तेह्रथुमको आठराई क्षेत्रको खाम्लालुङ वाईफुङ गाउँमा जन्मेको हुँ । वि.सं. २०१४ साल असार ४ गते । पिता कालुहाङ इस्बो र माता कृष्णमाया फोम्बो । गाउँमा स्कुल थियो । त्यहीँबाट माध्यमिक तहसम्म अध्ययन गरेँ । पढ्दापढ्दै २०३४ सालमा व्रिटिस गोर्खा आर्मीमा भर्ती भए । २०४९ सालमा आर्मीबाट अवकाश भएर धरान फर्कें । २७ वर्ष भयो धरानमा नियमित बस्न थालेको ।
धराने समाजलाई नजिकबाट नियालेको छु । यहाँका बासिन्दाका दुख्ख, सुख्ख र समस्या राम्ररी बुझेको छु । धरानको विकास निर्माण, राजनीति र समाजसेवामा निरन्तर क्रियाशील छु । मेयरका रुपमा धराने जनताको सेवा गर्न, धरानको विकास, सुशासन र समृद्धिमा योगदान गर्न सक्छु भन्ने आत्मविश्वासले उम्मेद्वार भएको हुँ । धरानमा मलाई सार्वजनिक परिचयको समस्या छ जस्तो लाग्दैन । अधिकांश मतदाताले चिन्नुहुन्छ । व्यक्तिगत भेटघाट नभए पनि मेरो बारेमा पक्कै सुन्नु भएको छ । चुनावमा घरदैलो गर्दैछु । राम्रो व्यवहार पाइरहेको छु ।
तेह्रथुममा कम्युनिष्ट पार्टीको प्रभाव थियो । गाउँमै कम्युनिष्ट विचारधाराबाट प्रभावित थिएँ । गोर्खा भर्ती गएपछि राजनीति छुट्यो । सैनिक सेवामा १६ वर्ष रहँदा म शुद्ध सैनिक भएर रहें । त्यहाँ राजनीतिको कुरा गर्न मिल्थेन । जरुरी पनि थिएन । तर, देशको राजनीतिक स्थितिको सूचना लिन्थें । मनमा चासो र चिन्ता हुन्थ्यो । संसारमा जहाँ पुगे पनि आफ्नो देश र गाउँघरको सम्झना र माया लाग्ने नै भो । तर, सैनिक सेवामा पनि आन्तरिक समस्या हुन्थे । ब्रुनाईमा भएको वेला सैनिक सेवाप्रति मनमा असन्तुष्टि जाग्यो । धरान फर्केर कम्युनिष्ट पार्टीमै लागें । एमालेको नगर सदस्यका रुपमा लामो समय काम गरें ।
नेपालमा धरान, पोखराजस्ता शहर बन्नुमा भूतपूर्व गोर्खा सैनिकको ठूलो योगदान छ । तर गोर्खा सैनिकहरुको योगदानले खासै सम्मान र सामाजिक भूमिका पाइरहेको छैन । गोर्खा सैनिकका आफ्नै प्रकारका समस्या छन् । ती समस्या हल गर्न नेपाल सरकार र यहाँका शक्तिशाली दललहरुले यथोचित काम नगर्दा दुख्ख लाग्छ ।
पहिलो र दोस्रो विश्वयुद्ध लड्न ब्रिटिसले गाउँगाउँ आएर नेपाली जवानहरु लग्यो । कति मरे, कति बाँचे कति विदेशमै रहे, कति नेपाल फर्किए, कुनै राम्रो अभिलेख समेत रहेन । गोर्खली सेना र अन्य व्रिटिस सेनाबीच सेवा, सुविधा र प्रोमोसनमा कहिल्यै समानता भएन । समान कामको समान मूल्य त्यहाँ पनि रहेनछ । त्यो एक प्रकारको विभेद थियो । जसको रगत, पसिना र पराक्रममा उनीहरुको साम्राज्य टिकेको थियो, उनीहरुले तिनैलाई विभेद, असमान व्यवहार गरे । त्यसविरुद्ध भूपू गोर्खाहरुले लामो लडाइ र संघर्ष गर्नुपर्यो । म त्यो आन्दोलनमा पनि सधैं सक्रिय रहें । यो समस्या अझै बाँकी छ ।
पहिलो संविधानसभा चुनावको वेला एमालेले जातीय मुक्ति भन्दै जातिगत संगठनहरु निर्माण गर्यो । म लोकतान्त्रिक लिम्बू संघको धरान नगर अध्यक्ष भएँ । एमालेबाटै पहिचान र अधिकारका आधारमा संघीयता र जातीय मुक्ति हुन्छ भनेर ती संगठनका नेताहरुले भने । पहिलो संविधानसभाले १४ प्रदेशको खाका ल्यायो । एमालेको पनि त्यसमा सहमति थियो । तर विस्तारै एमाले नेताहरुले कुरा फेर्न थाले । पहिलो संविधानसभा अघिपछिका एमाले दस्तावेजहरुमा पहिचानलाई अस्वीकार गरिएको थिएन । तर, त्यो त्यतिखर माओवादी ठूलो पार्टी भएकोले माओवादीको बढ्दो प्रभाव रोक्न एमालेहरुले खेलेको रणनीति मात्र रहेछ ।
यो घटनाबाट मैले के बुझें भने कम्युनिष्टहरु इमान्दार हुँदैनन् । उनीहरु मुखले एउटा कुरा भन्छन्, कामले अर्कै गर्छन् । आफैले उठाएका एजेण्डाप्रति पनि उनीहरुको प्रतिबद्धता हुँदैन । सरेक परुन्जेल उठाउँछन । अप्ठ्यारो पर्यो भने कतिखेर छोड्छन् कुनै टुंगो हुँदैन । कम्युनिष्टहरुका लागि सिद्धान्त र एजेण्डा भनेको केवल शक्तिशाली हुन, पदमा पुग्न, पैसा र प्रतिष्ठा कमाउन गरिने रणनीति कार्यनीतिको कुरा मात्र रहेछ । कुनै प्रतिबद्धता र निष्ठा नहुँदो रहेछ ।
म त सैनिक पृष्ठभूमिको मान्छे । हाम्रो पेशामा मान्छेको बोली र गन्दुकको गोली उस्तै हो । तर, कम्युनिष्टहरु त कतिखेर रंग फेर्दछन टुंगै नहुँदो रहेछ । जब दोस्रो संविधानसभामा माओवादी कमजोर भयो, उनीहरुले पनि पहिचान र अधिकारको कुरा छोडेर एमालेसँग मिले । हिजोका त्यत्रा ठूला ज्यानी दुश्मन ओली–प्रचण्ड आज मिलेका छन् । आदिवासी जनजाति, महिला, मधेसी, दलित, अल्पसंख्यक आदि समुदायलाई ढाँट्दैछन् । यो पीडाले म समाजवादी पार्टीमा पुगें । झुठ बोल्ने बेइमानहरुको पछि लागेर शक्तिशाली भएको भ्रममा बाँच्नु भन्दा विचार, एजेण्डा र इमानको राजनीति गर्नु उचित ठानी कम्युनिष्ट पार्टी छोडेर समाजवादीमा लागें ।
भन्न त कम्युनिष्टहरु पनि आफूलाई समाजवादी नै भन्छन् । तर यो अर्को झुट हो । विश्वमा हालसम्म देखिएको दुईवटा विचारधारा पुँजीवादी र साम्यवादी विचारधारा छन् । कम्युनिष्टहरुले समाजवादबाट साम्यवादमा पुग्ने कुरा गर्छन् । उनीहरुले भन्ने गरेको समाजवाद राज्य–अर्थतन्त्र र सर्वहारा अधिनायकत्वमा आधारित कम्युन लोकतन्त्रको समष्टिगत रुप हो । हामीले भनेको समाजवाद सामाजिक बजार अर्थतन्त्रसहितको सामाजिक लोकतन्त्रको समष्टिगत रुप हो ।
कम्युनिष्ट समाजवादले सामुदायिक अन्तरविरोधलाई वर्गीय अन्तरविरोधको अंश मात्रै ठान्छ । तर समाजवादी पार्टीको समाजवादले वर्ग तथा सांस्कृतिक सामाजिक न्याय र समानताको आधारमा समाजवादको परिकल्पना गरेको छ । तसर्थ हाम्रो समाजवाद र कम्युनिष्टहरुले भन्ने गरेको समाजवादमा ठूलो भिन्नता छ । कम्युनिष्टहरु आफ्नो निहित राजनीतिक अभिष्ट पूर्तीका लागि जनतालाई ढाँट्न समाजवादको कुरा गर्दछन् । समाजवादप्रति हाम्रो पूर्ण निष्ठा छ । समाजवाद कांग्रेस र कम्युनिष्टले, पुँजीवादी र साम्यवादीले ल्याउने हैन रहेछ, समाजवाद ल्याउन पार्टी पनि समाजवादी नै चाहिने रहेछ ।
३० वर्षभन्दा बढी समयदेखि कम्युनिष्टहरुले धरानमा जितिरहेका छन् । तर, धरानलाई कम्युनिष्टहरुले शासन मात्र गरे । धरान अगाडि बढ्नुको साटो झन झन पछाडि पर्दै गइरहेको छ । धेरै पछाडि बनेका इटहरी, दमकले समेत धरानलाई पछाडि छोडे । कर, राजस्व र विकासको गतिबीच सन्तुलन छैन । कर धेरै थोपरिएको छ तर विकास सुस्त छ । यसको मुख्य कारण धरानको सबै क्षेत्रमा लामो समयदेखि हालीमुहाली जमाएका कम्युनिष्टहरुको सोच नै साँघुरो भएर हो । उनीहरुले नगर विकासको दीर्घकालीन योजना र रणनीति बनाउन सकेनन् । धरानमा रहेका मुख्य प्रशासनिक कार्यालयहरु अन्य ठाँउमा सारिँदा पनि दरिलो प्रतिवाद भएन । नेकपा अब धेरै पुरानो पार्टी भो । त्यो थोत्रो, सोचमा खिया लागेका मान्छेहरुको जड पार्टी हो । नेकपाबाट अब धरानको विकास र उन्नतिको नेतृत्व हुनसक्दैन भनेर धराने जनताले बुझिसकेका छन् । तसर्थ यसपटक धराने जनताले समाजवादी पार्टीलाई भोट दिने सम्भावना तीव्र छ ।
समाजवादी पार्टी कांग्रेस– कम्युनिष्टजस्तो पुरानो हैन । यो नयाँ पार्टी हो । नयाँ युग अनुकुलको नयाँ विचार, एजेण्डा, संस्कार र पार्टी संस्कृति यो पार्टीसँग छ । तर, समाजवादी पार्टी भरखर निर्माण हुँदैछ । यसको संगठन पूरै फैलिसकेको छैन तर पनि धरानमा समाजवादी पार्टीको संगठन छ । समर्थक र मतदाताहरु छन । पहिलाको भन्दा अहिले संगठन धेरै राम्रो भएको छ । चुनाव प्रसारप्रसार हामी नियमित र प्रभावकारी रुपमा गर्दैछौं । चुनाव कार्यकर्ता धेरै भएर जितिने हैन । कार्यकर्ताले प्रसार गर्ने हो । पार्टीको विचार जनजनमा पुर्याउन हाम्रो पार्टीपंक्ति सक्षम छ । चुनाव मतदाताले जिताउने हो । मतदाता कुनै पार्टीको पेवा हुँदैनन् ।
हाम्रो पार्टीको एजेण्डाको प्रभाव निश्चित रुपमा धरानमा पर्छ । संघीयता, समावेशिता, सुशासन, समृद्धि र समाजवादको एजेण्डा बोकेको पार्टी देशमा अर्को छैन । धरान भूपू सैनिक र आदिवासी जनजातिहरुको बलियो उपस्थिति भएको शहर पनि हो । हामी इन्द्रेणी राष्ट्रवादमा विश्वास गर्दछौं । हाम्रो पार्टी जतिको समावेशी पार्टी नेपालमा अरु कुनै छैन । समाजवादी पार्टीको भिन्नपन र एजेण्डालाई धराने मतदाताले राम्ररी नियालेका छन् । भूपूहरुलाई मेरो आग्रह छ– हामी पर्दा पछाडि बसेर मात्र हुँदैन । ऐनमौकामा नेतृत्व पनि लिनु पर्दछ । यत्रो आधुनिक शहर बसाउन, बनाउन हामीले योगदान गर्यौं, एकपटक नेतृत्व गर्ने अवसर पनि उपयोग गरौं ।
धरानमा मुख्य प्रकारका समस्या छन् । धरान अहिले उपमहानगरपालिका भएको छ । साविक पानवारा र विष्णुपादुका धरानमा गाभिएको छ । पानवारासँग धरानलाई जोड्न हाल दुईवटा मात्र सेउती खोलामा पुल बनेको छ भने एउटा निर्माणाधीन छ । विष्णुपादुकासँग जोड्ने हालसम्म एउटै पनि पुल बन्न सकिरहेको छैन । यसले के देखाउँछ भने पानवारा र विष्णुपादुकासँग सीमागत र भावनात्मक रुपमा जोडिएता पनि भौतिक रुपमा जोडिन सकिरहेको छैन । वर्षायाममा आवत जावत गर्न धेरै मुस्किल पर्छ । विष्णुपादुका र पानवारा क्षेत्रमा अझै शहरी सुविधा पुगेको छैन ।
धरानमा अहिलेसम्म बसपार्क बन्न सकिरहेको छैन । अन्य पूर्वाधारका विषयमा दीर्घकालीन रणनीति निर्माण हुन सकिरहेको छैन । खानेपानीको समस्या हल भएको छैन । यत्रो ठूलो शहर छ । एयरपोर्ट छैन । एयरपोर्ट योजना अलपत्र पारिएको छ । सरकारी कार्यालयहरु धमाधम अन्यत्र सारिएको छ । शिक्षा र स्वास्थ्यको अवस्था खस्किँदो अवस्थामा छ । पर्यटनको अवस्था गफ र भाषणमा मात्रै सुनिन्छ तर खास योजनासहित अगाडि बढ्न सकिरहेको छैन । यहाँ कुनै पनि योजना विवादरहित हुन सकिरहेको छैन ।
यसले के कुरा देखाउँछ भने यहाँको नेतृत्वशैलीमा नै समस्या छ । लिडरसीपसँग समस्या समाधान गर्न सक्ने क्षमता छैन । समस्यालाई मिलाएर लैजाने भन्दा पनि बल्झाएर एकलौटी रुपमा पेलेर जाने प्रवृत्ति हावी छ । नेतृत्वले शिक्षा, स्वास्थ्य, पर्यटन, आर्थिक विकास, व्यापार व्यवसायको वृद्धि, कृषि र विभिन्न जिल्लासँग सडक संजाल जोड्ने योजना बनाउन सकेको छैन । सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यामा कसैले ध्यान दिएको छैन ।
सत्तारुढ पार्टीका साथीहरु सबैलाई समेटेर अगाडि बढ्ने भन्दा एकलौटी र एकाङ्गी पाराका छन् । धरान हाम्रो विर्ता हो यहाँ हामीले जे गरे पनि हुन्छ, अरुलाई के मतलब भनेजस्तो व्यवहार छ । साथीहरु मुखै भन्छन– यो हाम्रो किल्ला हो, यहाँ हाम्रो पार्टीबाट लठ्ठी या कुकुर उठाए पनि चुनाव जित्छौं ।
यसले के कुरालाई इङ्गीत गर्छ भने हामीले जे गरे पनि हुन्छ, हाम्रो निर्णय धराने जनताले मान्नुपर्छ भन्ने निरंकुश मानसिकता सत्ताधारी पार्टीमा छ । पछिल्लो समय यहाँ भ्रष्टाचार बढेको छ । विकासको काममा कमिसनखोरी बढेको छ । नगरपालिकाको बजेट र सेवासुविधा समेत कामरेडहरु पार्टीकरण गर्न खोज्छन । जनताको करबाट उपलब्ध हुने सेवा सुविधा पार्टीगत गर्नु कत्तिको जायज छ ? सम्मानित मतदाताले मूल्यांकन गर्ने सही समय आएको छ ।
अन्त्यमा म धराने मतदातालाई आग्रह गर्न चाहन्छु– विगत ३० वर्ष देखि धरानलाई कम्युनिष्टहरुले नेतृत्व गरे । उनीहरुले पर्याप्त मौका पाइसके । उनीहरुको सोच र क्षमता प्रष्ट भइसक्यो । लोकतन्त्रमा समय-समयमा शासनको शैली र सोच परिवर्तन हुनु पर्दछ । सधै एउटै पार्टीले जित्ने हो भने किन चाहियो लोकतन्त्र ? किन चाहियो बहुदल ? समाजवादी पार्टीले अझ राम्रो विकल्प दिन्छ, दिन सक्दछ । तसर्थ यस पटक हामीलाई मौका दिनुस् ।
(गजेन्द्र इस्बो धरान उपमहानगरपालिकाका लागि समाजवादी पार्टीका मेयरका उम्मेद्वार हुन्)
The post ‘धरानको विकास र उन्नति नेकपाबाट सम्भव छैन’ appeared first on Sajha Post.