पुँजीवाद र साम्यवादलाई एकअर्काको विकल्प ठान्ने मानिस संसारमा धेरै छन् । उन्नाइसौं र बीसौं शताब्दिको वैचारिक ध्रुवीकरण यही सोचमा निर्माण भयो । तर, दार्शनिक दृष्टिकोणबाट यी दुई विचारधाराबीच कुनै भिन्नता छैन । झट्ट हेर्दा भिन्न जस्तो लाग्छ, विपरित जस्तो लाग्छ, विकल्प जस्तो लाग्छ । तर विचारको जरोसम्म पुग्ने हो भन्ने बिल्कुलै भिन्न छैनन् । बरु यी एउटै जरोबाट उम्रिएको रुखका दुई हाँगामा मात्र हुन् । यी दुबै हाँगामा फल्ने फलको स्वाद उस्तै हुन्छ । अन्तिम परिणाम उस्तै हुन्छ । त्यो कसरी त ?
चार प्रणाली
मानव सभ्यतामा मुख्य ४ चिन्तन प्रणाली विकास भए । ती हुन्–
योग चिन्तन
दैविक चिन्तन
यान्त्रिक चिन्तन
सर्वाङ्गीण चिन्तन ।
योग प्रणाली सृष्टिको समग्रतालाई व्यक्तिमा अनुभूत गर्ने विधि थियो । दैविक चिन्तनले परलौकिक शक्तिको अस्तित्वमा विश्वास गर्यो । त्यसपछि यान्त्रिक चिन्तन प्रणालीको युग आयो । यसले एकातिर व्यक्तिगत अनुभूतिबाट सत्य खोज्ने प्रणालीको साटो वैज्ञानिक तथ्य र प्रयोगात्मक विधि उपयोग गर्यो भने अर्कोतिर परालौकिक शक्तिको अस्तित्वलाई अस्वीकार गर्दै भौतिकवादी दृष्टिकोण अगाडि सार्यो । पुँजीवाद र साम्यवाद दुवै यान्त्रिक चिन्तन प्रणाली हावी भएको युगका सिद्धान्त हुन् ।
यो मूलतः आधुनिक, औद्योगिक युगको विचार थियो । सोह्रौं शताब्दीबाट भौतिक विज्ञानका आविष्कारले आकार ग्रहण गर्न थाले । कोपर्निकस, ग्यालिलियो हुँदै न्यूटनसम्म आउँदा दैविक चिन्तनमा स्थापित चेप्टो पृथ्वी गोलो देखियो । सूर्यले पृथ्वीलाई परिक्रमा गर्नुको साटो पृथ्वीले सूर्यको परिक्रमा गर्ने तथ्य स्थापित भयो । पिण्डहरुको गुरुत्वाकर्षण र गतिको नियम पत्ता लाग्यो । उन्नाइसौं शताब्दीमा प्रकाश, विद्युत र चुम्बकीय गतिको नियम पत्ता लाग्यो । ऊर्जा संरक्षण र रुपान्तरणको रहस्य पत्ता लाग्यो ।
यान्त्रिक चिन्तनका ९ विशेषता
पाश्चात्य समाजमा क्रमशः यन्त्रहरु आविष्कार हुन थाले । मानिसले यातायात र उद्योग धन्दाको अनौठो जादु देखे । दैविक चिन्तन खण्डित हुँदै गयो । औद्योगिक क्रान्ति, वैज्ञानिक युग, आधुनिकता र पुँजीवादजस्ता नाम दिइएको यो युगको चिन्तनका मुख्य ९ विशेषता थिए ।
एक– अनन्त ब्रह्माण्डको सिद्धान्त । ब्रह्माण्ड ईश्वरको श्रृष्टि होइन, यो स्वनिर्मित आदितत्व हो । यसको आदि र अन्त्य छैन ।
दुई– पिण्ड र समयको भिन्नताको सिद्धान्त । ब्रम्हाण्ड र समय अलग छन् । कारणवश ब्रम्हाण्ड नष्ट भएछ भने पनि समय रहिरहन्छ ।
तीन– स्थुल अस्तित्वको सिद्धान्त। ईश्वरजस्तो अमुर्त अस्तित्ववाला कुनै चिज छैन । लम्बाई, चौडाई, उचाई हरेक अस्तित्वका ३ आयाम हुनुपर्दछ । सत्य इन्द्रीयगोचर हुन्छ । इन्द्रीय अनुभूत तथ्यहरु नै सत्य हुन । इन्द्रीयमा अनुभूत नहुने चिज झुठा हुन् ।
चार– आधारभूत इकाईको सिद्धान्त । हरेक अस्तित्वको आधारभूत इकाई हुन्छ । जुनसुकै वस्तुको अस्तित्वको आधार यही आधारभुत इकाईको गठजोड वा फैलावट हो । प्रकृतिको आधारभूत इकाई परमाणु हो ।
पाँच– विपरितताको सिद्धान्त। संसारका हरेक अस्तित्वमा विपरित तत्व हुन्छन् । जस्तो की गणितमा ऋण र धन, विद्युतमा प्लस र माइनस, ब्रम्हाण्डमा रात र दिन आदि ।
छ– एकत्व र संघर्षको सिद्धान्त। ब्रम्हाण्डको आधारभूत कणदेखि ठूला ग्रह र ताराभित्र रहेका विपरित तत्वहरु आपसमा टकराई रहेका हुन्छन् । यहिबाट प्रकृति गतिवान भएको हुन्छ । सबै सामाजिक अस्तित्वहरु एकत्व र संघर्षका प्रतिफल हुन् ।
सात– एकल रेखीय गतिशीलता अर्थात् लिनियर डाइनामिक्स । गतिको निश्चित नियम छ । हरेक वस्तु वा अस्तित्वभित्र पैदा हुने गतिलाई मानिसले नाप्न वा थाहा पाउन सक्छ । ‘कृया र प्रतिकृया बराबर र विपरित हुन्छन् ।‘
आठ– अलग–थलग प्रकृतिमा विश्वास । सिंगो वस्तुबाट आधाभूत कणलाई अलग गर्न पनि सकिन्छ । र फेरि त्यसलाई सिंगोमा जोड्न पनि सकिन्छ । अर्थात् सिंगो केही छैन ।
नौ– संकुचनमुखी विधि । हरेक वस्तुभित्रको रहस्य थाहा पाउन त्यसको आधारभूत इकाईलाई सिंगो इकाईबाट अलग गरेर अवलोकन तथा नापजाँच गर्नुपर्दछ ।
यी मान्यताहरु फ्रान्सिस बेकन (१५६१-१६२६) रेने डेकार्त ( १५९६–१६५०) र सर आइज्याक न्युटन ( १६४२–१७२६) को खोज र विश्लेषणमा बनेका थिए । बेकनले अवलोकन विधिलाई सत्यको आधार माने । डेकार्तले आत्मा र शरीर अर्थात् पदार्थ र चेतनालाई अलग-अलग विषयमा रुपमा व्याख्या गरे । न्युटनले गुरुत्वाकर्षण र स्थुल पिण्डको गतिको नियम पत्ता लगाए । यी नै यान्त्रिक चिन्तनका स्रोत थिए ।
विस्तारै यान्त्रिक चिन्तन ज्ञानविज्ञानका सबै शाखा प्रशाखामा फैलियो । मानव शरीरका विभिन्न प्रणालीहरुलाई यान्त्रिक विधिमा व्याख्या गर्न थालियो । जस्तै रक्तसञ्चार प्रणाली, स्नायु प्रणाली, पाचन प्रणाली आदि । यन्त्रका भिन्न पार्टपुर्जाजस्तै यी फरक-फरक प्रणाली हुन् भन्ने बुझाई बन्न थाल्यो ।
१९ औं शताब्दीमा विकासवाद, सेल थ्योरी, भ्रुण विज्ञान, माइक्रोबायोलोजी, अनुवंशीकीजस्ता आविष्कार भए । यी मान्यता आधारभूत एकाईको सिद्धान्तबाट प्रभावित थिए । सेल थ्योरी र माइक्रोबायोलोजी संकुचनमुखी विधिमा आधारित थिए । औषधि विज्ञानले कुनै अंगमा रोग लाग्नु मेसिनको कुनै पार्टपुर्जा बिग्रनु जस्तै हो भन्न थाल्यो । लुई पाश्चरले रोग र ब्याक्टेरियाको सम्बन्ध स्थापित गरिदिए । एउटै एन्टिबायोटिक्स धेरै रोगको औषधि हुन सक्ने उपचार विधि बने ।
पुँजीवाद र साम्यवादको तुलना
एउटा यन्त्रको सञ्चालन प्रक्रिया जस्तो हुन्छ, यान्त्रिक चिन्तनले सारा ब्रम्हाण्डको सञ्चालन प्रक्रिया पनि त्यस्तै हुन्छ भन्ने मान्यता राख्दछ । प्रकृति, मानिस र उसको सामाजिक जीवनलाई यन्त्रसँग तुलना गर्दछ । सामाजिक समस्याको बिश्लेषण र समाधानका विधि यान्त्रिक निश्कर्षका आधारमा तय गरिन्छ । सामाजिक परिवर्तनलाइ यान्त्रिक गतिसँग तुलना गरिन्छ ।
पहिलो चरणमा जोन लकले ‘व्यक्ति’ केन्द्रित विचारधाराको विकास गरे । अर्थात् उनले व्यक्तिलाई आधारभुत इकाई मानेर दर्शन निर्माण गरे । जसबाट पुँजीवादी विचारधारा जन्मियो । पुँजीवादले शोषण कायम गरेको देखेपछि कार्ल मार्क्सले ‘वर्ग’ केन्द्रित विचारधारा निर्माण गरे । अर्थात् मार्क्सको आधारभूत इकाई ‘वर्ग’ थियो । यसबाट साम्यवादी विचारधारा जन्मियो ।
क्र.स. | तुलनाको आधार | पुँजीवाद | साम्यवाद |
१. | ऐतिहासिकता | औद्योगिक क्रान्ति, दैविक शक्तिको सिद्धान्तको खण्डन, अनुभववादी भौतिकवादको पैरवी | औद्योगिक क्रान्ति, दैविक शक्तिको सिद्धान्तको खण्डन, द्वन्द्वात्मक भौतिकवादको पैरवी |
२. | चिन्तन प्रणाली | विकासको स्वस्फूर्ततावादी चिन्तन अर्थात् अर्थतन्त्रको चक्रीय संकट साइकलिकल हुन्छ भन्ने विश्वास । | एकल रेखीय गतिशीलता अर्थात् अर्थतन्त्रको चक्रीय संकटले पुँजीवादबाट समाजवाद र साम्यवाद आउँछ भन्ने विश्वास |
३. | आधारभूत एकाइ सिद्धान्त | समाजको आधारभूत एकाइ व्यक्ति हो र व्यक्तिको स्वतन्त्रता नै राजनीतिको सार हो । | समाजको आधारभूत एकाइ वर्ग हो र वर्गको मुक्ति नै राजनीतिको सार हो । |
४. | संकुचनमुखी विधि | व्यक्तिका स्वभावको अध्ययन गरेर सामाजिक विश्लेषण गर्नुपर्दछ । | वर्गीय स्वभावको अध्ययन गरेर सामाजिक विश्लेषण गर्नु पर्दछ । |
५. | भौतिकवादी दृष्टिकोण | चेतना वा ज्ञानको स्रोत बाह्य समाज हो । मानिस जन्मँदा सबै एकै खालको हुन्छ । हुर्कने वातावरण र अनुभवको भिन्नता उसलाई फरक बनाउँछ । | व्यक्तिगत चेतनाले सामाजिक चेतना हैन, सामाजिक चेतनाले व्यक्तिगत चेतना निर्धारण गर्दछ । |
६. | राज्यप्रतिको धारणा | राज्य सामाजिक सम्झौताको अभिव्यक्ति हो । समाजका विभिन्न तप्का स्वार्थ फरक हुन्छन् तर तिनले आपसमा सम्झौता गर्दछन् । | राज्य एक वर्गद्वारा अर्को वर्गको दमन गर्ने औजार हो । वर्ग समाजन सामाजिक हैसियत भएको मानव समूह हो । |
७ | धनप्रतिको दृष्टिकोण | धन बिना व्यक्तिको स्वतन्त्रता प्रत्याभूत हुँदैन । निजीधनको रक्षा हुनुपर्दछ । | आर्थिक समानता बिना राजनीतिक स्वतन्त्रता क्रियाशील हुँदैन । निजी धनको अन्त्य हुनुपर्दछ । |
यान्त्रिक चिन्तन प्रणाली पूर्ण गलत थिएन । तर, त्यो एकांकी थियो । ठीक त्यसै गरी पुँजीवादी र साम्यवादी चिन्तन पनि पूर्ण गलत थिएनन् । ती एकांकी थिए । सत्यको एउटा पाटोलाई नै तिनले पूर्ण सत्य ठान्थे । जस्तो कि- पुँजीवादसंग स्वतन्त्रता, राजनीतिक अधिकार र निजी सम्पतिको अधिकारजस्ता सवलता थिए । तर, सामाजिक न्याय, समन्यायिक वितरण र बजारद्वारा उपभोक्ता हितको प्रत्याभूति जस्ता सवालमा पुँजीवाद दुर्वल थियो ।
त्यसैगरी, आर्थिक समानताको माग र श्रमजिवी वर्गको पक्षधरता साम्यवादका असल पक्ष थिए । तर, सर्वहाराका नाममा महत्वाकांक्षी व्यक्तिको मनपरी, पार्टी र राज्यशक्तिको केन्द्रीकरण, निरंकुश र गैरलोकतान्त्रिक शासन, प्रतिस्पर्धा र व्यक्तिगत उत्प्रेरणाको अभाव, निजत्व कुण्ठित हुने अवस्था साम्यवादका दुर्वल पक्ष थिए ।
सर्वाङिगक चिन्तनको विकास
यान्त्रिक चिन्तन प्रणालीको अभ्यास, असफलता र अनुभवको जगमा सर्वाङ्गिकतावादी चिन्तन प्रणाली सामुन्ने आयो । यसको मुख्य दुई आधार छन्– क्वान्टम विज्ञान र कोग्नेटिभ विज्ञान । यी दुवै उत्तरपुँजीवादी र उत्तरसाम्यवादी उपलब्धि हुन् ।
आइस्टाइनको सापेक्षता र अनिश्चितताको सिद्धान्तले नै एकलरेखीय विकासको विश्वास भत्काई दियो । ब्लाकहोल, फैलिरहेको ब्रह्माण्ड, ब्रह्माण्ड र समयको अक्षुणता, इनर्जी डान्सजस्ता खोज भए । समय र स्थान अलग छैनन्, स्थानको समय हुन्छ, समयको स्थान हुन्छ । सत्य समय र स्थान सापेक्ष हुन्छ । पूर्ण सत्य केही पनि हुँदैन । कुनै पनि महाआख्यान पूर्ण सत्य हैनन्, सापेक्षिक ज्ञान मात्र हुन् । एक साथ अनेक सम्भावना क्रियाशील हुन्छन् । ती मध्ये कुनै एक सम्भावना यथार्थमा परिणत हुन्छ । कुन सम्भावना यथार्थ बन्छ, त्यो समय र स्थानमा निर्भर गर्दछ । तसर्थ, विकास एकलरेखीय नभएर गैर-एकलरेखीय हुन्छ ।
सबै स्थुल अस्तित्वहरु त्रिआयामी मात्र हुँदैनन् । ३ भन्दा बढी आयाम हुन सक्दछन् । इन्द्रीय अनुभूतजन्य सत्य मात्र सत्य हैनन् । कयौं सत्यहरु सुक्ष्म हुन्छन् र ती इन्द्रीय अनुभूत हुँदैनन् । तसर्थ, अवलोकन विधिबाट सबै सत्य उद्घाटित हुँदैनन् । क्वान्टम विज्ञानले आधारभूत एकाई सिद्धान्तलाई खण्डित गर्यो । परमाणु अन्तिम आधारभूत एकाइ हैन रहेछ । त्यसभित्र पनि क्वार्कहरु हुन्छन्, जसको समूहलाई क्वान्टा भनिन्छ । क्वार्कहरुको स्वभावमा एकसाथ कण र तरंग दुवैको गुण हुन्छ । तसर्थ, चेतना र पदार्थ दुई फरक अस्तित्व हैनन् । यिनीहरुलाई फरकफरक प्रस्थानविन्दू बनाएर फरक-फरक दर्शनको जन्म हुँदैन । पदार्थ र चेतना एउटै क्वार्कका कण–तरंग द्वैधताको अवस्था मात्र हो ।
विपरितको उपस्थितिले एकत्व, संघर्ष र निषेध हैन, गतिशील सन्तुलन कायम गरेको हुन्छ । संकुचनमुखी विधिले अनावरण गरेका सत्यहरु सार्वभौम हुँदैनन् ।
रेने देकार्तको शरीर र चेतना फरक गर्ने सिद्धान्तलाई कोग्नेटिभ विज्ञानले खण्डित गर्यो । सन् १९६० मा ग्रिगोरी ब्याटसनले मन र चेतना भनेको वस्तु होइन प्रकिया हो भन्ने धारणा आगाडि सारे । सन् १९७० मा हम्बर्टो मतुराना र फ्रान्सीस्को भरेलाले मानसिक प्रकिया भनेको प्राज्ञिक प्रकिया (Cognitive Process) हो भन्ने पुष्टि गरे । उनीहरुले विकास गरेको धारणालाई ‘सान्टीयागो थ्योरी अफ कग्नीसन’ भनिन्छ ।
कग्निसन जीवन गतिशिलताको प्रक्रिया हो । यो आन्तरिक र बाह्य दुवै प्रक्रियाको समुच्चय हो । तसर्थ, मानव ज्ञान र चेतना बाह्य अनुभवबाट मात्र हासिल हुँदैनन्, आन्तरिक स्वभाव, संस्कार र इच्छाशक्तिका प्रतिबिम्ब पनि हुन् । यसरी सर्वाङ्गिकतावादी चिन्तन प्रणाली यान्त्रिक चिन्तन प्रणालीभन्दा फरक, परिमार्जित र परिष्कृत बन्यो ।
चार आयामीय दृष्टिकोण
सर्वाङ्गिकतावादी चिन्तनले जीवन र जगतलाई चार आयामबाट हेर्दछ । ती हुन्- वस्तु (Matter), स्वरुप (Form), प्रक्रिया (Process), त्यसको सार (Meaning) । यिनै चार तत्वका आधारमा प्रकृति, जीवन र समाज मानिन्छ । यसलाई चित्रमा हेरौं–
प्रकृति आफै ‘स्थुल अस्तित्व’ म्याटर (तत्व) हो । त्यसको ‘ढाँचा’ वा संरचना फर्म (स्वरुप) हो । ‘समय’ प्रोसेस (प्रकिया) हो भने सिंगो ब्रम्हाण्ड मिनिङ (अस्तित्वको गुणधर्म) हो । जीवनमा भौतिक रासायनिक तत्व वा ‘वंशीय गुण’ म्याटर हो । ‘शरीरको संरचना’ वा ढाँचा फर्म हो । ‘निजत्व’ प्रोसेस हो भने ‘संस्कार’ मिनिङ हो । समाजमा ‘भूगोल’ र समुदाय म्याटर हो, ‘आर्थिक/सामाजिक संरचना’ फर्म हो । ‘शासन वा राजनीतिक तन्त्र’ प्रोसेस हो भने यसको कुल जोडमा बन्ने ‘सभ्यता/संस्कृति’ मिनिङ हो ।
प्रकृति आफैं ‘स्थुल अस्तित्व’ म्याटर (तत्व) हो । त्यसको ‘ढाँचा’ वा संरचना फर्म (स्वरुप) हो । ‘समय’ प्रोसेस (प्रक्रिया) हो भने सिंगो ब्रम्हाण्ड मिनिङ (अस्तित्वको गुणधर्म) हो । जीवनमा भौतिक रासायनिक तत्व वा ‘वंशीय गुण’ म्याटर हो । ‘शरीरको संरचना’ वा ढाँचा फर्म हो । ‘निजत्व’ प्रोसेस हो भने ‘संस्कार’ मिनिङ हो । समाजमा ‘भुगोल’ र समुदाय म्याटर हो, ‘आर्थिक/सामाजिक संरचना’ फर्म हो । ‘शासन वा राजनीतिक तन्त्र’ प्रोसेस हो भने यसको कुल जोडमा बन्ने ‘सभ्यता/संस्कृति’ मिनिङ हो ।
हरेक अस्तित्वमा यी चार तत्वहरु यति अन्तरनिर्भर छन् की कुनै एकको अस्तित्व नहुँदा अरुको अस्तित्वको परिकल्पना नै गर्न सकिन्न । त्यसैले मानव समाज विपरित जस्ता लाग्ने अनेकौं प्रणालीहरुको आपसी अन्योन्याश्रित सम्बन्धद्वारा सञ्चालित हुन्छ ।
यदि यस्तो बुझाई भयो भने यो सर्वाङ्गीण दृष्टिकोण हो । तर मिनिङ नै प्रधान हो अरु गौण हुन् भनियो भने आदर्शवादी भईन्छ । प्रोसेस नै प्रधान हो अरु गौण हुन् भन्यो भने पुँजीवादी भईन्छ । फर्म नै प्रधान हो अरु सबै गौण हुन भन्यो भने कम्युनिष्ट भईन्छ । म्याटर नै प्रधान हो अरु सबै गौण हुन भन्यो भने जातिवादी भईन्छ ।
पहिलो कुरा –दार्शनिक रुपमा वैकल्पिक विचारका दुई मुलमन्त्र हुन्छन् । सर्वाङ्गीण दृष्टिकोण (Holistic outlook) र गतिशील सन्तुलन Dynamic Balance) । जीवन र समाज आफैंमा सर्वाङ्गीण प्रणाली हुन् यी सधै गतिशील सन्तुलनमा हुन्छन् । यिनीहरुलाई टुक्राटक्रामा हेर्न सकिँदैन, टुक्रा पार्नु हुँदैन । प्रकृतिमा कण र तरंग, स्थान र समय, स्थुल र सुक्ष्म, पिण्ड र उर्जा त्यसैगरी समाजमा श्रम र पुँजी, व्यक्ति र समाज, जाति र राज्य, नीजत्व र सामूहिकता, संरचना र प्रक्रिया, वर्गीयता र मानवीयता जस्ता प्रणाली एउटै यथार्थका दुई पक्ष हुन् ।
दोस्रो, यसको अध्ययन विधि हो । प्रकृति र समाजको परिवर्तनमा स्थुल तत्वभित्र सुक्ष्म कारकको तत्वबोध यसको बिल्कुलै नौलो अवधारणा हो । यान्त्रिक विधिमा सुक्ष्म कारकको स्थान हुँदैन । सरलबाट शुरु गरेर जटिलमा लगेर निष्कर्ष थोपर्ने काम हुन्छ । अंश हेर्ने र समग्रको धारणा बनाउने काम हुन्छ । संरचनाको अध्ययनमा जोड हुन्छ र प्रकिया जहिल्यै सहायक स्थानमा हुन्छ । वैकल्पिक विधिमा यसको ठिक उल्टो, जटिलबाट सरलतिर, सुक्ष्मबाट स्थुलतिर, समग्रबाट अंशतिर, प्रकियाबाट संरचनातिर अध्ययन गरिन्छ । तर यिनीहरु बीच गतिशील सन्तुलनको सम्बन्ध हुन्छ भन्ने विश्वाससहित ।
तेस्रो, यसको परिवर्तनको नियम हो । यान्त्रिक सोच राख्ने एक थरी गोलचक्करको परिवर्तन (Cyclical Change) मा र अर्कोथरी अगाडि-पछाडिको परिवर्तन (Up-down Development Change) र त्यसमा पनि एकलरेखीय विकास (Linear Dynamic) मा विश्वास गर्दछन् । वैकल्पिक विचारमा गैर-एकल रेखीय विकास (Non-linear Dynamic) मा विश्वास गरिन्छ । अर्थात् समाजको परिवर्तन यान्त्रिक गणितअनुसार हुँदैन । समाजमा माथिका दुवैखाले परिवर्तन एकसाथ चलिरहेका हुन्छन् । जसको परिणाम समाजको गतिको निरपेक्ष भविष्यवाणी सम्भव हुँदैन । बहुसम्भावनाबारे मात्र विचार गर्न सकिन्छ । दुवैखाले परिवर्तनप्रति गतिशील सन्तुलनमुखी नीतिमा रहेर मानिसले समाजलाई न्यायपूर्ण दिशा दिने प्रयत्न गर्नु पर्दछ ।
The post पुँजीवाद र साम्यवाद एउटै रुखका दुई हाँगा हुन् appeared first on Sajha Post.