केही समयअगाडि क्यानडा बसिरहेका एकजना साथी नेपाल आए । उनले सहजै सोधे, ‘तिमीलाई यहाँको राजनीति घिन लाग्दैन ?’
उनले स्वभाविक ढंगले सोधे पनि मलाई अस्वभाविक लाग्यो । मैले लामै भूमिका बाँधेर नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन गर्न सफल राजनीतिप्रति यति साह्रो असहिष्णु म कसरी बन्न सक्छु ? म अलि रुष्ट पनि बनेँ उनीसँग । ‘तिमीहरु दुई/चार वर्ष विदेश बसेर आउँदैमा तन्द्र्याङ तुन्द्रुङ क्या हे स्टाइलमा कुरा गर्न थाल्छौं यार !’
उनी आफैं जनआन्दोलनको घाइते रहेछन् । त्यसैले मभन्दा बढी उनी नै रुष्ट देखिए । मलाई नै कडा जवाफ फर्काउन थाले- ‘विष्णुमतिकै किनारमा बस्नेहरुलाई त्यहाँको फोहोर/प्रदुषण गन्हाउँदैन तर, बाहिरका मानिस विष्णुमति नजिक जाँदा गन्हाउँछ ।’
उनको जवाफले मलाई सोच्न बाध्य बनायो ।
के नेपालको राजनीति विष्णुमति जस्तै गन्हाउने भएको हो त ? हामी यही खेलमा अभ्यस्त भएको कारण यसको गन्ध थाहा नपाउने भइसकेका छौं त?
यस्ता प्रश्नहरुले मलाई गिजोले ।
केही समयपछि ती साथी क्यानडातिरै फर्किए । उनीसँग भौगोलिक दूरी बढेसँगै उनका प्रश्नहरुले पनि मसँग दूरी बनाउन थाले ।
प्रज्ञा भवनमा केही दिनअगाडि ‘मार्क्स फर्किए’ नाटक हेरेपछि नाटकका पेइपर भन्ने पात्रको प्रवृत्तिले क्यानडेली साथीको प्रश्न ब्युँताइदियो ।
नाटकमा पेइपर मार्क्सको वरिपरि घुम्छन् । उनले माक्सका सिद्धान्त यसरी रट्छन् र दोहोर्याएर सुनाउने गर्छन्, जसरी पण्डितले नबुझे पनि संस्कृतका श्लोकहरु भट्याउँछन् ।
पेइपर प्रवृत्तिसँग वाक्व भएका मार्क्स भन्छन्, ‘यदि पेइपरहरु मार्क्सवादी हुन् भने म मार्क्सवादी होइन ।’
अब मेरो प्यारो देशलाई नजिकबाट नियाल्न खोजेँ । गहिरिएर हेर्दा त नेपाली समाज ठूलो दुर्दशामा फसिरहेको छ त !
नेपालका मार्क्सवादीहरुले मञ्चन गरेको नाटक हेर्न ५ सयदेखि १० हजारसम्मका टिकट बेचिएको थियो । म ५ सयको टिकट काटेर बाल्कोनी उक्लिएँ । सेटिङ मिलाउन सक्ने ‘आफू समानहरुभन्दा विशेष समान’ भएको पुष्टि गर्दै निःशुल्क तल ओर्लिरहेका थिए । अगाडिको पंक्तिमा ‘भिआईपी’को लागि निःशुल्क छुट्याइएको शानदार सोफाहरु थिए र त्यहाँ विराजमान थिए कमरेड प्रचण्ड र अन्य भिआईपी कमरेडहरु ।
छोरीलाई कात्रो किन्ने पैसा नभएको पीडा मार्क्सले सुनाइरहँदा नेपाली ‘मार्क्स’हरु एक्लै थिए । मञ्चमा ‘जेनी’हरुको उपस्थिति एकदमै कम थियो ।
ओली थिएनन् मञ्चमा । मलाई थाहा छैन प्रधानमन्त्री निवासमा मार्क्सको तस्बिर छ कि छैन, मदन भण्डारीको तस्बिर छ कि छैन । तर, पक्का छु त्यहाँ सम्माननीय विद्या भण्डारीको तस्बिर छ । बजार हल्ला छ- प्रधानमन्त्री अस्वस्थ बन्दै गएपछि उनले केही अधिकार शितल निवास पठाउँदैछन्। अलिकति मदन भण्डारीको सम्मानमा । अलिकति प्रचण्डको कार्यकारी राष्ट्रपतिको सपनाको सम्मानमा हो कि ! अस्वस्थ शरीरका बावजुद समाजवादका लागि गरेका हरेक कर्महरु ‘भ्रष्टाचार’का खबर बनेर आउन थालेपछि ओली रुष्ट छन् । अस्पताल र बालुवाटारतिरै व्यस्त छन् ।
अपरेशनको आलो घाउ र भ्रष्टाचारका आलो आरोपहरु बोकेर मार्क्स भेट्न आउन सकेनन्/चाहेनन् ओलीले । त्यसैले उनी आएनन् र प्रज्ञा भवनमा भिभिआईपीको लागि एक महाविशेष सोफाको व्यवस्था गर्नुपरेन । र, त्यसैले परेन मार्क्सले थप अप्ठेरो अनुभूत गर्न ।
सस्तो टिकटमा पनि बाल्कोनी उक्लिन पाउनु सौभाग्य थियो । किनकी बाल्कोनी उचाईमा हुन्छ र उचाईबाट धेरै चिज देख्न महसुस गर्न पाइन्छ । मैले नाटकसँगसँगै केलाउन थालेँ मुलुकको यथार्थ पनि ।
नाटकमा मार्क्सका लागि सुनिल पोखरेलले घोकेका अप्ठेरा संवादहरु मेरा लागि अप्ठेरा रहेनन् । झण्डै दुई दशक यिनै कुराहरु घोकेर जीवन बिताएको मनुवा परेँ म ।
त्यसैले, रंगमञ्चको नाटकसँगै मैले सिंगो देशमा मञ्चन भइरहेको नाटकका दृश्यहरु खेलाउँदै बिताएँ प्रज्ञा भवनको समय ।
मेरो समाज, मेरो परिवेश जहाँ पुराना मान्यताहरु भत्किएका छन् । नयाँ मान्यता स्थापित भएका छैनन् । समाज लगभग दिशाहिन बनिरहेको छ । गरिबी डरलाग्दो छ । विदेशी हस्तक्षेप आम बनिरहेको छ । सत्तारुढ पार्टी एमसीसीको मुद्दाभित्र कैद छ । उनीहरु जनताको उत्पादकत्व बढाउने र राष्ट्रिय पुँजीको निर्माणतर्फ रत्तिभर छलफल गरिरहेका छैनन् । बल्ल बल्ल बसेका बैठकहरुमा बढी बहस भयो भने गुटीय शक्ति समीकरणका लागि हुन्छ ।
पार्टी एउटा निजी कम्पनी भएको छ जसले सबैभन्दा पहिला आफ्ना शेयर होल्डर अर्थात् पार्टी सदस्यहरुको हित रक्षा गर्छ । १० लाख पार्टी सदस्यहरुको हित रक्षा गर्दागर्दै जनताको भागमा केही पर्दैन । सबै पार्टीहरुको हालत उस्तै छ । जनताको सेवाको नाममा खोलिएका पार्टीहरु जनता लुट्ने औजारमा रुपान्तरण भइरहेका छन् । टोलटोलसम्म पार्टीको सिन्डिकेट छ । सर्वसाधारणको अवसरमा बन्ध्याकरण गरिएको छ ।
प्रतिपक्ष पिछडिएको आन्तरिक लोकतन्त्रको ब्ल्याक होलमा पसेको छ । मुलुककै बुढो पार्टी कांग्रेसको लोकतन्त्र पनि बुढो भएर थलिएको छ ।
प्रधानमन्त्री बिरामी छन् । उनका समर्थकहरुको सानो समूहले देश चलाइरहेको छ । सर्वहारा वर्गको अधिनायकत्व कुनै एक व्यक्तिको अधिनायकत्वमा खुम्चिएको छ । झण्डै दुई तिहाई बहुमतले बालुवाटार पुगेका प्रधानमन्त्रीका लागि बहुमतको सम्मान रुचि, रहर र बाध्यता केही बनिरहेको छैन । सडक र सामाजिक सञ्जालमा ‘दुःखी आत्मा’ले झैं गुनासो पोखिरहेका पार्टी नेता कार्यकर्ताहरुको कुरा केलाउँदा यति भन्न सकिन्छ ।
देशमा एकातिर विज्ञताको खडेरी छ । अर्कोतिर प्रतिभा पलायनको दर भने बढ्दो छ । देशका मार्क्स र एंगेल्सहरु विदेश पलायन भइरहेका छन् । देशमा उनीहरुलाई कुनै स्थान छैन । पार्टी सदस्यता नलिएकालाई बौद्धिक नै मान्दैनन् दलहरु । त्यसैले सार्वजनिक बौद्धिकता निर्माण हुन सकिरहेकै छैन यहाँ । यस्तो अवस्थामा देशमा रचनात्मक बहस हुने कुरै भएन । विरोधको नाममा नकरात्मकता हुर्किरहेको छ र यसबाट नेतृत्व आतंकित छ ।
युवाहरुको वैंश विदेशमा बितिरहेको छ, विछोडमा । उनीहरुको प्रतिघण्टाको छटपटी बुझ्ने सरकारसँग न कुनै यन्त्र छ न बुझ्ने चाहना नै । विदेशिएका युवाको रेमिटेन्स र स्वदेशमा पसिना बगाइरहेकाहरुको कर असुलेर राजशी जीवन बाँचिरहेका छन् नेताहरु । उता, बाकसमा फर्किएको सन्तान/पति लिन पनि विमानस्थलमा लाइन बस्नुपर्ने अवस्था छ नागरिकको ।
जुन क्षेत्र हेर्यो, त्यही अस्तव्यस्त छ । कृषिमा अनुदान विचौलियाको पोल्टामा छ । उत्पादनको ह्रास डरलाग्दो छ । आर्थिक विकासलाई नागरिकको उत्पादनसँग जोड्न सकिएको छैन । सडकमा रहेका जनतालाई करको नाममा लुटिएको छ तर धन जति सीमित सम्भ्रान्तको थैलामा जम्मा भइरहेको छ । कालो धनको गरुडले सेतो धनको सर्पलाई पल प्रतिपल निलिरहेको छ ।
राज्यका आम अंगहरु भ्रष्टाचारको दुश्चक्रमा फँसिरहेका छन् । सीमित नेता र कर्मचारीलाई हातमा लिएर माफियागिरी गर्नेहरुले देश लुटिरहेका छन् । नेता कार्यकर्ता, जनता र आन्तरिक लोकतन्त्रको घेरामा घेरिनुपर्ने नेताहरु एनजिओ, जग्गा माफिया, बजार माफिया, विदेशी चलखेल घुसाउने व्यापारी, दलको झण्डा बोक्ने कर्मचारी आदिको घेरामा छन् । देशको हितमा सोच्ने इमान्दारहरु सडकछापे बनाइएको छ । पार्टीको हितमा बोल्ने नेता-कार्यकर्ता रछ्यानमा मिल्काइएका छन् ।
कर्मचारीतन्त्रदेखि न्यायालयसम्म राजनीतिक हस्तक्षेप छ । संवैधानिक निकाय स्वतन्त्र छैन । उनीहरु सबै जनताप्रति होइन दल र दलभित्रका सीमित नेताहरुप्रति जिम्मेवार छन् ।
समाजवादको नारा फस्टाइरहेको देशमा धनी र गरीबको खाडल बढिरहेको छ । समग्रमा देश दिनप्रतिदिन गरिब बनिरहेको छ । केवल ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा लगाउनेहरुले मात्रै देशले रातारात धनी बनिरहेको तथ्यांक पेश गरिरहेका छन् ।
यही अवस्थालाई छोप्दै केही मानिसहरु धर्मको नाममा राजनीति गर्न लालायित छन् । अर्थशास्त्र छाडेर धर्मशास्त्रको माध्यमबाट राजनीति गर्ने छिमेकको घातक प्रयासको सिको स्वदेशमा पनि भइरहेको छ ।
शासकहरु जनताबाट पूरै अलग्गिएका छन् । जनताले नेतालाई भ्रष्टाचारीको पर्यायको रुपमा हेर्न थालिसके । नेतामा नैतिकता समाप्त भएको छ । केही लुटेराहरु मालामाल भइरहेका छन् । उनीहरुलाई नेताहरुकै संरक्षण छ ।
सत्ता स्वार्थको लागि जे पनि गर्दै आइरहेका छन् नेताहरु । अविश्वास असाध्यै चुलिएको छ । अब यहाँ भरोसाकै भर छैन ।देशलाई आमा मान्ने हो भने पानी र भूमि बेच्नेहरुलाई आमाको रगत र मासु बेच्ने भन्न मिल्ने कि नमिल्ने ?
समाधान के हो त ? संरचनात्मक सुधामार्फत् सुशासन र आर्थिक क्रान्ति । यो दिशामा आजको राजनीतिले हामीलाई डोर्याउँछ त ? हाम्रो राजनीतिमा मौलाएको अनैतिकता र अकर्मण्यताले विकासलाई अवरुद्ध बनाएको छ ।
हामीले बुझिरहेका छैनौं कि विभाजित समाजले राष्ट्रिय सुरक्षाको संरक्षण गर्न सक्दैन । राष्ट्रिय एकता कमजोर भइरहेछ । समावेशिताको सम्मान छैन । नयाँ अवतारमा ब्युँझिँदैछ महेन्द्रकालीन एक भाषा एक भेष ।
आम जनताको उत्पादकत्व वृद्धि गर्नुछ, राष्ट्रिय पुँजि निर्माण गर्नुछ । तर नेपाली माफियाकै सहयोगमा विदेशीले यस्तो गर्न दिइरहेका छन् । ती माफियाहरु जसले राष्ट्रघात गरेर लुटिरहेका छन्, उनीहरु पार्टीको सदस्यता लिएर चोखिइहाल्छन् । पार्टी सदस्यता लिएपछि विरोध गर्ने मुख बन्द हुन्छ । बाँकी रहेका स्वतन्त्र मानिस जब विरोधको बोली बोल्न थाल्छन् उनीहरुलाई ‘कम्युनिष्ट सरकार नपचेका प्रतिक्रियावादी र बुर्जुवाहरुको कोलाहल’को संज्ञा दिएपछि भइहाल्यो । प्रचण्डको प्रतिवेदनले त्यही भन्छ । कमरेडहरु सत्ता शक्तिको बागडोर हातमा लिएर आफूलाई सर्वहारा घोषणा गरिरहनु भएको छ र सडकमा रहेका सर्वसाधारणको दुःखको चित्कार बुर्जुवाहरुको कोलाहल भइरहेको छ ।
यस्तो अवस्थामा देखाइएको छ रुमानी समृद्धिको सपना । जन्ती नै मलामी बन्नु परेको हृदयविदारक समाचार लेख्दा पनि पीडा हुन्छ । तर यहाँ त लोकतन्त्रको जन्ती बनेका दल र दलका कार्यकर्ताहरु नै लोकतन्त्रको मलामी बन्ने दिशामा छन् ।
अग्रचेतना हुनुपर्ने नेताहरु आदर्श रहेनन् । तर कार्यकर्ता पनि कम छैनन् । यिनै कार्यकर्ताको स्वभाव र चरित्रको प्रतिनिधित्व गर्दै नेताहरु नेता बनेका हुन् । नेताहरुलाई यस्तो बनाउन निर्जीव वैशाखी बनेर उभिने कार्यकर्ताहरु नै हुन् । अर्थात् ती नेताहरु यिनै आदेशपालक दलबहादुरहरुलाई जमिनमा टेकेर नैतिकताहिन जीवन बाँचिरहेका छन् ।
समाजवादी पार्टीबाट स्वास्थ्य मन्त्रालय चलाउने नेता स्वास्थ्य क्षेत्रमा निजीकरण भएको देख्दैनन् । समाजवादको नारा लगाइरहन्छ । दलबहादुरहरु भनिरहन्छन् जिन्दावाद ।
जनवादी शिक्षाको नारा लगाएर शिक्षा मन्त्री भएका कमरेड साम्यवादी मकुण्डो लगाएर शिक्षामा निजीकरणको संरक्षकत्व गरिरहन्छन् । दलबहादुरहरु भनिरहन्छन् जिन्दावाद ।
निजी सम्पत्तिको लोभमा नाङ्गै सडक सडक दौडिरहेका नेताहरुले बेचिरहेका छन् साम्यवादको सपना तर, पिछलग्गु दलबहादुरहरु भन्न सक्दैनन् मुर्दावाद ।
मलाई लाग्छ, दलबहादुरहरु ज्यूँदा लाशहरु हुन् । स्वत्व र स्वाभिमान उनीहरुले पार्टी सदस्यता लिँदा बन्धकी राखेका थिए । जहिलेसम्म उनीहरुले पार्टी सदस्यता च्यात्न सक्दैनन्, तबसम्म दलबहादुरहरुको विवेक बन्धक बनिरहन्छ । र, मुलुकको अवस्था थप दयनीय बन्दै जानेछ ।
दलबहादुरहरु नागरिकले विरोध गर्नासाथ अरिङ्गाल बनेर जाइलाग्छन् । तर आफ्नै नेताहरुको कुकर्मको विरोध गर्दैनन् । शालिकजस्तै निशब्द साक्षी बसिरहन्छन् प्रदुषणको । दासहरुजस्तै लाख यातना सहेर मालिककै धुप, दीप र नैवेद्य चढाएर भक्तिगान गरिरहन्छन् । आलोचनात्मक चेत मरेका आदेशपालक दलबहादुरहरुको मष्तिष्कमा आफ्नो आवद्धताप्रति गुनासो छैन । उनीहरु पार्टीको पहाडमा उभिएर जनताको दुःखलाई दुत्कार्छन् ।
प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको नारा लगाए । तत्कालीन एमालेले पनि घोषणापत्रमा लेख्यो र च्यात्यो । च्यात्नेले च्यातिहाले । नच्यात्नेले पनि च्यातिरहेका छन् । पूर्वमाओवादीलाई आँसु नझारी रुनुपर्ने दुःख छ । खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्थाको साक्षी बनेर रुञ्चे हाँसो क्रान्तिकारी तरिकाले हाँसिरहेका छन् कमरेडहरु । कहिलेकाँही लाग्दो हो, यो झण्डै दुई तिहाई बहुमत कसको हो ? चिमट्दा हुन् सायद र भन्दा हुन् यो विपना हो सपना होइन तर, खच्चड संसदीय व्यवस्थाको प्रमुख संरक्षक र सञ्चालनकर्ता बनेर सहिदका रगत लत्पतिएका कथित लेनिनवादी बनिरहनुको बिडम्बना चलिरहेछ । दलबहादुरहरु चुपचाप छन् ।
दुई तिहाई बहुमत ‘भीरको चिण्डो न उँधो न उँभो !’ न संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली बनाउन सक्नुछ न त हिजो बेकार नारा लगाइएछ भनेर पश्चात्ताप गर्न पाउनुछ ।
शासकीय स्वरुप उही छ । चुनाव जित्न अकूत खर्च गर्नुपर्ने र चुनाव जितेपछि त्यही खर्च उठाउन र अर्को चुनावको तयारी गर्न भ्रष्टाचार गर्नुपर्ने अवस्था विद्यमान नै छ । तैपनि दलबहादुरहरु नेतृत्वलाई दबाव दिन त परै जाओस् चुक्क बोल्न पनि सक्दैनन् । भाँडमा जाओस् शासकीय स्वरुप । भाँडमा जाओस् लोकतन्त्र । भ्रष्टाचारले खाओस् देश !
नारा लगाएको छ कम्युनिज्मको, कर्म गरेको छ करप्सनको । दलबहादुर भनिरहन्छन् जिन्दावाद ।
काण्डै काण्डको श्रृंखला चलिरहेको छ । ठूला-ठूला भ्रष्टाचारका काण्डहरु हेडलाइन नबनेका दिन छैनन् । अनियमितता नै नियमितता भइरहेको छ । दलबहादुरहरुलाई लाग्छ- यो त हाम्रा महान नेताहरुले समाजवादमा पुग्न गरेको नयाँ प्रयोग हो !
अख्तियार छ तर ठूला माछा समात्ने अख्तियारी छैन । किनकी उनीहरु ठूला माछाद्वारा खडा गरेका कठपुतलीहरु हुन् । लाग्छ- अख्तियार त यहाँ दूधको साक्षी बिरालो बनिरहेको छ ।
गणतान्त्रिक महाराजहरुले आफू नाङ्गो भएको कहिले थाहा पाउने हो ? उनका नन्दीभृङ्गीहरुले भन्न कहिले आँट गर्ने हो ? नेता कार्यकर्ताले कहिले भनिदिने हो ? जबकि दलका शीर्ष नेता र आर्थिक अनियमितता अब पर्यायवाची जस्तै भइसके ।
‘यति’ले पुर्याइरहेको क्षतिले नेपाल आमा कति तड्पिइरहेकी छिन् । तर दलको पक्षमा लागिरहेको जिन्दावादको नाराले उनको चित्कार सुनिने अवस्था नै छैन । हाम्रो नियति बनिरहेछ दल, दलाली र दन्तबजान । तर चुनौती दिन कोही तयार छैनन् भ्रष्ट दल र दलाल नेताहरुलाई ।
वाइडबढीको छानबिन साँघुरिइरहेको छ । ‘पोलिटिक्स इन कमाण्ड’ भन्थे तर दलालहरुले राजनीति र नेतालाई होल्ड गरिरहेका छन् । जनताले कार्यकर्ता होल्ड गर्न सकिरहेका छैनन् । कार्यकर्ताले नेता होल्ड गर्न सकिरहेका छैनन् । केन्द्रीय कमिटीले पदाधिकारी होल्ड गर्न सकिरहेको छैन । पदाधिकारीले अध्यक्ष होल्ड गर्न सकिरहेका छैनन् ।
झांगिइरहेको माफियाकरणबाट बिटुलिएका केही नेताहरु देशलाई भन्दा बढी गुटलाई माया गर्छन् र पनि राष्ट्रवादी बनिरहेकै छन् उनीहरु । जयजयकार गरिरहेका छन् दलबहादुरहरु ।
महाकाली बेचे पनि राष्ट्रवादी । छिमेकी मालिकसँग घुँडा टेके पनि राष्ट्रवादी ।
एक हुल दलबहादुरहरु चाहिन्छ । राक्षसहरु भगवान बनिहाल्छन् । यिनै गुटीय नेताको ‘साँघुरो’ घेराले पार्टी र देश चलाइरहेको छ अनि दलबहादुरहरु ‘फराकिलो’ नतिजा आउँदैछ भन्दै हल्ला गरिरहेका छन् । दलबहादुरहरुको जय होस् ।
राजालाई सत्तोसराप गरे । राजा धपाउने अभियानको नेतृत्व गरे । राजा गए तर राजशी ठाँटबाँट गएन । बन्दुक बोक्दा वा जेल बस्दा पनि ठाँटबाँटको मोह नजाने रहेछ । दलबहादुरहरुलाई लाग्छ- हाम्रा महान नेताहरु रुपान्तरणको लागि कष्टसाध्य परीक्षाबाट गुज्रिइरहनु भएको छ !
भनिन्छ- जहाँ जनता सचेत हुँदैनन् त्यहाँ घिनलाग्दो राजनीति मौलाउँछ । यस्तै भइरहेछ यहाँ । साँच्चै हो रहेछ- विष्णुमति आसपास बस्नेलाई विष्णुमति नगनाउने रहेछ !
(‘दलबहादुर’ दलका आदेशपालक नेता कार्यकर्तालाई सम्बोधन गर्न बिम्बको रुपमा प्रयोग गरिएकोले कसैको नामसँग मिल्न गएमा संयोग मात्र हुनेछ- सं.)
The post दलबहादुरहरूलाई विष्णुमति पनि बास्ना आउँछ ! appeared first on Sajha Post.