Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नेपालको सन्दर्भमा विकास के, किन र कसरी ?

$
0
0

अहिले नेपाली सञ्चार माध्यमहरुमा विकासको पर्याप्त चर्चा चलिरहेको छ भने कतिपय विद्धानहरुले विकासका विभिन्न मोडेलहरु पनि प्रस्तुत गरिरहेका छन् । कतिपयले नेपाल पहिलाको तुलनामा निकै विकसित भएको र छिट्टै नयाँ नेपाल निर्माण हुने ठोकुवा पनि गरेका छन् तर आम जनताको जीवनस्तर विगतदेखि नै निकै कष्टपूर्ण र दयनीय रहँदै आएको छ । त्यसकारण यहाँ विकास के हो, विकास भयो भने के हुन्छ, यो किन जरुरी छ र कसरी विकास सम्भव हुन्छ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ ।

Dr. RC Lamichhane
रामचन्द्र लामिछाने

विकास एक सापेक्षित अवस्था हो र यो निरन्तर चलिरहने प्रक्रिया हो । जब विकास हुदै जान्छ तव मानिसले आफ्ना इच्छा र चाहना अनुसारका सेवा र वस्तुहरुलाई रोज्ने अवसर पाउँछन् । त्यसकारण के भन्न सकिन्छ भने जुन समाजका मानिसहरु इच्छा अनुसारका सेवा र वस्तुहरुलाई रोजेर प्रयोग गर्ने हैसियत राख्दछन् त्यो समाज त्यति नै विकसित भएको ठहर्छ । वस्तु र सेवाहरुको रोजाई व्यक्तिको आर्थिक तथा सामाजिक हैसियतमा भर पर्दछ । अर्थशास्त्री टोडारोका अनुसार विकासको न्यूनतम वातावरण निर्माण गर्नको लागि सबै जनताहहरुको आधारभूत आवश्यकताको परिपूर्ति, आत्म सम्मानको ग्यारेन्टी र स्वतन्त्रताको प्रत्याभुति गरिनु पर्दछ । यसरी हेर्दा नेपालमा मात्रात्मक रुपमा अधिकाँश जनताको आधारभूत आवश्यकताको परिपूर्ति पनि सुनिश्चित हुन सकेको छैन । तर नयाँ संविधान २०७२ को प्रादुर्भाव पश्चात आत्म सम्मान र स्वतन्त्रताको  प्रत्याभूति भएको छ । अव यी सबै कुराको गुणात्मक फड्को नै विकास हो । अव यो विकास किन जरुरी छ भन्दा सबै जनताको सहज जीवन यापन, न्यूनतम गुणस्तरीय जीवनको सुनिश्चितता गर्न, सबै प्रकारका विभेदहरुको अन्त गर्न, भौतिक तथा आध्यात्मिक सम्पन्नता प्राप्त गर्न विकास आवश्यक छ । तत्पश्चात स्वभाविक प्रश्न उठछ के आज सम्म विकास भएको छैन र अव यो कसरी हुन्छ ?

निश्चित रुपमा आजसम्म विकास निरन्तर हुँदै नै आइरहेको छ तर जति तीव्रगतिमा हुनपर्ने थियो र जनताको जीवन सहज र गुणस्तरीय हुन पर्ने थियो त्यति हुन सकेन । फेरी के भएको भए तीव्र गतिमा विकास हुन्थ्यो र अव कसरी हुन सक्छ भन्ने प्रश्न यहाँ उठ्छ । विगतमा देश विकासका संभावनाका प्राथमिकताहरुलाई सहीरुपमा पहिचान गरेर सोही मुताविक विकासका गतिविधिहरुलाई सञ्चालन गर्न सकेको भए विकास द्रुत हुन्थ्यो तर त्यसो हुन सकेन । यदि अव विकासका संभावनाहरुको सही पहिचान गरेर सोही मुताविक योजना तर्जुमा गरी योजनावद्ध रुपमा विकासका कृयाकलापहरुलाई सञ्चालन गर्न सकियो भने विकास अल्कपनीयरुपमा द्रुत गतिमा हुन्छ । त्यसकारण नेपालको समग्र विकासको अचुक अस्त्र के हो र त्यसलाई कसरी विकासको लागि प्रयोग गर्न सकिन्छ भन्ने अहिलेको प्रमुख सवाल यही हो । जुन दिन यस देशका नीति निर्माताहरुले यो अहम सवालको उत्तर पत्ता लगाउने छन् तव यो देश चमत्कारिक रुपमा विकसित हुनेछ ।

तर उदेक लाग्दो कुरा के छ भने सही प्राथमिकता पहिचानको छाँटकाँट नै देखिएको छैन । यदि हामीले विकासको प्रवाहलाई सूक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने दास युगमा तीनै व्यक्तिहरु धनी र शक्तिशाली हुन्थे जसका पाखुरा वलिया हुन्थे । तर शिकारी युगमा आउने वित्तिकै तीनै व्यक्तिहरु धनि भए जोसँग वढी हातहतियारहरु हुन्थे वा हात हतियार चलाउन निपूर्ण थिए । अनि कृषि युगमा तीनै मानिसहरु धनि भए जोसँग धेरै विगाह जग्गा जमिन थियो । नेपाली समाज संक्रमणकालीन अवस्थामा छ । यहाँका अधिकाँश नेता तथा नीति निर्माताहरु कृषि युगको विकास र समृद्धिवाट प्रशिक्षित छन् । उनीहरुले प्रस्तुत गरेका विकासका मोडल पनि यही युग सुहाउँदो छन् । पदार्थले नै चेतनाको स्तर निर्माण गर्दछ भन्ने माक्र्सवादी दर्शनवाट प्रशिक्षित यस युगमा भौतिक पूर्वाधारले नै विकासलाइ निर्धारण गर्दथ्यो । हाम्रा आजका अधिकाँश विकासका मोडलहरु भौतिक पूर्वाधारमा केन्द्रित छन । जसले गर्दा करिव ६० वर्षको आधुनिक विकासको इतिहासमा हामी पछौटे र गरिव राष्ट्रकै रुपमा रह्यौ ।

देशमा जति दक्ष जनशक्ति हुन्छ त्यति नै बढी उत्पादन हुन्छ । हामीले हाम्रो उर्वर भूमिको क्षेत्रफल बढाउन सक्दैनौ तर जनताको उत्पादन क्षमता र दक्षता भने असिमित रुपमा बढाउन सक्दछौ । हाम्रा जनताको असिमित क्षमता नै हाम्रो समृद्धिको आधार हो । जति छिटो हामी यो तथ्यलाइ मनन गरेर देशको नीति, नियम तथा कार्यक्रमहरु बनाउँछौ त्यति छिटो यो देश समृद्ध हुन्छ ।

समय यसरी अगाडी वढ्यो कि कृषि युगलाई औद्योगिक युगले विस्थापित गर्यो र जुन देश औद्योगीकरण तर्फ गयो त्यो देश त्यति नै धेरै विकसित भयो । तर नेपाल आम रुपमा कृषिमा नै रही रह्यो र बन्दै गर्न लागेको औद्योगिक वातावरण पनि चरम राजनीतिक अस्थिरताले गर्दा अगाडि बढन सकेन । तर अहिलेको संसारको विकास र समृद्धि औधोगिक विकासले भन्दा पनि अगाडि बढेर सूचना, प्रविधि र ज्ञानले निर्धारण गरेको छ । वर्तमान २१औ शताब्दीमा वैज्ञानिक आविष्कारका कारण विकास प्रविधिमा धेरै परिवर्तन आएको छ । यदि अहिलेका सेवा र सुविधाहरुलाई प्रयोग गरेर हामीले हाम्रा विकासका मोडेल तयार गर्ने हो र सोही मुताविक अगाडी वढ्ने हो भने नेपाल अहिले अतिकम विकसित देशको स्तरवाट आगामी १० वर्ष विकसित देशको स्तरमा पुग्छ भन्ने कुरामा कुनै शंकै गर्न पर्दैन । त्यसकारण यहाँ हामीले हाम्रो उत्पादनको मूल श्रोत के हो भनेर त्यसको सही तवरले पहिचान गर्न सक्नु पर्दछ । हामीले मान्दै आएको उत्पादनको प्रमुख श्रोत जमीन हो तर अहिले परिस्थिति यसरी परिवर्तन भएको छ कि अव जमीन भन्दा पनि उत्पादनको प्रमुख श्रोत भनेको जनशक्ति हो । त्यसकारण यहाँ के वुझ्न जरुरी छ भने देशमा जति दक्ष जनशक्ति हुन्छ त्यति नै बढी उत्पादन हुन्छ । हामीले हाम्रो उर्वर भूमिको क्षेत्रफल बढाउन सक्दैनौ तर जनताको उत्पादन क्षमता र दक्षता भने असिमित रुपमा बढाउन सक्दछौ । हाम्रा जनताको असिमित क्षमता नै हाम्रो समृद्धिको आधार हो । जति छिटो हामी यो तथ्यलाइ मनन गरेर देशको नीति, नियम तथा कार्यक्रमहरु बनाउँछौ त्यति छिटो यो देश समृद्ध हुन्छ । त्यसकारण अहिले नेपालले विकासको लागि ३ खम्वे रणनीति आवश्यक छ । १. उपयोगी विज्ञान तथा प्रविधिमा आधारित जनशक्तिको विकास २. कृषि तथा उत्पादनमा आधारित दक्ष जनशक्तिको विकास ३. भौतिक विकासका पूर्वाधारहरुको निर्माण ।
प्रमुख रुपमा समृद्ध नेपालका प्रमुख प्रथामिकता ३ क्षेत्रहरु यीनै हुन । आज भुमण्डलीकरणको कारणले गर्दा अमेरिका लगायतका विकसित देशमा दिन सकिने उपयोगी विज्ञान तथा प्रविधि शिक्षा नेपालमै प्रदान गर्न सकिन्छ र नेपाली पेशाकर्मीहरु पनि संसारकै प्रतिस्धी पेशाकर्मी बनाउन सकिन्छ जसले गर्दा भुमण्डलको उच्च जागिरको पहुँच नेपालीहरुलाई सहज हुन सक्नेछ भने नेपालीहरुले विकास गरेका प्रविधिहरु विश्व वजारमा विक्री हुन सक्नेछन् र नेपालको आम्दानी बढेर जानेछ । त्यसका अलावा जब नेपाली युवा युवतीहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी भएर जानेछन् तव नेपालमा रहेको विभेद स्वत अन्त हुनेछ । देशमा सहकार्य, सदभाव र मेलमिलापको वातावरण निर्माण हुनेछ ।
त्यस्तै देशको कृषि, वन, जल तथा पर्यटकीय क्षेत्रको उत्पादकत्व बढाउन र देशमा नै आर्थिक विकासका अवसरहरुको श्रृजना गर्न देशमा श्रम गर्न सक्षम जनशक्तिलाई प्राविधिक ज्ञान दिनु अत्यन्तै आवश्यक छ । एकजना दक्ष किसानले आफ्नो खेतवारीवाट त्यस मौसमको सबै भन्दा मूल्यवान वस्तु उत्पादन गरी सबै भन्दा राम्रो मूल्यमा बजारमा बिक्रि गर्न सक्दछ भने आफ्नै उत्पादनमा आधारित भएर उद्यमशीलताको विकास गर्न सक्दछ । हातमा सीप र प्राविधिक ज्ञान नै नभएका किसानहरुलाई लक्षित गरेर जति सुकै सेवा सुविधाका कार्यक्रम ल्याए पनि त्यस्ता कार्यक्रमहरुले परिस्थितिमा कुनै सुधार ल्याउदैन र त्यो यथास्थितिको निरन्तरतामात्रै हो जुन वि.स. २०१२ देखी निरन्तर हुदै आइरहेको छ ।

 

भौतिक पूर्वाधार निर्माण पहिले राज्यले देशमा आगामी ५ देखी १० वर्षको बीचमा कति र कस्ता भौतिक पूर्वाधारहरुको आवश्यकता छ सो को यकिन गरेर मात्रै त्यस क्षेत्रमा लागानी गर्नु पर्दछ । परियोजना निर्माणको नाममा राज्यकोषको व्रहमलुटलाई राष्ट्रिय अपराध घोषणा गरी तुरुन्त बन्द गर्नु पर्दछ ।

 

अहिले नेपालका राजनीतिक पार्टीहरु र नागरिक समाज वा भनौ विकास अभियन्ताहरुको ध्यान नै समावेशी, आरक्षण जस्ता कुराहरुमा रहेको छ । प्रयाप्त मात्रामा वन, कृषि, इन्जिनियरिङ्, मेडिकल, पर्यटन, खाद्यप्रविधि, वातावरण व्यवस्थापन कलेजहरु नखोल्ने अनि तीनै १ वा २ वटा कलेजमा आरक्षण, समावेशी कोटा पाउनु पर्यो भनेर उल्का मच्चाएर केही हुने वाला छैन । किन हामी हर जिल्लामा वा हर नगरपालिका वा हर गाविसमा एक एकवटा वहुउद्धेश्यीय प्राविधिक विद्यालयहरु खोल्न कन्जुस्याई गर्दैछौ ? त्यहाँवाट प्रशिक्षित युवाले देशमै उत्पादनकत्व वृद्धि हुने काम गर्दछ भने कथमकथाचित वैदेशिक रोजगारमा गएपनि राम्रो र सुविधाजनक धेरै तलव प्राप्त हुने जोखीम रहित काम पाउँछन् । के यसबाट कसैलाइ घाटा हुन्छ ? कसैको भोट घटछ र ? यदि कसैलाइ घाटा हुँदैन भने यो देशले किन यो क्रान्तिकारी कदम चाल्दैन ?
भौतिक पूर्वाधार राज्यले नियमित रुपमा निर्माण गर्नै पर्ने क्षेत्र हो तर राज्यले निर्माण गर्ने हर आयोजनाहरुको लागत र त्यसको निर्माण अवधि आम जनतालाइ जानकारी गराएर निर्माण शुरु गर्नु पर्दछ । भौतिक पूर्वाधार निर्माण पहिले राज्यले देशमा आगामी ५ देखी १० वर्षको बीचमा कति र कस्ता भौतिक पूर्वाधारहरुको आवश्यकता छ सो को यकिन गरेर मात्रै त्यस क्षेत्रमा लागानी गर्नु पर्दछ । परियोजना निर्माणको नाममा राज्यकोषको व्रहमलुटलाई राष्ट्रिय अपराध घोषणा गरी तुरुन्त बन्द गर्नु पर्दछ । राज्यको नेतृत्वमा गरिने सबै आयोजनाहरुको निर्माण शुरु भइसकेपछि आवश्यक परेमा सैनिक बल प्रयोग गरेर पनि समयमा नै सम्पन्न गर्नु पर्दछ । हामी सबैलाई थाहा भैसकेको हुनु पर्ने हो सिमित व्यक्तिहरुको लाभ र क्षणिक स्वार्थलाई ध्यान दिएर आयोजनास्थलमा गरिने वन्द वा हडतालले राष्ट्र र जनतालाई नोक्सानी मात्रै गर्दछ र जानी जानी राष्ट्र र जनतालाई नोक्सान गर्नेहरु राष्ट्रद्रोही हुन् र उनीहरु कारवाहीको भागेदार हुनै पर्दछ । राजनीतिक वा अन्य कुनै माग पूरा गर्न अपनाइने वन्द तथा हडताल जस्ता कुराहरुलाई राष्ट्रिय अपराधको रुपमा परिभाषित गरि दण्डित गरिनु पर्दछ ।
संभवतः यहाँ उठान गरिएका कुनै पनि कुराहरु नयाँ होइनन् र त्यति ठूला र असंभव पनि छैनन् । अहिलेका नीति निर्माताहरु खास गरी सम्माननीय प्रधानमन्त्री, माननीय अर्थमन्त्री, माननीय शिक्षा मन्त्री र योजना आयोगका माननीय उपाध्यक्षलगायत सदस्यहरुले बुझ्नै पर्ने महत्वपूर्ण कुरा के हो भने कृषि युगको आर्थिक विकास र वर्तमान सूचना तथा प्रविधि युगको आर्थिक विकासका मोडलहरु फरक छन् । नेपाल अहिले कृषि युगमा मात्रै छैन । यहाँ अधिकाँश युवाहरु सूचना तथा प्रविधिका लागि प्रतिस्पर्धी छन् भने नेपालका वेरोजगार युवाहरु पनि कृषिमा आमुल प्रविधि सहितको उत्पादनका लागि तयार छन् केवल उनीहरुलाइ सीपको खाँचो छ र सीप प्राविधिक शिक्षालयमा मात्रै छ । अहिले हामी आर्थिक विकासको संक्रमणकालीन अवस्थामा छाै‌ । खाडीको ज्यानमारा गर्मी, मलेसिया र कोरियाको जोखिमपूर्ण कार्यवाट सिंचित रेमिटान्सवाट प्राप्त रकम कुनै सभासद वा त्यस्तै निकायको लहडमा वितरण गर्ने गरी वजेट तर्जुमा गर्नु भन्दा निश्चित भौतिक पूर्वाधार, प्राविधिक शिक्षालय, विकास तथा अनुसन्धान केन्द्रमा नै लगानी गर्दा भविष्य प्रति जिम्मेवार, वर्तमान प्रति उत्तरदायी र जनता प्रति जवाफदेही भएको देखिन्छ । नियम कानून वनाउन पर्ने विधायकलाई विकास रकम दिने हो भने योजना आयोग, मन्त्रालयहरु, जिल्ला विकास समिति, नगरपालिका, गाउपालिका र वार्ड किन चाहिन्थे ? यो मौका देशको समृद्धिको मार्ग चित्र कोर्ने वेला हो, जनताको खुन र पसिनाले सिंचित राजश्वलाई जथाभावी छर्ने बेला होइन । मलाई विश्वास छ, नयाँ नेपालको नक्सा कोर्ने यस सुनौलो अवसरलाई माननीय अर्थ मन्त्रीज्यूले भरपुर सदुपयोग गर्नु नै हुनेछ । यदि त्यसो भएमा नेपालीहरुका सुदिनहरुको शुरुवात हुनेछ । हामी सबैलाई शुभकामना !

(लेखक सामुदायिक रेडियो प्रसारक संघका कार्यकारी निर्देशक हुन् ।)

rc@acorab.org.np

The post नेपालको सन्दर्भमा विकास के, किन र कसरी ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles