अहिलेकाे युगलाई नै विज्ञान र प्रविधिको युग, अझ त्यसमा पनि सूचनाकाे युगकाे रुपमा परिभाषित गर्न थालिएको छ । विज्ञान र प्रविधिमा भएको नवप्रवर्तन (इनोभेशन) र मुख्यतः सूचना प्रविधिमा भएको क्रान्तिले धेरै कुरामा परिवर्तन ल्याइदिएको छ । केवल सूचनाको आदानप्रदान गर्ने प्रक्रियामा मात्र होइन, राष्ट्रहरुको सम्बन्ध, मानिसहरुको सम्बन्ध, सोच्ने तरिका, आर्थिक मनोविज्ञानलगायत धेरै पक्षहरुमा यसले नयाँ परिस्थितिको सिर्जना गरिदिएको छ ।
मुख्यतः विज्ञान प्रविधिमा भएको यो क्रान्ति मानव जातिको सेवामा नै ठूलो योगदान गर्ने किसिमले आएको छ । तर, प्रत्येक नवप्रवर्तनसँगसँगै जोडिएर केही नकरात्मक पक्षहरु आउने गर्दछन् । त्यसको प्रतिवाद सचेत मानिसहरुले गर्दैरहनुपर्ने पनि हुन्छ । यो सूचना प्रविधिको नवप्रवर्तनबाट भौतिक विकासको निम्ति, राष्ट्र विकासको निम्ति आपसी सम्बन्धहरु सुदृढ गर्नको निम्ति, मानिसको आर्थिक जीवनमा प्रगति र समृद्धिको बलियो आधार बनाएर अगाडि बढ्नको लागि बलियो महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
हामी सबैको ध्यान अहिले नेपालकै सन्दर्भमा कुरा गर्दा समृद्धि र विकास छिटोभन्दा छिटो कसरी गर्ने भन्ने कुरामा नै केन्द्रित रहेको छ । त्यसकारण, हामीले विभिन्न क्षेत्रहरुमा गएर छलफल चलाउँदा यो विषयलाई प्राथमिकतामा राखेर उपयुक्त वातावरण बनाउन आफ्नो क्षेत्रबाट के सहयोग र योगदान गर्न सकिन्छ भन्ने विषयमा हाम्रा बहसहरु केन्द्रित छन् । र, त्यो हुन आवश्यक पनि छ । किनकी, आर्थिक समृद्धिबिना अन्य पक्षहरुको विकास गर्नु त्यत्तिकै चुनौतिपूर्ण र जटिल हुन्छ । त्यसकारण हामीले त्यस दिशामा स्वभावैले र आवश्यकीय रुपमा छलफल चलाउने गरेका छौं ।
मैले प्रधानमन्त्रीको रुपमा पनि एउटा पार्टीको नेताको हैसियतले पनि नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरु र सम्भावनाहरु पहिल्याउने क्रममा पटकपटक मैले त्रिदेशीय साझेदारीको रणनीतिको कुरा गर्दै आएको छु । चीन, नेपाल र भारतको बीचमा एउटा रणनीतिक सम्बन्ध स्थापित गर्न सकियो र हामीले आर्थिक क्रियाकलापको लागि र अन्य क्रियाकलापको लागि पनि जनस्तरको सम्बन्ध सुदृढ र विस्तार गर्नको लागि पनि त्रिदेशीय साझेदारीको रणनीतिअनुसार जाने हो भने त्यसले नेपालको आर्थिक विकास र उन्नतिमा प्रत्यक्षरुपमा ठूलो भूमिका खेल्छ ।
अहिले बिस्तारै-बिस्तारै चीन र भारत पनि यसखालको सम्बन्धको सम्भावनाबारे र नेपाल पनि त्यसमा एउटा स्वामित्वसहितको राष्ट्रको रुपमा सहभागिताबारे सकारात्मक छलफल हुन थालेको छ । यद्यपि, पछिल्लो चोटि चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच छलफल हुँदा यो त्रिदेशीय साझेदारीको रणनीतिअन्तर्गत ‘टु प्लस वान’ भन्ने शब्द प्रयोग भएको छ । यो शब्द जसरी प्रयोग भएको छ र यसले जुन अर्थ बोकेको छ, मलाई चाहिँ यो त्यति उपयुक्त हो भन्ने लागेको छैन । त्यति उपयुक्त होइन । यो त्रिदेशीय नै हो र हुनुपर्दछ । त्यसले मात्र सकारात्मक वातावरण बनाउन सक्छ ।
‘टु प्लस वान’ भन्यो भने ‘टु’ भनेको अर्कै अथोरिटी सहितका र अलि विशेष अधिकार प्राप्त भन्ने र ‘वान’ भन्ने चाहिँ पछि जोडिएको अलि सामान्य भनेजस्तो अर्थ लाग्न जान्छ । त्यसकारण, यसलाई त्रिदेशीय साझेदारीका रुपमा परिभाषित गर्ने कुरा र हाम्रा विकास निर्माणका परियोजनाहरु पनि त्यसैअनुसार लाने कुराले मात्रै भारत, चीन, नेपाल सबैको स्वतन्त्रता, सबैको समान हैसियत, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको हिसाबले उनीहरुको हिसाब बराबरी छ । जनसंख्या धेरै, भूगोल धेरै, आर्थिक क्रियाकलापहरुमा अन्तर हुँदाहुँदै पनि हामीले राष्ट्रको हिसाबले समानताको आधारमा नै व्यवहार गर्नुपर्छ र त्यसले एउटा वातावरण बन्छ । आर्थिक विकास, पूर्वाधार विकासको पनि ।
नेपाललाई केवल ट्रान्जिट प्वाइन्टको रुपमा मात्र होइन, नेपाल पनि एउटा यो समग्र रणनीतिक प्रक्रियाको स्वामित्वसहितको सहभागी राष्ट्रको रुपमा परिभाषित हुँदा मात्रै त्यसले खेल्ने भूमिका अर्थपूर्ण र महत्वपूर्ण हुनसक्छ । दीर्घकालीन र रणनीतिक प्रकृतिको हुनसक्छ भन्ने लाग्छ । म मिडिया क्षेत्रमा आवद्ध साथीहरुलाई यसबारेमा गम्भीररुपले विचार गरियोस् र यसको ठूलो अर्थ र महत्व छ भन्न चाहन्छु । त्यसखालको जनमत तयार गर्ने कुरा हाम्रो राष्ट्रको हितमा, हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पनि हितमा र नेपाली जनताको आर्थिक समृद्धिलाई तिव्रता दिनको लागि पनि यसखालको जनमतको महत्वपूर्ण भूमिका हुनसक्छ ।
दोस्रो कुरा, हामीले भौतिक विकास र समृद्धिको कुरा अलि बढी गर्न थालेका छौं आजभोलि । यहाँ मैले पनि पहिलो बुँदाको रुपमा यसैलाई नै केन्द्रित गरेर राख्न चाहेको हो । तर यसो गर्दा मानिसहरुको आत्मिक चेतनाको विकास, विचारधारात्मक, दार्शनिक, ऐतिहासिक, सांस्कृतिकरुपले चिन्तन र चेतनाको विकास गर्ने पक्ष, अध्ययनको विकास गर्ने पक्ष, अनुसन्धानको क्षेत्रमा लगानी गर्ने र यसमा केन्द्रित हुने पक्ष कमजोर हुँदै जाने हो कि ? अनि हामीले अरुले गरेको कुराको सामान्य नक्कल गर्नेतिर जाने र भौतिक विकासलाई मात्रै जोड दिन्छौं भन्दा सामाजिकरुपमा विभिन्न खालका समस्याहरु र जटिलताहरु पैदा हुने खतरा छन् ।
हामीले यो कुरा दिनप्रतिदिन भोगिरहेका छौं । हाम्रा लाखौं युवाहरु विदेश जाने र रेमिटेन्स ल्याउने गरिरहेका छन् । उनीहरुले पैसा ल्याएर देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत त गरेको छ, तर त्यससँग अरु कति चिज जोडिएका छन् ? सांस्कृतिक रुपले कस्तो सन्देश हाम्रो सामाजिक जीवनमा गएको छ, हाम्रो राष्ट्रिय जीवनमा गएको छ ? कस्तो समस्या र चुनौतीहरु यसले पैदा गरेको छ ? यसको निदान वैचारिक ढंगले के हुनसक्छ ? दार्शनिक र सांस्कृतिक रुपले के हुन सक्छ ? राजनीतिकरुपले यसलाई कसरी डिल गर्ने ? भन्ने पक्ष अर्थात् अध्ययन, चिन्तन र मननको पक्ष कमजोर हुँदै गएको देखिँदैछ ।
आजभन्दा २०-२५ वर्ष अगाडि हामीले राजनीतिक गतिविधि र राजनीतिक पार्टीहरु, नेताहरु, बुद्धिजिवीहरु, नेताहरु, लेखकहरु, कलाकारहरु, पत्रकारहरु, संस्कृतिकर्मीहरु सबैको निश्चित उद्देश्यसहितको जीवन हुन्थ्यो । त्यसको निम्ति समर्पित हुने विचारधारात्मक निष्ठाबारे जति बहस हुन्थ्यो, आजभोलि त्यो पक्ष घट्दै गएको छ र भौतिक सुखसुविधा र भौतिक उन्नतितिर हामी अल्लि एकपक्षीय हुन खोजेको हो कि ? यहाँ म यो पक्षमा पनि विचार गर्न अनुरोध गर्दछु । भौतिक उन्नति र आत्मिक चेतनाको उन्नतिको सन्तुलन मिलाउन सकिएन भने राष्ट्रिय जीवनमा र सामाजिक जीवनमा विभिन्न प्रकारका समस्याहरु पैदा हुनसक्छन् ।
(सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-चाइना मिडिया फोरमद्वारा शुक्रबार आयोजित ‘स्ट्रेङथनिङ कोअपरेशन बिट्विन नेपाल एण्ड चाइना’ विषयक गोष्ठीमा राखेको मन्तव्यको सम्पादित अंश)
The post हामीमा राजनीतिक निष्ठा घट्दै गएको छ appeared first on Sajha Post.