरुले दलहरुलाई नजिक ल्याउन भूमिका खेले र राजतन्त्रसँग सम्झौता नगर्ने नेताहरुलाई निरन्तर खबरदारीको भूमिका खेलेका थिए । ती दृश्यहरु सम्झँदा आशा लाग्छ तर बर्तमान अवस्था भने बैराग लाग्दो नै छ । ठूला दलका युवा र विद्यार्थी संगठनका नेताहरु दलका नेताहरूसँग सामिप्यमा रहेर सत्तामा रहने, क्षणिक लाभ र आशिर्वाद पाउने भन्ने लिगलिगे दौडमा छन् ।
केही घटनाहरु स्मरण गरौं । पहिले पेट्रोल प्रतिलिटर एकरुपैयाँ भाउ बढ्दा विद्यार्थीहरु सडकमा आउँथे । अहिले प्रत्येक वर्ष हजारौं मानिसहरु सडक दुर्घटनामा परेर मर्छन् । घाइतेहरु समयमै उपचार नपाएर मर्छन् । बजार मूल्य तरकार-फलफूलदेखि हरेक कुराको आकाशिएको छ तर किसानहरुको अवस्था दर्दनाक छ । देशभित्र विकास निर्माणको कामको अवस्था यस्तो छ । भ्रष्टचार मौलाइरहेको छ । ठूला ठूला काण्डहरु घटिरहेका छन् । मेडिकल स्कूलले मनोमानी पैसा उठाईरहेका छन् । शिक्षा, स्वास्थय लगाएत आधारभुत विषयहरु नाफाखोरहरुको नियन्त्रणमा छ । तर, युवा र विद्यार्थीहरुले प्रश्न गरिरहेको देखिँदैन । ठूला नेतासँग युवा नेताहरुको निहित स्वार्थको सम्बन्ध नै दलहरुको रुपान्तरणको लागि बाधक देखिएको छ । नैतिकरुपमा प्रश्न गर्न नसक्ने पात्रहरु नै नेतृत्वमा पुगिरहेका छन् । उनीहरुले ठूला नेताहरुले गरेका निर्णयहरुप्रति प्रश्न उठाउनै सक्दैनन् । देशको स्वार्थलाई जोडेर बोल्न सक्ने अवस्थामा उनीहरु किन छैनन् । उनीहरु राजनीतिकरुपले जिउँदै छन् कि छैनन् भन्ने यस्तो अवस्थामा युवाहरुको नेतृत्वमा दलको रुपान्तरण हुन्छ भन्ने विषयमा सकरात्मक हुन सकिन्छ तर भर गर्ने गर्ने अवस्था छैन ।
कालो बादलभित्र चाँदीको घेरा …
हुनत संकटले नै नयाँ बाटोको खोजी गर्छ भनिन्छ । अवस्था नाजूक भएपनि म सकरात्मक हुने प्रयत्न गर्दै छु । हरेक पाँच वर्षमा नयाँ मतदाताको रुपमा प्रवेश गर्ने २५ लाख जनसंख्या छ । त्यसमा पनि २० लाख वैदेशिक रोजगारीमा होलान् । १० वर्षमा यो जनसंख्या ५० लाख हुन्छ । यो जनसंख्या राज्यसँग भर नपरिकन आफ्नोलागि आफैं दुःख गरेर बाँचिरहेका छन् । उनीहरुलाई राज्यले केही दिएको छैन । राज्यलाई शुल्क बुझाएर विदेश गएका छन् र परिवारबाट विछोडिएका छन् र रेमिटेन्स पठाईरहेका छन् । त्यो ठूलो संख्या कुनै न कुनै दिन ठूलो आवाजमा बोल्छ कि ? उनीहरु सबै पार्टीहरुसँग आवद्ध नहुन पनि सक्छन् । ०४८ सालदेखिको यो संख्या ठूलो छ । सबै दलीयकरणको जालोमा बेरिएका छैनन् । बेरिएकाहरु पनि सचेत हुँदैजालान् । ७० प्रतिशत घरबाट एकजना बाहिर छन् । त्यो जनसंख्याले जब कुनै दिन प्रश्न गर्छ त्यो निकै ठूलो आवाज हुनेछ । त्यतिबेला केही हुनेछ । म यही झिनो आशाप्रति सकरात्मक छु ।
त्यतिबेला नेतृत्व लिनको लागि कोही न कोही जन्मिएला । नेतृत्व कि संकटबाट आउँछ कि आन्दोलनबाट । अर्को निरन्तरको काम, मेहनत र लगावबाट पनि नेतृत्व जन्मन्छ । नेपालमा सामाजिक, आर्थिक संकट निम्तने र त्यसले नेतृत्व जन्माउने एउटा विकल्प हुनसक्छ । यी पार्टी्भित्रैबाट पनि नयाँ नेतृत्व जन्मन सक्ला । भनिन्छ धेरै टाढासम्म बगेपछि खोला पनि संग्लिन्छ । केही समय लिएपछि पार्टी्भित्र युवाहरुको कामले पार्टीहरु संग्लिन पनि सक्ला यदि त्यो पहलकदमी लिने मानिस रहेछन् भने । त्यस्तै, नयाँ सामाजिक संकटले निम्त्याउने सामाजिक आन्दोलनबाट पनि नेतृत्व जन्मिसक्छ ।
(प्रस्तुत विचार लेखकका निजी विचार हुन्, उनी कार्यरत संस्थासँग यसको कुनै सम्बन्ध छैन)
The post राजनीतिमा युवा हस्तक्षेपको प्रश्न appeared first on Sajha Post.